मस्यौदा:किशन पौडेल, हेटौंडा

१ लघुकथा

आशीर्वाद      —–किशन पौडेल

उसलाई शिखरमा पुग्नु थियो । उसले एउटा आशालाग्दो चाकरीको भर्‍याङ देख्यो ।

निहुँरिदै भन्यो  – “प्रभु ! मलाई अवसरको ढोका खोलिदिनुस्।” “तथास्तु ! चढ् माथि ।” उसलाई आशीर्वाद प्राप्त भो । विवेकमा लगाम लगाएर एक खुट्किलो उक्लियो ।

उसले माथि फर्केर हेर्‍यो त्यहाँ  गुलियो अङ्गुरको झुप्पा देख्यो र लालचको लामो  हात फैलाउँदै भन्यो – “हजुर, मलाई त्यहाँ पुग्नु छ !” ” समाऊ हात   ! ” कृपा दृष्टि भो ! चाप्लुसीको डोरी समायो र चढ्यो माथि । उसले जिन्दगीको रङ्गिन सपना देख्न थाल्यो धेरै माथि उड्ने लालसाले महत्त्वाकाङ्क्षाको पखेटा फिँजाउँदै भन्यो – “स्वामी मलाई शिखरमा नै पुर्‍याइ दिनुस् ! “ -“अवश्य ! ”  मिठो आश्वासन प्राप्त भो ।

निष्ठालाई कुल्चिँदै ऊ माथि पुग्यो  । त्यहाँ ऊ जस्तै अवसरवादीहरू नैतिकताको सौदाबाजी गर्दै रहेछन् । उसले सोध्यो- “मालिक म के गरूँ !” “देऊ बलिदान !” उसले आफ्नो नैतिकताको बलिदान दियो र अवसरको झ्यालबाट फुत्त भित्र पस्यो । इमानको ढोकामा चुकुल लगायो । उचाईको शिशमहल भित्र सुस्ताउँदै ऐनामा अनुहार हेर्‍यो । ऊसँग स्वाभिमानको शिर थिएन । °°°


२.लघुकथा

मृत्युको भय

 --------------    किशन पौडेल

डाक्टरले उसको ब्लड रिपोर्ट हेरेपछि  उसको अनुहारमा गहिरोसँग नियाल्दै भन्यो - "तपाईँलाई ब्लड क्यान्सर भएको रहेछ । यहाँ उपचार सम्भव छैन । जतिसक्दो छिटो उपचारको लागि भारतको कुनै राम्रो अस्पताल  जानुहोला" ।

डाक्टरको आकस्मिक सुझाव र ब्लड रिपोर्ट देखेर  ऊ  छाँगाबाट खसे जस्तै  भयो । ओठ,मुख र तालु अकस्मात् सुकेर आयो । हात खुट्टा लत्रक्क भएर सुस्तरी गल्दै गयो । उसको लागि यो अकल्पनीय थियो ।

दुई चार दिनदेखि  शरीरमा अलि असहज महसुस भएपछि नजिकैको प्राइभेट अस्पतालमा  होल बडी  चेकअप गरिहालूँ न त भन्ने उद्देश्यले  पुगेको थियो ।उसलाई  यस्तो अकल्पनीय रिपोर्ट आउला भन्ने मनभित्र रतिभर  पनि शङ्का थिएन ।

ऊ डाक्टरसँग बिदा हुँदै आफ्नो रिपोर्ट बोकेर गहिरो सोचमा डुब्दै सडकमा निस्कियो । बिहान जुन जोसजाँगर र उमङ्ग  लिएर  घरबाट निस्केको थियो त्यो पटकै थिएन। थकित र गलित भैसकेका थिए उसका हात खुट्टाहरू ।

साना छोराछोरीको अनुहार सम्झिएर भक्कानियो । घर गृहिणी सरल श्रीमतीको कलकलाउँदो मुहार सम्झेर कल्पियो । विदेश गएर महँगो उपचार खर्च गर्ने हैसियत पनि देखेन । मरेपछि कसले यिनीहरूको लालन पालन गर्लान् । घर गृहस्थी कसरी चलाउली ऊ कल्पिदै अत्तालिँदै घरको ढोकामा पुग्यो । छोराछोरीहरू बाबा आउनु भो भन्दै खुसीले उफ्रिँदै अङ्गालोमा टाँसिए । - हैन के भयो तपाईँलाई ?"  श्रीमतीले आश्चर्य भाव मिश्रित स्वरमा सोधिन् ऊ केही  बोलेन घोप्टो परेर कुर्सीमा थचक्क बस्यो । चारैतिर अँध्यारो  कालो बादलले घेरेको मृत्युको भय मडारी रहेको देख्यो । शरीरभित्र कता कता एकदम पीडा भएको महसुस गर्न थाल्यो ।

मोबाइल  एकोहोरो  बजिरहेको  थियो । उसले उठाउने हिम्मत पनि गर्न सकेको थिएन । दुई तीन पटक लामो रिङ बजेपछि उठायो- नमस्ते - "म लाइफ केयर अस्पतालबाट । माफ गर्नुहोला,  तपाईँले लिएर जानुभएको रिपोर्ट साटिएको रहेछ !" °°


३ लघुकथा

इन्द्रिय सुख

----------- किशन पौडेल

मन सारै लोभी थियो । आफ्ना पाँचै इन्द्रियहरूलाई नियन्त्रणमा राखेर धनसङ्ग्रहतिर मात्र आशक्त भयो ।

सारै पीडित भएपछि एक दिन शरीरका सबैभन्दा इन्द्रियहरू मिलेर उसलाई अनुरोध गरे--  हेर्नुस् मन-  "तपाई सारै कन्जुस्याइँ गर्नुहुन्छ यो जवानीमा पनि हामीले न मिठो खान पायौँ न राम्रो लगाउन पायौँ न कहीँ  घुम्न जान पायौँ । हामी तपाईँको दास भएर अब कति समय यसरी कुण्ठित भई बाच्न सक्छौ र ?" लोभी मनले भन्यो- "हेर इन्द्रियहरू ! यो सब मैले तिमीहरू कै लागि कमाएर जोहो गरेको हो । अहिले भोक-प्यास सहेर बस कुनै दिन मस्तसँग खान,लगाउन दिउँला ।" इन्द्रियहरू हरेस खाएर कुण्ठित हुँदै नियमित दिनचर्यामा व्यस्त भए ।

