हुमागाईंको इतिहास

रामप्रसाद हुमागाईं

rhumagai@gmail.com

फाेन ः +९७७ ९८५१०५८१४३

हुमागाईं बन्धुहरूको उत्पत्ती र इतिहासका बारेमा कतै खोजी भएको पाइँदैन । धनन्जय गोत्री हुमागाईहरूका कुल देवता कुन हुन र कुलपूजा कसरी कुन विधिविधानबाट गर्ने र हुमागाईहरूको बसोबास कुनकुन स्थानमा छन् जस्ता विषयमा हालसम्म ब्यबस्थित रुपमा खोज भएको पाँइदैन । हुमागाईं थर लेख्ने क्रमममा नै कसैले हुमागाईं कसैले होमेगाईं कसैले हुमेगाईं आदि लेखेको पाइन्छ । २०५८ सालमा हुमागाईं समाज नेपालको विधिवत गठन भएपछि यस विषयमा धेरै बन्धुहरूबाट हाम्रो पुर्खाको इतिहास खोजी गरिनु पर्छ भन्ने आग्रह भयो यसै अनुसार मैंले यस विषयमा केही खोजी शुरु गरेको थिएँ । हुमागाई बन्धुहरूको उत्पत्तिका विषयमा खोजी गर्ने क्रममा धेरै बन्धुहरुसँग छलफलहुँदा हुमागाईंहरूको उत्पत्ति काभ्रे जिल्लाबाट भएको भन्ने जानकारी आयो । एकाथरीको भनाईमा कभ्रे जिल्लाको काभ्रे भञ्ज्याङ्गमा नितुपाध्यले गाईपाल्ने र गाईको घिउबाट नित्य होम गरेका कारण मल्ल राजाले खुशी भई होमागाईं पदवी दिएबाट हुमागाईं भएको भन्ने मत पनि पाइयो । तर पछि खोज र अनुसन्धान कै क्रममा हुमागाईंहरूको उत्पतीे दैलेख जिल्लाको रावतकोट गाविस वडा नं ३ मा रहेको हुमेगाउँसँग पनि जोडिएको जानकारीहरू प्राप्त भयो ।                                                                                                           सोही हुमेगाउँका बासिन्दा नितुपाध्य काभ्रे जिल्लामा आइबसेका र हुमे गाउँबाट आएका हुनाले उनका सन्तानलाई पछि हुमेगाईं भन्ने गरेको भन्ने मत पनि आएको छ । यसै गरी खोजका क्रममा नेपाल सरकारका पूर्व सचिव खोमराज नेपालले तयार पार्नु भएको इलाम नामसालिङका नेपाल परिवारको अध्ययन बंश खोज पुस्तकको अनुसूची २ मा राखिएको (जुन हुमागाईं दपर्णको अनुसूचीमा पनि समाविष्ट छ ) श्री ५ रणबहादुर शाहबाट सम्बत १८५२ साल अधिक १३ रोज छमा एकीकरण अघि जुम्ला राज्य अन्तगत रहेको सो दुल्लु क्षेत्र एकीकरण अभियानका क्रममा रणबहादुर शाहका पालमा नेपाल वा गोरखा राज्यमा गाविय पछि साविकमा यस अघि जितारि बम राजले शिलापत्र ताम्रपत्र लेखि दिएको विर्तालाई थामि दिएको लालमोहरमा दुल्लु क्षेत्रको डागरगाउँका चुरु पाध्य हुम्यागाईं लेखिएको पाइएबाट आजभन्दा करीब २२० अघि नै हाल दैलेख जिल्लामा पर्ने डागर गाउँमा हुमागाईंको बसोबास रहेको स्पस्ट हुन्छ । यस विषयमा बंशको खोजकै क्रममा दैलेख जिल्लाका डागर गाउँका बासिन्दा हाल जिल्ला शिक्षा कार्यालय काठमाडौंमा विद्यालय निरीक्षक पदमा कार्यरत पूर्ण रिजालसँग सम्पर्क गर्दा उहाँका पुर्खाहरू दैलेख रावतकोट गाविसको हुमेगाउँबाटै डागर गाउँमा गएको र करीब एक सय परिवार सबैले प्राय रिजाल लेख्ने गरेको बताउनुभयो । यसबाट हुमागाईंको उत्पत्ति दैलेख क्षेत्रबाट भएको हुन सक्ने अर्को बलियो आधार पनि देखा पर्छ ।                      []

