अर्थशास्त्र (ग्रन्थ)
यो विवरण अर्थशास्त्र ग्रन्थको बारेमा छ । अर्थशास्त्र (इकोनोमिक्स) को बारेमा जान्न अर्को विवरण अर्थशास्त्रमा हेर्नु होस् ।
अर्थशास्त्र ग्रन्थ का रचयितालाई कौटिल्य, विष्णुगुप्त, चाणक्य आदि विभिन्न नामले उल्लेख गरिएको पाइन्छ । तर स्वयं रचनाकारले आफ्नो नाम विष्णुगुप्त बताएका छन् । आचार्यको जीवनीकारहरूका अनुसार, नन्दबाट अपमानित भएका र नन्द वंश समाप्त पार्ने शपथ लिएका आचार्य विष्णुगुप्तले चन्द्रगुप्त मौर्यलाई शिष्य बनाई एउटा सङ्गठन खडा गरे । आफूले यो महान कार्य गरेको उल्लेख उनले यसरी गरेका छन्– [१]
येन शास्त्रं च शस्त्रं च नन्द राजगता च भूः ।
अमर्षेणेद्धृत्यांन्याशु तेन शास्त्रमिदं कृतम् ।
दृष्ट्वा विप्रतिपत्तिं बहुधा शास्त्रेषु भाष्यकारणाम् ।
स्वयमेवविष्णुगुप्तश्चकार सूत्रं च भाष्यं च ।।
(जसले असह्य भएर शस्त्र, शास्त्र, र नन्दको हातमा परेको भूमि (राज्य व्यवस्था) उद्धार गर्यो, उही चाणक्य विष्णुगुप्तद्वारा विभिन्न शास्त्रहरुका मतभेदहरु अध्ययन गरेर यो शास्त्र रचना गरिएको हो ।)
चन्द्रगुप्त मौर्य राजा भएपछि एक विशाल र बलियो साम्राज्य स्थापना भयो जसको राजधानी पाटलिपुत्र थियो । यस राज्य विस्तारलाई छोरा बिन्दुसार र नाति सम्राट अशोकले निरन्तरता दिएका हुन् । लगातार तीन पुस्ता (३००–१८० वि.पू.) सम्म निष्कण्टक सञ्चालित रहेको यो विशाल साम्राज्य कौटिलीय अर्थशास्त्रका नीतिहरूको जगमा स्थापित भएको थियो भन्नुमा अत्युक्ति हुने छैन ।[२]
यद्यपि अटोस्टीन जोली, विन्टरविट्ज, कीथ आदि केही विद्वानहरूले यसको प्राचीनतामा शंका गर्दै कौटिल्य तथा अर्थशास्त्र दुवै वास्तविक होइनन् र कुनै काल्पनिक रचनाकारले पाँचौ शताब्दीमा रचना गरेको बताउँछन् । तर के पी जायसवाल, रुद्रपत्तनम् श्यामशास्त्री, गणपति शास्त्री, फ्लीट, स्मिथ, र अमर्त्य सेन, सोमनाथ शर्मा, नयराज पन्त आदि विचारकहरूले प्रमाणपूर्वक के भनेका छन् भने कौटिल्यको अस्तित्व थियो त्यसैले आलोचकहरूका तर्कहरू महत्तत्वहीन छन् । त्यसैले आधुनिक समयमा विद्वान्हरूले कौटिल्यको ऐतिहासिकता असन्दिग्ध मान्दछन् ।[३] [४] [५]