कालान्तरमा मनले सोच्यो मैले यति धेरै सम्पत्ति जोडिसकेँ । मलाई मस्तसँग खान लगाउन र घुम्न पुग्ने भैसकेको छ । यो सङ्ग्रह गरेर राखेको अकुत सम्पत्ति के गर्नु,? कसले लिएर जाला ? अनेकौँ चिन्ताले मन त्रसित हुन थाल्यो । 

मन अझै तन्नेरी नै थियो । उसलाई लाग्दै थियो । अब रमाइलो गर्नुपर्छ।  नयाँ ठाउँहरूमा घुम्नुपर्छ । मोज मस्ती गर्नुपर्छ ।

एक दिन आफ्ना सबै इन्द्रियहरूलाई बोलाएर भन्यो-- सुन" इन्द्रियहरू हो !" म अब तिमीहरूको इच्छा पूरा गर्ने छु।"

कानले केही सुनिरहेको थिएन ।  दृश्यमा आशक्ति हुने आँखामा आँसु बरर झदै  थिए । स्वादमा आशक्त जिब्रो मौन थियो । विषय सुखमा लालायित शरीर निष्क्रिय र अल्छी भैसकेको थियो  ।


४ लघुकथा

निरुत्तर

---------किशन पौडेल

- "यो गरिबलाई केही सहयोग गर्नुस् पुरानो कपडा र केही खानेकुरा भए दिनुस् हजुर ।" घरको बरन्डामा आएर एउटा मैलो बोरा बोकेको झुत्रो मान्छे ठिङ्ग उभियो । म हत्तपत्त मास्क लगाएर बाहिर निस्किएँ ।

-“हामी महामारीले मरिन्छ कि भन्ने डरले घरभित्र लुकेर बसेका छौँ । तिमी चाहिँ निस्फिक्री मास्क पनि नलगाई घुमिरहेछौ । तिमीलाई कोरोना देखि डर लाग्दैन ?" म अलिक कडा स्वरमा म झोक्किएँ ।

मेरो त्रासदी पूर्ण कडा प्रश्नले ऊ झस्कियो । -"कस्तो कोरोना ! के हो कोरोना भनेको हजुर ?" उसको अनभिज्ञता देखेर म झन् अचम्मित भएँ !

“अहिले सारा विश्वमा महामारी फैलिरहेको छ । मान्छेहरू मरिरहेछन् । थाहा छैन तिमीलाई ?"

मैले उसलाई कोरोना महामारीको बारेमा बुझाउने कोसिस गरेँ ।

“खै हजुर पत्रपत्रिका पढ्न आउँदैन । हातमा मोबाइल छैन । त्यहीँ खोला किनारमा प्लास्टिकले बेरेको झोपडीमा जिन्दगी चलिरहेको छ लालाबालाहरू छन् भोकले कराई रहन्छन् । हामीलाई रोग सँग त्यति डर लाग्दैन । भोकले चाहिँ मरिन्छ कि भन्ने डर लाग्छ । केही खानेकुरा भए दिनुस् हजुर ।" उसको दयनीय पूर्ण अनुनयले म निरुत्तर भएँ । °°


५ लघुकथा

मृत्युको प्रमाणपत्र -----------किशन पौडेल

यमराजले एउटा आकर्षक मृत्युको प्रमाणपत्र मेरो हातमा थमाइदिँदै भने- “ल लिनुस् यो निमन्त्रणापत्र । तपाई चौहत्तर वर्ष पुगेपछि म लिन आउनेछु ।”

यति भनेर उनी बेपत्ता भए । मैले मनमनै सोचेँ– ठिकै छ त, अझै धेरै लामो आयु बाँकी रहेछ । मन हर्षले खुसी पनि भयो । त्यो आकर्षक प्रमाणपत्रलाई सुरक्षित रूपमा सन्दुकभित्र थन्क्याएर राखेँ ।

दिनहरू खुसीमै बितेर गए । बाँच्ने एउटा निश्चित आयु थाहा भएपछि खुसी लाग्नु स्वाभाविक नै थियो ।

जिन्दगी घोडाको रेसजस्तै दौडिरह्यो । संघ–संस्थाका सेमिनार, गोष्ठी, साहित्यिक कार्यक्रमहरूमा भ्याइ नभ्याइ थियो । मान–सम्मानका प्रमाणपत्र र पदकहरूको चाङ लाग्दै गयो । बैठककोठा सम्मानपत्र र पदकहरूले सजिसजाउ हुँदै गयो। सभा–समारोह, गोष्ठी-सम्मेलन, घर–व्यवहारको व्यस्ततामै समयले नेटो काटेको पनि पत्तो भएन ।

एक दिन बैठककोठामा आराम गर्दै थिएँ । भित्ताभरि झुन्डिएका मान–सम्मानका प्रमाणपत्रहरूले मलाई एकोहोरो हेरिरहेका थिए । गर्वले मेरो छाती ठूलो भयो । मन पुलकित हुँदै खुसीको सञ्चार बढ्दै थियो ।

अचानक मलाई यमराजले दिएको त्यो मृत्युको प्रमाणपत्रको याद आयो । सन्दुक खोलेर हेरेँ ।

सुनौला अक्षरहरू मलाई हेर्दै मुस्कुराइरहेका थिए । उमेरको हिसाब गर्न थालेँ । चौहत्तर वर्ष पुग्न मात्रै एक महिना बाँकी रहेछ !

