मोहनबहादुर बस्नेत

(मोहन बहादुर बस्नेतबाट अनुप्रेषित)

विश्व बस्नेत -- कलाकार, निर्माता, निर्देशक

जन्म:- २०३० चैत १७ गते

जन्मस्थान:- भिरगाउँ, धनकुटा


चलचित्रको श्रेय : कलाकार / निर्देशक / निर्माता / कथा / पटकथा / गीतकार


विश्व बस्नेत एक अभिनेता र लेखक हुन्, जुन अन्याय (1989), कुमारी (1977) र सिन्दूर (1980) का लागि परिचित छन्। उनी धनकुटाका खान्दानी बस्नेत परिवारमा जन्मिएका थिए। धनकुटामा उनका पिताको सयौँ रोपनी जग्गा थियो। उनका बुढा बाजे सुविदार थिए, उनका बाजे लप्टन थिए। धनकुटाका बस्नेत भनेपछि उनको परिवार पुर्वाञ्चलकै एक खान्दानी परिवार मध्यको एक परिवार भनिन्थ्यो। उनका बुबाको नाम कर्नेल भक्त बहादुर बस्नेत हो, उनका बुबा खान्दानी त थिए नै तर दयालु र दान विर पनि थिए। त्यसैले उनका बुबालाई दान विर कर्नेल भक्त बहादुर बस्नेत भनिन्थ्यो, उनले धनकुटामा ३ सय रोपनी भन्दा बढी जग्गा त दान नै गरेका थिए। उनले त्यतिबेला धनकुटा बहुमुखी क्याम्पसलाई ६५ रोपनी जग्गा दान गरेका थिए। उनिको तराईमा पनि झापा, मोरङ सुनसरी गरि ५ सय बिघा भन्दा धेरै जमिन थियो ‌। कर्नेल भक्त बहादुर बस्नेतका चार जना श्रीमती थिए। विश्व बस्नेत भने भक्त बहादुरका साँइली श्रीमतीका जेठा छोरा हुन्। उनी पट्टीका अरु ३ भाई र एक बहिनी छन्। भक्त बहादुर बस्नेत एक पटक धनकुटाबाट राष्ट्रिय पञ्चायत सदस्यमा समेत निर्वाचित भएका थिए। त्यसपछि भने राजा महेन्द्रले सुर्य बहादुर थापालाई सघाउन भनेपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए। विश्व बस्नेतको शिक्षा सेन्ट जेभियर्स स्कूल जावलाखेलबाट भएको हो। कक्षा १ देखि कक्षा ५ सम्म उनले सोही स्कुलमा पढे, त्यसपछि उनले शान्ति निकेतन स्कुलमा पढे। शान्ति निकेतनमा पुगेपछि पढ्ने माहोल बिग्रियो। सेन्ट जेभियर्स स्कूलमा सबै कुरा टिममा गरेका बिध्यार्थीहरुलाई त्यहाँ ज्यादै नै स्वतन्त्रता महशुस भयो। तैपनि उनको पढाई राम्रो थियो। त्यो बेला उनको रुचि खेलकुदमा पनि थियो। स्कुलमा पौडी खेल्न पनि सिकाइन्थ्यो,उनी राम्रो पौडी खेल्थे। बास्केटबल,रेस, बक्सिङ र हक्की पनि राम्रो खेल्थे। घरमा घोडाहरू थिए, गाईबस्तु टनाटन थिए। स्कुल छुट्टी भएर घर आएका बेला भने उनि गाईबस्तु हेर्न जान्थे तर घोडा चढेर। स्कुल पढ्दा नै उनले एउटा अङ्ग्रेजी चलचित्र "काउ ब्वाई" हेरेका थिए, उक्त चलचित्रको प्रभाव उनिमा थियो। सोहि चलचित्रको काउ ब्वाई जस्तो भेष बनाएर उनी त्यस्तै टोपी लगाएर त्यसरी नै घोडा चढेर हिँड्थे। विश्व बस्नेतका त्यो बेलाका सहपाठीहरुमा पुर्व प्रधानसेनापति प्यारजन थापा, क्याप्टेन मान बहादुर गुरुङ्ग, क्याप्टेन प्रचण्ड जङ्ग शाह उनले एसएलसी पास गरेको सालका उठ बस भएका साथी पनि उनकै सहपाठी हुन्।