अमरकोशका एक जना व्याख्याकार जातरूपले आफ्नो व्याख्यामा भनेका छन्– अर्थशास्त्र चाणक्यादि । यसबाट के स्पष्ट हुन्छ भने चाणक्य (कौटिल्य) र उनले उल्लेख गरेका अन्य अर्थशास्त्र विषयका प्रतिपादक हुन् । [६][७]अतीतमा अर्थशास्त्र एक प्रतिष्ठित विद्या रहिआएको थियो र अनेक आचार्यहरूले संस्कृतमा अर्थशास्त्र नाम गरेका ग्रन्थहरु रचना गरेका थिए भन्ने कुराको प्रमाण कौटिलीय अर्थशास्त्रमा उल्लिखित अर्थशास्त्राणि शब्दबाट स्पष्ट हुन्छ । यो शब्द अर्थशास्त्रको बहुवचन हो । तर प्राचीन आचार्यहरूले रचना गरेका सबै ग्रन्थहरु सोही रूपमा भने उपलब्ध छैनन् । [८] कौटिलीय अर्थशास्त्रको विषय वस्तु व्याख्या गर्ने क्रममा आचार्य कौटिल्यले ११२ स्थानमा पूर्वाचार्यहरूको कथन, सिद्धान्त, विश्लेषण, र उदाहरणहरू प्रस्तुत गरेका छन् । औशनस र भारद्वाजको नाम सात पटक, बृहस्पति, वैशालाक्ष, र पराशरको नाम छ पटक, मनु, वातव्याधि, र पिशुनको पाँच पटक, कौणपदन्तको चार पटक, बाहुदन्तीपुत्र र आम्भीको नाम एक एक पटक सन्दर्भ उल्लेख गरिएको छ । अन्य अज्ञातनाम आचार्यहरूलाई मेरो आचार्य, आचार्य वा अन्य भनी उल्लेख छ । यस्ता आचार्यहरूको नाम ५९ पटक उल्लेख छ । [९] [१०] [११]
कौटिल्यको वास्तविक नाम, जन्म स्थान र जन्म मितिबारे विद्वान्हरूमा विवाद पाइन्छ । बौद्ध साहित्यले उनलाई तक्षशिला निवासी मानेका छ । कौटिल्यको शिक्षा दीक्षा तक्षशिलामा भएको थियो र पछि उनी त्यहीं अर्थशास्त्रका आचार्य भएका थिए । कौटिलीय अर्थशास्त्र अनुसार उनको खास नाम विष्णुगुप्त हो । जीवनीकारहरूका अनुसार, मगधको राजा नन्द एक शक्तिशाली तर अन्यायी राजा थियो । जसको व्यवहारबाट सामान्य मानिसहरू अत्यन्त असन्तुष्ट थिए । सामान्य मानिसहरूको भावनाको प्रतिनिधित्व गर्दै अत्याचारी नन्द वंश समाप्त गर्ने शपथ लिएका चाणक्यले चन्द्रगुप्त मौर्यलाई शिष्य बनाई एउटा सङ्गठन खडा गरे । चन्द्रगुप्त मौर्य राजा भएपछि एक विशाल, सम्पन्न र बलियो मगध साम्राज्य स्थापना भयो । चन्द्रगुप्तको नाति सम्राट अशोक इतिहास प्रसिद्ध राजाहरू हुन् । इतिहासकारहरूले अशोकको साम्राज्य पूर्वमा आसामदेखि, पश्चिममा अफगानिस्तानसम्म र उत्तरमा कश्मीरदेखि दक्षिणमा कलिंगसम्म फैलिएको थियो भनेका छन् । यस साम्राज्यको राजधानी पाटलिपुत्र अर्थात् पटना थियो । वि.सं. ४००–३०० वि.पू. स्थापित यस साम्राज्यको स्थिरता र सम्पन्नता अर्थशास्त्र पुस्तकका सिद्धान्तहरूमा स्थापित भएको हो भन्नुमा अत्युक्ति हुने छैन । प्रजाको सन्तानवत् पालन गर्ने सिद्धान्त पनि अशोकले कौटिलीय अर्थशास्त्रबाट प्राप्त गरेको मानिएको छ । [१२] [१३]बौद्ध जातकहरूमा पनि मोरिय गणराज्यको नाम उल्लेख भएको छ र त्यसको स्थान लुम्बिनीको नजिकबताइएको छ । यो नै चन्द्रगुप्त मौर्यको जाति पनि हो । [१४] भविष्य पुराणमा चन्द्रगुप्तलाई शाक्य वंशी बुद्ध सिंहको सन्तान भनिएको छ । [१५]