६. लघुकथा

एलियन

  -----------किशन पौडेल

मङ्गल ग्रहबाट केहि एलियनहरू ब्रह्माण्डको रहस्य बुझ्न अनुसन्धानको क्रममा पृथ्वीको भ्रमणमा आएका थिए। मानिस र उनीहरूबिच शारीरिक संरचनामा धेरै भिन्नता थियो । ती सयौँ गुणा बुद्धि, बल र ज्ञानले भरिपूर्ण देखिन्थे । 

भ्रमणको बन्दोबस्त अमेरिकी अन्तरिक्ष कमान्डले गरेका थिए। दोभासेको काम इजरायली इन्टेलिजेन्स एजेन्टले गर्दै थियो भने बुद्धिजीवीहरू पदप्रदर्शकमा लागेका थिए ।

यहाँको नदी–नाला, जङ्गल–पहाडहरू देखेर उनीहरू खुसीले दङ्ग परेर हेर्दै हिड्दै थिए । मङ्गल ग्रहमा त्यस्तो परिदृश्य थिएन।

घुम्दै सहरतिर प्रवेश गरे जताततै मन्दिर,मस्जिद,चर्च, गुम्बा देखेर अचम्म मान्दै सोधे – ‘यी देखिएका के हुन्  ?’ 

-‘यी भगवान्हरू बस्ने घर हुन्  ।' बुद्धिजीवीहरूले   बताउँदै थिए भने इजरायली एजेन्टहरूले एलियनको भाषामा उल्था गर्दै थिए ।

-‘भगवान् ! को हुन् तिनीहरू ?’, एलियनहरू अचम्मित हुँदै थिए ।

-‘भगवान् भनेको अदृश्य शक्ति, हामीलाई रक्षा गर्ने हाम्रो दुःख, पीडा हरण गर्ने प्रभु हुन् ।’

सडकमा मागेर बसेका बिरुप जोगी र भिखारीहरू देखे र एलियनहरूले अचम्म मान्दै सोधे- ‘यिनीहरू को हुन् ?’

-‘यिनीहरू गरिब–दुखी, धन नभएर, दुख पाएर बसेका मनुवाहरू हुन् ।’

यलियन्सले आश्चर्य हुँदै भने– ‘ओहो ! भगवान् भएर पनि यहाँ गरिब-दुखी हुँदारहेछन् ।

हिँड्दै गर्दा बाटोमा टायर बालेर नाराबाजी गर्दै मानिसहरू कराउँदै भाग्दै थिए । प्रहरीहरू लखेट्दै थिए । त्यो दृश्य देखेर  एलियनले दङ्ग पर्दै जिज्ञासा राखे – ‘यहाँ के हुँदै छ ?’ 

-"यो आन्दोलन हो । सरकार विरोधी आन्दोलन । देशमा भ्रष्टाचार धेरै भयो, अन्याय अत्याचार बढेर जनताहरू सडकमा आएका हुन् ।"

एलियनहरू झन् अचम्मित भए  ‘ओहो ! यस्तो हरित ग्रह पृथ्वी सुन्दर भएर पनि सारै दुखै दुःख र पीडाहरूले भरिएको रहेछ,मानिसहरूमा धेरै उन्माद बढेछ ।’ ‘हाम्रो ग्रहमा त न पानी छ न जङ्गल पहाडहरू छन् न कोही दुखी छन् न गरिब छन् हामी एउटै जातका एलियन्स हौँ । यो ब्रह्माण्डलाई बचाउने हाम्रो एउटै धर्म हो । सयौँ वर्षपछि अत्यधिक तापक्रमले यो पृथ्वी र मानव सभ्यताको विनाश हुँदै छ, हामी यो ग्रहलाई नष्ट हुनबाट जोगाउने मिसन बोकेर आएका हौँ ।" यहाँ बढ्दै गएको अराजकता,परमाणु त्रासदी र पर्यावरणको विनाशले उनीहरू निकै चिन्तित देखिन्थे ।

एलियनका कुरा सुनेर विद्वान बुद्धिजीवीहरूको मनभित्र गहिरो झट्का लाग्यो र सोचमग्न हुन थाले ओहो ! यस्तो सुन्दर भूलोकका हामी कति सङ्कीर्ण विचारहरू बोकेर आफ्नै विनाशतर्फ उन्मुख हुँदै गएका रहेछौँ । धिक्कार छ हाम्रो ज्ञान, बुद्धि र अहम् लाई । 


७.

लघुकथा

माया

     -----किशन पौडेल

बुढीको  कर्कश व्यवहारबाट प्रताडित भएपछि उसले आत्महत्या गर्ने निर्णय गरेर सुटुक्क घरबाट निस्कियो ।

अलि पर पुगेर घर तिर फर्किएर लोभलाग्दो नजरले  हेर्‍यो । "यो सुन्दर घर, दुख गरेर जोडेको सुखसँग बसुँला भनेर, भाग्य मै रहेन छ ।"  मन मनै आफ्नो भाग्यलाई धिक्कार्दै अगाडि बढ्यो ।

हिँड्दै गर्दा मनमा अनेक तर्कनाहरू दौडिन थाले । छोरो भर्खरै एस.एल.सी.को जाँच दिएर बसेको छ  डाक्टर बन्छु भन्थ्यो अब कसले उसलाई मार्गनिर्देशन गर्ला।  आ.. ! जे होस अब त उसको नि बुद्धि आइसकेको छ जे गर्ला गर्ला मनलाई चित्त बुझाउँदै ऊ अगाडि लम्कियो ।

एकछिनमा छोरीको अनुहार मन भित्र दौडिन थाल्यो "बिहे गर्ने बेला हुँदै थियो राम्रो ज्वाइँ खोजेर अब कसले बिहे गरिदेला है !  जे होस् छोरी बुझ्ने भएकी छ अब आफै केटा खोजेर नि जान सक्छे।"  भन्दै मनलाई दरो बनाउँदै ऊ आफ्नो आत्महत्या गर्ने विचारमा अडिग हुँदै अगाडि बढ्यो ।

खोला नि आइपुग्यो पुलको बिच भागमा गएर उभियो तल हेर्‍यो गहिरो रहेछ अब यहीबाट हाम फालेर मर्छु । बुढीलाई नि आनन्द हुन्छ रातदिनको झगडा अब अन्त्य गरिदिन्छु भन्दै हाम फाल्न तयार भयो ।

अकस्मात् बगली भित्र मोबाइलमा घण्टी बज्यो हेर्‍यो बुढीको रहेछ उठायो-

"कहाँ मरेको हो यस बेला सम्म घरमा न मुन्टिएर रक्सी धोक्न गएको हो कि क्या हो ? "

बुढीको कर्कश आवाज कानमा घनले ठोकिए झैँ ठोकिँदै थियो.....

