माण्डूक्य उपनिषद्

माण्डूक्य उपनिषद र ओंकारसम्पादन

माण्डूक्य उपनिषदलाई वेदको सार भनिन्छ । ब्रह्मविद्याका ग्रन्थहरुमध्ये यो उपनिषद् सर्वोपरि मानिन्छ ।[१] तर उपनिषद्हरुमध्ये यो सर्वाधिक सानो पनि हो । यसमा जम्मा १२ मन्त्रहरु छन् । यसमा ओंकारको माध्यमबाट ब्रह्मलाई अनुभव गराउने प्रयास गरिएको छ । ओंकार यस्तो शब्द हो जसको वेदमा मात्र होइन, बौद्ध ग्रन्थ, जैन ग्रन्थ, सिखको गुरुवाणी, किरांतहरूको धर्मग्रन्थ लगायत अनेक धर्मग्रन्थहरूमा समानरूपमा उच्च सम्मान प्रदान गरिएको छ् । गुरु नानकले त इक ओमकार सतिनाम भनेर सुप्रीम ट्रुथ (परम सत्य) को रूपमा यसको महत्त्व बयान गरेका छन् । ॐ शब्द मात्र नभएर चिन्ह पनि हो । स्वस्तिक र ॐलाई एक अर्काको पर्यायवाची पवित्र चिन्ह मानिन्छ भने क्रस चिन्ह र स्वस्तिक चिन्हको उत्पत्ति आधार ॐ हो भन्ने खप्तड बाबाको विचार छ । आर्य समाजीहरूले ओ३म् लेख्ने गर्दछन् ।[२]
ओंकार शब्दलाई ठीक तरीकाले लख्न सकिंदैन । यसलाई केवल उच्चारणद्वारा व्यक्त गर्न सकिन्छ । यसको पूर्ण उच्चारणलाई निम्न प्रकार व्यक्र गर्न सकिन्छ–सुरुमा निशब्दता अनि विस्तारै मुख खोल्दै अ–उ–म्–मुख बन्द र केवल नाके स्वर–नाकबाट दीर्घ स्वासबाट समाप्त गर्दै शान्ति । यस प्रकार ओंकारको उच्चारणलाई पांच भागमा विभाजन गर्न सकिन्छ । मुख खोलेर अ लाई कण्ठको गहिराईबाट पूर्ण शक्ति लगाएर उच्चारण गर्दा नाभिमा कंपन अनुभव गर्न सकिन्छ ।
उ को उच्चारण गर्दा ओंठ केही गोलो बनाई त्यसै गरी उच्चारण गर्दा छातिमा कम्पन हुन्छ । ओंठ बन्द गरेर पूर्ण शक्ति म को लगाएर उच्चारण गर्दा सिरमा स्पष्ट कम्पन अनुभव गर्न सकिन्छ ।
म उच्चारण गर्दा ओंठ बन्द गरी ध्वनि नाकबाट निकाल्नु पर्छ । यसको उच्चारणलाई घण्टीको ध्वनिसंग तुलना गर्न सकिन्छ । सुरुमा चर्को अनि विस्तारै मन्द हुंदै अन्तमा शान्त । नाकबाट निस्केको स्वर विस्तारै घट्दै गइ केवल स्वास निस्कन्छ । अन्तमा स्वासले नाथ्रा फुल्छन् अनि पूर्ण शान्ति, निस्तब्धता ।
तीनवटैको समवेत स्वरलाई नाद ब्रह्म भनिन्छ । अको उच्चारण गर्दा त्यसमा उ मिसाउनु पर्छ भने उ को उच्चारण गर्दा म मिसाउनु पर्छ । यी तीनवटाको स्वतन्त्र र मिसाएर अलग अलग उच्चारण गर्दा ओंकारको सही उच्चारण हुन्छ । यसको उच्चारण गर्दा पूर्ण शक्ति लगाएर गर्नु पर्छ । भाषा शास्त्रमा यो मात्र एक यस्तो अनौठो सार्थक शब्द हो जसलाई उच्चारण गर्दा जिब्रो चलाउनु पर्दैन । जिब्रोले कहीं आघात नगरी उच्चारण गर्न सकिन्छ । त्यही कारणले यसलाई अनाहत नाद भनिएको हो र विश्वको जुनसुकै भाषा बोल्नेले पनि यसको शुद्ध र स्पष्ट उच्चारण गर्न सक्छ ।
सृष्टिको आदि अवस्थाका बारेमा अध्ययन गर्दा वैज्ञानिकहरु त्यस बेलाको कल्पना गर्दछन् जब पृथ्वीमा जीवहरूको उत्पत्ति भइसकेको थिएन तर सुरु हुने पूर्वाधारहरु थिए । पृथ्वी पूर्णतया जलमय र एकदम सुनसान थियो । ब्रह्माण्डका तारा र नक्षत्र बाहेक पृथ्वीलाई हेर्ने कोही थिएन । त्यस निरपेक्ष सुनसानमा पृथ्वीमा पनि एक ध्वनि थियो । किनभने निस्तब्ध शान्ति अवस्थामा पनि एउटा ध्वनि हुन्छ । त्यो सुनसानको शान्त आवाज ॐकारको ध्वनिसंग मिल्दोजुल्दो हुनुपर्छ भन्नेमा ध्वनिशास्त्रीहरु सहमत छन् । यस्तो आवाजलाई आफुभित्र सुन्ने सन्तहरूको कमी छैन । शंख भित्रबाट आउने ध्वनि निस्तब्ध शान्ति अवस्थाको ध्वनिकै प्रतीक मानिन्छ । खप्तडबाबाले शरीर भित्र ॐको ध्वनिलाई सुन्नका लागि एउटा प्रयोगात्मक विधिको उल्लेख धर्म विज्ञान पुस्तकमा गरेका छन् ।[३]