ग्रन्थको पुनरुद्धार एवं अनुवाद
सम्पादन गर्नुहोस्दक्षिण भारतको एक ब्राह्मणले वि.सं. १९५९ मा भट्टस्वामीका टीका सहितको एक हस्तलिखित ग्रन्थ मैसूर राज्यको ओरिएन्टल लाइब्रेरीका अध्यक्ष श्याम शास्त्रीलाई बुझाएको थियो । जसले मैसूरका राजा बोडियारको सहयोगले यसको शुद्धता साथ सम्पादन, अंग्रेजी अनुवाद र प्रकाशन गरे । यस पछि गणपतिशास्त्री, काङ्ले, गैरोला, रङ्गराजनले पुनः सम्पादन, अनुवाद र विश्लेषण गरे । जर्मन, इटालियन र अन्य यूरोपेली भाषामा कौटिलीय अर्थशास्त्रको अनुवाद प्रकाशित भयो । यसरी लगभग दुइ हजार वर्ष अघि रचना गरी बीचमा हराएको एक महत्त्वपूर्ण ग्रन्थ सार्वजनिक जानकारीमा आयो । यी अनुवादहरूले प्राचीन हिन्दु संस्कृतिमा अर्थशास्त्र, राजनीतिशास्त्र, कूटनीति, युद्धकला, र सैन्य संचालनका क्षेत्रमा गरिएको मौलिक, व्यावहारिक, र वस्तुगत चिन्तनबारे विश्वलाई जानकारी भयो । [१६]नेपालमा अर्थशास्त्र नामक यस अनुपम ग्रन्थको बारेमा वि.सं. २००३ मा चर्चा हुन थालेको हो । सम्पूर्ण कौटिल्य अर्थशास्त्र ग्रन्थको पहिलो नेपाली अनुवाद वि.सं.२०२४सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भयो । यसमा लगभग ९०० पृष्ठ छन् ।[१७]
कौटिलीय अर्थशास्त्र– संक्षेपमा
सम्पादन गर्नुहोस्कौटिल्यले विद्यालाई चार भागमा विभाजन गरेका छन् [१८]–
आन्वीक्षिकी
सम्पादन गर्नुहोस्आन्वीक्षिकी शास्त्र सबै शास्त्रहरूको गहनतामा प्रवेश गर्नसक्ने ज्ञानको प्रकाश हो । यसले कुनै समस्याको विश्लेषण र समाधानका वैज्ञानिक उपायहरू प्रस्तुत गर्नुका साथै अध्ययनको विषय वस्तुमा उचित के हो र कुन कुरा उचित छैन त्यो छुट्टयाउने आधार पनि प्रदान गर्छ । तसर्थ आन्वीक्षिकीले कुनै विषय विश्लेषणको दार्शनिक आधार, समस्याको उठानका तरीकाहरू र त्यसको विश्लेषणका वैज्ञानिक विधि र निष्कर्ष प्राप्त गर्ने विशिष्ट उपकरण निष्कर्ष प्राप्त गर्ने तरीका प्रदान गर्छ । [१९]
त्रयी
सम्पादन गर्नुहोस्त्रयी अन्तर्गत निम्नलिखित तीन वेदहरू पर्दछन्–
क).ऋग्वेद
ख) यजुर्वेद
ग) सामवेद
वार्ता