नेपालका प्रख्यात भाषा शास्त्री बालकृष्ण पोखरेलले नेपालमा थर निर्धारक तत्वमा स्थल, गाउँ, कोट, पदवी, थोक वर्ग आदि रहेको उल्लेख गरेको कुरालाई पनि मनन गर्नु पर्ने हुन्छ  । उहाँले आफ्नो पुस्तक खसजातिको इतिहासमा खस समाजिकता खण्डको पृष्ठ ६३८ मा गाउँमा बसेका नताले हुने थरहरूका पछाडि गाईं हुन्छ भन्नु भएको छ यस्ता थरहरूमा  चम्लागाईं, बजगाईं, गुरागाईं आदी र कोटमा बासेका नताले देवकोटा, बाँसकोटा, सापकोट आदि भनेर उल्लेख गर्नु भएको छ । उहाँले गाईं जोडिएका थरहरूमा हुमागाईं, आपागाईं, गुरागाईं गौरागाईं, चापागाईं, चुवागाईं, चौलागाई, डुमेगाईं, दुमेगाईं, धौलागाईं, पञ्चगाईं, बजगाईं, मजगाईं, सेरागाईं, आदि भनेर उल्ल्ेख गर्नु भएको छ । यस अर्थमा नितुपाध्य हुमेगाउँबाट आएर काभ्रेमा बसोबास गर्न थालेपछि उहाँ पछिका सन्ततीले हुमेगाईंबाट अपभ्रंश भएर हुमागाईं होमागाईं भएको पनि हुन सक्छ ।

हुमागाईंको उत्पत्तिबारे केही महत्वपूर्ण जानकारी दिने सामग्रीको रुपमा काभ्रे जिल्लाको काभ्रेमञ्जयाङ्गमा राखिएको शिलालेखलाई महत्वपूर्ण आधार मान्न सकिन्छ । यस सम्बन्धमा त्यहाँ पाइएको शिलालेख तथा अर्को एउटा घरसारको लिखत र स्थानीय जनश्रुति महत्वपूर्ण हुन आउँछन् । उक्त महत्वपूर्ण दस्तावेजमा काभ्रे भञ्याङ्गमा राखिएको शक संबत १८१६ तथा  विक्रम संबत १९५१ झण्डै १२० वर्ष (बि.सं २०७१ सालमा) पुरानो संस्कृत भाषामा लेखिएको शिलालेख र दोस्रो काभ्रे भञ्जयाङ्ग मा जन्मनुभई हाल नयाँ बानेश्वर बस्ने मोहन हुमागाईको घरमा फेला परेको शाके संबत १७३४ अर्थात विक्रम संबत १८६९ को करीब २०० वर्ष पुरानो नेपाली भाषामा लेखिएको घरायसी लेनदेनको लिखत ( तत्कालीन भाषमा फार्सापत्र ) लाई मुख्य आधार मान्न सकिन्छ । हुमागाइहरूकाे इतिहास समेटिएकाे बंशावलीकाे प्रारम्भिक रूपमका रूपमा हुमागाइ दर्पणा २०७२ सालमा प्रकाशित भएकाे छ ।

काभ्रे भञ्ज्याङ्गको शिलालेख

यो शिलालेख काभ्रे भञ्ज्याङ्गस्थित शिवालयको भित्तामा अझै रहेको छ (तस्बीर पनि छ) । अनुसान्धानका क्रममा सो शीलालेखको फोटो खिची त्यसको आधिकारीक अध्ययन र अनुवादका लागि पुरातत्व विभाग अन्तर्गतको राष्ट्रिय अभिलेखालयमा दिइएको थियो । अभिलेखालयका अनुसन्धान अधिकृत राजु रिमालले त्यसलाई पढेर संस्कृतमा उतार्नुका साथै त्यसको नेपालीमा भावानुवाद समेत गर्नुभएको थियो ।


