तामाङ जातिको जन्मसंस्कारमा सबैभन्दा महत्वपूर्ण संस्कार छेवरछेवार हो । यसलाई चुडाकर्म तथा जातकर्म पनि भनिन्छ । तामाङ भाषामा यसलाई “स्यामापिन्वा” भनिन्छ । छोराहरुको मात्र छेवरछेवार गरिन्छ । छेवरछेवार ३ देखी ७ वर्षसम्म गरिन्छ । छेवरलाई मामामुखी संस्कार पनि भनिन्छ । [[मामा]]को अनुपस्थितिमा छेवरछेवार गर्न सकिंदैन र छेवरछेवार नभए अरू कर्म गर्न सकिंदैन । मामा नहुनेले नजिकको मामालाई मामा मानेर काम चलाइन्छ । मामाको हातबाट शुभसाइत वा लगन ठहर्याइ विशेष गरेर मामाको निर्देशन र सरसल्लाह अनुसार यो कार्य गरिन्छ । मामाको हातबाट केश मुण्डन गर्ने, वस्त्र दिने, टीका लगाउने र दक्षिणा दिने यो कार्यमा मामा, बाजे, बज्यै र मामाका सन्तानलाई सगुन लिएर मान्न जाने, निर्देशन लिने र विशेष सम्मान गरिन्छ । विशेष सम्मानका साथ [[खसी]], [[राँगा]], भैँसी, [[कुखुरा]], [[रक्सी]], [[रोटी]] लिएर सुगनसूत गर्ने र छेवरको दिन [[पञ्चैबाजा|पन्चे बाजा]] तथा सेलो र [[डम्फू]] लिएर मामाहरूलाई स्वागत गरेर ल्याइन्छ र आसनमा बसालेर विधिपूर्वक मान्यमर्यादामा सम्मान गरिन्छ । साथै कार्य सकिए पछि भोज, नाचगान, भेला गराइन्छ र विदा हुने बेलामा मामाले भान्जालाई आर्शिवाद दिने र गच्छे अनुसार उपहार दिएर मामालाई विदा गरिन्छ । काटेको कपाल १५ दिनपछि लामाको हातले [[बुद्ध धर्म]]को शरणमा जाओस भन्दै [[कपाल]]को ठुटो काटिन्छ । यस कार्यलाई भने “टाप्चे” भनिन्छ ।