सम्पादन गर्नुहोस्कौटिल्यको विचारमा वार्ताशास्त्रको मुख्य विषय वस्तु कृषि हो । यसका साथै पशुपालन र वाणिज्यलाई पनि उनले वार्तामा समावेश गरेका छन् । कौटिल्यका अनुसार– अर्थानर्थौ वार्तायाम् अर्थात् अर्थ आर्जन कसरी हुन सक्छ र त्यसको उपयोग कसरी हुन जान्छ त्यो कुरा वार्ताशास्त्रमा वर्णन गरिन्छ ।[२०]
दण्डनीति
सम्पादन गर्नुहोस्राज्यको प्राप्ति, प्राप्त राज्यमा लोक कल्याणकारी काम, आर्थिक प्रगति, अन्य राष्ट्रसंग सन्धि र विग्रहका नीतिहरू बताउने शास्त्रलाई दण्डनीति भनिएको छ । दण्डनीतिलाई अर्को शब्दमा नयशास्त्र वा नीति शास्त्र पनि भनिन्छ । यस नीतिशास्त्रले नीतियुक्त के हो र के कुरा नीतियुक्त छैन त्यस कुरालाई निर्क्यौल गर्न मद्दत गर्छ ।[२१]
कौटिलीय अर्थशास्त्रको विषय विभाजन
सम्पादन गर्नुहोस्यो विशाल ग्रन्थ १५ खण्ड अर्थात् अधिकरणमा विभाजित छ । प्रत्येक अधिकरणमा अनेक अध्यायहरू छन् । कौटिल्यले सुरुदेखि अन्तसम प्रकरणलाई निरन्तरता दिएका छन् । यसरी कौटिलीय अर्थशास्त्रमा जम्मा १८० प्रकरणहरु छन् । कौटिल्यले आफ्नो ग्रन्थमा ६००० श्लोकको निबन्ध रचना गरिएको बताएका छन् तर अहिलेसम्म प्राप्त विभिन्न संकलनहरूको श्लोक संख्या ३८० र जम्मा सूत्र संख्या करीब ४८०० हुन आउंछ । यसबाट मूल ग्रन्थको केही सामग्री लोप भएको बुझिन्छ । यदि कौटिल्यले ६००० रचना गरेको भए लगभग १० प्रतिशत सामग्री उपलब्ध छैन ।[२२] [२३]
कौटिलीय अर्थशास्त्रको विषय वस्तुहरूलाई निम्नलिखित शीर्षकहरूमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ [२४] [२५]
१.परिचयात्मक खण्ड
२.राज्य संयन्त्र
३.अर्थव्यवस्था
४.आन्तरिक र बाह्य सुरक्षा
परिचयात्मक खण्ड–
सम्पादन गर्नुहोस्प्रथम र पन्ध्रौँ अधिकरण ग्रन्थको विषय वस्तु, अर्थशास्त्रको परिभाषा र शोधविधिको परिचयस“ग सम्बन्धित छन् । प्रथम अधिकरणका तीन अध्यायहरूमा ग्रन्थको सम्पूर्ण विषय वस्तुको क्रम तथा आन्वीक्षिकी, त्रयी, वार्ता र दण्डनीति विषयको निरुपण गरिएको छ । पन्ध्रौँ अधिकरणमा आर्थिक तथ्यहरूको विश्लेषण गरी निष्कर्ष प्राप्त गर्ने विधिको वर्णन छ ।
राज्य संयन्त्र–
सम्पादन गर्नुहोस्प्रथम अधिकरणको अध्याय ४ देखि अध्याय २० सम्मका अध्यायहरूमा राजकाजको दृष्टिले शासकका व्यवहार र कर्तव्य, मन्त्री, पुरोहित, राजकीय पदाधिकारी, राजदूत र गुप्तचर नियुक्ति सम्बन्धी विषयको विवरण दिइएको छ । दोस्रो अधिकरणको सुरुका चारवटा अध्यायमा जनपदहरूको स्थापना, किल्ला निर्माण, राजकीय पदाधिकारीका चालचलनको परीक्षा र अध्याय ६ देखि ३५ सम्मका