हामीसँग मूलतः तीन चार प्रकारका शब्दहरू छन् तत्सम, तद्भव, आगन्तुक अनि झर्रो (झर्रा)। आगन्तुक पनि देशज र विदेशज गरेर दुई भागमा छुट्‌ट्याइएका छन्। यी शब्दहरू कसरी लेख्ने र यी शब्दहरूको हिज्जे कस्तो हुनु पर्ने हो? भनेर गुनासो गर्नेहरू थुप्रै छन्। पुराना अनि नयाँ हिज्जे भएकाले यो अलमल भएको हो भन्ने दोष पनि आइरहन्छ। साना कक्षमा पढ्न विद्यार्थीहरूलाई र तिनीहरूलाई पढाउने शिक्षकहरूलाई त झन यो समस्या भइरहेको छ। कुन हिज्जे लेख्ने, कोशमा पनि दुई प्रकारकै हिज्जे राखिदिएको हुन्छ भनेर प्रश्नहरू पनि आइरहन्छन्। अन्य प्रकारका विरोधहरू त छँदै छन्। त्यसको चर्चा गरिरहनु आवश्यक छैन। “हिज्जे व्याकरण होइन। हिज्जे व्याकरणिक कोटिहरूमा पर्दैन। यो लिपि व्याकरणसँग सम्बन्धित कुरा हो”- हामीलाई सरले यसरी सम्झाउनु हुन्थ्यो। तर लेख्दा हिज्जे शुद्ध हुनै पर्छ। त्यसैले यसलाई व्याकरणमा स्थान दिइएको छ (सबै व्याकरणमा होइन)। हामी हिज्जेलाई लिएर धुमधाम महाभारत गर्छौँ तर व्याकरणकै चर्चा भने गर्दैनौँ। व्याकरणिक कोटिहरूले शब्द, वाक्य वा भाषामा नै पार्ने प्रभावबारे चर्चा गर्दैनौँ। शब्द निर्माणबारे चर्चा गर्दैनौँ। व्याकरणिक कोटि लाग्दा शब्द, पद, क्रिया, वाक्य आदि कसरी रूपायित हुन्छन् त्यसबारे विचार गर्दैनौँ। ससाना नानीहरूजस्तै हिज्जेलाई लिएर गनगन गरिरहन्छौँ तर भाषामा हिज्जे पनि शुद्ध हुनै पर्ने हुनाले यसबारे गम्भीर भएर नै चर्चा गर्न आवश्यक छ। आज सबैभन्दा पहिले ह्रस्व ‘इ’, ‘उ’ दीर्घ ‘ई’ ‘ऊ’ कहाँ? यसबारे कस्तो नियम छ? त्यो विचार गरौँ।

पहिलो सूत्र- तत्समबाहेक अन्य शब्दहरू (तद्भव, आन्तुक, झर्रो) नेपालीमा लेख्दा शब्दका आदि अनि मध्यमा (सुरु र बिच) ह्रस्व ‘इ’ ह्रस्व ‘उ’ र अन्त्यमा दीर्घ ‘ई’ दीर्घ ‘ऊ’लेख्ने।

पदका आदिमा ह्रस्व ‘इ’ लाग्ने शब्दरू - मिठो, तितो, हिजो, किरो (किरा), पिरा, पिर, तिर, झिर, खिर, किन, किताप, लिटो, पिठो, मिठाई, पिटाई, सिटा, सिता, मित, टिस्टा, चिरेटो, चिम्टा, चिम्टी, छिटो, छिर्नु, छिटा, छिनो, जिरा, झिङ्गा  (झिङ्गो), बिटो (बिटा), तिखो, बिहान, किनार, जिल्ला, चिया, चिज, निसान, सिरक, गिलास, जिम्मा, टिकट, इन्ची, बुट, गुलाफ, जुलेबी, मुन्धुम, गुरुङ, रुख, जुवा, थुन, जुन (चन्द्रमा) सुकुल, टुरिस्ट, चुकुल, चुरा, सुन, नुन, भिसा, गुन्दुक, घुर्की, आदि। (यहाँ कति झर्रो शब्दहरू छन् भने कति तद्भव र आगन्तुक शब्दहरू छन्। यसबारे पछि चर्चा गर्ने छौँ।)

