दानसूक्त (ऋग्वेद १०.१२७) का ऋषि अंगिरस हुन् । यसको छन्द त्रिष्टुप जगती हो । संस्कृत शब्द दानको अर्थ हुन्छ– दिनु, वितरण गर्नु, भुक्तानी गर्नु, पुरस्कार दिनु । आधुनिक अर्थशास्त्रमा उत्पादनका साधनहरुको पारिश्रमिकलाई जुन शब्द प्रयोग गरिन्छ, त्यो दानसंग मिल्छ । उत्पादनका साधनहरुले आफ्नो योगदान अनुसार प्राप्त गर्ने प्रतिफल (ज्याला) लाई अर्थशास्त्रमा रिवार्ड (पुरस्कार) भन्ने गरिन्छ । यस अर्थमा पनि यो सूक्त आर्थिक अवधारणायुक्त छ ।

सूक्त– दान, ऋषि– अंगिरस, छन्द– त्रिष्टुप, जगती सम्पादन गर्नुहोस्

यस सूक्तमा नौवटा ऋचा छन् । यस अनुसार–

  • १. देवताहरुले सबै प्राणीहरुलाई भोकको रुपमा (मात्र) मृत्यु प्रदान गरेका गरेका होइनन् । भोजन गर्दा पनि प्राणीहरु मर्छन् । दान दिनेको धन समाप्त हुदैन । दान नदिनेलाई कसैले पनि सुखी बनाउन सक्दैन ।
  • २. अन्न भएको जुन व्यक्तिले भोको याचकलाई अगाडि देख्दा पनि आफ्नो मनलाई कठोर राख्छ, र त्यस भोको मानिसका अगाडि (आफुले मात्र) भोजन गर्छ, उसलाई कसैले पनि सुख दिन सक्दैन ।
  • ३. जो दुर्बल व्यक्ति अन्नको चाहनामा घुम्छ, उसलाई अन्न दिनेलाई नै दाता भनिन्छ । यस्तो दाताले यज्ञको पर्याप्त फल पाउछ र शत्रुहरुमा पनि मित्र भेटाउछ ।
  • ४. जसले सधैं साथ रहने र सेवा गर्ने मित्रहरुलाई पनि अन्न प्रदान गर्दैन, त्यो मित्र होइन । यस्तो मानिसको नजीक नरहनु नै बेश । उसको घर घर होइन, त्यस्तो घरबाट टाढा गइहाल्नु पर्छ ।
  • ५.याचना गर्नेलाई धन हुनेले धन अवश्य दिनु पर्छ । यस्तो धनीले धर्मरुपी लामो मार्ग प्राप्त गर्छ । जसरी रथको चक्का तलमाथि घुम्छ, त्यसै गरी धन सम्पत्ति एक व्यक्तिबाट अर्कोमा गइरहन्छ ।
  • ६. मनमा दानको भावना नराख्ने कंजुसले व्यर्थमा नै अन्न प्राप्त गर्छ । यस्ता व्यक्तिकालागि भोजन (विष समान) उसको मृत्यु समान हुन्छ । जसले न देवताहरुलाई पोषण प्रदान गर्छ, न बन्धुबान्धवहरुलाई खुवाउछ, यस्तो एक्लै भोजन गर्ने व्यक्तिले पापको अन्न खान्छ ।
  • ७. हलोले खेतीको काम गर्दै अन्न उब्जाउछ, उसले मार्गहरुमा हिंड्दै आफ्ना कार्यहरुले अन्न उत्पन्न गर्छ, जसरी मन्त्र जान्ने व्यक्ति मन्त्र नजान्ने भन्दा श्रेष्ठ छ, त्यसै गरी दान दिने व्यक्ति, दान नदिने भन्दा श्रेष्ठ हुन्छ ।
  • ८.सम्पत्तिको एक पद हुने दुइ पदहरु हुने कहा, दुइ पदहुने तीन पद हुने कहा, र तीनपदहुने त्यसभन्दा बढी हुने कहा जान्छ । यसरी क्रमशः सानो ठूलोसंग जान्छ ।
  • ९.उस्तै भए पनि हाम्रा दुइ हातको उत्पादन शक्ति एक समान छैन, एउटै आमाबाट उत्पन्न हुने दुइ गाईले समान दूध उत्पादन गर्दैनन् । जुम्ल्याहा भाईको श्रम क्षमता एकनास हुदैन । एकै परिवारका दुइ व्यक्तिले बराबर दान (खर्च) गर्दैनन् ।

