मुख्य सूची खोल्नुहोस्

पश्चिम नेपालमा वसोवास गर्ने थारू समुदायले कृष्ण जन्माष्टमी लाई अष्टिम्की पर्वको रूपमा मनाउने गर्दछन् । यो पर्वको तयारी लाई अष्टिम्की चित्र भनिन्छ ।

अष्टिम्कीको दिन थारू महिला, पुरुष दिनभरि निराहार बस्छन्। सूर्यास्तपछि अष्टिम्की चित्र बनाइएको घरमा टपरीमा चामल, बलिरहेको दियो, दुईवटा काक्रा राखेर पूजा गर्न जान्छन्। पूजा गर्न जानेमा पुरुषहरूको उपस्थिति अपवादकै रूपमा मात्र हुन्छ। पुरुषहरू रातभरि कृष्णगाथा गाउछन्। साझको पूजापछि फलफूल, दही मात्रै खाइन्छ। बिहान चढाइएको प्रसादको रहलपहल लिएर व्रतालुहरू नजीकैको खोलामा विसर्जनका लागि जान्छन् र उतै नुहाएर र्फकन्छन्। बिहान खरिया, फुलौरीलगायतका विशेष पकवान पकाइन्छ। माछाको परिकार अनिवार्य हुन्छ। खानुअघि प्रत्येक भागबाट 'अग्रासन' निकालिन्छ र त्यसमा थपथाप पारी चेलीलाई दिन लगिन्छ।

थारू महिला तथा पुरुष दुवै श्रीकृष्णजन्माष्टिको व्रत बस्छन्। गाउँको घरसंख्या हेरी टोलको एक/दुई घरको भित्तामा श्रीकृष्ण, चन्द्रमा, सूर्य, पाँच पाण्डव, कौरव, राम, सीता, रावण, डोली, वनजंगलदेखि मयूर, ऊट, हात्ती, डुँगा, माछा, घोडा, भालेलगायत पशुपक्षीको अष्टिम्की चित्र बनाउँछन् र साँझ प्रत्येक घरबाट चामल, बलिरहेको दियो, काँक्रो आदि लिएर पूजा गर्न जान्छन्। जन्माष्टमीमा पूजा गर्न बनाइएको चित्रको पात्र हेर्दा थारूहरू हिन्दूधर्मी तथा वनजंगलको छेउछाउमा बस्ने प्रकृतिप्रेमी भएको देखाउँछ। पूजा सम्पन्न भएपछि रातभरि श्रीकृष्णको गाथा गाइन्छ। त्यसो त विभिन्न समुदायमा पृथ्वी उत्पत्तिको अनेक किम्वदन्ती छ। थारू समुदायमा यही पृथ्वी उत्पत्तिको कथाबाट श्रीकृष्ण गाथाको सुरुवात हुन्छ।

पहिले ते सिरिजल जलथल धरती

सिरिजे ते गइल हो कुश धेरै दाभ।

अर्थात् जमीनको पहिले कुनै नामोनिशान थिएन, सबैतिर जल नै जल थियो। त्यसपछि कुश प्रजातिको बिरुवाको उत्पत्ति भयो। त्यही बिरुवामा डाँठ, पात, फूल, फल लाग्दै ठूलो भयो। अन्य रूखबिरुवा भए जंगल बन्यो। श्रीकृष्णकी आमाले हलो बनाउन काठ लिन छोरालाई वन पठाउँछिन्। उनले हलोलाई चाहिने काठ काट्छन्। काठ काट्न उनीसँग सुनको बन्चरो हुन्छ। भोक मेटाउन खाना हुन्छ। जस्तो ः

कँढवै ते चाँपल इसरू सोनके कुह्ररिया

कँखवैते चाँपल इसरू भुजवा मिठाई।

यहाँ ईसरू अर्थात् ईश्वर भनेर कृष्णलाई सम्बोधन गरिएको छ। हलो बनाइसकेपछि कृष्ण आफै गोरु हाँक्दै हलो जोत्न गएको लोकगाथा छ। यता उनकी आमाले छोरालाई खाजा बनाउन थाल्छिन्। थारूहरूको भोजनमा माछा, मासु पि्रय हुन्छ। श्रीकृष्णको आमाले बनाएको भोजनबारे यस्तो वर्णन छ ः

झलरी मकुनियाके भतवा बनाए

उरुदा, मुँगीयाके दलवा बनाए

रोहुवा भगेनवाके मुरीया निढाए

घुटरु परेवनाके मसवा निढाए।

अर्थात् झलरी मकुनिया धानको भात, उर्द, मुँगको दाल, रोहु माछाको टाउको र परेवाको मासु उनले पकाउन थालिन्। त्यसबाहेक सागपात, घिउले झानेको दाल खानलाई सुनकै थालमा भात, सुनकै कटोरामा तरकारी पस्केर दिएका आदिको वर्णन पनि छ। खेती गर्दा खेतमै खाजा खानु थारूहरूको दिनचर्या हुन्छ। यहाँ कृष्णकी आमा जसलाई जासु -यशोदा) भनिएको छ। खेतमै छोरालाई खाना पुर्‍याउन डेलवामा राखेर जान्छिन्। गाउँ भरिका मान्छे खेतमा व्यस्त हुन्छन्। यता खान पुर्‍याउने महिलाहरू यो समयमा खाना पुर्‍याउन जाने भनेर सल्लाह गरी हुल बाँधी सँगै निस्किन्छन्। यो परम्परा थारूहरूमा अझै कायम छ। त्यसबेलाको गीत यस्तो छ।