पदका मध्यमा ह्रस्व ‘इ’ ‘उ’ लाग्ने शब्दहरू- बहिनी, हरियो-परियो, जमिन, कोसिस, तौलिया, पुलिस, चाम्लिङ, चाउमिन, मालिक, महिना, अहिले, कमिला, कलिलो, बलियो, मलिलो, अमिलो, गुलियो, दारिम, दछिना, तारिख, अमिन, गरिब, गहिरो, पदिना, हँसिया, रसिद, राजिनामा, सहिद, अम्लिसो, हस्पिटल, तरुल, कोइली, पहुना, अङ्गुर, जादुगर, मजदुर, जुलुस, बन्दुक, पेन्सिल, बुरुस (ब्रस), चुकुल, बिस्कुट, हाइकु, कन्जुस, गुनिउँ, बाउसे, पटुका, दार्जिलिङ, कालेबुङ, सिक्किम, आदि


पदका अन्त्यमा दीर्घ ‘ई’ ‘ऊ’ लग्ने शब्दहरू- रुन्ची, इन्ची, कैची, सिन्की, बाजी, तर्कारी, रोगी, निरोगी, बैगुनी, सानी, ठुली, गोरी, काली, राम्री, तरुनी, तन्नेरी, नानी, नाती, पनाती, जाती (सन्चो), अलच्छिनी, गन्ती, (गिन्ती), बारी, वारी, पारी, जेठी, माइली, काइली, अन्तरी, जन्तरी, मन्तरी, लखन्तरी, कान्छी, लुती, नराम्री, वरिपरी, चुलबुली, बराबरी, बरबरी, पोखरी, पाथी, ग्राग्री, दही, बहिनी, साडी। आदि

