देवघाटधाम नेपालको मध्यभागमा पर्ने प्रसिद्ध धार्मिक ऐतिहासिक एवं पर्यटकीय महत्त्वले परिपूर्ण भएको पवित्र तीर्थस्थल हो । आदिप्रयाग, हरिहरक्षेत्र र चक्रतीर्थको रूपमा परिचित यस पुण्यभूमिमा मुक्तिनाथबाट प्रवाहित शालग्रामवाहिनी कृष्णा गण्डकी र गोसाईकुण्डबाट आएकी त्रिशूली आदि अन्य नदीहरूको पावन संगम वनेको छ । जहाँ पर्वहरूमा देवताहरु प्नि स्नान गर्न आउँछन् भन्ने मान्यता छ । यसै पुण्यभूमिमा वैदिक सनानतन धर्म र आर्य संस्कृतिको संरक्षण, संवद्र्धन एवं संस्कृत विद्याको प्रचार–प्रसार गर्ने मूल उद्देश्यका साथ परमगुरु अनन्त श्रीविभूषित स्वामी महेशानन्द गिरिजी महाराजको शुभाशीर्वाद एवं श्रोत्रिय, ब्रह्मनिष्ठ श्री १००८ स्वामी सच्चिदानन्द सरस्वती (खप्तड बाबा)को सत्प्रेरणाबाट अभिप्रेरित भई परमश्रद्धेय श्री १००८ डा.स्वामी रामानन्द गिरिजी महाराजको शिवसंकल्पअनुसार एक विशुद्ध धार्मिक तथा सामाजिक संस्थाको रूपमा महेश संन्यास आश्रमको स्थापना भएको हो । वि. सं. २०५० सालमा सङ्घ संस्था दर्ता ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय तनहूँमा दर्ता भएको यस आश्रमको संञ्चालनका लागि विधान अनुसार संस्थापक स्वामीज्यूको अध्यक्षता तथा समाजका विभिन्न क्षेत्रमा प्रतिष्ठित महानुभावहरूको सहभागितामा महेश संन्यास आश्रम संचालक समिति (ट्रष्ट)को गठन गरिएको छ र यसै ट्रष्टद्वारा आश्रमको सञ्चालन भएको छ ।

राष्ट्रियता, मानवता र विश्ववन्धुत्वको विकासका लागि सनातन धर्म र आर्य संस्कृतिको संरक्षण संवद्र्धन एवं संस्कृतशिक्षाको आवश्यकतालाई हृदयंगम गर्दै संस्कृत वाङ्मय अन्तर्गत ज्ञानविज्ञानहरूको प्रचारप्रसार गर्ने मूल उद्देश्यका साथ देवघाटधाममा एक शैक्षिक संस्थाको रूपमा महेश संस्कृत गुरुकुलको स्थापना गरिएको हो । महेश संन्यास आश्रमको उद्देश्य अनुरूप आश्रमका संस्थापक अध्यक्ष पौरस्त्यवाङ्मयका प्रखर विद्वान् विद्यावारिधि डा.स्वामी रामानन्द गिरिज्यूको शिवसंकल्पद्वारा वि.सं.२०५२ सालमा एक शैक्षिक संस्थाको रूपमा महेश संस्कृत गुरुकुलको स्थापना भएको हो । संस्थापक स्वामीज्यूको संस्कृत शिक्षाप्रतिको विशेष अनुरागबाट संस्थापित यस गुरुकुललाई शिक्षा ऐन तथा नियमावली बमोजिम संस्थागत निजी शैक्षिक गुठीको रूपमा सञ्चालन हुने गरी संबद्ध सरकारी निकायमा दर्ता गरी नियमित सञ्चालन गरिएको छ । महेश संन्यास आश्रमअन्तर्गत सञ्चालित यस गुरुकुलमा प्राचीन गुरुकुलको मर्यादालाई अनुसरण गर्दै वेद वेदांग लगायत पौरस्त्यविद्याको शिक्षा दिने व्यवस्था गरिएको छ ।

  • मानवता विश्वशान्ति र विश्वबन्धुताको मूल आधार भएको सनातन आर्य संस्कृतिको संरक्षण तथा संबर्धन गर्ने ।
  • आध्यात्मिक ज्ञानविज्ञानको मूल स्रोत तथा बौद्घिक ऊर्जाको खानी भएको प्राचीनतम संस्कृत भाषाको संरक्षण तथा संबद्र्धन गर्ने र त्यस अन्तर्गतका अनुसन्धानयोग्य महत्त्वपूर्ण ज्ञानसम्पदाको खोजी गरी प्रकाशनमा ल्याउने ।
  • संस्कृतशिक्षाका माध्यमले समाजका हरेक क्षेत्रमा नवचेतना र आध्यात्मिक जागरण ल्याउन सक्ने अनुशासित, सच्चरित्रवान्, कर्तव्यनिष्ठ, समाजसेवामा समर्पित सुयोग्य जनशक्ति उत्पादन गर्ने ।
  • यसरी उत्पादित जनशक्तिद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लोपोन्मुख समग्रविश्वको सम्पत्ति भएको संस्कृतभाषा र वाङ्मयको प्रचार प्रसार गर्ने र त्यस माध्यमले वसुधैव कुटुम्बकम्को भावनालाई विस्तार गरी नैतिक चेतनाको विकास गर्ने ।
  • संस्कृत वाङ्मयभित्रका विचारप्रधान आध्यात्मिक ज्ञानसम्पदाका साथै योग, आयुर्वेद, ज्योतिष, तन्त्र, वास्तुशास्त्र आदि व्यावहारिक विषयको समेत थप शिक्षा दिलाउने ।
  • समाजमा स्वधर्म, संस्कृति र संस्कृतको महत्त्वलाई दर्शाउँदै सामाजिक समरसता कायम गर्न चेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
  • सनातन धर्म संस्कृति र आध्यात्मिक पुनर्जागरणका लागि अनुसन्धानकेन्द्रको स्थापना गर्ने र विचारपरक रचनाहरूको प्रकाशन तथा प्रचार-प्रसार गर्ने ।