माण्डूक्य उपनिषद सारसम्पादन

ॐ परब्रह्म हो त्यसकारण त्यो अणु अणु मै भरिएको छ । जसरी समष्टि ॐ स्वरुप छ त्यसरी नै व्यष्टि सृष्टि पनि ॐ स्वरुप छ । जीवहरूलाई पृथक पृथक सृष्टि भन्छन् र तिनीहरु जुन एकमा हुन्छन् ईश्वरको त्यस्तो सृष्टिलाई समष्टि भन्दछन् । मनुष्यहरूको भिन्न भिन्न घर व्यष्टि हो र शहरको रूपमा सबैघरहरूलाई एक भावना सम्झ्नुलाई समष्टि भन्छन् । ओंकारमा चार पाद छन् । त्यसकारण चार पाद हुनाले त्यसका चार छुट्टा छुट्टै अङ्ग छन् भन्ने संझनु भएन । किनभने चार पादको कल्पना बुझाउनकोलागि गरिएको हो । जुन चार पादहरुद्वारा उसलाई बुझाइन्छ ती चार पादहरूलाई मात्रा पनि भन्दछन् । अकार प्रथम पाद हो, उकार द्वितीय पाद, मकार तृतीय पाद, र अमात्र चतुर्थ पाद मायारहित शुद्ध अधिष्ठान हो । ॐको वर्णाकृति जो शास्त्रहरूमा देखिएको छ, त्यसमा पाद वा मात्राहरूको भावलाई खप्तड बाबाले यस प्रकार व्यक्त गरेका छन्–