विश्व बस्नेत सानैदेखि मनमौजी थिए भन्ने केही उदाहरणहरू छन्, त्यसमध्ये एउटा यहाँ प्रस्तुत गर्न आवश्यक ठानेका छौँ। शान्ति निकेतन स्कुलमा पढ्दा उनलाई एकजना साथीले उनलाई कलकत्ता जाउँ कलकत्ता जाउँ भनिरहन्थे, एकदिन उनलाई पनि जाउँ जाउँ लाग्यो,साथीलाई हिँड् जाउँ भनेर झोला बोकेर लागे कलकत्ता तिर, तर दुवैजना किशोर आला काँचा दुवै जनासँग पैसा थिएन। अमलेखगंज पुगेपछि खर्चले समस्या भयो, उनी त धनी बाउका छोरा थिए, उनीसँग बुबाले दिएको घडी थियो, उनले अमलेखगंजमा त्यो घडी बेचिदिए। पसलेले घडिको दाम ९० रुपैयाँ दियो, अनि त पैसैपैसा भैहाल्यो। अमलेखगंजबाट रेल चढेर रक्सौल, बरौनी हुदैँ कलकत्ताको यात्राका लागि हिडेँ, त्यो यात्रा सजिलो थिएन, अवसर पाए कुल्ली देखी पसलेसम्मले ठग्थे। ठगिँदै र जोगिँदै बल्लतल्ल कलकत्ता पुगे। कलकत्ता पुगेपछि मात्र थाहा भयो त्यहाँ त साथीका पनि कोही आफन्त रहेनछन्, हावा तालमै पो जाउँ भनेका रछन् साथीले। कलकत्ता पुगेको केही दिनमै पैसा सकियो, उनिहरुले त्यसपछि वास्तविक दुःख भोगे, उनिहरुले बल्लतल्ल एउटा होटलमा काम पाए र खाने र बस्नेको ब्यावस्था भयो। उनका साथिको काम भाँडा उठाउने र उनको काम भने प्याज काट्ने थियो। कहिले दुःख नभोगेका उनिहरुलाई धेरै पिडा भयो। उनका साथि रुन थाले, उनिहरुलाई बिस्तारै थाहा भयो कलकत्तामा महावाणिज्य दूतावास छ भन्ने, उनिहरु त्यसको खोजिमा लागे। बल्लतल्ल भेट्टाए संयोगले महावाणिज्य दूत पनि बस्नेत नै थिए त्यतिबेला। काठमाडौँबाट घुम्न आएका पैसा चोरी भयो भनेर उनिहरुले महावाणिज्यलाई ढाँटे, महावाणिज्य दूतले उनका बुबालाई चिन्दा रहेछन्। त्यसपछि एउटा निवेदन लेख्न लगाएर १५०/१५० रुपैयाँ दिएर पठाए। पैसा पाइसकेपछि उनका साथि पोखरा लागे उनी धरान, त्यतिबेला उनका बुबा धरान नै बस्थे। पहिलेको धरानको बाउन्न ढोका भएको घर नै विश्व बस्नेतको मुल घर हो, पछि उनका बुबाले उक्त घर बेचिदिए। कलकत्ताबाट फर्केपछि उनी उनका कर्नेल बाबुको झोकमा परे, उनका बुबाले उनलाई काठमाण्डौँ नपठाउने भनेर तत्कालै निधो पनि गरिहाले। उनलाई धरानकै पब्लिक हाई स्कूलमा भर्ना गरिदिए, त्यहीँबाट उनले एसएलसी पास गरे, काठमाडौँमा अङ्ग्रेजी पढेकाले उनले एसएलसीमा अङ्ग्रेजी बिषयमा ल्याएको नम्बर उक्त स्कुलका विद्यार्थीले लामो समयसम्म ल्याउन सकेनन्।


