लोकतान्त्रिक समाजवाद
लोकतान्त्रिक समाजवाद या विपीको समाजवाद नै लोककल्याणकारी समाजवाद
प्रकाशित मिति: शनिबार, फाल्गुण ०७
बीपी कोइरालाले भन्नु भएको थियो “सम्यवादमा लोकतन्त्र थपिदिए समाजवाद हुन्छ र समाजवादमा लोकतन्त्र झिकिदिए साम्यवाद हुन्छ।” यस अर्थमा हेर्दा बीपीले भन्नु भएको समाजवाद लोकतान्त्रिक समाजवाद हो । जुन समाजवादमा स्वतन्त्रता र समानतालाई अभिभाज्य मान्दै लोकतन्त्रको अनिवार्यतालाई व्यक्त गरेको देखिन्छ । समाजवादको बीपिमोडलमा लोकतन्त्रलाई अनिवार्य शर्तको रुपमा राखिएकाले नै यसलाइ लोकतान्त्रिक समाजवाद भनिएको हो । बीपी भन्नुहुन्छ “समाजवाद भनेको प्रजातान्त्रिक पक्ष पनि समाहित भएको सभ्यता हो । समाजवादको नाउँमा प्रजातन्त्र चाहिंदैन भन्ने तत्व हाम्रो मुलुकमा पनि छन । अरु मुलुकमा पनि छन । केही मुलुकमा तिनीहरुको शासन पनि चलिरहेको छ त्यहाँ, तिनीहरु, जनतालाई अधिकार दिंदैनौं, केवल रोटी मात्र दिन्छौं भन्छन् ।
त्यो हामीलाई स्वीकार्य छैन् । त्यसले चाहे पेटको नाउँमा होस वा समानताको नाउँमा प्रजातन्त्रको अपहरण भएको हामीलाई मान्य छैन् ।” यस अर्थमा पनि बीपीले लोकतन्त्र बिहिन समाजवाद र समानता बिनाको समाजवादको कुनै अर्थ छैन भनेर समाजवादमा समानता र लोकतन्त्रको आवश्यकतालाइ औंल्याउनु भएको थियो । अब कुरो आयो समाजवाद भनेको के हो ? कम्युनिष्ट समाजवाद यस्तो आर्थिक व्यवस्था हो जहाँ पुजी उत्पादनका साधन (जग्गा जमिन, कलकारखाना, ब्यापार आदि) सरकारको स्वामित्वमा रहन्छ या सामाजिक स्वामित्वमा रहन्छन, जहाँ पूर्णतया निजी पूँजी हुँदैन तर सामाजिक पूँजी हुन सक्छ । यदि कुनै स्कुल, होटल, उद्योग सामुहिक रुपमा या कुनै सहकारीले खोलेको छ भने त्यो सम्पत्ति न पूर्णतया निजी हो न पूर्णतया सरकारी हो, त्यो सामुहिक पूँजी हो । निजी पूँजीबाट सामुहिक पूँजीमा रुपान्तरण गर्दै अन्तमा राष्ट्रिय पूँजी बनाएर साम्यवाद प्राप्त गर्ने हुनाले नै समाजवादलाई साम्यवादको बाटो भनिएको हो । किनकी साम्यवाद भनेकै निजी सम्पत्तीको उन्मूलन हो । सरलमा भन्दा उत्पादन साधन माथि सामूहिक अधिकार स्थापित गर्ने र त्यसको न्यायोचित वितरण गर्ने प्रणाली समाजवाद हो । कम्यूनिष्ट समाजवाद बल प्रयोगको सिद्धान्त, सर्वहारा क्रान्ति, सर्वहारा राज्यको स्थापना, निजी सम्पत्तिको अन्त्य र उत्पादनका साधनको राष्ट्रियकरणबाट आउँछ । कार्लमाक्सले पटक पटक भनेका छन् साम्यवाद भनेको अन्तिम निष्कर्षमा निजी सम्पत्तिको उन्मूलन हो । कम्यूनिष्टहरुको आदर्श नै समाजवाद हो । जुन समाजवाद बल प्रयोग र सर्वहाराको अधिनायकत्वबाट आउँछ ।