देब्रेतिरबाट जुन अद्र्धचन्द्राकार छ, त्यो अकार हो त्यसको तलतिर जो यस्तै नै दोस्रो अर्ध चन्द्राकार जुन प्रथमसंग मिलेको उकार हो र बीचबाट जोडिएको अगाडि जुन बिन्दु छ, त्यो मकार हो । तसर्थ, यो अकार सहित उकार हो । उकार सहित मकार हो । अकार, उकार, मकार यी तीनवटै हो । यी तीनवटै माथिको अर्धचन्द्रका मुनि छन् । अर्धचन्द्रले मायालाई देखाउंछ र त्यसको माथि मध्यमा जुन बिन्दु छ त्यो अमात्र हो । जुन प्रकाश मायाको तम अंशमा परेर बाहिर आउंछ त्यो मकार हो । उकारमा एउटा प्रकाश त मायाको रज अंशबाट आउंछ र अर्कोचाहिं अकारबाट आउंछ । यसरी नै मकारमा एउटा प्रकाश त मायाको तमस् अंशबाट अर्को प्रकाश उकारबाट र तेस्रो प्रकाश अकारबाट आउंछ । अमात्र शुद्धस्वरुप हो । उत्पत्ति, स्थिति, र लय अकार, उकार, र मकार हुन् । चैतन्यको प्रकाश लिएर उत्पत्ति सत्वगुणबाट, स्थिति रजोगुणबाट, र प्रलय तमोगुणबाट हुन्छ । स्थिति उत्पत्तिको हुन्छ, त्यसकारण यी दुवैको सम्बन्ध छ र लय उत्पत्ति र स्थिति दुवै हुनाले दुवैसंग सम्बन्ध राख्छ । यी सब भेद हुंदाहुंदै पनि भेद भ्रान्तिरुप हुनाले त्यो शुद्ध ब्रह्म नै हो । यस प्रकार बोध हुनु ओंकार आकृतिको अर्थ हो ।
अकारलाई सृष्टिकर्ता ब्रह्मा Generator को प्रतीक, उकारलाई स्थिति र संचालक विष्णु Operator को प्रतीक तथा मकारलाई संहारकर्ता शिव Destroyer को प्रतीक मानिन्छ । त्यसैले अ, उ, म् अलग अलग पनि परमात्माको स्वरुप हो र संयुक्त ओंकार रूपमा ब्रह्म GOD को प्रतीक पनि हो ।
भर्तृहरिका अनुसार एकाग्रचित्त भइ घोरिएका परमेष्ठि ब्रह्माजीको हृदयाकाशबाट कण्ठ तालु आदि आदि संघर्ष नभएको एक अत्यन्त विलक्षण अनाहत नाद प्रकट भयो । त्यही अनाहत नादबाट अ, उ, म् यी तीन मात्राहरूले युक्त ओम् प्रकट भयो । । यस शक्तिले नै प्रकृति अव्यक्तबाट व्यक्र रूपमा परिणत भयो । ओंकार स्वयं अव्यक्त अनादि हो । परमात्म स्वरुप भएकोले स्वयं प्रकाश हो । ओंकार शब्दद्वारा परमात्माका स्वरूपको बोध हुन्छ । श्रवणेन्द्रिय शक्ति लुप्त भएको अवस्थामा पनि ओंकर शब्द भित्र ध्वनित हुन्छ । अ, उ, र म् यी तीन वर्ण सत्व, रज र तम तीन गुणहरु, ऋक्, यजु, साम तीन नामहरु, भूः, भुवः, स्वः तीन अर्थहरु, जाग्रत, स्वप्न, सुषुप्ति तीन वृत्तिहरूको रूपमा तीन तीन संख्या हुने भावहरु धारण गर्दछन् । ओंकारबाट नै ब्रह्माजीले अ देखि औसम्मका स्वर र क देखि ह सम्मका व्यंजन, ह्रस्व, दीर्घ आदिले युक्त वर्णमाला बनाए । जसबाट चार वेदहरु प्रकट भए । यसरी सम्पूर्ण वेद ॐको विस्तार मात्र हो ।[४]
परब्रह्मबाहेक वस्तुरुप अरु कुनै पदार्थ छैन । त्यसकारण दृश्य अदृश्यस्वरुप जे जति छ त्यो सब परब्रह्म नै हो । यसरी ओंकार त्रिकाल भूत, वर्तमान, र भविष्यस्वरुप हो । तथा तीनै कालभन्दा अतीत पनि हो ।
प्रथम पाद अकार विश्वरुप अर्थात् जगत रुप हो । त्यसको अवस्था बाहिरका विषयहरूको ज्ञान हुने रुप जाग्रत हो, त्यसका सात अङ्ग छन्, उन्नाइस मुख छन् र स्थूल विषयहरूको भोग गराउने हुने मस्तक चक्षु सब दिशाहरूमा घुम्ने वायु, सर्वव्यापी आकाश, अन्नादिहरूको उत्पत्तिको साधनरुप, जल (वस्ति) पृथ्वीरुप पाद र आहवनीय अग्नि यी सात अङ्ग हुन् । उन्नाइस मुख यस प्रकार छन् दश इन्द्रियहरु– पांच ज्ञानेन्द्रिय, पांच कर्मेन्द्रिय, पांच प्राण, र चार अन्तःकरण मन, बुद्धि, चित्त, र अहंकार । आँखा, नाक, कान, जिब्रो, र छालाबाट रुप, गन्ध, शब्द, रस, र स्पर्शको ज्ञान हुन्छ । हात, खुट्टा, वाणी, उपस्थ, र गुदा पांच कर्मेन्द्रियहरु हुन् ।