"छिटो घर आऊ कालेको बा !"आज मैले तिमिलाई मन पर्ने  मिठो खानेकुरा  पकाएर राखेको छु ।"

उसले एकै झट्कामा बुढीको गाली सबै बिर्सियो ।

***


लघुकथा

सुनको लौरो

  ---------------किशन पौडेल

गाउँ घरमा चौतर्फी चर्चा परिचर्चा हुन थाल्यो। गाउँका सम्पन्न धनाढ्य  दुर्गालालले सुनको लौरो उपहार पाए ।

पत्र-पत्रिकाहरूले पहेँलो सुनको लौरो सहित कभर पृष्ठमा तस्बिर छापे ।

"भगवान्ले पनि धनीलाई मात्र हेर्दा रहेछन् है रामेको बा ! कति किलो होला है त्यो लौरो ? " हजुरले एउटा जाबो चार आनाको तिलहरि पनि बनाइदिन सक्नु भएन त "  मनकलीले आफ्नो  जिज्ञासा्  दुखेसो र कुण्ठा ओकली ।

"यस्तै हो मनकली  मन बुझा गलाभरि सुन लगाएर कोही ठुलो मान्छे हुँदैनन्" । तँलाई यही पहेँलो नक्कली सुन पनि कति राम्रो सुहाएको छ हेर त ऐना ।

"हुनेखानेको गलामा भएको भए यही गहना पनि सक्कली देखिन्थ्यो हामी गरिबले सक्कली नै लगाए पनि नक्कली नै भन्छन्"  चित्त बुझा न मनकली । सान्त्वनाको दुई शब्द पोख्दै थिए रामेको बा ।

रामे स्कुलबाट दौडिँदै घरभित्र पस्यो र झोला भुईँमा फुत्त फाल्दै भन्यो-

"आमा आमा  त्यो गाउँको मुखियाले उपहार पाएको सुनको लौरो त नक्कली पो रहेछ नि ! आज सरले भन्नुभएको"।

मनकलीले राहतको सास फेर्दै थिइन् ।


९.

लघुकथा

मासु

   -------किशन पौडेल

छोराछोरीहरूले कराएर मनकलीको आधा मासु खाइसकेका थिए ।

दसैँको लागि दुई किलो मासु जोहो गर्न नसक्दा मनकली पनि चिन्तित थिइन् । बिरामी लालबहादुरको ज्यान सुकेर आधा मासु घटिसकेको थियो ।

अष्टमीको दिन सकी नसकी लालबहादुर बिहानै दस घर डुलेर रित्तो हात फर्किए । मनकलीले आँखा रसिलो पार्दै भनिन्-  "केही नलिई आयौ  बुढा ? मुखिया बाले केहि सहयोग गर्नु हुन्थ्यो होला गएनौ ?"

पीढीमा थचक्क बसेर  लाल बहादुरले निधारको पसिना कमिजको फेरले पुछ्दै भने - "मुखिनी बज्यै बिरामी रहेछिन् । पाठेघरबाट दुई  किलो मासु निकालेर फालेको रे !"

मनकलीको मन पग्लियो । मुखिनीलाई भेट्न र आफ्नो दुखेसो पोख्न ऊनी मुखिया बाको घर तर्फ लागिन । मुखियाको घरको ढोकामा पुगेर भित्र आँखा तन्काएर हेरिन।

मुखिनी बज्यै भित्र ओछ्यानमा नै बसेर मासु भात खादै रहिछिन । मुखिया बा दाँतमा अड्केको मासु कोट्याउँदै बाहिर निस्किए ।

मनकलीले आफ्नो दुखेसो पोखिहाली -

"मुखिया बा !  यसपालि दसैँमा छोराछोरीलाई  मासु किनेर खुवाउन सकिएला जस्तो छैन । बुढा रोगले थला परे । कतै काममा जान पनि सकेका छैनन्  अब हाम्रो लागि  हजुर नै त हो जे भने पनि ।"

मुखिया बाले पावरवाला चस्मा भित्रबाट मनकलीको

विवशतालाई सूक्ष्म आङ्कलन गरेर उसको देहमा   गिद्धे नजर गाड्दै भने-

"भइहाल्छ नि मनकली, मासु बाँडेर खाउँला नि ।"

°°°


१०

लघुकथा

रहस्य

      ----किशन पौडेल

हेर्दाहेर्दै सोमप्रसादले सहरमा घडेरी किन्यो दुई तले आधुनिक घर पनि बनायो । उसको भेष, भूषा तड्क भडक फुर्ती देखेर म तिन छक्क परेको थिएँ । बूढीको शान, सोख त झन् बेग्लै थियो।

केहि वर्ष अगाडि हामी सँगै डेरामा बस्थ्यौं ।  उसको र मेरो जागिर उस्तै तलब पनि बराबर जस्तै थियो । कान्छीको भट्टीमा लोकल पिएर नै सन्तुष्टि लिएका थियौं । ऊ हेर्दाहेर्दै सम्पन्नताको शिखर उक्ल्यो । कहिले भन्सार कहिले मालपोत धेरै ठाउँ चाहर्दै बढुवा हुँदै सुब्बा नि भइसक्यो ।

म जहाँको त्यही छु । न बढुवा हुन्छ न सरुवा हुन्छ महिना बित्छ तलब आउँछ सकिन्छ ।सुको बचत हुने होइन । घर -अफिस बस् जिन्दगी सकसपूर्ण चल्दै छ।

त्यो सीमित आम्दानीले कसरी यत्रो सम्पन्नताको शिखरमा पुग्यो होला मलाई अचम्म लाग्छ  र उसको त्यो सानदार जिन्दगी देखेर कहिलेकाहीँ यो मन भित्र औडा पनि भएर आउँछ ।

एक दिन उसले मलाई शानदार  रेस्टुरेन्टमा डिनरको अफर गर्‍यो । विदेशी हुस्कीले ज्यान तताउँदै मैले आफ्नो जिज्ञासा उसको कान नजिकै लगेर राखेँ -

"होइन,  मित्र यो परिवर्तनको रहस्य मलाई पनि सुटुक्क भन न मेरो नि हालत केहि बलियो हुन्थ्यो कि?"