जुन समाजवादमा लोकतन्त्रको गुञ्जायस हुँदैन । रसियन मोडल (सोभियत संघ) को समाजवाद असफल हुनुको मुख्य कारण त्यहाँ लोकतन्त्र थिएन । बीपीले कम्यूनिष्ट समाजवादमा लोकतन्त्र थपेर परिस्कृत (अपडेट) गरेर –लोकतान्त्रिक समाजवाद (बीपि मोडल) बनाउनु भयो । यो लोकतान्त्रिक समाजवादमा लोकतन्त्र र मानव अधिकारको प्रत्याभूति गरियो । यति मात्र होइन बीपीले भन्नु भएको छ “हरेक नेपालीको सानो घर होस, गरीखान पुग्ने खेत होस, छोरा छोरी स्कुल पढन पाउन, स्वास्थ्य उपचारको लागि पैसा होस ।” यसरी हेर्दा बीपिको समाजवादमा लोकतन्त्र सहित निजी पूँजीको र खुल्ला बजार अर्थतन्त्र पनि अट्न सकेको देखिन्छ । तर भुमिसुधार (२७ बिघाको हदबन्दि) लागु गरी सामन्तवाद र चरम पुजीवाद हटाइ आर्थिक समानता ल्याउन खोजेको देखिन्छ । विश्व अर्थतन्त्रको बद्लिदो परिवेशले यस्तै माग राखेको हो की जस्तो परिदृश्य देखा परिसकेको छ । जबकी परम्परागत कम्यूनिष्ट राष्ट्रहरुमा पनि खुल्ला बजार अर्थतन्त्र र व्यक्तिवाद (नीजी पूँजी) लाई अभ्यास गर्न थालि सकेका छन । त्यति मात्र होइन परम्परागत कम्यूनिष्ट राष्ट्रहरुमा समाजिक सुरक्षा कटौति गर्दै श्रमिकको तुलनामा लगानिकर्ताको हितलाइ प्राथमिकता दिएको देखिएको छ ।
यस अर्थमा बिचार गर्दा संसदीय व्यवस्था, लोकतान्त्रिक परिपार्टी, खुल्ला बजार अर्थतन्त्र, निजि पूँजीवादलाइ मात्रात्मक विकास गर्दै परिस्कृत समाजवाद –(बीपीको समाजवाद )को महत्व अझ बढेको देखिन्छ । बीपी भन्नु हुन्छ “हलो जोत्ने किसान र गरिब गाउलेको जिवन स्तर उकास्ने योजना जसले ल्याउछ ऊ समाजवादि हो र त्यस्तो योजना नै समाजवाद हो ।” यो शब्द विस्लेष्ण गर्दा लोकको कल्याण गर्ने योजना नै समाजवाद हो । यो अर्थमा बीपीको समाजवाद लोकतान्त्रिक समाजवाद मात्र होइन यथार्थमा लोक कल्याणकारी समाजवाद हो । कल्याणकारी समाजवादमा लोकतन्त्र त रहन्छ नै निजी सम्पत्ती पनि रहन्छ । अधिक आर्जन गर्नेलाई अधिक कर लिइ राज्य नियन्त्रित व्यवस्थाबाट न्यायोचित वितरण गरी हरेक नागरिकको आधारभूत आवश्यकता (गाँस, बाँस, कपास, सुरक्षा) को ग्यारेन्टी राज्यले गर्दछ । जसमा समाजिक सुरक्षा, उचित शिक्षा, नैतिकता र धार्मिक स्वतन्त्रताले सुसजित पारी असमानता शुन्य पार्ने कार्य हुन्छ । निजी तथा राष्ट्रिय पूँजीको उत्पादनलाई न्यायोचित वितरण गरी शोषण रहीत पूर्ण समानता ल्याउने यसको ध्येय हुन्छ । लोकतन्त्रले राजनितिक समानता र समाजवादले आर्थिक समानता प्राप्त गरी पुर्ण समानाता कायम गर्नु बीपीको बिचार देखिन्छ । यस अर्थमा कम्यूनिष्ट समाजवाद, पूँजीवाद र लोक कल्याणकारी राज्यको अवधारणा यी सबैको अन्तिम मिलन विन्दु नै बीपीको लोकतान्त्रिक कल्याणकारी समाजवाद हो । जसबाट सर्वजन हिताय सर्वजन सुखाय तथा सर्वे भवन्तु सुखिन सर्वे शन्तु निरामयाको मर्मसँगै सम्पूर्णको कल्याणको बाटो बन्दछ । लोकतान्त्रिक कल्याणकारी समाजवाद नै मध्यदेखी दायाँ (सेन्टर टु लेफ्ट) हुन्छ जुन नेपाली कांग्रेसको धार हो । यसैले बीपीको कल्याणकारी समाजवादका विषयमा सबैले बुझ्नु पर्ने र मनन गर्नु पर्ने देखिन्छ । प्रजातन्त्र दिवशको शुभकामना ।