माण्डूक्य उपनिषद[५][६][७][८]सम्पादन

शान्ति पाठ[९]सम्पादन

ॐ भद्रं कर्णेभिः श्रृणुयाम देवा, भद्रम्पश्येमाक्षभिर्ययजत्राः ।

स्थिरैरंगैस्तुष्टुवा गं सस्तनुभिः व्यशेमहि देव हितं यदायुः ।।

ॐ स्वस्ति न इन्द्रो वृद्धश्रवा स्वस्ति न पूषा विश्ववेदाः।

स्वस्ति नस्ताक्ष्र्यो स्वस्तिनो बृहस्पतिर्दधातु ।।

ॐ शान्तिः, शान्तिः, शान्तिः ।

मन्त्र १सम्पादन

  • ओमित्येदक्षरमिद गुं सर्वं तस्योपव्याख्यानं भूतं भवद्भविष्यदिति सर्वमोंकार एव । यच्चान्यत् त्रिकालातीतं तदप्योेंकार एव ।।१।।
  • अर्थ
  • ओम्– ॐ, इति एतत् अक्षरम्– यस्तो अक्षर (कहिल्यै नाश नहुने अर्थात् अविनशी परमात्मा) हो । इदम् सर्वम्– यो सम्पूर्ण जगत्, तस्य उपव्याख्यानम् – त्यस (परमात्मा) को उपव्याख्या वा विषय वस्तु हो । भूतम् भवद् तथा भविष्यत् –अतीत, वर्तमान र भविष्यमा (जे जति छ) इति सर्वम् – यो सबै (सम्पूर्ण जगत)्, ओंकार एव – ॐकार स्वरुप नै हो । च यत् – तथा जे जति, त्रिकालातीतंम् – र जे त्रिकालातीत छ, कालको पनि काल छ । तत् अपि ओेंकार – त्यो पनि ॐकार हो ।।१।।

मन्त्र २सम्पादन

  • सर्व गुं ह्येतद् ब्रह्मायमात्मा ब्रह्म सो अयमात्मा चतुष्पात् ।।२।।
  • अर्थ
  • हि– किनभने, एतत् सर्वम् ब्रह्म– यो सबै ब्रह्म हो । अयम् आत्मा ब्रह्म– यो आत्मा (परमात्मा) ब्रह्म हो । सः अयम् आत्मा– त्यो यो आत्मा (अर्थात् परमात्मा), चतुष्पात् – चार पाउ भएको छ ।

मन्त्र ३सम्पादन

  • जागरितस्थानो बहिष्प्रज्ञः सप्तांग एकोनविंशतिमुखः स्थूलभुग्वैश्वानरः प्रथमः पादः ।।३।।
  • अर्थ

जागरितस्थान– जाग्रत अवस्थामा, (स्थूल जगत नै उसको जाग्रत अवस्थाको प्रतीक हो), बहिष्प्रज्ञः जसको बाह्य स्वरूपको ज्ञान हुन्छ, अर्थात् जसको ज्ञान बाह्य जगतमा फैलिएको छ । सप्तांगः– सात अङ्ग (सातलोक) भएको । एकोनविंशतिमुखः– उन्नाइस वटा (पांच ज्ञानेन्द्रिय, पांच कर्मेन्द्र्रिय, पांच प्राण र चार अन्तःकरण यी) स्रोत (मुख) को माध्यमबाट । स्थूल भुक्– जो यस स्थूल जगत्को भोक्ता हो । त्यो, वैश्वानरः प्रथमः पादः– वैश्वानर (विश्वलाई धारण गर्ने) नै उसको पहिलो पाउ हो ।।३।।

मन्त्र ४सम्पादन

  • स्वप्नस्थानोऽन्तःप्राज्ञः सप्तांगः एकोनविंशतिमुखः प्रविविभक्तभुक् तैजसो द्वितीयः पादः ।।४।।
  • अर्थ
  • स्वप्नस्थान– स्वप्नावस्थामा, जाग्रत अवस्था बाह्य स्थूल अवस्था हो भने स्वप्नावस्था आन्तरिक सूक्ष्म अवस्था हो । अन्तःप्रज्ञः– जसको ज्ञान आन्तरिक रूपमा मात्र संभव छ अथवा जसको ज्ञान संकल्पमय सूक्ष्म जगत अन्तस्करणमा हुन्छ । सप्तांगः– सातलोकरुपी सात सूक्ष्म अङ्ग भएका, एकोनविंशतिमुखः–उन्नाइस आन्तरिक स्रोतहरु भएका, प्रविविभक्तभुक्– सूक्ष्म जगत्को भोक्ता । तैजसः– तैजस अर्थात् प्रकाशको स्वामी जसबाट सम्पूर्ण प्रकारका प्रकाश निस्कन्छन्, त्यो हिरण्यगर्भ । द्वितीयः पादः– (उसको) दोस्रो पाउ हो ।।४।।