दस सखी आगे रि गैलाँ, दस सखी पाछे

बीचवैमे जासु हो, डल्फट जावै

अर्थात् दस जनाको अघि, दस जनाको पछि एक्काइस जनाको समूहमा यशोदा बीचमा कम्मर मर्काउँदै हिँड्छिन्। श्रीकृष्ण गाथामा सुरुमा पृथ्वीको उत्पत्तिपछि कृष्णलाई खेतीपाती गर्न लगाइएको दृष्यवलोकन छ भने बीचमा आएर मात्र कृष्णको जन्मको कथा छ। उनकी आमालाई प्रसूति व्यथाले च्यापेपछि चौकीदारलाई सुडिनी बोलाउन पठाइन्छ। सुडिनीको घर नदेखेकोले चौकीदारले बाख्रा, गाई, भैंसी, घोडा, हात्ती गोठाला, सुँगुर चढाउनेसँग सोध्छ। पत्ता लगाउन नसक्दा कुवामा पानी भर्ने युवतीसँग सोध्छ। उसले चमार, सूचिकार, विश्वकर्मा, व्यापारी, (जोलहा) पछिको अग्लो घर सुडिनीको भएको जानकारी दिन्छ। यस गाथाले पहिले समाज मिलेर बसेको देखाउँछन। सुडिनी त्यत्तिकै नजाने बताउँछिन्। उसले हात्ती सवारी माग्छिन्। हात्ती नभएपछि घोडा माग्छिन्। घोडा पनि नभएपछि डोली माग गर्छिन्। डोलीमा चढी बल्ल जान्छिन्। अझै पनि थारू समुदाय प्रायः प्रसूति परम्परागत सुडिनीबाट नै गराइन्छ तर डोलीमा सवार गरी लाने पहिलेको जस्तो उच्च सम्मान भने छैन। सुडिनीले श्रीकृष्ण जन्मिने अनौठो अड्कल काट्न थाल्छिन्। जस्तै ः

ढोह्री ओर्से जन्मी हो कान्हा ढर्बी ढौरैया वीर नाउँ

नाके ओर्से जन्मी हो कान्हा ढर्बी नकैया वीर नाउँ

आँखे ओर्से जन्मी हो कान्हा ढर्बी अँखैया वीर नाउँ

काने ओर्से जन्मी हो कान्हा ढर्बी कन्हैया वीर नाउँ

अर्थात् ढोंह्री -नाइटो) बाट जन्म्यो भने ढोरैयावीर, नाकबाट जन्म्यो भने नकैयावीर, आँखाबाट जन्म्यो भने अँखैयावीर र कानबाट जन्म्यो भने कन्हैयावीर नाम राख्छौँ। कृष्ण कन्हैया नामबाट परिचित भएकाले यस गाथाअनुसार कानबाट जन्मिएको मिथक देखिन्छ। जन्मिएको बालकलाई थारू समुदायमा प्रायः नाङ्गोमा सुताउने चलन छ। गाथामा यसको वर्णन छ।

धोई धेरै सोरहीन सुप्पामे सुतावै

उपरेसे डिहल सोरहिन लुगरा ओह्राई

अर्थात्बालकलाई नुहाई धोइ गरी सुप्पा -नाङ्गो)मा सुताइयो र सुडिनीबाट लुगा ओढाइयो। श्रीकृष्ण विस्तारै टुकुटुक हिँड्ने भए। जसरी थारूहरूको पुरूष सदस्य सानामा बाख्रा गोठालोमा सहभागी हुन्छ। कृष्णलाई पनि उनकी आमाले बाच्छा छोड्न बिहानै उठाउँछिन्। उनले सुनको खराउ, लठ्ठी, बाँसुरी, छाताको माग गर्छन्। आमाले सम्झाउँछिन्- ती सुनका वस्तु राजाको घरमा हुन्छ। त्यसैले काठकै सामान जोहो गर्दिन्छु, त्यही लिएर जाऊ। यसरी श्रीकृष्ण गाथामा उनलाई विशुद्ध किसान भनेर मात्र वर्णन गरेको देखिन्छ। कृष्णले झोला, लुगाको पनि माग गर्छन्। शालकको छालाको झोला, डोम सर्पको झोलाको डोरी, धामन सर्पको छालाको लुगा, सुगा सर्पको टुना बाँधी दिएपछि कृष्ण बल्ल गोठाला जान्छन्। गोठाला गएको बेला उनले स्वर्ण बाँसुरी बजाउँछन्। यसबाट घरैबाट राधा त्यसको आवाज सुनि मन्त्र मुग्ध हुन्छिन्। जस्तो-

सोनके बँसुरिया कान्हा डिहला बजाई

घरहीसे राधा शब्द ओनाई

यो श्रीकृष्णगाथा रातभरि गाइन्छ। पहिलो रात नसकिए अर्को रात पूरा गर्नुपर्छ, अधुरो छोड्न पाइँदैन। यसरी थारूहरूमा विभिन्न देवीदेवताबारे वर्णन गरिएको लोकगाथा छ। जसको सोधखोज, विश्लेषण जरुरी छ।

[१] थारू समुदायमा कृष्णगाथा :-कृष्णराज चौधरी