सबैभन्दा पहिले बुझ्नु पर्ने कुरो के हो भने नेपाली शब्द भन्नाले तद्‌भव, आगन्तुक (देशज, विदेशज) र झर्रा शब्दहरू हुन्। नेपाली भाषाको माउ भाषा कुन हो? भन्ने प्रश्न लिएर अध्येताहरूले आआफ्नै प्रकारले अध्ययन गरेका छन्। सुरुमा नेपाली भाषाको माउ भाषा संस्कृत मानिन्थ्यो भने पछि आएर यसको माउ भाषा खस भाषा मानिन थाल्यो। संस्कृतका अध्येताहरूले संस्कृत भाषालाई देव भाषा पनि भनेका छन् र यो सबै भाषाहरूको जननी हो भन्ने मत पनि प्रकट गरेका छन्। संस्कृत सबै भाषाहरूको जननी हो वा होइन त्यो अर्कै विषय हो तर नेपाली भाषाको माउ भाषा चाहिँ संस्कृत हो वा होइन भन्ने प्रश्न चाहिँ हामीले विचार गर्नु पर्ने हो। अध्येताहरू खस भाषा नै नेपाली भाषाको माउ भाषा हो भन्ने निष्कर्षमा (अहिलेसम्मको अध्ययनमा) पुगेका छन्। नेपालीमा संस्कृतबाट उही रूप र अर्थमा आएका शब्दहरूलाई हामी तत्सम शब्द भन्छौँ र तत्सम शब्दको अर्थ अनि परिभाषा पनि यही नै हो। संस्कृतदेखि अन्य भाषाबाट आएका शब्दहरूलाई तत्सम भन्नु हुँदैन किनभने ती शब्दहरू तत्सम होइनन्। संस्कृतइतर भाषाहरूबाट आएका शब्दहरू आगन्तुक हुन्। यसमा दुई मत हुनु हुँदैन। संस्कृतबाट प्राकृत हुँदै नेपालीमा आएका शब्दहरू चाहिँ तद्‌भव शब्दहरू हुन्। यसमा अर्थ वा भाव संस्कृत शब्दकै भए तापनि यसको रूप भने परिवर्तित हुन्छ। पुलिस, जलेबी, पेन, ब्रस-जस्ता शब्दहरूलाई कतिले तत्सम र कतिले तद्‌भव भनेर बुझेका छन्। यसको प्रमाण पनि छ तर ती कुराहरूलाई यहाँ चर्चाको विषय बनाउनु सान्दर्भिक हुँदैन। तर यो गलत हो। संस्कृतका शब्दहरू प्राकृत हुँदै नेपाली भाषामा आएकालाई हामी तद्‌भव भन्छौँ र हो पनि। जस्तै-  /अक्षि (संस्कृत), अक्खि (प्राकृत), आँखो (नेपाली)/  /कोकिल (संस्कृत), कोइल (प्राकृत), कोइली (नेपाली)/ /घृत (संस्कृत), घिअ (प्राकृत), घिउ (नेपाली)/ पुलिस, सहिद, पेन, बहादुर, जलेबी (जुलाबी), सिनेमा, पिक्चर, ब्रस जस्ता शब्दहरू चाहिँ आगन्तुक हुन्। हिन्दी, अङ्ग्रेजी, उर्दू, फारसी, तुर्की बङ्गाली आदि भाषाहरूबाट आएका शब्दहरू आगन्तुक शब्दहरू हुन्। भोट बर्मेली परिवारका भाषाबाट आएका शब्दहरू पनि छन्। त्यसैले संस्कृत भाषाका शब्दहरू अथवा तत्सम शब्दहरू लेख्दा त्यसको रूप वा हिज्जेमा परिवर्तन नगर्ने। त्यसलाई संस्कृतकै नियमअनुसार लेख्ने। (अहिलेलाई तत्सम शब्दहरू तत्समकै नियमअनुसार राखौँ भन्ने मतमा सबै अध्येताहरू सहमत भएका छन्। यद्यपि व्यक्तिको नाम चाहिँ व्यक्तिले आफ्ना इच्छाअनुसार लेख्न सक्छन्। जस्तै परसुराम पौड्याल, दसरथ खरेल)। तर तत्समइतर शब्दहरू चाहिँ नेपाली नियमअनुसार लेख्दा हुन्छ। तत्समइतर शब्दहरूमा ह्रस्व अनि दीर्घ लगाउने पहिलो सूत्र (यो पहिलो सूत्र नै चाहिँ होइन तर बुझ्नका लागि सजिलो होस् भनेर राखिएको मात्रै हो।) पदको आदि र मध्य (सुरु र बिच)-मा ह्रस्व र अन्त्यमा चाहिँ दीर्घ लेख्ने भनेर हामीले हेऱ्यौँ। आज दोस्रो सूत्र हेरौँ।

ह्रस्व र दीर्घ लेख्ने दोस्रो सूत्र

१. स्त्रीलिङ्गी नामका अन्त्यमा सबै दीर्घ लेख्ने।

दिदी, केटी, माइजू, भाउजू, काकी, बडी, निनी, बहिनी (बैनी), फुपू, सासू, स्वास्नी, बुढी, गाई, भैँसी, रानी, कुमारी, सम्धिनी, भङेरी, आदि। (जाति सूचक स्त्रीलिङ्गी नाम नलेख्ने भन्ने धारणा छ। यो सामाजिक मान्यता पनि हो। हिजोआज जाति सूचक स्त्रीलिङ्गी नाम लिखिँदैन। तर लेख्न परेका खण्डमा यसरी लेख्ने –राइनी, लिम्बुनी, मगरसेनी, गुरुङसेनी, तामङसेनी, कर्केनी (कार्किनी) छेत्रिनी, बाहुनी, सर्केनी (सार्केनी), मुखायनी, नेवरनी, लप्चेनी आदि)