अध्यायहरूमा राजकीय कोष, सेना, कृषि, उद्योग आदिका प्रमुख अधिकारीहरूको काम र कर्तव्यका बारेमा उल्लेख छ । अध्याय ३६ मा नागरिकको कर्तव्य उल्लेख छ । पाँचौ अधिकरणका छवटा अध्यायहरूमा सुगठित र अनुशासित आन्तरिक प्रशासन सम्बन्धी विषयहरूको वर्णन छ । छैटौं र आठौँ अधिकरणमा राज्यका प्रकृतिहरूलाई आदर्श बनाउने विधिहरू वर्णित छन् । सातौँ, नवौँ, दशौँ, एघारौँ, बाह्रौँ, तेह्रौँ र चाधौं अधिकरणमा वैदेशिक सम्बन्ध, शत्रु र मित्र राष्ट्रसँगको कूटनैतिक व्यवहारबारे वर्णन छ ।
अर्थव्यवस्था–
सम्पादन गर्नुहोस्पहिलो अधिकरणको अध्याय २ र ३, दोस्रो अधिकरणका सबै अध्याय, तेस्रो अधिकरणको अध्याय १० देखि १४, चौथो अधिकरणको अध्याय १ र २ तथा पाँचौं अधिकरणको अध्याय २ र ३ को विवरणले के स्पष्ट गर्छ भने राजकीय अर्थव्यवस्था विषयमा प्राचीन कालमा उत्कृष्टतम लेखन कार्य उपलब्ध थियो । कृषि, पशुपालन, वाणिज्य, राजकीय वित्त, राजकीय र निजी उद्यम व्यवस्था, आर्थिक प्रशासन इत्यादि अनेक आर्थिक क्षेत्रको विस्तृत र वैज्ञानिक विश्लेषण यी अध्यायहरूमा गरिएको छ ।
दोस्रो अधिकरणमा राज्यका ३६ विभागका प्रमुख अधिकारीहरूको काम र कर्तव्यको बारेमा उल्लेख छ । यस अधिकरणमा आन्तरिक र वैदेशिक व्यापारका साथै भूमि व्यवस्था, पूँजी लगानी इत्यादिद्वारा राष्ट्रिय आयमा वृद्धि गर्ने विषयहरू उल्लेख छ । कर सङ्कलन गर्ने शौल्किक, कर विभाग प्रमुख,तथा करारोपणका नियमका बारेमा सूक्ष्म विवरण दिइएको छ । बढी कोषको आवश्यकता पर्दा लिनु पर्ने राजकीय निर्णयहरूको बारेमा पाँचौं अधिकरणमा बताइएको छ । राजकीय कोष लेखाङ्कनका विधि, फाइलिंग प्रणाली र नियमहरुका बारेमा अक्षपटलाध्यक्ष अध्यायमा विवरण दिइएको छ । तेस्रो अधिकरणमा ज्याला, ब्याज र नाफाका सैद्धान्तिक र कानुनी समाधानहरू प्रस्तुत गरिएको छ । पाँचौं अधिकरणमा राजकीय कर्मचारीहरूको ज्याला निर्धारणका नियमहरू बनाइएको छ ।
आन्तरिक र बाह्य सुरक्षा–
सम्पादन गर्नुहोस्शान्ति सुरक्षालाई कौटिलीय अर्थशास्त्रमा राज्यको सर्वाधिक महत्त्वपूर्ण काम बताइएको छ । तेस्रो, चौथो, र पाँचौं अधिकरणहरूमा आन्तरिक सुरक्षाका लागि स्थानीय निकाय, सेना, रक्षक, र गुप्तचर निकायहरूको व्यवस्था गरिएको छ । धर्मस्थीय अधिकरणमा धर्मशास्त्रमा आधारित विधि संहिताको विवरण दिइएको छ । कण्टकशोधन अधिकरणमा नाफामुखी व्यापारी, अशान्ति मच्चाउने अपराधी, प्रजापीडक कर्मचारी