उसले कान नजिकै आएर गर्व साथ भन्यो-

" मेरा तिन अभिन्न मित्रहरूको सहयोगले नै यो सब  उपलब्धि हासिल भएको हो मित्र ।"

मैले उत्सुकता पूर्वक मित्रहरूको नाम सोधेँ -

ऊ भन्दै थियो - " चाकरी, चाप्लुसी र भ्रष्टाचार" ।

°°


११.

लघुकथा

पृथ्वीलोक       

         ------किशन पौडेल

"मैले यस्तो रूप र चरित्रको त कल्पना पनि गरेको थिइन् । कसरी यति धेरै कुरूप र विरूप भए मान्छेहरू ?”

पृथ्वीलोक निवासी मान्छेहरूको बदलिँदो रूप र चरित्र देखेर ब्रह्माजी अचम्मित हुँदै नारदजीलाई बोलाएर तुरुन्तै आदेश दिए-

“हे , नारद ! भूलोक गएर एउटा यस्तो मान्छेलाई खोजेर लिएर आऊ जो स्वार्थी, बैगुनी, धूर्त , कुटिल केहि नभएको होस ।"

- "हस् प्रभु !"

आज्ञा शिरोपर गर्दै नारदमुनि पृथ्वी लोक हानिए ।

चारैतिर चाहारे । देव देवालय, अड्डा, अखडा , मन्त्रालय , न्यायालय सबैतिर धाए । जताततै  धूर्त, चोर, फटाहाहरू  मात्र भेटे ।

प्रत्येक मनुवाको  मन, मुटु  र नाडी छामे। सबै बैगुनी, स्वार्थी र कठोर मात्र देखे ।

एउटा पनि गुण भएको मान्छे भेट्न सकेनन् र निराश भएर पृथ्वी लोकबाट फर्किए ।

ब्रह्माजीले नारद मुनिलाई निराश देखेर सोधे

- "खै त नारद मान्छे ?"

- "कोही छैन प्रभु ! हजुरले बनाउनु भएको मान्छेमा त खोटै खोट मात्र रहेछ एउटै पनि गुण रहेन छ !"

नारद मुनिले पृथ्वी लोकबाट बोकेर लगेको  मानव रुपी एउटा आकृति अगाडी सार्दै भने –

“ल लिनुस् यो यन्त्र मानव। मान्छेले बनाएको यो मान्छे  भित्र ती बैगुनहरू छैनन्  प्रभु  !"

१२.

लघुकथा

सन्तुष्टि

  ---------- किशन पौडेल

हे भगवान् !

मलाई एक करोडको चिट्ठा पारिदिनुस्

तथास्तु ! ´जाऊ भक्त तिमिलाई भोलि नै चिट्ठा पर्नेछ।`

ऊ खुसी हुँदै घर गयो र सन्तुष्टिको लामो श्वास तान्दै कल्पनामा डुब्दै सुन्दर योजनाहरू बनाउन थाल्यो ।

"हेर बूढी ! ´मलाई एक करोडको चिट्ठा पर्ने भो अब यो पुरानो घरमा बस्ने दिन सकियो एउटा नयाँ घर बनाउनुपर्छ ।"

बुढी खुसी हुँदै भन्छे - ´मलाई  चार तोला सुनको गरगहना पनि बनाई देऊ है बुढा`

भित्रबाट छोराको माग आयो "बाबा मलाई पनि  एउटा बाइक किन्दिनु है ! "

छोरी पनि के कम खुसी हुँदै-

" मलाई एउटा स्कुटर जसरी नि किन्दिनुस् है बाबा ।"

हिसाब गर्छ चार आना जग्गाको नै करोड पर्ने रहेछ अब घर कसरी बन्ला र  तिनीहरूको मागलाई म कसरी पुरा गर्न सक्छु होला र ? सोच मग्न भयो र  बिचार गर्‍यो फेरि भगवान् सँग माग्नुपर्ला देलान्

नि त,

-हे प्रभु  !

जाबो एक करोडले त केहि नहुने रहेछ । कृपा गरेर अर्को एक करोड थप गर्दिनुस् है।

"तथास्तु ! सन्तुष्ट भएर जाऊ मनुवा मैले  थपिदिएँ ।"

ऊ खुसी हुँदै घर पुग्यो र बुढीलाई भन्यो -

"मलाई अब दुई करोडको नै चिट्ठा पर्ने भो नि !"

बूढीको माग सुनको गहनाबाट हिराको हारमा पुग्यो  छोराको माग बाइक बाट गाडीमा पुग्यो ।

फेरि हिसाब गर्न थाल्यो अझै नपुग्ने देख्यो ।

अब अन्तिम पटक फेरि  मागेर हेर्छु चार करोड नै पो दिन्छन् कि ! सोच्न थाल्यो  र पुनः भाग्यदाता भगवान्लाई भेट्न दौडिँदै थियो अकस्मात् चिप्लिएर लड्यो  र चिच्यायो  ऐया!!

- "हैन के भो तपाईँलाई ! किन कराएको  ?"

ऊ झल्याँस्स ब्युँझिँदै बुढीलाई भन्दै थियो -

"हेर बुढी सपना भन्दा मिठो सन्तुष्टि त केही रहेनछ ।"

°°


१३.