शिलालेखको नेपाली अनुवाद

ऐश्वर्य प्राप्त होस्

सुख र सन्तानको सिद्धिको लागि ब्रह्मा एबं शिव र पार्वतीलाई नमस्कार छ ।

भक्तपुरका धार्मिक राजा जगतज्योतिको राज्यमा नित्योदय नामका ब्रह्मण थिए । ती राजाले अत्यन्त मनोरम भूमि नित्योदयलाई प्रदान गरे । त्यस भूमिमा ब्राह्मणपुत्रहरूको इच्छाले ।।

कान्छा दामोदरका छोरा मार्कण्डेय, मार्कण्यका छोरा पद्यमावति, उनका छोरा चन्द्रमन्युका पालामा तलाउ (आहाल) निर्माण गरेर आफ्नो भूमिलाई अमृतमय बनाए । चन्द्र मन्युका छोरा महेश्वर, उनका छोरा सदाशिव ।।

सदाशिबका छोरा हरिलालद्वारा ‘......... सक सम्बत मंसिर कृष्ण पक्षको द्वितीया तिथिमा, रोहीणी नक्षेत्र र सिद्धा योग परेको शुभ विहीबारको दिनमा जीर्ण भएको तलाउको पुनः निर्माण गरियो ।। एबं धेरै दिन लगाएर देवालय पनि निर्माण गरे ।। मोक्ष प्राप्तिका लागि नित्य चन्द्रेश्वर देवताको स्थापना गरे ।। नित्योदयका दुई भाइ छोरा एबं दामोरदरका दुई दाजुहरू जोगीदास र तुलारामको बंशबाट उत्पन्न ब्राह्मणहरूले आफ्नो जमिन र फूलको बगैचा शिवलाई अर्पण गरे ।। दामोदर बंशका विद्वान हरिलाल र उनका छोराहरू शिवनिधि, चन्द्रमणी, लक्ष्मीनारायण,र धर्मदत्तद्वारा मुक्ति प्राप्तीका लागि र बंंशको रक्षाका लागि नित्य चन्द्रेश्वर भगवानको रक्षाका लागि संकल्प गरेर विधिपूर्वक ४० र २० बराबरको तपसिल अनुसारको खेतहरु सर्मपण गरे ।

...................................................................................................

...................................................................................................

...................................................................................................

..................................................................................................

आफू वाअरुद्वारा प्रदान गरिएको भूमि जसले हरण गर्छ उसले ६० हजार वर्षसम्म विष्टाको कीरा भएर बस्नु परोस ।

१८१६ सक सम्बत अथवा १९५१ विक्रम संम्बत बैशाख शुक्ल पक्ष बुधबार हस्त नक्षेत्र परेका दिनमा ( यो शिलालेख स्थापना गरियो )

शुभ होस्

( बीचमा खाली भागमा क कसले कति जग्गा अपर्ण गरे भन्ने मात्र उल्लेख भएकाले त्यो खाण्डको उतार र अनुवाद गरिएको छैन )

काभ्रे जिल्लाकाे काभ्रे भञ्जयाडकाे नित्यश्वर महादेवकाे मन्दिर परिसरमा रहेकाे सिलालेख


माथिको शिाललेखलाई अध्ययन गर्दा निम्नअनुसारका महत्पूर्ण कुरा स्पष्ट हुन आउँछन् ।

१ शिलालेखमा उल्लेख भएको “...भक्तपुरका धार्मिक राजा जगतज्योतिको राज्यमा नित्योदय नामका ब्रह्मण थिए । ती राजाले अत्यन्त मनोरम भूमि नित्योदयलाई प्रदान गरे...” भनाइबाट त्यसबेलाका मल्ल राजा जगतज्योति मल्लले सो भूमि नित्योदयलाई प्रदान गरेको स्पष्ट हुन्छ साथै नित्योदय (नित्योदयलाई नै नितुपाध्य भनिएको पनि हुनपर्छ ) त्यस स्थानमा आई बसोबास गरेको र उनलाई तत्कालीन मल्ल राजा जगतज्योति मल्ल (शासनकाल विसं १६७४ देखि १६९३ सम्म) ले सो भूमि दान दिएको भने उल्लेख भएबाट हुमागाईंहरुको उत्पत्ती शिलालेखमा नित्योदय लेखिएका नितुपाध्ययबाटै भएको अट्कल लगाउन सकिन्छ । यसबाट नितुपाध्य अर्थात नित्योदय जगतज्योति मल्लाको समकालीन भएको कुरामा कुनै द्विविधा रहेन । यसलाई आधार मान्दा नितुपाध्य त्यस क्षेत्रमा आजभन्दा करीब ३८० देखि चार सय वर्ष अघिदेखि बसोबास गरेको स्पष्ट हुन आउँछ ।