२. पुलिङ्गी शब्दका अन्त्यमा सबै ह्रस्व लेख्ने।

गुरु, भाइ, दाजु, फुपाजु, भेनाजु, जेठाजु, दाइ, गोरु, नाति, पनाति, खनाति, बाबु, ज्वाइँ आदि। यसमा तीनवटा शब्दहरू अपवादका रूपमा पाइन्छ। व्यकारणले यसलाई अपवाद भनेको छ- सम्धी, स्वामी अनि खसी। यी शब्दहरू पुलिङ्गी भए तापनि शब्दका अन्त्यमा दीर्घ लेखिन्छ। कतिपय व्याकरणले जोगी-लाई पनि अपवाद भनेर राखेको पाइन्छ। ‘कालेबुङ प्रस्तावना’-ले यो दीर्घ लेखिनाको कारण जात बुझाउने शब्द भएर हो भनेको छ।

३. सङ्ख्या बुझाउने शब्दहरू दीर्घ लेख्ने तर ‘उ’-लाई ‘ऊ’ नलेख्ने तर परिमाण बुझाउने शब्द चाहिँ इकारन्त भए ह्रस्व लेख्ने।

दुई, तीन, उन्नाईस, बीस, बाईस, तेईस, सत्ताईस, उन्तीस, उन्चालीस, उनासी आदि। परिमाण बुझाउने- कति, उति, यति, त्यति, जति, अलिकति आदि।

४. स्थान, धर्म, जात-जाति, भाषा, पेसा. थर. नदी बुझाउने शब्दहरूका अन्त्यमा दीर्घ लेख्ने।

मङ्पू, रम्फू, जङ्गू, मुम्बई, दिल्ली, टिस्टाभेल्ली, लखनऊ/ हिन्दू, पारसी, इसाई, जोसमनी/ राई, लिम्बू, छेत्री, जोगी, सन्यासी, खत्री, बङ्गाली, बिहारी, पन्जाबी, मारवाडी/ हिन्दी, हिब्रू, नेपाली, बङ्गाली, मराठी, पन्जाबी. कोङ्कणी/ सिकर्मी, डकर्मी, धोबी, मोची, व्यापारी, सिपाही, फौजी/ बराइली, रसाइली, गदाइली, कार्की, अधिकारी, जोसी/ कावेरी, गोदावरी, सिन्धू, सरस्वती, काली, गडकी, वागमती, आदि।


ह्रस्व दीर्घ लेख्ने तेस्रो सूत्र (यसमा पाँचवटा बुँदा राखिएका छन्)

१. अव्यय वा अविकारी शब्द ह्रस्व ‘इ’ लेखिन्छ। “वाक्यमा व्यवहार गरिँदा लिङ्ग, वचन, कारक, पुरुष, इत्यादि व्याकरणिक कोटिका आधारमा कुनै प्रकारको विकार नआउने तथा रूप नफेरिने शब्दलाई अव्यय भनिन्छ।” (माध्यमिक नेपाली व्याकरण र रचना)

भोलि, पर्सि, अस्ति, पनि, फेरि, खेरि, पारि, वारि, सित, पछाडि, अघाडि, पालि, पट्टि, तिर, सामु, नजिक, अघि, पछि, मुनि, माथि, बित्तिकै, निक्कै, भित्र, बाहिर, किनकि, छिटो, हिजो, अनि, देखि, निम्ति, निमित्त, बिच, लागि, भरि, चोटि, बाजि, पिच्छे, खुब-खुप, छिः, दिउसो, राति, इत्यादि, आदि। तर कतिपय इकारन्त अव्यय चाहिँ दीर्घ लेखिन्छ- यसरी, उसरी, कसरी, जसरी, सिरिरी, फिरिरी, राम्ररी आदि।


२. सर्वनाम सबै दीर्घ लेख्ने।

यी, ऊ, ती, उनी, तिनी, यिनी, यिन, तिमी, हामी, अरू, कोही, यही, केही, त्यहीँ, त्यही, उही, आफू, सोही, यसरी, त्यसरी, आदि।

