लटारम्मेश्वर महादेव मकवानपुरको बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकाको सिमनामा पर्ने एक धार्मीक पर्यटकीय स्थल हो । बकैया १२ को ठिंगन र भीमफेदी ८ को ईपा नजिकबाट करिब ३ घण्टा पदैल मार्फत उक्त लटारम्मेश्वरको परिसर पुग्न सकिन्छ । करिब २ हजार मिटर अग्लो डब्लु डाँडामा रहेको लटारम्मेश्वर हिन्दू धर्मालम्बीहरुको आस्थाको केन्द्र हो ।

लटारम्मेश्वर महादेव परिसरमा

हिन्दु धर्मको पौराणिक कथा अनुसार महादेवको पत्नी सतिदेबीले देहत्याग गरेपछि महादेवले उनको शरिर लिएर हिडने क्रममा उनको जटा (टाउकोको कपाल) पतन भएको स्थानको रुपमा उक्त क्षेत्रलाई लिईन्छ । सतिदेबीको जटा झरेर पतन भएको पौराणीक कथा अनुसार उक्त स्थानको नाम लटारम्मेश्वर महादेब भएको बताईन्छ ।

बागमती प्रदेशको राजधानी हेटौंडाबाट कान्तिलोकपथ मार्ग हुँदै ४० किलोमिटर उत्तर क्षेत्रको यात्रापछि बकैया गाउँपालिकाको ठिंगन भन्ने स्थान पुगिन्छ । ठिंगन पुग्नुभन्दा ५०० मिटर अगाडी खोरभन्ज्याङबाटै कच्ची बाटो हुदै रातोमाटे भन्ने ठाँउसम्म दुई पाङ्ग्रे साधनमा पुग्न सकिन्छ ।

रातोमाटेबाट करिब ३ घण्टाको जंगल पैदल यात्रा पश्चात उक्त लटारम्मेश्वर मन्दीर भएको स्थलमा पुगिन्छ । महाभारत क्षेत्रकोे उक्त स्थानको मौसम छिनछिनमै परिवर्तन चिसो भइराख्छ ।  लटारम्मेश्वरमा करिब एक सय÷एक सय मिटरको सिमेन्टको सिँडि समेत बनाईएको छ ।  लटारम्मेश्वर डाँडामा गुफा भित्र मन्दिर समेत रहेको छ । गुफा बाहिर ठूलो घण्टी र भित्र मन्दिर,केहि मिटरमाथि ठूलो त्रिशुल र पूजाआज गर्ने स्थल समेत रहेको छ ।

पछिल्लो समय उक्त लटारम्मेश्वरमा मकवानपुर,चितवन,काठमाण्डौ,भक्तपुर र ललितपुरबाट पर्यटकहरु आउनेको संख्या बढ्दै गएको छ ।