विश्व बस्नेत एसएलसी पछि बिज्ञान पढ्नको लागी काठमाडौँको तत्कालीन पब्लिक साइन्स कलेज पुगे तर पढाई थोरै घुमघाम धेरै हुन्थ्यो। बिस पच्चीस पैसामा दिनभरी भाडामा साइकल पाइन्थ्यो,उनी भाडाको साइकल लिएर साथीहरूसँग घुम्न जान्थे। त्यसरी बरालिएपछी के बिज्ञान पढ्नु, उनी बिज्ञानको पढाई छोडेर सङ्गीत तिर लागे। उनले आइएस्सी पुरा गरेनन्,उनी बिराटनगर फर्किए, बिराटनगरको महेन्द्र मोरङ्ग क्याम्पसबाट उनले आइएको परिक्षा दिए। बिराटनगरमा पनि उनको सङ्गीत प्रतिको लगाव उस्तै थियो। हिन्दी चलचित्रहरु प्रशस्तै हेर्थे, उनी देव आनंद प्रति आकर्षित थिए, म पनि देव आनंद भन्दा के कम्ती छु र जस्तो लाग्थ्यो। बिराटनगर बसेकै बेला एउटा गायन प्रतियोगितामा उनले गोल्ड मेडल पनि जितेका थिए। आइएको नतिजा आयो, उनलाई एउटा बिषय लाग्यो, उनले पछि बनारस गएर प्राइभेट बाट आइए पास गरे, त्यसपछि लखनऊ युनिभर्सिटीमा बिए पढ्न थाले। लखनऊमा पनि उनको मनमौजी स्वभाव उस्तै थियो, उनले कलेजको शुल्क तिरेर बाँकी रहेको पैसाले उनी बियर पिउँथे।

निर्देशक प्रकाश थापा उनका आफ्नै फुपुका छोरा, साइनोले दाजु, उनी बम्बईमा चलचित्रमा काम गर्दै थिए। विश्व बस्नेत लखनऊबाट बिराटनगर फर्किएका थिए त्यहिबेला प्रकाश थापाका भाई मावली आएका बेला उनलाई विश्व बस्नेतले"मलाई फिल्म खेल्न मन छ" भने। प्रकाश थापाका भाईले भने " प्रकाश दाईलाई भनेर बम्बई गए भैगयो नि" । पछि प्रकाश थापा काठमाण्डौँ आएका बेला उनिहरुले भेट गरे। चलचित्रका बारेमा गफ गरे उनलाई प्रकाश थापाले बम्बई बोलाए, विश्व बस्नेत लाई "पुना फिल्म इन्स्टिच्युट" मा अभिनयको तालिम लिन मन थियो तर प्रकाश थापाले " मैले पनि तालिम लिएको हैन काम गर्दै सिकेको हो,तँ पनि आइज काम गर्दै सिक्छस्" भनेपछि उनि त्यत्तिकै बम्बई गए। बम्बई गएपछि "मेरो देश" भन्ने चलचित्र बनाउने सल्लाह भयो, चलचित्रमा नायक प्रकाश थापा र सहनायक विश्व बस्नेत हुने निधो भयो, लगानी भने बराबर गर्ने भन्ने कुरा भयो। गीत रेकर्ड पनि भयो, चलचित्रका लागी उनले १२ हजार रुपैयाँ उनले प्रकाश थापालाई दिएका थिए तर चलचित्र कहिले बनेन, त्यो पैसा पनि डुब्यो। उनले त्यो पैसा कहिले खोजेनन्।