३. निर्जीव वस्तु र फल-फुल (रुखपात)-को नाम बुझाउने शब्दका पछि दीर्घ ‘इ’ लेखिन्छ।

गाग्री, पानी, छुरी, कोदाली, फोसी, कराई, डेक्ची, ठेकी, हाँडी, दही, मही, घडी, सिँढी, बारी, बाली, टोपी, धिप्री, बर्साती, लेप्टी (बर्साती-लेप्टी शब्द कमानतिर प्रयोग गरिन्छ), थैली, आरी, कैची, फर्सी, मसी, फित्केरी, नाली, कागती, नास्पती (नासपाती), तितेपाती, सयपत्री, मखमली, मिकजिरी, खमारी, पिपली, लप्सी, धुप्पी, च्युरी, भेन्डी, सुपारी, सिरानी, तितिरी, गाडी, हर्दी आदि।

४.  इक, इका, इम, इमा, इत, उक इष्ट, इष्ठ –प्रत्यय लागेर बनेका शब्दहरू इकार र उकार ह्रस्व लेखिन्छ। इक-प्रत्यय लाग्दा चाहिँ शब्दको रूप परिवर्तन हुन्छ।

समाज+इक= सामाजिक/ पारिवार+इक= पारिवारिक/ व्यवहार+इक= व्यावहारिक/ भाषा+इक= भाषिक

इका प्रत्यय लागेका शब्दहरू- पत्रिका, सम्पादिका, लेखिका, गायिका, नायिका इत्यादि

इम प्रत्यय लागेका शब्दहरू- अग्रिम, स्वर्णिम, लेखिम, रूपिम,

इमा प्रत्यय लागेका शब्दररू-  पूर्णिमा, लघिमा, गरिमा, महिमा इत्यादि

इत प्रत्यय लागेका शब्दहरू- कथित, व्यथित, लिखित, रचित, हर्षित, आनन्दित, पण्डित, मूर्च्छित, दुखित, फलित

उक प्रत्यय लागेका शब्दहरू- इच्छुक, भिक्षुक, कामुक, भावुक, जागरुक

इष्ट प्रत्यय लागेका शब्दहरू- विशिष्ट, स्वादिष्ट, प्रविष्ट, अनिष्ट

इष्ठ प्रत्यय लागेका शब्दहरू- घनिष्ठ, बलिष्ठ, गरिष्ठ, वरिष्ठ


ध्यान दिनु पर्ने – उपर्युक्त प्रत्ययहरू लागेका सबै शब्द तत्सम हुन्।

पदको आदि, मध्य मा ह्रस्व ‘इ’ र अन्त्यमा दीर्घ ‘इ’ लागेका शब्दहरू-

फिरिरी, तिरिरी, तितिरी, सिरिरी, लिरिलिरी, पिरिरी, मिरिरी, बिरिरी, किरिरी, चिरिरी, झिरिरी, थिरिरी

५. उकारान्त (उ-लागेर अन्त हुने) नाम, विशेषण, अव्यय सबै ह्रस्व उ लेख्ने/ (स्थान, जाति र थर बुझाउने शब्दबाहेक)-

बिउ, दाउ, भाउ, माउ, आलु, तालु, पिडालु, सिरु, हिँउ, उनिउँ, साहु, चालु, उल्लु, भालु, लद्‌दु, पत्रु, सिकारु, बिकाउ, लडाकु, सामु, चालु, पनिउँ, गुनिउँ, उल्लु इत्यादि।

