'भ+जहर' यी दुई शब्दबाट बनेको भजहर थारू समाजमा चलचल्तीको भाषामा भन्नुपर्दा 'भ' भगाउनु तथा 'जहर' खराव चिज, समाजलाई आवश्यक नपर्ने चिजवस्तु तथा अन्य कुतत्त्व । जसले समाजका मानिसहरूलाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा, दृश्य-अदृश्य रूपमा बेफाइदा पुर्‍याउने गर्दछ, त्यस्ता तत्वलाई गाउँ समाजबाट भगाउनु अथवा लखेट्ने काम यस पूजामा गर्ने गरिन्छ ।

परिचय सम्पादन गर्नुहोस्

भजहर चलनचल्तीको 'पूजा' अथवा रमाइला चाडको रूपमा थारू समाजभित्र लिने गरिन्छ तर अर्को अर्थ लगाउने हो भने गाउँ समाजबाट कुतत्त्व तथा विकृतिजन्य तत्वलाई घर गाउँबाट 'दूर' गर्नलाई घरबाट बाहिर भागेर किन पूजा गर्ने गरिन्छ ? गाउँघरमै बसेर गर्दा के हुन्छ ? जस्ता अनेक खुल्दुली मनमा उब्जन सक्छन् । थारू समाजको विकासक्रमको पूजालाई हेर्ने हो भने गाउँको रोग दोखलाई भगाउने काम अक्सर घर बाहिरबाटै गर्ने गरेको पाइन्छ । गाउँको मुख्य देउताको रूपमा रहने देउथन्वा पनि गाउँबाट बाहिरै राख्ने प्रचलन छ । जहाँ गाउँभरिका देउताहरू सामुहिक बस्ने गर्दछन् । बाहिरबाटै गाउँलाई सञ्चालन गर्ने गरिन्छ । ठूल्ठूला पूजापाठ घरबाहिर गर्ने गरेको इतिहास भेटिन्छ । त्यसैले भजहर पनि एउटा ठूलो पूजामध्ये पर्नेहुनाले यसलाई पनि गाउँघरका केही सदस्यहरू गाउँबाट बाहिर नजीकमा बसी पूजा तथा रमाइलो गर्ने गरेको हुनसक्छ भन्ने अडकल देशबन्धिया गुरूवाहरूको छ ।

थारू समाजको प्राचीन पूजामध्ये चिनिने 'भजहर' कहिलेदेखि मनाउने प्रचलन भयो भन्ने एकिन मत नभेटिए पनि यसको शुरूवात थारू उत्पत्तिसँगै भएको थारू गुरूवाहरूको भनाइ छ । पूजापाठ थारू समाजको मनोरञ्जनको एउटा पाटो भएकै कारण यसलाई संस्कृतिको रूपमा परापूर्वकालदेखि मनाउन सुरू गरेको मान्न सकिन्छ । भजहर पूजा रानाथारू समाजमा पनि विशेष गरेर मनाउने गरिन्छ ।

के गरिन्छ भजहरमा सम्पादन गर्नुहोस्

यस पूजामा गाउँका केही सदस्यले गाउँ सिमानाभन्दा बाहिर गएर गाउँका बड्का गुरूवा -देशबन्धियाले पूजापाठ गर्ने गर्दछन् । पूजापाठ गरिसकेपछि मात्र खानपान र रमाइलो गर्ने गरिन्छ । प्रायगरी वैशाखदेखि असार महिनासम्ममा भागिने भजहरमा पानीका राजा इन्द्र भगवानलाई वषर्ाकालागि पूजा गर्ने गरिन्छ । थारू समुदाय कृषिमा आश्रति हुनेगरेकाले खेतीपातीका लागि समयमा वषर्ा मागगर्दै पूजापाठ गर्ने गरिन्छ । यसका अतिरिक्त गाउँघरमा रहने रोगदोख, कुतत्त्व, वैरी, रिसराग, सपही बघही, भूतप्रेत, प्रेतआत्मा तथा गाउँ समाजका सदस्यलाई दुःख दिने खराव तत्वको अन्त्यका लागि भाकल गर्ने गरिन्छ । यस्तोपूजा गर्दा अनाजबालीमा कीरा फट्याङ्ग्रा नलाग्ने, कीराहरूलाई नास गर्नलाई वकुल्ला मैना जस्ता चराचुरूङ्गीको आव्हान गर्ने गरेको गाउँका बयोबृद्धको भनाइ रहेको छ । गाउँबाट बाहिर गई पूजापाठ गर्दा रोगव्याधी र भूतप्रेतले पनि गाउँको सिमाना काट्ने र गाउँ समाजमा सुख र अमनचयन कायम हुने परम्परागत विश्वास थारू समाजमा विद्यमान देखिन्छ ।