विश्व बस्नेत प्रकाश थापासँग दुई वर्षजति बम्बई बसे, त्यो समयमा उनी विभिन्न स्टुडियो जान्थे, सुटिङमा जान्थे फोटो पनि खिचाउँथे तर चलचित्रमा कुरा गर्दा अभिनय सिकेको छ? भनेर सोध्थे। त्यसपछि उनले आशा चन्द्र सगँ ६ महिना अभिनय सिके। एक समयका भारतिय सिनेमाका स्टारहरु ऋषि कपूर, सिम्पल कपाडिया,किरण कुमार आदि आशा चन्द्रकै बिध्यार्थी थिए। किरण कुमारले उनलाई " तिमी किन चलचित्रमा अभिनय गरिरहेका छैनौ, तिमी सँग यस्तो अनुहार छ" समेत भनेका थिए। पछि नेपालमा चलचित्र संस्थानले "सिन्दुर " चलचित्र बनाउने भयो। विश्व बस्नेतले अडिसन पास गरे र हिरोको भुमिका पाए। त्यो अडिसनमा जाँदा नै उनलाई "मुम्बईमा अभिनय सिकेको,गितार बजाउन जान्ने, गीत पनि गाउने, अङ्ग्रेजी फरर बोल्न सक्ने, जिउडाल र अनुहार पनि मिलेको म नछानिए को छानिएला र भन्ने लागेको रहेछ। चलचित्रको लागी त्यो भन्दा पहिले नै १२ हजार रुपैयाँ सकिसकेका उनलाई चलचित्रमा खेल्न पाए पाए पारिश्रमिकको कुनै मतलब नै थिएन। तर चलचित्र संस्थानले उक्त चलचित्रका लागी नायिका मिनाक्षी आनन्दलाई रु. १० हजार र विश्व बस्नेतलाई ७ हजार रुपैयाँ दिएको थियो। यसरी उनले पहिलोपटक नायक हुने अवसर पाए। हुन त उनले अभिनय सिकेको भए पनि त्यो बेला अभिनय सिकाउँदा क्यामेरा फेस गर्न चैँ सिकाएको हुदैँन थियो। क्यामेरामा लाग्ने रिल महङ्गो हुन्थ्यो, उनले पहिलो चोटी क्यामेरा फेस पनि सोहि चलचित्रमा नै गरे। सुरु सुरुमा त उनलाई गाह्रो पनि भयो, त्यसमाथि त्यो बेला सुटिङ भनेपछि दर्शकको भिड लाग्थ्यो। उनि बिस्तारै अभ्यस्त भए तर चलचित्र सिन्दुरको काम सकिँदा नसकिँदै प्रकाश थापा र विश्व बस्नेतको सम्बन्ध बिग्रियो। के कारणले विवाद भयो त विश्व बस्नेतले खुलाएका छैनन् तर पनि उनले आफुप्रति प्रकाश थापाको ब्यावहार अलिक रुखो भएको संकेत गरेका छन्। त्यही विवादका कारण प्रकाश थापाले " म तँलाई अर्को चलचित्रमा लिन्नँ" भनेछन् , उनले पनि" म पनि तपाईँको चलचित्रमा खेल्दिनँ" भनेछन्। त्यसपछि उनीहरूले सँगै काम गरेनन्। केही बर्ष त बोलचाल समेत भएनछ। सिन्दुर चलचित्र सार्वजनिक भएपछी उधुमै भयो। चलचित्र हलहरुमा लगातार ५२ हप्ता उत्साहका साथ चल्यो। उनलाई चलचित्र बारे सिक्न बुझ्न र विभिन्न कुरा मिलाउन एक दशक लाग्यो। एक दशकपछि उनले "अन्याय" चलचित्र बनाए, अन्याय चलचित्र नेपालको पहिलो त्यस्तो चलचित्र हो जुन चलचित्रलाई बैंकले ऋण दिएर बनाइएको थियो। चलचित्र अन्याय एकदमै सफल भयो तर वितरण सम्बन्धी ज्ञान नहुनु र हकवालाहरुसँग समन्वय मिलाउन नजान्नुका कारण चलचित्रले लगानी उठाउन सकेन। त्यसमा उनी चुके, बैंकको ऋण चुकाउन लाई झापाको खेत बेच्नुपर्ने भयो। त्यसैले उनले निरन्तर चलचित्र बनाइरहन सकेनन्। यो तितो अनुभूति आजपनि उनिसँग छ। त्यसपछि उनले "नाता" चलचित्र निर्देशन गरे, नाता चलचित्रमा श्रीकृष्ण श्रेष्ठ नायक थिए, चलचित्र सुपरटुपर हिट भयो। तर उनी उक्त चलचित्रका निर्देशक मात्र भएकाले यसबाट आर्थिक उपलब्धि भने भएन।


उनले चलचित्र सम्बन्धि रङ्गिन पत्रिका पनि प्रकाशन गरे, पत्रिकाको नाम थियो मधुरम र त्यो पत्रिका नै नेपालको चलचित्र सम्बन्धि पहिलो पत्रिका पनि हो। तर उक्त पत्रिका पनि दुई अंक भन्दा धेरै प्रकाशन भएन। त्यसको कारण भने उनिसँग त्यसबारेमा प्रशस्तै अनुभव नहुनु र प्रयाप्त मात्रामा पैसा नहुनु नै थियो। त्यसमाथि रङ्गिन फोटो छाप्नको लागी नेपालमा प्रविधि नै थिएन मुम्बई जानुपर्थ्यो। मधुरम पत्रिका बन्द गरेर उनले अभिनय, नृत्य र सङ्गीत सिकाउने कला संगम प्रतिष्ठान खोले, त्यो प्रतिष्ठान दुई बर्ष चल्यो। त्यसपछि उनी रेकर्डिङ्गको शिलशिलामा मुम्बई गएका बेला मेनेजरले बदमासी गरेका कारण त्यो पनि बन्द भयो। नेपालमा पहिलो बाल चलचित्र बनाउने पनि विश्व बस्नेत नै हुन्। त्यो बाल चलचित्रको नाम थियो "एकादेशमा", उक्त चलचित्रले चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय र चलचित्र संघले आयोजना गरेको राष्ट्रिय अवार्ड समारोहमा दुई वटा बिधामा पुरस्कार प्राप्त गरेको छ। हाँस्य कलाकारमा रतन सुबेदी र सर्वश्रेष्ठ बाल कलाकारमा ज्योती थापाले उक्त पुरस्कार प्राप्त गरेका थिए‌। फेरी उनले अर्को चलचित्र बनाए "स्कुल" , चलचित्र शिक्षा र अध्यात्म सम्बन्धि थियो। उक्त चलचित्रले दिल्लीमा अफिसियल सेलेक्सनको अवार्ड पाएर मुम्बई गयो,र मुम्बईमा स्पेशल फेस्टिवल मिन्सन अवार्ड पाएको थियो। अन्य कुनैपनि नेपाली चलचित्रले उक्त अवार्ड प्राप्त गरेका छैनन्‌।