समाज विभिन्न निकायहरूद्वारा निर्मित एउटा व्यवस्था हो। यहाँ नियम अनि मान्यताहरू हुन्छन्। संस्कृति र संस्कारहरू हुन्छन्। यी सबैलाई एउटा सूत्रमा बाँध्ने भनेकै भाषा हो। तर आजको समय समाजको टाउकामा राजनीतिको वर्चस्व देखिन्छ। समाजका विभिन्न निकायहरूमा राजनीतिक हस्तक्षेप छ। भाषामा पनि राजनीति पस्यो। भाषाको आफ्नो स्वाभाविक अथवा नैसर्गिक नियमहरू हुन्छन्। ती नियमहरूको अध्ययन गरेर मात्र व्याकरणका नियमहरू सहज रूपमा बुझ्न सकिन्छ। म प्रत्येकपल्ट भनिरहेको छु, हिज्जे भाषाको प्राकृतिक नियम होइन। यो लेखन वा लिपिसँग सम्बन्धित विषय वा नियम हो। कुनै पनि भाषा लिपिबद्ध हुन अघि बोलिन्छ। लोकले बोलेपछि भाषाले लिपि ग्रहण गर्छ। नेपाली भाषाले देवनागरी लिपि नै चयन गर्नाका पछि ठुलो कारण भनेको आर्यहरूको विशाल संस्कृतिले खसहरूको संस्कृतिलाई उपनिवेश बनाउनु हो। नेपाली भाषाको माउ भाषा संस्कृत मानिन्थ्यो। धेरै पछि डा जर्ज अब्राहम ग्रियर्सनले नेपाली भाषाको माउ भाषा संस्कृत नभएर खस प्राकृत हो भने। त्यसपछि सुनीतिकुमार च्याटर्जीले यस भनाइको समर्थन गर्दै खस भाषा नै नेपाली भाषाको माउ भाषामा हो भन्ने प्रमाणित गरे। खस परिवार अनि भोटबर्मेली परिवारको मेलबाट नेपाली जाति निर्माण भयो। आर्य संस्कृतिको प्रभाव भोटबर्मेलीहरूमा भन्दा छिटो खसहरू पऱ्यो। आर्यहरूको संस्कृति अनि संस्कारको प्रभाव यति व्यापक र गहिरो थियो खसहरूले कालन्तरमा आफ्नो मूल धर्म, भाषा, संस्कृति, संस्कार सबै बिर्से। अहिले खसहरूले पालन गर्दै आइरहेको संस्कर, संस्कृतिमा आर्यहरूको प्रभाव ९५ प्रतिशत देखिन्छ। खस भाषा कस्तो थियो भन्ने त नमुना नै पाइँदैन। एक दुईवटा शब्दहरू खस परिवारको हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ। एउटा समृद्ध संस्कृतिले अर्को सानो समूहको संस्कृतिलाई कसरी प्रभाव पर्छ र त्यसको परिणाम कस्तो हुन्छ भन्ने उदाहरण खसहरूले बिर्सिसकेको वा हराइसकेको संस्कृति, भाषा आदिबाट जान्न सकिन्छ। भोटबेर्मेली परिवारमा पर्ने उपजातिहरूले आआफ्नै मौलिक संस्कार, संस्कृति र भाषा जोगाएर राखे। त्यसैले उनीहरूको भाषा अनि लिपि साथै संस्कृति पनि पाइन्छन्। एउटा जातिले आफ्नो भाषा हराउनु भनेको सबै थोक हराउनु हो। भाषालाई जीवित राख्नका लागि अथवा बचाइँ राख्नका लागि भाषाका विकासमा, तकनिकी प्रयोगमा काम गरिरहनु पर्छ। तपाईँ विचार गर्नु होस् हाम्रा विद्यार्थीहरू, हाम्रा युवा पीढीहरूले बोलेको नेपाली भाषा र तपाईँ हामी अथवा हाम्रा बाजे बोजू, हजुरआमा हजुरबाहरूले बोल्ने नेपाली एउटै छ? छैन। हाम्रा युवा पीढीले बोल्ने नेपाली अर्कै हुँदै गएको अनुभव गर्न सक्छौँ। आउने दिनहरूमा हाम्रो भाषाको स्थिति के होला, कस्तो हुन सक्छ? यसको अनुमान हामी अहिले लेखिँदै गरेको, बोलिँदै गरेको नेपाली भाषाबाट गर्न सक्छौँ। फेसबुके यो चर्चा नेपाली भाषाको अध्ययन, सुधार अनि विकासका लागि गरिएको सानो प्रयास हो।


ह्रस्व अनि दीर्घ लगाउने चौथो सूत्र (यसमा छवटा बुँदाहरू राखिएका छन्)