२ शिला लेखमा “...कान्छा दामोदरका छोरा मार्कण्डेय, मार्कण्यका छोरा पद्यमावति, उनका छोरा चन्द्रमन्युका पालामा तलाउ (आहाल) निर्माण गरेर आफ्नो भूमिलाई अमृतमय बनाए...”  साथै अर्को खण्डमा “...चन्द्र मन्युका छोरा महेश्वर, उनका छोरा सदाशिव ।। सदाशिबका छोरा हरिलालद्वारा...” भन्ने उल्लेख छ । यस्तै तेस्रो खण्डमा  “... नित्योदयका दुई भाइ छोरा एबं दामोरदरका दुई दाजुहरू जोगीदास र तुलारामको बंशबाट उत्पन्न ब्राह्मणहरूले आफ्नो जमिन र फूलको बगैचा शिवलाई अर्पण गरे...” उल्लेख भएबाट  नितुपाध्यका तीनभाई छोरा रहेको स्पष्ट हुन्छ । उनका तीन छोरा मध्ये जेठा जोगिदास, माइला तुलाराम भएको अनुमान गर्न सकिन्छ भने र कान्छा छोरा दामोदर रहेको कुरा ठोकुवा गर्न सकिन्छ  । साथै दामोदरका छोरा मार्कण्डेय र मार्कण्डेयका छोरा पद्यमावति र पद्यमावतिका छोरा चन्द्रमन्यु रहेको पनि शिलालेखबाट स्पष्ट हुन्छ । यस्तै चन्दमन्युका छोरा महेश्वर महेश्वरका छोरा सदाशिव र सदाशिवका छोरा हरिलाल रहेको पनि शिलालेखले स्पष्ट गर्छ । साथै शीलालेखमा उल्लेख भएको अर्को विषय “...दामोदर बंशका विद्वान हरिलाल र उनका छोराहरू शिवनिधि, चन्द्रमणी, लक्ष्मीनारायण,र धर्मदत्तद्वारा मुक्ति प्राप्तीका लागि र बंंशको रक्षाका लागि नित्य चन्द्रेश्वर भगवानको रक्षाका लागि संकल्प गरेर विधिपूर्वक ४० र २० बराबरको तपसिल अनुसारको खेतहरु सर्मपण गरे... ”

यसबाट हरिलालका छोराहरू शिवनिधि, चन्दमणि, लक्ष्मीनारायण र धर्मदत्त रहेको र उनीहरूले नै विक्रम संम्बत १९५१ मा नै सो यज्ञ गरी भूमि दान गरेको शिलालेख स्थापना गरेको पुष्टि हुन्छ ।

यसबाट नितुपाध्यका तीन छोरा मध्य कान्छा दामोदरको हाँगोको करीब आठ पुस्ता सम्म यसमा देखा पर्न आउँछन् ।

। साथै शिलालेखमा चन्द्रमन्युले सो क्षेत्रमा एउटा तलाउ निर्माण गरेको उल्लेख छ र काभ्रे भञ्ज्याङ्गमा प्राचीन पोखरीको अवशेष अझै छ । अझै पनि उक्त क्षेत्रमा रहेको छ । साथै पछि चन्द्रमन्युका छोरा महेश्वर र उनका छोरा सदाशिव र सदाशिवका छोरा हरिलालले उक्त तलाउको जीर्णेद्धार गरेको उल्लेख छ सो जिर्णेद्धारको मिति शिलालेखमा शक सम्बतमा लेखिएको भए पनि शिलालेखमा टुटफुट भई उक्त मिति स्पष्ट हुन नसकेको अभिलेखालयले जनाएको थियो । तर यस विषयमा इतिहासविद् दिनसराज पन्तलाई देखाउँदा उहाँले सो अस्पष्ट मिति सक सम्बत १७१९ ( त्यसमा १३५ वर्ष जोड्दा विसं १८५४ हुन आउँछ )  हुन सक्ने उल्लेख गर्नु भएको थियो । माथिको अध्ययनबाट नितुपाध्यदेखि हरिलालसम्म आउँदा आठ पुस्ता र उनका कान्छा छोरा दामोदरका सन्तानको हाँगो स्पस्ट हुन्छ ।