विश्व बस्नेत प्रत्यक्ष संलग्न नभएपनि चलचित्र संघ र संस्थाहरुका परिकल्पनाकार हुन्। कलाकार संघको परिकल्पना गरेर उनले नै पहिलो पटक कृष्ण मल्ललाई सुनाएका थिए‌‌। पछि साकार भयो, निर्माता संघको परिकल्पनाकार पनि उनि नै हुन्। यसको आवश्यकता उनले अन्याय चलचित्रबाट हलवालाहरुले उनलाई ठगेको बेला महशुस गरेका थिए। जसले पायो उसले निर्देशन गर्दा चलचित्र प्रति दर्शकहरुको विश्वास रहँदैन त्यसैले केही त मापदण्ड हुनुपर्छ भनेर उनले नै चलचित्र निर्देशक समाजको परिकल्पना गरेका थिए। यसरी उनी नेपाली चलचित्रका हरेक विषयमा बाँधिएका छन्। उनले अभिनय, निर्माण र निर्देशन गरेर करिब २५ वटा चलचित्रमा काम गरेका छन्।

उनले पाएका मुख्य पुरस्कारहरूमा गोर्खा दक्षिण बाहु हरितारा पुरस्कार आदि छन्।

तर हाल भने उनि चलचित्र क्षेत्रभन्दा बिलकुल अलग्गै छन्, हाल उनी क्यान्सरको बैकल्पिक उपचार पद्धतिका बारेमा अध्ययन अनुसन्धानमा ब्यस्त छन्। विश्व बस्नेतले बिक्रम सम्बत् २०४६ सालमा प्रेम बिबाह गरे कलाकार "शारदा श्रेष्ठ" सगँ, उनिहरुका तीन सन्तान छन् एक छोरा र दुई छोरी । उनिहरुकी कान्छी छोरी निरिशा बस्नेत पनि कलाकार हुन् , उनी मुम्बईमा धारावाहिक हरुमा काम गर्छिन् । उनले नेपाली चलचित्र " जानी नजानी" मा नायिकाको भुमिकामा काम गरेकी छिन्।


चलचित्र क्रेडिट रिलिज मिति


अपहरन (एकादेशमा) निर्देशक,कथा,पटकथा विमोचन


स्कूल निर्देशक,गीतकार,निर्माता अप्रिल 11, 2020


तिमी हुन्छौ जहाँ जहाँ कलाकार जुन 22, 2018


रुद्रप्रिया कलाकार अक्टोबर 19, 2017


बिजुली मेसिन कलाकार डिसेम्बर 2, 2016


गाजलु कलाकार जून 10 2016


ड्रीम्स कलाकार मार्च 04, 2016


क्लासिक कलाकार फेब्रुअरी 12, 2016


नागरीक कलाकार नोभेम्बर 06, 2015


दासढुंगा कलाकार सेप्टेम्बर 03, 2010


यस्तै रहेछ जिन्दगी निर्देशक, स्क्रिनप्ले नोभेम्बर 11 2003


यस्तै हुन्छ पिरती कलाकार जनवरी 1, 2001


चलचित्र निर्देशक, कहानी जनवरी 11, 2000


नाता निर्देशक नोभेम्बर 24, 1994


अन्याय कलाकार,निर्माता,कहानी अक्टोबर 30, 1989


सिन्दूर कलाकार नोभेम्बर 26, 1979