मन्त्र ५सम्पादन

  • यत्र सुप्तो न कंचन कामं कामयते न कंचन स्वप्नं पश्यति तत्सुषुप्तम् । सुषुप्तस्थान एकीभूतः प्रज्ञानघन एवानन्दमयो ह्यानन्दभुच्केतोमुखः प्राज्ञःस्तृतीय पादः ।।५।।
  • अर्थ
  • यत्र– जहां, सुप्तः– सुतेको मानिसले, न कंचन – कुनै पनि कुराको, कामं कामयते – कामना गर्दैन । कंचन स्वप्नं – कुनै पनि सपना, न पश्यति – देख्दैन, तत् सुषुप्तम्– त्यो सुषुप्ति अवस्था हो । सुषुप्तस्थान – यस्तो सुषुप्त अवस्थामा पनि, एकीभूतः– एकमात्र, प्रज्ञानघन– जान्ने जो छ, आनन्दमय हि – त्यो आनन्दमय, चेतो मुख – (प्रकाशस्वरुप) चेतनास्वरुप छ, आनन्दभुक् – आनन्दको एक मात्र भोक्ता हो, (अर्थात् सबै कुराको जसलाई ज्ञान र चेतना छ त्यो), प्राज्ञः– सबै जान्ने (अर्थात् परमात्मा) तृतीय पादः– (उसको) तेस्रो पाउ हो ।।५।।

मन्त्र ६सम्पादन

  • एषः सर्वेश्वर एष सर्वज्ञ एषोऽन्तर्याम्येष योनिः सर्वस्य प्रभावप्ययौ हि भूतानाम् ।। ६।।
  • अर्थ
  • एषः सर्वेश्वर– यो सबको ईश्वर (परमेश्वर, ब्रह्म, परमात्मा) हो । एष सर्वज्ञ– यसले सबै कुरा जान्दछ । एष अन्तर्यामी– यो अन्तर्यामी छ अर्थात् सबको आन्तरिक कुरा थाहा पाउंछ । येष सर्वस्य– यो सबैको, योनिः– कारण हो, हि– किनभने, भूतानाम् प्रभावप्ययौ– (यो नै) सबै प्राणीहरूको उत्पत्ति, स्थान, र प्रलयको कारण हो ।।६।।

मन्त्र ७सम्पादन

  • नान्तः प्रज्ञं न बहिष्प्रज्ञं नोभयतः प्रज्ञं न प्रज्ञानघनं न प्रज्ञं नाप्रज्ञम् । अदृष्टव्यवहार्यम्राह्यमलक्षणमचिन्त्यमव्यपदेश्यमेकात्मप्रत्ययसारं प्रपंचोपशमं शान्तं शविमद्वैतं चतुर्थं मन्यन्ते स आत्मा स विज्ञेयः ।।७।।
  • अर्थः
  • न अन्तःप्रज्ञम्– जसले न भित्रको कुरा जानेको छ, न बहिष्प्रज्ञम्– न बाहिरको कुरा जानेको छ । नोभयतः– न दुवै तिरको कुरा जानेको छ । न प्रज्ञानघनं– ज्ञानस्वरुप पनि छैन, न प्रज्ञं– न त जानेको छ, नाप्रज्ञम्– न अज्ञानी छ । अदृष्टम्– जुन कसैले देखेको पनि छैन, अव्यवहार्यम्– जसलाई कसैले प्रयोगमा ल्याउन सकेको छैन । अग्राह्यम– समाउन पनि सकिंदैन, अलक्षणम्– जसको कुनै लक्षण वा विशेषता छैन, अचिन्त्यम् –जसको स्वरुप चिन्तन गर्न सकिंदैन, अव्यपदेश्यम– जसको बारेमा केही बताउन सकिंदैन, एकात्मप्रत्ययसारम्– आफैंलाई जान्नु नै जसलाई जान्ने एक मात्र उपाय हो । प्रपंचोपशमम्– जसमा कुनै प्रपंच छैन । यस्तो, शान्तम्– जो शान्तिस्वरुप छ, शिवम्– कल्याणमय छ, अद्वैतम्– अद्वैतस्वरुप छ, । स आत्मा– त्यो नै आत्मा अर्थात् परमात्मा हो । स विज्ञेयः– त्यो नै जान्ने योग्य हो । चतुर्थं मन्यन्ते– यो उसको चौथो अवस्था मानिएको छ ।।७।।