                               नितुपाध्य ( विसं १६७४ देखि १६९३ )

जोगिदास                    तुलाराम                    दामोदर

            मार्कण्डेय

पद्यमावति  

चन्द्रमन्यु

महेश्वर  

सदाशिव

हरिलाल                     

हरिलालका छोराहरू

शिवनिधि,

चन्दमणि,

लक्ष्मीनारायण र

धर्मदत्त  ( विक्रम सम्बत १९५१)                     

जैशी र उपाध्याय

काभ्रे जिल्ला र अन्यत्रका हुमागाईंहरूमा दुईवटा हाँगा मुख्य रुपमा उपाध्याय र जैसी रहेका छन् त्यस बाहेक क्षत्री, खत्री र स्वाँर आदि पनि छन् तर उपाध्ययले कर्म काण्ड गर्ने र जैशीले भने ज्योतिषि आदि गर्ने गरेको पाइन्छ । केहीले आफूलाई जैसी खलक भनेर चिनाउँदा अलिक हिनता वोध गर्ने वा अलिक संकोच गर्ने गरेको पाइन्छ तर अहिलेको युगमा त्यो कुरामा हिनता वोध गर्नु जरुरी छैन बरू गर्व गर्नु पर्छ । अहिले विधवा विवाह एउटा सामाजिक सुधारको अभियान चलेका बेला हाम्रा पुर्खाले यो अभियान पहिले नै थालेको खुशी हुुनु पर्छ । जैसी बारे पुरातत्वविद् जनकलाल शार्मा (ढकाल) गौरव पृष्ठ ७ मा लेख्छन् “...आफ्नो समान जातकी कन्यासँग विधिपूवर्क विबाह गरिएकी पत्नीबाट उत्पन्न उपाध्याय ब्रह्मणका सन्तती उपाध्याय, उपाध्याय ब्रम्हणले समान जानकी कन्यासित विधिपूर्वक विवाह नहुँदै यौनसम्बन्ध राखे, समान जातकी बैकल्या कन्यासँग विधिपूर्वक बिबाह गरे वा यौनसम्बन्ध राखे, समान जातकी विधवा स्त्रीसँग विवाह गरे वा समान जातकी स्त्रीलाई जारी गरेर ल्याए तिनका सन्ता जैसी हुन्छन् साथै उपाध्य र जैसी जातभन्दा भिन्दै जात क्षत्री वा पानी चल्ने जातसँग विवाह गरे वा गन्धर्व विधि अनुसार पत्नी बनाए तिनका सन्तान क्षत्री वा खत्री हुन्छन् ...   जैसीले पनि उपाध्याय र जैसीसँगै विवाह गरे जैसी र क्षत्री वा पानी चल्ने जातकी स्त्रीसँग विवाह गरे क्षेत्री हुन्छन् । क्षत्रीलाई प्रतिलोम विबाह निषेध छ अतः क्षत्रीले माथिल्लो जात समान जात र आफू भन्दा तल्लो पानी चल्ने जातसम्म जुन जातसँग विवाह गरे पनि त्यसका सन्तती क्षत्री नै हुन्छन् ।

... पृथ्वी नारायण शाहको समयसम्म पहिले चर्चा गरिए जस्तै जैसीको मर्यादाक्रम उपाध्याय बराबर नै थियो । तर केही जैसीसित राजनीतिक कारणले गर्दा पृथ्वी नारायण शाहको मनमुटाव भयो र पृथ्वी नारायण शाहले जैसीहरूलाई जजमानी कार्यबाट बञ्चित गराए पछि स्थिति अझै अर्को भयो र जैसीहरू उपाध्याय भन्दा एक तह तल मानिन थाले ।...”