भजहरको प्रकार सम्पादन गर्नुहोस्

बड्का भजहर सम्पादन गर्नुहोस्

गाउँभरिका मानिसले सामूहिकरूपमा धुमधामकासाथ मनाउने पूजा तथा चाड मानिन्छ बड्का भजहरलाई । यसलाई हप्तादिनसम्म घर बाहिर गई गाउँ नजीकको खोला खोल्सा तथा पायक पर्ने ठाउँमा बसी मनोरञ्जनकासाथ मनाउने प्रचलन देखिन्छ । साना साना झुपडी छाप्रो बनाई खानपिन सबै सोही स्थानमा गई खाने र रमाइलोका लागि नाचगान गरी मनाइने गरिन्छ । हरेक वर्ष मनाइने यसलाई गाउँको क्यालेन्डरकोरूपमा स्थापित गरी महिनादिनसम्म तयारी गरी भव्यतकासाथ मनाइने गरिन्छ । गाउँको सबैभन्दा ठूलो गुरूवाले दैनिकजसो पूजापाठ गरी गाउँका सदस्यलाई रोगव्याधी, भूतप्रेत, पिशाच, दुःख वैरीले नसताओस्, सधैं गाउँमा अमनचयन र सुख रहोस् भनेर आफ्नो मन्त्रको प्रयोग गरी पूजापाठ गर्ने गर्दछन् । उनको पूगएर्म सकिएपछि गाउँका पाँचजना कन्या केटीलाई सामूहिक भोजन गराएपछि मात्र अन्य गाउँलेहरू भोजन गर्ने र आवश्यक परम्परागत गीतबाससँगै रमाइलो र मनोरञ्जन गर्ने प्रचलन छ ।

यसका लागि माछा मासुका लागि पूर्व तयारी गरी भव्यताकासाथ मनाइने प्रबन्ध गाउँबासीले गर्ने गर्दछन् । पहिले-पहिले गाउँघर नजीकको जङ्गलमा प्रशस्तमात्रामा जीव जनावर पाइने हुनाले गाउँलेहरू शिकारका लागि 'हँकुवा' -शिकार खेल्नेकाम) गरी जीव जनावर छोप्ने र सामुहिक रूपमा मासु काटी खाने प्रचलन थियो तर अचेल त्यस्तो परिस्थिति नभएपछि माछा मारेर घरपालुवा जीव जानवर काटी रमाइलो गर्ने गरिन्छ । उहिले परम्परागत विशुद्ध मौलिक गीतबास र नाचगानमा रमाइलो गर्ने गरिन्थ्यो भने अचेल आधुनिकपाराको गीत र बाजा बजाई रमाइलो गर्ने प्रचलन देख्न पाइन्छ । बयोबृद्धहरू आधुनिक मनोरञ्जनको साधनलाई संस्कृतिमा धब्बा लागेको अडकल गर्दछन् । आफ्नो विशुद्ध गीतबास नै थारूको पहिचान भन्न रूचाउने बयोबृद्धहरू पश्चिमा संस्कृतिलाई पहिचान लोप गर्ने कुतत्वको संज्ञा दिन्छन् ।

उहिले थारूहरू भजहरमा परम्परागत नाचगान तथा छुर र कबड्डी खेली रमाइलो गर्ने गर्दथे भने आजभोलि सिडी, क्यासेट डान्स गरी रमाइलो गर्ने गरिन्छ । उहिले हप्तादिनसम्म यसलाई परम्परागतरूपमा बडो धुमधामकासाथ मनाइने गरिन्थ्यो तर अचेल यसलाई एकदिनमा मात्र सीमित गरिएको छ । दिनभरका लागि मात्र पूजापाठ गरी, रमाइलो गरी भजहर मनाउने गरिन्छ । तर बयोबृद्धहरूको पिंढी क्रमशः लोप हुँदै गएको अवस्थामा यो चाड तथा पूजा पनि बयोबृद्धहरूसँगै लोप हुने क्रममा लागेकाले संस्कृतिप्रेमीलाई सर्वत्र चिन्ता छाएको छ ।

चिरैयाँ भजहर सम्पादन गर्नुहोस्

यस भजहर केटीहरूमात्र मनाउने गर्दछन् । यद्यपि पूजापाठका लागि गाउँका गुरूवा तथा देशबन्धीया गुरूवा रहने गर्दछन् । केटीहरू सामूहिकरूपमा गाउँ बाहिर नजीकको उपयुक्त ठाउँमा गई परम्परागतरूपमा रमाइलो गर्ने गर्दछन् । वनभोजको रूपमा मनाइने यो चाड बनभोज भने हैन । घरबाट पाँच जोडा रोटी र पाँच जोडा लवाङ्ग लिई कन्याकेटीहरू भजहर भाग्ने काम गर्दछन् । यद्यपि यो परम्परा ठाउँ अनुसार फरक पाइन्छ । यो पनि एकदिन मात्र मनाइने गरिन्छ । भजहरका दिन कन्याकेटीहरू परम्परागत गीतबास गाई, नाचकोर गरी मनाउँछन् । थारू समुदायमा खेलिने खेल छुर र कवड्डी लगायतका खेल पनि उनीहरू खेल्ने गर्दछन् । दिनभरि गाउँबाट बाहिर गई खाने परिकार पनि त्यही पकाउने गर्दछन् । कुनै ठाउँमा त्यस्ता खाने परिकार घरबाटै उनीहरूलाई पुर्‍याएको देखिन्छ । एकाविहानै घरबाट बाहिर गएका केटीहरू साँझ गाउँका गुरूबाले पूजापाठ गरी शुद्ध जल हस्तान्तरण गरेपछि उनीहरू खानुभन्दा पहिले त्यस जललाई यताउता छर्कने गर्दछन् । जलकासाथै रूख विरूवाको हाँगाविँगालाई यताउता स्याप्ने, हम्किने काम गर्दछन् । यसरी गर्दा गाउँमा प्रवेश भएका भूतप्रेत, पिशाच, रोगदोख र बैरीहरू गाउँको सिमाना काट्ने गर्दछन् भन्ने जनविश्वास रहेको छ । यस दिन केटीहरू सामुहिक रूपमा बटुवाहरूलाई हातको साङ्लो बनाई बाटो छेक्ने र रमाइलोका लागि उनीहरूबाट केही रकम समेत असुल्ने काम गर्दछन् तर जवर्जस्ती भने गर्दैनन् । विशुद्ध रमाइलोका लागि यो काम गर्ने गरिन्छ ।