लघुकथा

सङ्कीर्णता

  --------------- किशन पौडेल

हट्टाकट्टा पण्डित हरिप्रसाद आफ्नो धर्म सम्प्रदायप्रति कट्टर थिए । उनी जातभात छुवाछूत प्रति अति नै सचेत।सानातिना कुरामा पनि नाटीकुटी गर्न खप्पिस।

गाउँ घरमा उनी पुराण ,धार्मिक कथाहरू सुनाउन जान्थे । दान, धर्म ,तीर्थ व्रत गरेर मुक्ति प्राप्त हुन्छ र वैतरणी नदी तर्न सकिन्छ भन्दै मानिसहरूलाई स्वर्ग र नरकको भेद वताउँथे ।

महामारीले गर्दा देशमा धार्मिक कार्यहरू सबै बन्द भएका थिए । पूजा, पाठ ,कथा , पुराण सबै ठप्प थियो । मान्छेहरू अकालमा मरिरहेका थिए ।कसरी बाँच्न सकिन्छ होला भन्ने  मान्छेहरुलाई एक मात्र त्रास थियो ।

पण्डित हरिप्रसादलाई रुघाखोकी जरो आएको हप्ता दिन भैसकेको थियो । सारै चिन्तित थिए पण्डितजी ! गुर्जो, बेसार, तातोपानीले ठिक नभएपछि उनको मन धेरै आत्तिएको थियो । श्वास फेर्न सारै गार्‍हो हुन थालेपछि ऊनी हस्पिटल भर्ना भए। कोरोना पोजेटिभ नै रहेछ । घर परिवार नातागोता नजीक पर्ने सबै डराए । भेटघाट शून्य थियो ।

अस्पतालले नै उनको सम्पूर्ण हेरविचार गर्ने जिम्मा लिएर भर्ना गर्‍यो । तातोपानी सुप, जाउलो खुवाउने र बाथरुमसम्म लिएर जाने सेवामा एक परिचारिका अहोरात्र खटिन् ।

पण्डित हरिप्रसाद बिस्तारै तङ्ग्रँदै गए । नयाँ जीवन पाएकोमा खुसी हुँदै घर फर्किने बेलामा  उनले ती परिचारिकालाई आफ्नो नजिकै बोलाएर नाम थर ठेगाना सोधेँ । उनेले भन्दै थिइन् -

"मेरो नाम उर्मिला विश्वकर्मा हो बाजे ।"

°°°


१४.

लघुकथा

महानगर

        ----------किशन पौडेल

उसले महानगरको चुनावी नारा सहरबाट गरिबी र बेरोजगारीको अन्त्य राख्यो । उसलाई गरिब, निम्नवर्ग र बेरोजगारहरूले आफ्नो अमूल्य मत दिएर विजय गराए ।

सर्वप्रथम उसले महानगरको सौन्दर्य कुरुप बनाउने र गरिबी झल्किने झोले,माग्ने,फुटपाथेहरूका डोका, डाला नाङ्ला ठेला र खर्पनहरू जम्मै सडकबाट सोरेर आगो लगायो र महानगरलाई गरिबीमुक्त नगरी  घोषणा गर्‍यो।

उसले सहरका गरिब सुकुम्बासीहरूका  झोपडीहरूले महानगरको सौर्न्दर्यलाई गिजाईरहेको देख्यो र  झुपडबस्तीहरूमा बुल्डोजर लगाएर  सफाचट बनायो र महानगरलाई  सुन्दर, समृद्ध नगरी घोषणा गर्‍यो ।

सडक पेटीबाट जीविकोपार्जन गर्ने र दैनिक ज्यालादारी गरेर दुई छाक खाने श्रमिक,मजदुर

निम्नवर्गहरूलाई गाँस र वासको संकट आइलाग्यो र तिनीहरू  बिस्तारै महानगरबाट पलायन  हुँदै गए ।

बिस्तारै महानगर गरीब, श्रमिक,मजदुरहरूबाट  मुक्त हुँदै गयो । तर  महानगर भित्र अराजकता, असन्तुष्टि र  समस्याहरूको पहाड विकराल रूपमा खडा हुँदै थियो ।

उसले यस पटक भने चुनावको नारा परिवर्तन गर्‍यो

महँगी,भ्रष्टाचार र सुशासन  ।

°°


१५.

लघुकथा

नेता

    ------किशन पौडेल

एउटा भव्य जनसभाको कार्यक्रम हुँदै थियो । अलग धारका तीन नेताहरूले आफ्नो आफ्नो शैलीमा दमदार भाषण दिँदै थिए ।

नेताहरूले एक अर्का प्रति चर्को आलोचना,आक्रोश  र कटाक्ष गर्दै आफ्नो लामो भाषणको अन्त्य गरे । जनताहरू आफ्ना प्रिय नेताले बोल्दा जोडदार ताली बजाउँथे र अर्काले बोल्दा हुटिङ  गर्दथे ।

आयोजकले ती तीन नेताहरूलाई एउटै सोफामा आसन ग्रहण गराएका थिए । तिनीहरू बेला बेला कानेखुसी गर्दै गरेको देखिन्थ्यो ।

कार्यक्रम समापनपछि चियापान समारोहमा नेताहरू कुम जोडेर हाँस्दै लहरै उभिएका थिए । चियाको चुस्की सुरुप्प पार्दै एक जनाले व्यङ्ग्य हान्दै भने- 

"कमरेड तपाईँको त बोली नै खरो कति सारो गाली गरेको हो ! मलाई त सुन्नै पो सकस भो ।"

अर्काले हाँस्दै भन्दै थिए -  "के गर्नु कमरेड गाली नगरी ताली आउँदैन । अब सहनै पर्छ हाम्रो पेशाको धर्म नै यस्तै हो।"


१६. लघुकथा

अपाहिज दृष्टि

                  ------किशन पौडेल

बार्दलीबाट अन्धोले आवाज आएतिर कान ठाडो पार्दै मित्रको कान नजिकै गएर सोध्यो-

"त्यहाँ पर भेडाहरूको जस्तो आवाज सुनिन्छ नि, को कराई रहेका हुन् मित्र ?"