काभ्रेको शिलालेखमा कतै पनि हुमागाईं वा रिजाल थर उल्लेख छैन । तर शिलालेख स्थापना गर्नु अघि नै संबत १७३४ अर्थात विक्रम संबत १८६९ को करीब २०० वर्ष पुरानो नेपाली भाषामा लेखिएको घरायसी लेनदेनको लिखतमा भने (तत्कालीन भाषमा फार्सापत्रमा भने हुमागाईं लेखिएको र कतै जैसी समेत उल्लेख भएको पाइन्छ “...।। नित्योदयका दुईभाइ छोरा एबं दामोरदरका दुई दाजुहरू जोगीदास र तुलारामको बंशबाट उत्पन्न ब्राह्मणहरूले आफ्नो जमिन र फूलको बगैचा शिवलाई अर्पण गरे...” भन्ने उल्लेख भएबाट यी दुई दाजुभाई बम्हण अर्थात उपाध्यय रहेको स्पष्ट हुन्छ तर शिलालेकै अर्को हरफमा “...दामोदर बंशका विद्वान हरिलाल र उनका छोराहरू शिवनिधि, चन्द्रमणी, लक्ष्मीनारायण,र धर्मदत्तद्वारा मुक्ति प्राप्तीका लागि...” लेखिएबाट दामोदर बंशकालाई चाही ब्राम्हण नभनी कतै कान्छा छोरा चाहिं बैकल्या वा विद्यवा श्रीमती पटिका हुन कि भन्ने पनि अनुमान गर्न सकिन्छ यसमा स्थानीय काभ्रे भञ्जयाङ्ग निवासी कृष्ण हुमागाईंले जनश्रुतीका आधारमा दिनुभएको जानकारीमा मल्ल राजा काभ्रे भञ्जायङ्ग हुँदै तराइतर्फ जाने क्रममा सोही स्थानमा बास बसेका र उनले गाउँमा उमेर पुगेर पनि विवाह नभएकी स्थानीय बडाल थर कि एक बैकल्या (विवाहका लागि जनैसुपारी भएपछि  केटाको मृत्यु भएमा त्यस्ती कन्यालाई वैकल्या भनिन्छ) कन्या देखेपछि निुतुपाध्यलाई वैकल्याको उद्धारका लागि उनको विवाह आफूले गराइ दिने भन्दै केटा खोज्न भनेको र गाउँमा केही केटा फेला नपरेपछि नितुपाध्य आफैसँग विवाह गराइ विर्ता समेत दिएको भन्ने उल्लेख भएबाट कतै दामोदर कान्छो छोरा भएकाले तिनै बैकल्याबाट जन्मिएका हुन कि भन्ने अनुमान गर्न सकिन्छ ।

दैलेख अभिलेख

दैलेख जिल्ला राहुकोट गाविस वडा नं ३ हुमे गाउँ निवासी तिलकप्रसाद रिजालसँग २०६९ मंसिर २५ गते गरिएको कुराकानी  ५०¬÷६० पुस्ता अघिदेखिका रिजालहरुको बसोबास भएको इतिहास रहेको छ ।

शुरुमा साके सम्बत ९०५ मा अक्षामको धमालीमा बसोबास गरेका धमाल निवासी धमलाहरू दुई प्रकारका रहेका र त्यसका एक थरी ज्योतिषिका काम गर्ने र अर्काथरी राजपुरोहितका रुपमा काम गर्ने गरेक थिए । त्यसमा ज्यातिष काम गर्ने जोशी  र अर्का राजाको पुरोहित रहेका बुढाज्यू उपाध्यय गरी दुई थरी भएको आख्यान पाइन्छ । पछि राजपुरोहित रहेका बुढाज्यूहरू राज परिवारसँग खटपट भएपछि त्यहाँबाट छुटिएर दैलेखको रिजुगाउँमा आएर बासोबास गर्न थालेको र तिनीहरू पछि रिजाल भएको पाइन्छ । उनीहरू मध्येकै कुनै हाँगो पछि राहुकोटमा आइ होमहमादी गर्ने गरेको र त्यही गाउँ हुमेगाउँ भएको भएको भनाइ छ । अहिले पनि हुमे गाउँमा पहिले दुल्लुमा जस्तै अखण्ड होम हुने गरेको र त्यसको हवन कुण्ड अहिले पनि सो स्थानमा रहेको छ । हुमे गाउँको जग्गा विर्ता पाएका र त्यसबेलाका राजाले तिरो मिनाह गरेका कारण अझैसम्म पनि हुमे गाउँका रिजालहरुले आफनो घर जग्गाको तिरो तिर्नु नपर्ने उहाँको भनाइ छ ।