यस ऋचाको अर्थ सम्पत्तिको एक पद, दुइ पद भन्ने अर्थ केवल सातवलेकरले गरेका छन् । अरु भाष्यमा त्यसरी अर्थ गरिएको छैन । ऋग्वेदका अनेक ऋचाहरु यस्ता छन्, जसको व्याख्या केवल सम्बन्धित विषयको विशेषज्ञले मात्र गर्न सक्छ । केवल शब्दार्थ गर्नाले त्यसका अर्थ स्पष्ट हु“दैन । अर्थ लगाउ“दा वैदिक संस्कृति, परम्परा सबैकुरालाई ध्यानमा राख्नु पर्छ । उदाहरणका लागि गङ्गाजल र खोलाको पानी दुवै प्रयोग गरिने शब्द जल र पानी समानार्थक हुन् तर गङ्गासंग जोडिएकोले त्यहा“ जलको अर्थ सामान्य पानी होइन एक विशेष, पवित्र पानी हो भन्ने स्पष्ट हुन्छ । यो कुरा वेदका सबै मन्त्रका सन्दर्भमा सत्य छ । उदाहरणका लागि वाचस्पति गैरोलाले यस ऋचाको सार यस प्रकार व्यक्त गरेका छन्– के ईश्वरका हातमा मानिसका लागि एक मात्र दण्ड भोक हो ? यदि देवताको त्यही इच्छा हो भने धनीहरु अमर किन छैनन् ? मूर्ख (धनी) कहा“ भोजन जम्मा भएर कसैको भलाई हु“दैन । उसले आफैं मात्र पेट भर्छ, आफ्ना इष्ट मित्रलाई पनि खान दिन्न । संसारले त्यसलाई धिक्कार गर्छ । गैरोलाको यस अर्थमा आर्थिक अवधारणा कतै प्रयोग भएको छैन । यसको एक कारण के भने उनी भाषा विषयका विद्वान् हुन्, आर्थिक विषयका होइनन् । तर अर्थशास्त्रका सबै विद्यार्थीहरुले यसमा निहित आर्थिक दृष्टिकोण सजिलै अनुमान गर्न सक्छन् ।

माथि भनिएको अर्थ व्याख्याबाट यस सूक्तमा निम्नलिखित विषय वस्तु रहेको स्पष्ट हुन्छ–

१. मानिसको तीव्रतम आवश्यकता भोक हो । भोकमरी मृत्युको कारण भए तापनि त्यो एक मात्र कारण होइन । २. भोकोलाई भोजन उपलब्ध गराउनु भनेको सन्तुष्टि अधिकतम गराउनु हो । ३. क्षमता अनुसार भोजन हुनेले भोजन र अन्य सक्षम व्यक्तिले भोजन प्रदान गर्ने क्षमता (धन वा रोजगार) प्रदान गर्नु पर्छ । यसरी आर्थिक असमानता घटाउन सकिन्छ । ४. उपभोगको क्रियाकलापलाई प्रोत्साहन गर्नु नै अर्थव्यवस्थाको विकास हो । जसले भोकोलाई अन्न, धन, दिन्न त्यो समाजको शत्रु हो । ५.जसका जरुरी आवश्यकता पूरा भएका छैनन्, सक्षम सामाजिक व्यक्तिले उसको आवश्यकता पूरा गर्ने व्यवहार गर्नु पर्छ । ६.समाजका हितमा खर्च नगर्ने व्यक्ति सामाजिक व्यक्ति होइन । ७. हलोले अन्न उत्पादनमा योगदान गरे जस्तै दान (खर्च) गर्नाले पनि उत्पादनमा वृद्धि हुन्छ । ८.आर्थिक क्रियाकलाप तीव्र हु“दै गए पछि अर्थव्यवस्था क्रमशः एक पद (क्षेत्र), दुइ पद, र अझ उच्च पदमा विकसित हु“दै जान्छ । ९.दुइ श्रमको उत्पादन क्षमता एक नासको हु“दैन त्यसै गरी दुइ उपभोक्ताको उपभोग (खर्च) क्षमता एक नासको हु“दैन ।

यस सूक्तका प्रत्येक ऋचामा आर्थिक अवधारणा प्रयोग गरिएको छ । पहिलो ऋचामा भोकलाई तीव्रतम आवश्यकताको रुपमा प्रस्तुत गरिएको छ । यस्तै शब्दावली मालथसले आफ्नो जनसंख्या सिद्धान्तमा प्रयोग गरेका छन् । उनले भनेका छन् जनसंख्या खाद्य सामग्रीद्वारा नियन्त्रित हुन जान्छ । दोस्रो ऋचामा आवश्यकता पूरा भएमा सुख प्राप्त हुन्छ भन्ने कुरा बताइएको छ । यो अर्थशास्त्रको अधिकतम सन्तुष्टिको सिद्धान्त हो । आज पनि खानेकुराको उदाहरणद्वारा सीमान्त उपयोगिता सिद्धान्त र अधिकतम सन्तुष्टिको सिद्धान्त व्याख्या गर्ने प्रचलन छ । यस सूक्तका तेस्रो, चौथो, पा“चौं र छैठौं ऋचामा के कुरा स्पष्ट गरिएको छ भने अर्थव्यवस्थामा साधनहरुको आपूर्ति सक्षम व्यक्तिहरुले गर्नु पर्छ । यो आपूर्ति कसरी गर्नु पर्छ भने साधनहीन व्यक्तिहरुका हातमा साधनहरु उपलब्ध हुन जाउन् । यो आर्थिक विकासको निर्देशक सिद्धान्त नै हो । सातौं ऋचाले उत्पादनमा वृद्धि गर्न खर्च र लगानी बढाउने कुरा स्पष्ट बताएको छ । आठौं ऋचाले अर्थव्यवस्थाका क्षेत्रहरुमा हुने विकास क्रमलाई स्पष्ट गरेको छ । नवौं ऋचाले दुई उपभोक्ताको उतपदन क्षमतामा अन्तर भए जस्तै दुइ श्रमिकको उत्पादन क्षमतामा पन अन्तर हुन्छ भन्ने कुरा स्पष्ट गरेका छन् । संक्षेपमा, भिक्षु अंगिरसले यस सूक्तमा गहनतम आर्थिक विचार व्यक्त गरेका छन् । त्यसैले उनलाई प्रथम आर्थिक विचारक स्वीकार गर्न सकिन्छ ।

==सन्दर्भ==;

"दान सूक्त" पृष्ठमा फर्कनुहोस्।