टारको मचानबाट बहिरोले भिड तर्फ हेर्दै भन्यो -

"तिनीहरू त रमाएर उफ्रेर नाचिरहेको मात्र पो देखिन्छ सहृदयी मित्र ।"

लाटोले पावरवाला चस्माभित्रबाट आँखा तन्काएर भिडतर्फ हेर्‍यो -

भिड आफ्नै विरुद्धमा उग्र नारा लगाउँदै  अगाडि बढिरहेको थियो । तीव्र असन्तुष्टिको आन्दोलन रहेछ ।


भिडलाई सम्बोधन गर्न उसको कण्ठबाट कुनै शब्द निस्किरहेको थिएन । लाटो मौन थियो ।


१७.लघुकथा

नियति

    --------किशन पौडेल

अन्धोले फूललाई छामेर प्रशंसा गर्दै भन्यो-

"कति कोमल रहेछ कस्तो मिठो वासना।"

अकस्मात काँडाले चसक्क घोच्यो र झस्किदै भन्यो- -ओहो ! यो त विषालु पनि हुँदोरहेछ ।"

एउटा भमरा अन्धोको कान निरबाट भुनभुनाउदै आएर फूलमा बस्यो र चुस्दै भन्न थाल्यो- " हेर! यसको स्वाद पनि गुलियो छ ।"

उतिनै खेर एउटा मान्छे आयो । ओहो ! कस्तो सुन्दर फूल भन्दै टपक्क टिपेर मन्दिर भित्र भगवानको शिरमा चढाउदै भन्यो -  प्रभु ! लामो आयु पाऊँ !

बेलुकी मन्दिरको पुजारीले सबै फूलहरूलाई  सोरेर फोहोरको कन्टेनरमा लगेर मिल्काउँदै भन्यो - विचरा ! फूलहरू !

°°°


१८ लघुकथा

खुसी

- किशन पौडेल

पत्थरले मान्छेलाई भन्यो-

“तिमी मलाई कुनै मन्दिरभित्र लगेर राखिदेऊ

म भगवान बनेर तिमीलाई बरदान दिने छु ।"

मान्छेले त्यो पत्थरलाई मन्दिरभित्र लगेर राख्यो

र बरदान माग्यो-  “हे भगवान ! मेरा सारा दु:ख कष्टहरु निवारण गरेर खुसी भरिदिनुस् ।"

पत्थरले भन्यो-

"हे मनुवा ! अहिले म आफैं अत्यन्तै दुखित भएको

छु ।  म बगरमा स्वतन्त्र थिएँ । हावा, पानी र माटोसँग जुन आत्मीयता र खुसी थियो त्यो अहिले गुमेको छ। सक्छौ भने मलाई पुन: त्यही ठाउँमा लगेर राखिदेऊ।"

मान्छे नतमस्तक थियो  ।


१९  लघुकथा

सौर्न्दर्य

        ------किशन पौडेल

फूलहरू आफ्नो सौन्दर्यमा मक्ख पर्दै मुस्कुराइरहेका थिए।

त्यहाँ सँगै एउटा बूढो रूख चुपचाप ठिंग उभिएको थियो ।

फूलले घमण्डका साथ रुखलाई भन्यो –

“मैले सयौँ जुनी फेरिसकेँ,

तपाईँ जहाँको त्यहीँ उस्तै हुनुहुन्छ अझै !”

त्यो बूढो रुखले विनीत स्वरमा भन्यो –

"हो । तिमी अत्यन्तै सुन्दर छौ, सबैको प्रिय छौ ।

हेर ! "यो दुनियाँमा सुन्दरताको आयु लामो हुँदैन "।


२० लघुकथा

सुख

       ---- किशन पौडेल


ऊ रोगसँग लडिरहेको थियो,

ऊ गरिबीसँग जुधिरहेको थियो,

ऊ ऋणमा चुर्लुम डुबेको थियो ।

एक दिन तिनै जनाको भेट भयो ।

गरिबले आफ्नो पीडा पोख्दै रोगीसँग भन्यो-

"तिमी त सम्पन्न छौ,परिपूर्ण छौ, सारा सुख र वैभवहरू तिम्रो पोल्टाभित्र होलान् है ?"

रोगबाट आक्रान्त रोगीले लामो सुस्केरा हाल्दै भन्यो -

"हेर ! तिमी यति धेरै तन्दुरुस्त छौ, तिम्रो सुन्दर निरोगी शरीर छ । तिमी जस्तो खुसी मान्छे यो संसारमा अरू को होलान् र ?"

दुवैको कुरा सुनिरहेको ऋणीले आफ्नो मनको व्यथा ओकल्दै भन्यो -

" यो सधैँको तनाव र दुनियाँको वचन खाएर बाँच्नु भन्दा  एक छाक खाएर भए पनि यो ऋणको भारी बिसाउन पाए  कति सुख हुन्थ्यो होला है ।"


२१  लघुकथा

मानवता

       ------किशन पौडेल

   

ऊ सडक किनारको पेटीमा थोत्रा बोराहरू ओछ्याएर कम्बलमा गुटमुटिएर सुतिरहेको थियो । मलाई जिज्ञासा लाग्यो र उसको नजिकै गएर हेरेँ

दुबै खुट्टा थिएनन् सारै दयनीय अवस्थामा देखिन्थ्यो ।

उसले आफ्नो हात मेरो सामु तेर्साउँदै अनुनय गर्दै भन्यो -

"हजुर ! दया गर्नुस् यो गरिब अपाहिजले नखाएको धेरै दिन भयो "

मैले बगली छामेँ , चानचुन पैसा रहेन छ । पर्स निकालेर हेरेँ  । श्रीमतीले तरकारी  किन्न दिएको एक हजारको नोट मात्र रहेछ ।

मैले आफ्नो मोबाइल  निकाले र उसको एउटा  तस्बिर  क्लिक गरेर सरासर अगाडि लम्किएँ ।

घर पुगेर उसको त्यो दयनीय तस्बिर फेसबुकमा अपलोड गर्दै  क्याप्सनमा लेखेँ - बिचरा !

