युवाको बौद्धिक र व्यावहारिक खुराकका रूपमा गोरखापत्र संस्थानद्वारा २०४५ साल असारदेखि ‘युवामञ्च’ प्रकाशन हुन थालेको हो । असारको अङ्क पहिलो भए पनि २०४५ साल वैशाखमा तत्कालीन युवराजाधिराज दीपेन्द्रको शुभ उपनयनसम्बन्धी सामग्री रहेको प्रारूप अङ्क प्रकाशन गरिएको थियो । यस मासिक प्रकाशनको दर्ता नं. ४।०४४।०४५ रहेको छ । यसका प्रथम सम्पादक बालमुकुन्ददेव पाण्डे हुनुहुन्छ । यो हाल गोरखापत्र संस्थानको एक विभागका रूपमा रहेको छ ।

यसमा प्रकाशन हुने सामग्री ज्ञानवर्धक, रोचक, पठनीय तथा सङ्ग्रहणीय हुन्छन् । यसमा समावेश सामग्री साहित्यिक, ऐतिहासिक, वैज्ञानिक अनुसन्धान र आविष्कार, धार्मिक, राजनीतिक, सांस्कृतिक, स्वास्थ्य, उद्यमशीलता, नवीनता आदि विषयवस्तुसँग सम्बन्धित हुन्छन् ।

गोरखापत्र संस्थान सञ्चालक समितिले विसं २०५७ मङ्सिर २५ गते ‘युवामञ्च’ का लागि प्रकाशन नीति तयार पारी  लागु गरेको छ । उक्त नीति अनुसार ‘युवामञ्च’ को मुख्य लक्षित समूह माध्यमिकदेखि स्नातक तहसम्म अध्ययनरत युवा हुन् । उनीहरूलाई नै केन्द्रमा राखेर तथा लक्षित समूह बनाएर सामग्री सङ्कलन र प्रस्तुत गरिन्छ । नीतिले त्यसरी सामग्री  प्रस्तुत गर्दा उक्त उमेर समूहमा पढेलेखेका मात्र नभई सामान्य साक्षर युवा पनि पर्ने भएकाले तिनले समेत सरल रूपमा  बुझ्ने गरी उपयोगी सामग्री प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ । सामग्री प्रस्तुतिमा पनि सकेसम्म युवालाई नै सहभागी गराउने नीति लिने र त्यसो गर्दा सहरी तथा ग्रामीण क्षेत्रका युवाको स्तरको भिन्नतालाई ध्यानमा राखी सामग्री चयन तथा  प्रस्तुतीकरणमा समेत विविधता ल्याउने गरिएको छ ।

नीति अनुसार लक्षित समूहको बौद्धिक चेतनाको विकास गर्ने तथा सत्यतथ्य, अनुसन्धान एवं जानकारीका लागि  सघाउ पुर्‍याउने किसिमका सामग्री प्रस्तुत गर्नेस सकेसम्म सबै वर्ग, क्षेत्र र विभिन्न जनजातिका भाषा, संस्कृति एवं रीतिरिवाजको जगेर्ना हुने खालका सामग्री प्रकाशित गर्नेस सामाजिक सुरक्षा र सामाजिक मर्यादाको अभिवृद्धि गर्दै सामाजिक अगुवाइ गर्ने व्यक्तित्व र प्रवृत्ति एवं चरित्रलाई महत्व दिनेस नैतिक चरित्रतर्फ आकर्षित गर्ने र राष्ट्र एवं समाजको विकासमा उनीहरूको भूमिका, योगदान एवं सहभागिता बढाउने सामग्री प्रकाशन गर्ने काम ‘युवामञ्च’ को रहेको छ ।

त्यस्तै स्वदेश तथा विदेशमा रहेका नेपालीले हासिल गरेका प्रेरणादायी तथा उदाहरणीय उपलब्धिलाई महत्व दिई प्रकाशन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनालाई सकेसम्म त्यसको पृष्ठभूमिसहित तर निरपेक्ष तरिकाले प्रकाशन गर्ने, सरकारका नीति र निर्णयबारे टिप्पणी गर्नुपर्दा रचनात्मक सुझाव दिने, अधिकतम युवा सहभागिता जुटाउन विभिन्न नयाँ स्तम्भ प्रकाशन गर्ने, अधिकभन्दा अधिक समसामयिक जानकारीमूलक सामग्री एवं सान्दर्भिक तस्बिर, चित्र र स्केच प्रयोग गर्ने नीति पनि ‘युवामञ्च’ को रहेको छ । प्रतिभाशाली युवाबारे जानकारी दिई अन्य युवालाई पनि अभिप्रेरित गर्ने र ‘युवामञ्च’ का सामग्री प्रस्तुत गर्दा सरल, स्पष्ट र प्रभावकारी भाषाको प्रयोगमा जोड दिने नीति अनुरूप कार्य भएको छ ।

यस आधारमा समग्री दिँदा ‘युवामञ्च’ नेपालकै लोकप्रिय मासिक पत्रिका बनेको छ ।

‘युवामञ्च’ का सम्पादकहरूको सूची सम्पादन गर्नुहोस्

क्र।सं साल र महिना पद नाम

१। २०४५ वैशाख प्रधान सम्पादक बालमुकुन्ददेव पाण्डे

२। २०४६ पुस  कामु प्रधान सम्पादक श्रीप्रसाद गौतम

३। २०४७ जेठ प्रधान सम्पादक श्रीप्रसाद गौतम

४। २०४७ भदौ प्रधान सम्पादक रामचन्द्र न्यौपाने

५। २०४९ माघ सम्पादक खगेन्द्र थपलिया

६। २०५७ भदौ सम्पादक आनन्दराम आचार्य

७। २०५८ कात्तिक प्रधान सम्पादक श्री आचार्य

८। २०५८ पुस प्रधान सम्पादक किशोर नेपाल

९। २०५९ मङ्सिर कामु प्रधान सम्पादक उद्धवदेव उपाध्याय

१०। २०६० कात्तिक प्रधान सम्पादक युवराज गौतम

११। २०६० फागुन सम्पादक उद्धवदेव उपाध्याय

१२। २०६२ माघ सम्पादक विजय चालिसे

१३। २०६४ साउन निमित्त सम्पादक पुष्कर माथेमा

१४। २०६५ जेठ सम्पादक पुष्कर माथेमा

१५। २०६५ असोज सम्पादक रमेश तिवारी

१६। २०६६ साउन सम्पादक सीताराम अग्रहरि

१७। २०६८ जेठ सम्पादक कृष्ण श्रेष्ठ

१८। २०७३ साउन सम्पादक हरिकला अधिकारी

१९। २०७४ भदौ निमित्त सम्पादक रामप्रसाद हुमागाईं

२०। २०७४ फागुन कार्यकारी सम्पादक अच्युत अधिकारी

२१। २०७४ चैत सम्पादक अच्युत अधिकारी

२२। २०७५ फागुन  सम्पादक उमेशकुमार ओझा (कार्यरत)