आदि समाजलाई कण्टक तत्त्वहरूलाई दण्डित गरी तह लगाउने नियमहरूको वर्णन छ । नवौं र दशौँ अधिकरणमा युद्ध अभियानको तैयारी र युद्ध सञ्चालन गर्दा पालन गर्नु पर्ने नियम, व्यूह रचना, शत्रुमाथि आक्रमण आदिको विवरण छ । एघारौं अधिकरणमा संघराज्यहरूमा फूट पार्ने तथा आफ्नो केन्द्रीय राज्यमा मिलाउने विधिहरूको प्रतिपादन गरिएको छ । बाह्रौं अधिकरण दुर्बल राज्यले बलिया राज्यसँग गर्नु पर्ने कूटनैतिक व्यवहार र सावधानीहरूको वर्णन छ । तेह्रौं अधिकरणमा शत्रुको दुर्ग जितेपछि कब्जा गर्ने र त्यसमा आधिपत्य कायम गर्ने विधिहरूको वर्णन गरिएको छ । चौधौं अधिकरणमा शत्रु माथि प्रयोग गरिने विष, टुना मुना र मन्त्रहरूको प्रयोग विधि बताइएको छ ।[२६]
उपसंहार
सम्पादन गर्नुहोस्यदि एडम स्मिथलाई आधुनिक अर्थशास्त्रका जनक भनिन्छ भने कौटिल्यलाई पूर्वीय अर्थशास्त्रका जनक भन्न सकिन्छ । तर स्वयं कौटिल्यले शुक्र र बृहस्पतिका सम्प्रदायको आधारमा ग्रन्थ रचना गरेका हुन् । शुक्रनीति र महाभारतको उल्लेख अनुसार, शुक्र र बृहस्पतिका ग्रन्थहरु पैतामह तन्त्रको आधारमा रचना गरिएका हुन् । बृहस्पतिलाई पनि अर्थशास्त्रका आधिकारिक व्यक्ति भनिएको छ । यी सबै तथ्यहरूको आधारमा अर्थशास्त्र विषयका विविध ग्रन्थ थिए र सो विषयका अनेक आचार्य थिए भन्न सकिन्छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ जायसवाल, के पी,(सन् १९७८), हिन्दु पोलिटी, बेंगलोर : द बेंगलोर प्रिन्टिंग एन्ड पब्लिशिंग कम्पनी लिमिटेड ।
- ↑ ज्ञवाली, बाबु राम, (वि.सं.२०७१), कौटिलीय अर्थशास्त्र र शुक्र नीतिमा राज्य पुनर्निर्माणका आधार तथा त्यसको वर्तमान सान्दर्भिकता, प्रज्ञा शोधमूलक अर्धवार्षिक, पूर्णांक ११०, काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान ।
- ↑ रङ्गराजन, एल एन,(सन् १९९२), कौटिल्य– द अर्थशास्त्र, देल्ही : पेंगुइन क्लासिक्स, इन्डिया ।
- ↑ रङ्गास्वामी अइयंगर, के वी,(सन् १९६५), आस्पेक्ट्स अफ् एन्शेन्ट इन्डियन इकोनोमिक थट्, बनारसः बनारस हिन्दु विश्वविद्यालय ।
- ↑ जायसवाल, के पी,(सन् १९७८), हिन्दु पोलिटी, बेंगलोर : द बेंगलोर प्रिन्टिंग एन्ड पब्लिशिंग कम्पनी लिमिटेड ।
- ↑ पन्त, एम आर, (सन् २०००), जातरुप’ज् कमेन्ट्री अन् द अमरकोश १, वाराणसी : मोतीलाल बनारसीदास ।
- ↑ ज्ञवाली, बाबु राम, (वि.सं.२०७१), कौटिलीय ग्रन्थ र आजको अर्थशास्त्र, तानेसन क्याम्पस स्मारिका २०७१, तानसेन : तानसेन बहुमुखी क्याम्पस ।