प्रताप शाहले यस विषयमा दिएको ताम्रपत्र रहेको उहाँको धारणा छ । सोही गाउँका तीनभाइ रिजाल रहेको धनु मनु र रितु पाध्य तीन भाइ रहेका । ती तीन भाई मध्ये रितु पाध्यका दुई श्रीमती र त्यस मध्ये जेठी श्रीमतीलाई त्यहीँ छाडेर रितु पाध्य म्याग्दी गरेको भन्ने प्रमाण त्यस क्षेत्रमा रहेको पाइन्छ । तिन रित्यु पाध्य नै पूर्वमा आएपछि नितुपाध्य भएका हुन सक्छन् ।


हुमागाईंहरूको उत्पत्तिसम्बन्धी जनसश्रुति

कृष्ण हुमागाईं

भक्तपुरका एक जना मल्ल राजा धुलुखेल हुँदै काभ्रे भञ्जयाङ्गकोबाट तराइ ओहोर दोहोर गर्थे रे । काभ्रे भञ्याडमा नितु पाध्य (रिजाल) नामका ब्राह्मण बस्थे । उनीले थुप्रै गाइ पालेका थिए  । उनी हरेक दिन गाइको ध्यूबाट होम गर्ने तथा धेरै गाइ भएकाले गाई दान गर्ने गर्थे । कभ्रे भञ्याङ्गको बाटो हिड्दै गर्दा सधैं होमहोमादिकाकारण धूवाँ आकासमा गाएको तथा गाईको ध्यूको हवन कुण्डबाट बगेर बाटोमासम्म पुगेको देखेर राजाबाट सोधनी भए छ । यो के भएको भन्दा उनका भारदारले यहाँ नितुपाध्य (रिजाल) नामका एक ब्राह्मण बस्छन् । उनका थुप्रै गाई छन र उनले नित्यरुपमा यस नित्यश्वर माहादेवको मन्दिरमा होम गर्ने गरेकाले त्यसैका कारण यस्तो भएको हो भनेर बताए छन् । त्यसपछि ति राजाले एक दिन नितुपाध्यको घर मै बास बस्ने र उनीसँग भेट्ने विचार गरेछन् । यसरी राजा त्यहाँ बास बसेको सुनेर वरिपरिका सबै मानिस हेर्न आएछन् । त्यसरी हेर्न आउँने मध्ये एकजना बडाल थरकी करिब १५ वर्षकी बैकल्या  केटी पनि आएकि रहिछन् । त्यस बेला साधारणतया केटीको केटाकेटी दश वर्ष नपुग्दै विहे गर्ने चलन थियो । त्यसैले १५ वर्ष पुगेको केटी विवाह नभएको देखेर राजाबाट सोधनी भए छ । नितुपाध्य यी को केटी हुन किन यिनको  बिहे भएको छैन ? नितुपाध्यले बताउनु भए छ – सरकार यिनी बडालकी छोरी हुन यिनको विवाहको लागि जनै सुपारी भएपछि केटाको मृत्यु भयो त्यसपछि यिनलाई कसैले स्वीकारेनन । त्यसपछि राजाबाट हुकुम भए छ नितुपाध्य ओ हो यो उमेरसम्म विहे नभएकी केट त्यतिकै राख्दा सामाजमा विकृति आउँछ धर्म नस्ट हुन्छ । यिनका लागि योग्य केटा खोज म विहे गरी दिन्छु । त्यसपछि रातभर केटाको खोजी भए छ तर बैकल्या केटीसँग विहे गर्ने कोही केटा फेला परेनछन् । त्यसपछि राजाले नितुपाध्यलाई आग्रह भए छ हेर नितुपाध्य तिमी यस्तो धर्ममात्मा छौ तिमीले यी कन्याुसँग विवाह गर म कयन्यादान दिन्छु । त्यस पछि  ती मल्ल राजाले कन्यादान गरिदिएका रहेछन् । पछि तिनै राजाले