१. आइ, याइँ, आउ, आरु, आलु, एलु- प्रत्यय लागि बनेका शब्दहरूका इकार र उकार ह्लस्व लेखिन्छ।


लेखाइ, कमाइ, लमाइ, गराइ, दुस्ट्याइँ, सुद्धाइँ, बठ्याइँ, धुर्त्याइँ, ढिल्याइँ, रोपाइँ, घेराऊ, चुनाउ, घेराउ, बिकाउ, सिकारु, जुझारु, मायालु, नसालु, इखालु, मैतालु, दुधालु, खर्चालु, बिखालु, सिपालु, झगडालु, बैँसालु, लजालु, घरेलु


२. आली/आलि/एली/एलि/अडी/अडि/औलि/यौलि – प्रत्यय लागि बनेका शब्दहरूका अन्त्यमा इकार दीर्घ लेखिन्छ।


लेकाली, उकाली, ओराली, देवराली, गोर्खाली, रसियाली, अफ्रिकाली, अमेरिकाली, हरियाली, जुनेली, जुरेली, सुरेली, पेरली, तरेली, पुबेली, फ्रान्सेली, बर्मेली, पाल्पाली, जुवाडी, गफाडी, झुपडी, गँजडी, थपडी, ठ्यायौली, रत्यौली, पुर्ख्यायौली, पुस्त्यौली, बुढ्याली, हँस्यौली, उँधौली, उँभौली


३. ति/ती/इनी/इनि/नि/नी-प्रत्यय लागि बनेका शब्दका अन्त्यमा इकार दीर्घ लेखिन्छ।


सरसर्ती, बरबर्ती, खलखल्ती, फनफन्ती, धुमधुम्ती, टुलटुल्ती, क्वारक्वार्ती, ग्वारग्वार्ती, छ्यापछ्याप्ती, ट्वालट्वाल्ती, मितिनी, नागिनी, लमिनी, बाघिनी, कागिनी, मालिकनी, साहुनी, धोबिनी, पापिनी, बाँदरनी


चुभुर्को- माथिका सबै प्रत्ययहरूलाई तद्धित प्रत्यय हुन् र धातुमा तद्धित प्रत्यय लागेर बनेका शब्दहरूलाई तद्धितान्त शब्द भननिन्छ। कतिले लेखाइ, भनाइ, गराइ आदिलाई क्रिया भनेर बुझेका छन् तर यी शब्दहरू धातुमा आइ तद्धित प्रत्यय लागेर बनेका हुनाले तद्धितान्त शब्द हुन्। यसलाई भाववाचक संज्ञा भनिन्छ।


४. विशेषण पदमा इकार सबै दीर्घ लेखिन्छ।

गोरी, काली, पातली, दुबाली, बाठी, हँसिली, रसिली राम्री, तरुणी, तन्नेरी, धनी, असली, पढेकी, बुझेकी, सुन्दरी, परिश्रमी, महेनती, बासी


५. प्रियार्थक शब्दका अन्तमा उकार ह्रस्व लेखिन्छ।

सानु, कालु, रामु, नानु, बच्चु, पिकु, देबु, निरु, प्रेमु।


चुभुर्को- आफ्ना प्रिय व्यक्तिलाई बोलाउँदा हामी यस्ता शब्दहरू प्रयोग गर्छौँ र लेख्छौँ। यसमा आउने उकार ह्रस्व लेख्नु पर्छ।


६. विशेषण र नामबाट बनेका भाववाचक नामका अन्त्यमा दीर्घ लेखिन्छ।

अमिरी, गरिबी, इमानदारी, खबरदारी, मास्टरी, डाक्टरी, खेती, नोकरी


- डा देवचन्द्र सुब्बा

subbadc@gmail.com

सन्दर्भ ग्रन्थहरू

उच्चमाध्यामिक नेपाली व्याकरण - डा घनश्याम नेपाल अनि डा कविता लामा

माध्यामिक नेपाली व्याकरण- डा घनश्याम नेपाल अनि डा पुष्कर पराजुली

प्रयोगात्मक नेपाली व्याकरण - डा हेमङ्ग राज अधिकारी