- ↑ जायसवाल, के पी,(सन् १९७८), हिन्दु पोलिटी, बेंगलोर : द बेंगलोर प्रिन्टिंग एन्ड पब्लिशिंग कम्पनी लिमिटेड ।
- ↑ ज्ञवाली, बाबु राम,(सन् २०१२),इकोनोमिक्स अफ् कौटिल्य, शुक्र एन्ड बृहस्पति, रुपन्देही : ज्ञानज्योति प्रकाशन ।
- ↑ द कौटिल्य अर्थशास्त्र ३, (सन् २००६), अनु. आर पी काङ्ले, वाराणसी : मोतीलाल बनारसी दास ।
- ↑ रङ्गराजन, एल एन,(सन् १९९२), कौटिल्य– द अर्थशास्त्र, देल्ही : पेंगुइन क्लासिक्स, इन्डिया ।
- ↑ बोशे, रोजर,(सन् २०००), द फर्स्ट ग्रेट पोलिटिकल रियलिस्ट– कौटिल्य एन्ड हिज अर्थशास्त्र, न्यु योर्क : लेक्सिंगटन बुक्स ।
- ↑ रङ्गराजन, एल एन,(सन् १९९२), कौटिल्य– द अर्थशास्त्र, देल्ही : पेंगुइन क्लासिक्स, इन्डिया ।
- ↑ त्रिपाठी, आर एस,(सन् १९७७), हिस्ट्री अफ् एन्शेन्ट इन्डिया, वाराणसी : मोतीलाल बनारसीदास ।
- ↑ भविष्य पुराण, (वि.सं. २०६५),अनु.?, गोरखपुर : गीताप्रेस ।
- ↑ द कौटिल्य अर्थशास्त्र १,२,३, (सन् २००६),अनु. आर पी काङ्ले, वाराणसी : मोतीलाल बनारसी दास ।
- ↑ कौटिल्यको अर्थशास्त्र, (वि.सं.२०२४),अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा, काठमाडौँ : नेराप्रप्र ।
- ↑ कौटिल्यको अर्थशास्त्र, (वि.सं.२०२४),अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा, काठमाडौँ : नेराप्रप्र ।
- ↑ कौटिल्यको अर्थशास्त्र, (वि.सं.२०२४),अनु. केशवराज अर्याल, सम्पादक पं.सोमनाथ शर्मा, काठमाडौँ : नेराप्रप्र,१.१ ।
- ↑ रङ्गराजन, एल एन,(सन् १९९२), कौटिल्य– द अर्थशास्त्र, देल्ही : पेंगुइन क्लासिक्स, इन्डिया ।
- ↑ बोशे, रोजर,(सन् २०००), द फर्स्ट ग्रेट पोलिटिकल रियलिस्ट– कौटिल्य एन्ड हिज अर्थशास्त्र, न्यु योर्क : लेक्सिंगटन बुक्स ।
- ↑ रङ्गराजन, एल एन,(सन् १९९२), कौटिल्य– द अर्थशास्त्र, देल्ही : पेंगुइन क्लासिक्स, इन्डिया ।
- ↑ द कौटिल्य अर्थशास्त्र ३, (सन् २००६), अनु. आर पी काङ्ले, वाराणसी : मोतीलाल बनारसी दास ।
- ↑ ज्ञवाली, बाबु राम, (वि.सं.२०७१), कौटिल्य र शुक्रको राजनीतिक अर्थशास्त्र, रुपन्देही : ज्ञानज्योति प्रकाशन ।
- ↑ वैश्य, एम सी,(सन् १९९३), आर्थिक विचारों का इतिहास, आगरा : रतन प्रकाशन मन्दिर ।
- ↑ कौटिल्यको अर्थशास्त्र, (वि.सं.२०२४),अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा, काठमाडौँ : नेराप्रप्र ।