मन्त्र ८सम्पादन

  • सोऽयमात्मात्माध्यक्षरमोंकारा ऽ धिमात्रं पादा मात्राश्च पादा अकारो उकारो मकार इति ।।८।।
  • अर्थः
  • सः– त्यो (चार पाउ भएको), अयम् आत्मा– यो आत्मा (परमात्मा), अध्यक्षरम् (उसको प्रतीक) प्रणवको रूपमा व्यक्त भएकोले, अधिमात्रम्– तीनमात्राहरु द्वारा व्यक्त गरिएको, ओंकारः– ओंकार हो । अकार उकार मकार इति– अ, उ, र म यस प्रकार, मात्राः– मात्राहरु नै, पादाः– तीन पाउ हुन् । च– तथा, पादाः मात्राः– पाउहरु नै मात्राहरु हुन् ।।८।।

मन्त्र ९सम्पादन

  • जागरितोस्थानो वैश्वानरोऽकारः प्रथमा मात्रऽऽप्तेरादिमत्त्वाद्वऽऽप्नोति ह वै सर्वान्कामानादिश्च भवति य एवं वेद ।।९।।
  • अर्थः
  • प्रथमा मात्रा– (ओंकारको) पहिलो मात्रा, अकार– अ नै, आप्तेः – (शब्दहरूमा) व्याप्त भएकोले वा– तथा, आदिमत्त्वात् – आदि (सुरुको) भएकोले, जागरितोस्थान– जाग्रत वा स्थूल रुप वा शरीर वा साकार अवस्था, वैश्वानरः– वैश्वानर नै उसको पहिलो पाउ हो । यः एवम् वेद– जसले यस प्रकार जानेको छ । ह वै – अवश्य नै (उसले), सर्वान् कामान् आप्नोति– सबै कामनाहरु प्राप्त गर्न सक्छ । आदिश्च भवति– (साथै उसालई) सबै कुराको ज्ञान हुन पुग्छ । ।।९।।

मन्त्र १०सम्पादन

  • स्वप्नस्थानतैजस उकारो द्वितीया मात्रोत्कर्षादुभयत्वाद्वोत्कर्षति ह वै ज्ञानसंततिं समानश्च भवति नास्याब्रह्म वित्कुले भवति य एवं वेद ।।१०।।
  • अर्थः

द्वितीया मात्रा– ओंकारको दोस्रो मात्रा, उकारः– उ, उत्कर्षाद्– अ पछि आउने भएकोले अथवा अ भन्दा उत्कृष्ट (अ भन्दा केही बढी चर्को उच्चारण गरिने) भएकोले, वा– साथै, उभयत्वात् – दुवै भाव भएकोले, स्वप्नस्थान– सपनामा (स्वप्नको जस्तै सूक्ष्म जगतरुपी शरीर भएको), तैजसः– तैजस नामको दोस्रो पाउ हो । यः एवम् – जसले यस प्रकार, वेद– जानेको छ, ह वै– (उसले) अवश्य नै, ज्ञानसंततिम्– ज्ञानको परम्परालाई, उत्कर्षति– उन्नत बनाउंछ, च– साथै, समान भवति– समान भाव हुन जान्छ । अस्य कुले– यसको कुलमा, अब्रह्मवित् न भवति– ब्रह्मलाई नजान्ने कोही रहंदैन ।।१०।।

मन्त्र ११सम्पादन

  • सुषुप्तस्थानः प्राज्ञो मकारस्तृतीया मात्रा मितेरपीतेर्वा मिनोति ह वा इदं सर्वमपीतिश्च भवति य एवं वेद ।।११।।
  • अर्थः
  • तृतीया मात्रा – ओंकारको तेस्रो मात्रा, मकार– म नै, मितेः– नाप गर्ने भएकोले , वा– तथा, अपीते – विलीन गर्ने भएकोले, सुषुप्तस्थानः– सुषुप्त अवस्थामा, प्राज्ञो– जानकारी राख्ने छ भनी, यः एवम् वेद – जसले यस प्रकार जान्दछ, ह वै – (उसले) अवश्य नै, इदम् सर्वम्– यस सम्पूर्ण जगतको, मिनोति– नाप गर्न सक्छ । च– साथै, अपीति– सबैलाई आफुमा विलीन गर्ने, भवति– हुन्छ । ।।११।।