नितुपाध्यलाई विर्ता स्वरुप विहेवर र बलथलीमा विर्ता दिएको भन्ने पनि गरिन्छ ।

अन्तमा

खस समुदायमा प्रचलित धेरै थरको उत्पत्ती दैलेखका गाउँसग जोडिएका छन जस्तो रिजु गाउँबाट रिजाल, तोषि धमालीबाट धमला, आदि यसबाट एकातर्फ दैलेखकै रावतकोट गाविसमा रहेको हमेगाउँबाट आएका नितुपाध्यलाई काभ्रेमा गाउँका नामबाट हुमेगाईं भनिएको हो कि ? यस बाहेक कसै कसैले नितुपाध्य दैलेखबाट म्याग्दी हुँदै काभ्रे आइपुगेको हुन सक्ने अनुमान पनि गरेका छन् । नेपालको मध्यकालीन इतिहाँसमा खस राज्यको विस्तार दैलेखबाट म्यादीसम्म पुगेका थियो प्रायः राज्य विस्तारसँग पुरोहितका रुपमा बह्मणहरू राजपरिवारसँगै जाने परम्परा अनुसार दैलेखबाट म्याग्दी हुँदै काभ्रे (१७ औं साताब्दीमा काभ्रे भक्तपुर राज्य अन्तर्गत थियो ) आईपुगेको पनि हुन सक्छन् । काभ्रेको काभ्रे्रभञ्जयाङ्गमा शिवालय तथा तलाव रहेको जस्तै दैलेखको हुमेगाउँमा पनि पुर्खाले बनाएको धारो तथा हवन कुण्ड रहेको पाइन्छ । हुन त नितुपाध्यका तीन भाई छोरा मध्ये एक भाइ काभ्रे जिल्लामा नै बसेका र बाँकी दुई भाइमा एक भाइ म्याग्दी गएको र एक भाइ फेरि दैलेख नै फर्किएको अनुमान पनि गरिएको छ । माथि उल्लेखित विषय हालसम्म प्राप्त सबै तथ्यहरूका आधारमा तयार गएिका हुन यसमा थप जानकारी र खोज आवश्यक छ ।

हुमागाईं बारेको केही जानकारी

हुमागाईका पूर्वज नित्योदयलाई भक्तपुरका राजा जगतज्योति मल्लले जमीन दिएको भन्ने शिलालेखमा उल्लेख भएको ।

जगतज्योति मल्लको समयावधि विसं १६७४ देखि १६९३ सम्म

नित्योदयका तीन भाई छोरा जोगीदास, तुलाराम र दामोदर

दामोदरका छोरा मार्कण्यकी श्रीमति पद्मामतिबाट जन्मिएका चन्दमन्युका पालामा पोखरी बनाएको चन्द्रमन्युका छोरा महेश्वर, उनका छोरा सदाशिब, सदाशिबका छोरा हरिलालले सक संम्बत १७१९ जसमा १३५ वर्ष जोड्दा विसं १८५४ले तालको पुननिर्माण गरेको तथा देवालय निर्माण गरेको । र नित्य चन्दे्रश्वर देवताको स्थापना गरेका

दामोदरका बंशका हरिलाल र उनका छोराहरू शिवनिधि, चन्द्रमणी, लक्ष्मीनारायण, र धर्मदत्त

कुलदेवता विन्दावासिनी, बिन्दाचल पर्वतबाट आई बसेकी ,वायु मनोहरा

  1. HORA, DR. SHRUTI (२०१९-१२-३१), "पंजाब के लोकगीत: नारी हृदय का स्वच्छ दर्पण", Swar Sindhu 7 (2): 76–83, आइएसएसएन 2320-7175, डिओआई:10.33913/ss.v07i02a13