भजहरको महत्त्व सम्पादन गर्नुहोस्

परम्परागत रूपमा प्राचीनकालदेखि गाउँघरमा मनाइने भजहरले गाउँको सामाजिक, धार्मिक तथा सांस्कृतिक महत्त्व राख्ने गर्दछ । पूजापाठले धार्मिक पक्षलाई जोड्ने गर्दछ भने सामूहिकलरूपमा गीतबाँस, नाचकोर गर्ने शैलीले सांस्कृतिक पक्षलाई उजागर गर्ने गर्दछ । एकै थलोमा जम्मा भई रमाइलोगरी खानपिन खाने पक्षले सामाजिक पक्षलाई मलजल दिन्छ । गाउँभरिका मानिसहरू सामूहिक प्रयासले रमाइलो गर्ने पक्षले गाउँका बासिन्दाबीच आपसी भ्रातृभाव, सदभाव र प्रेम बढाउने काम गरेको हुन्छ ।

फाइदा/बेफाइदा सम्पादन गर्नुहोस्

भजहर पूजा तथा चाडलाई विश्लेषण गर्दा कसैले यसको फाइदा देख्नसक्छ कसैले बेफाइदा । हरेकको विश्लेषणमा भरपर्ने कुरा हो यो । तर समग्रमा भन्नुपर्दा यसको फाइदाले बेफाइदालाई ओगट्छ भन्छन् थारू बयोबृद्ध बुद्धिजिवीहरू । भाषा, संस्कृतिले हरेकको पहिचानलाई झल्काउने काम गर्ने हुनाले यसले थारू समाजको पहिचानलाई फरक स्थान र उचाईमा पर्‍याएको मान्छन् बुद्धिजिवीहरू । पूर्ण कोही र कुनै चिज नहुने हुनाले अपवादकोरूपमा रहेको अवगुणलाई बिर्सी गुणलाई आत्मसात गर्न सक्नेहो भने भजहरको महत्त्व र गुणलाई सजिलै आँकलन गर्न सकिन्छ । सद्भाव र प्रेमको रूपमा, एकता र विश्वासको रूपमा यस पूजालाई लिन सकिन्छ । संस्कृति संरक्षण तथा धार्मिक विश्वासको पक्षलाई यसले सकारात्मक रूपमा उजागर गरेको मान्न सकिन्छ ।

कुनै चिजवस्तु तथा मानिसको आफैमा अवगुणै छैन भन्न त सकिन्न तर अवगुणलाई गुणले पुर्नेहो भने त्यो विशिष्ट बन्न सक्छ । भजहरको पनि केही बेफाइदा र अवगुणका पक्षहरू औल्याउन सकिन्छ । सामूहिकरूपमा गाउँबाट पर ठाउँमा बसी रमाइलो गर्नाले गाउँघरमा चोरी र लुटपाटको घटना घटने सम्भावना प्रबल रहन्छ । घरबाहिर गई जाँड रक्सी खाने प्रचलनले शारीरिक तथा भौतिक नोक्सानी गर्नसक्छ । केटीहरू गाउँबाट टाढा गई रमाइलो गर्नाले उनीहरूमाथि खतरा हुनसक्ने सम्भावना बढ्छ । रमाइलोका लागि बटुवाको बाटो छेकी पैसा असुल्ने कार्य विकृतिको रूपमा फैलिन सक्ने खतरा रहन्छ । गुरूवाले गाउँबाट रोगव्याधी तथा भूतप्रेत पिशाचलाई भगाउँछ भन्ने जनविश्वास आजको युगमा पनि जडा गाड्ने हो भने अन्य समाजले त्यसलाई नकारात्मक रूपमा बुझ्न सक्दछन् । यद्यपि आफ्ने प्रचलन र शैलीले त्यो उपयुक्त होला । यस्ता यावत पक्षलाई केलाउने हो भने यसको गुण र दोषलाई अझ व्यापक पार्न सकिने देखिन्छ ।