मन्त्र १२सम्पादन

  • अमात्रश्चतुर्थोऽव्यवहार्यः प्रपंचोपशमः शिवोद्वैत एवमोंकार आत्मैव संविशत्यात्मनाऽऽमानं य एवं वेद य एवं वेद ।।१२।।
  • अर्थः
  • एवम्– यसै गरी, अमात्र– मात्रा रहित, ओंकार– प्रणव ॐकार नै, अव्यवहार्यः – व्यवहारमा नआउने, प्रपंचोपशमः– प्रपंचरहित, प्रपंचबाट टाढा, शिव– कल्याणमय, अद्वैत– अद्वैत, चतुर्थः– (पूर्ण ब्रह्मको) चौथो पाउ हो । आत्मा – त्यो आत्मा, एव– अवश्य नै, आत्मना– आफैंद्वारा, आत्मानं– परमात्मा (परात्पर ब्रह्म) मा, संविशयति– पूर्णतया प्रविष्ट हुन्छ । य एवम्– जसलाई यस प्रकारको, वेद– ज्ञाने छ । य एवं वेद– (उसले यस प्रकार) ठीक जानेको छ ।।१२।।

शान्ति पाठ[सम्पादन गर्ने]सम्पादन

  • अर्थ
  • ॐ– हे ॐ स्वरुप ब्रह्म, देवाः– देवताहरूको, यजत्राः– यजन पूजन गर्दा, (हामीहरूले) भद्रम् कर्णेभिः श्रृणुयाम् – कानले असल र कल्याणकारी कुरा सुनौं, भद्रम् अक्षभिः पश्येम – आँखाहरूले असल र कल्याण कुराहरु हेर्न पाऔं । स्थिरैः अंगै तनूभिः – (हाम्रा) बलिया अंगहरु र शरीरहरूबाट, तुष्टुवांसः – स्तुति गर्दै, हामीहरु, यत् आयुः देवहितम्– जुन आयु देवहित (असल) काममा आउन सक्छ्, (त्यसको), व्यशेम– उपभोग गरौं । वृद्ध श्रवाः– चारैतिर यश फैलिएका, इन्द्रः – इन्द्र, पूषाः – पूषा देवता, नः – हाम्रालागि, स्वस्ति – कल्याण (गरुन्) । अरिष्टनेमिः अरिष्टहरु नाश गर्ने सुदर्शन चक्र (जस्ता), ताक्ष्र्य – गरुडदेवले, नः – हाम्रँलागि, स्वस्ति – कल्याण (गरुन्), बृहस्पति– (तथा) बुद्धिका देवता बृहस्पतिले, नः – हाम्रँलागि, स्वस्ति –कल्याण, दधातु – प्रदान गरुन् ।

ॐ शान्तिः, शान्तिः, शान्तिः दैहिक, दैविक, भौतिक कष्ट शान्त होउन् ।

सन्दर्भ सामग्रीसम्पादन

  1. एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।
  2. खप्तड सूक्ति– संकलक तथा सम्पादक स्वामी शशिभास्करम् निस्संग, पैरवी प्रकाशन, वि.सं. २०६२ ।
  3. धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौँ, वि.सं २०५१ ।
  4. सांस्कृतिक संवीक्षण, डा. टीकाराम पन्थी, विश्व शिन्दु महासङ्घ, रुपन्देही, वि.सं. २०६३ ।
  5. उपनिषद्स– सी राजगोपालाचारी, द हिन्दुस्तान टाइम्स लिमिटेड, दिल्ली, सन् १९४९ ।
  6. ईशोपनिषद्– ए सी भक्तिवेदान्तस्वामी, इस्कोन सोसाइटी, सन् १९९० ।
  7. ईशोपनिषद्– ओशो रजनीश, रिबेल पब्लिकेशन्स, सन् २००२ ।
  8. फोर उपनिषद्स– रामकृष्ण मठ, नागपुर, सन् १९४३ ।
  9. ईशादि नौ उपनिषद– व्याख्याकार हरिकृष्णदास गोयन्दका, गीताप्रेस गोरखपुर, छब्बीसौं संस्करण, वि.सं. २०६३ ।