°°°

२२ लघुकथा

तथास्तु !

      -------- किशन पौडेल 

भगवानले जिज्ञासापूर्वक सोध्नु भयो -  के छ भक्त तपाईँको हालखबर ? धेरै दिन भयो मन्दिर तिर पनि आउनु भएन ! "

"प्रभु ! म एकदम व्यस्त थिएँ । हजुरको कृपाले मलाई गतिलो टेन्डर हात  परेको छ !"

भगवान  खुसी हुँदै - "ल बधाई छ ! कस्तो टेन्डर हात पार्नु भयो भक्त ?"

"प्रभु ! फेरि हजुरकै सेवा गर्नी मौका पाएँ । पोहोर साल मैले हजुरको मन्दिर परिसरमा  लगाएको पर्खाल भत्किएछ । पुनः  टेन्डर मलाई नै परेछ प्रभु !"

" प्रत्येक वर्ष यस्तै अवसर प्राप्त होस् " तथास्तु !


२३ लघुकथा

अनुमान

         ------किशन पौडेल

टाढाबाट खुट्टा खोच्याउँदै आउँदै गरेको मान्छेलाई  देखेर तीन मित्रहरूले अनुमान लगाए ।

पहिलोले भन्यो-  "बिचरा ! अपाहिज  रहेछ।"

अर्कोले उसको कुरा काट्दै भन्यो-

"होइन होला ! उसको खुट्टामा चोट लागेको हुनुपर्छ ।"

तेस्रो मित्रले अड्कल लगायो -

"पक्कै पनि पैतालामा काँडा बिझेको हुनुपर्छ ।"

ऊ खोच्याउँदै  नजिकै आइपुग्यो र तिनीहरूको अनुहारमा हेर्दै आफ्नो चुँडिएको चप्पलको  फित्ता गाँस्न थाल्यो ।

°°°


२४ लघुकथा

चिन्ता

   ------  किशन पौडेल

गाउँलेहरूले भ्यागुताको बिहे धूमधाम सँग गरे ।

जन्ती गएर आएपछि दुखीरामले निधारको पसिना गम्छाले पुछ्दै भन्यो,

“हेर ! धनेकी आमा अब त पानी पर्छ होला,

बाँझो खेत पानीको घुट्को नपाएर चिरा-चिरा परेर खङ्ग्रङ्ग सुकेको छ ।

यस पटक बारीमा मकै पनि छर्न पाइएन असार सुरु भैसकेको छ, बिउ राखेको पनि छैन । खै ! यस पालि समयमा धान रोप्न पनि नपाइने हो कि !”

दुखीरामले दुख बिसाउँदै बुढीलाई जम्मै पीडाहरू एकै पटक ओकल्यो ।

साँझपख आकाशमा बादल मडारियो । दुखीरामको चिन्ता बादलसँगै आकाशमाथि उडिसकेको थियो । धनेकी आमा खुसी हुँदै बाहिर निस्की र आकाश तिर हेर्न थाली,  “आज त पानी पर्ला जस्तो छ । साँच्चै भ्यागुतोको बिहे गरेपछि पानी पर्दो रहेछ है धनेको बा !”

उसको अबोध र आश्चर्यजनक जिज्ञासाको जवाफ दुखीरामसँग थिएन ।

“खै कसरी पर्छ के थाहा !  पानी परे त भई गो नि, किन तँलाई खोजीनिती चाहियो ?”  दुखीरामले बुढीलाई आफ्नो अज्ञानता लुकाउने प्रयत्न गर्दै सम्झाउन खोज्यो ।

रातभरी हुरी, बतास सहित ठुलो पानी दर्कियो । दुखीरामको घरको छानो उडायो । घरभित्र पानीको आहाल जमेको थियो । दुखीरामको चिन्ता भने  थपिएको थियो । भ्यागुताहरू उफ्रेर रमाउँदै थिए ।

घरनजिकै उर्लिएर सुसाउँदै बगेको खहरेको नमिठो आवाजले दुखीरामको  कान नराम्रो सँग चिमोट्यो ।

२५ लघुकथा

सङ्कल्प

           ------- किशन पौडेल

भ्रष्टाचार विरुद्ध  देशव्यापी रूपमा अभियान चलिरहेको  थियो ।  एउटा कार्यक्रममा उक्त अभियानमा ऐक्यबद्धता प्रकट गर्दै  मन्त्रीज्यूले भन्दै हुनुहुन्थ्यो –

"भ्रष्टाचार समाजको कलङ्क हो । यो एउटा महारोग हो । आर्थिक अपराध हो । यसले सामाजिक र राजनीतिक प्रणालीलाई नै ध्वस्त पार्छ । म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ ।"

सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउने दृढ अठोट र  सङ्कल्पका साथ आफ्नो मन्तव्य समापन गरेर अगाडिको उच्च आसनमा गएर बस्नुभयो ।

त्यहाँ अगाडि टेबुलमा आजका दैनिक अखबारहरू लहरै राखिएका थिए । अखबारहरूमा ठुला-ठुला अक्षरमा आजसम्म भएको विभिन्न भ्रष्टाचारहरूको नालीबेली सहित खोजमूलक लेख छापिएको थियो ।

भ्रष्टाचार गरेर कुन कुन मन्त्री नेताहरूले  कसरी अकुत सम्पत्तिहरू कमाए भन्ने बारेमा एउटा लामो नाम लिस्ट र विवरणहरू पनि रहेछ  ।

मन्त्रीज्यूको छड्के आँखा त्यो लामो लिस्टमा सरर दौडियो । बिस्तारै त्यो उज्यालो मुख मण्डल भय मिश्रित मलिन हुँदै गयो । बादल मडारिएझैँ अनुहार निलो –कालो हुँदै गएको प्रस्ट देखिन्थ्यो ।

मन्त्रीज्यू आसनबाट जुरुक्क उठेर हतार भएको सङ्केत गर्दै अर्को भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन दौडिनु भो ।

°°°°

हेटौंडा -४ मकवानपुर