मुख्य सूची खोल्नुहोस्

कुनै व्यक्ति वा संस्थाद्वारा मानिसको बौद्धिकता (ज्ञान, सीप, श्रम आदि) प्रयोग गरी आफ्नो स्वामित्वमा गरिएको सृजना लाई बौद्धिक सम्पत्ति (Intellectual property) भनिन्छ।

संगीत, साहित्यिक कृति, वास्तुकला, चित्रकला, अन्य कला, खोजी, प्रतीक, नाम, चलचित्र, डिजाइन आदि जुनसुकै सृजना बौद्धिक सम्पत्तिमा पर्दछन्।

बौद्धिक सम्पत्तिलाई प्रतिलिपी अधिकार (कपीराइट), ट्रेडमार्क, पेन्टेन्ट आदि द्वारा सरक्षित गरिएको हुन्छ। जसरी कुनै कुनै भौतिक सम्पत्तिको स्वामित्व हुन्छ, त्यसैगरी कुनै बौद्धिक सम्पत्तिको पनि स्वामित्त्व हुन्छ। यसलाई बौद्धिक सम्पत्ति अधिकार भनिन्छ। हरेक व्यक्ति वा संस्थाले आफ्नो बौद्धिक सम्पत्तिको उपयोगको नियन्त्रण गर्न सक्छन्। त्यसको उपयोग गरेर पैसा कमाउन सक्छन्। यस प्रकार बौद्धिक सम्पदा को अधिकार को कारण त्यस सम्पत्तिको सुरक्षा हुन्छ। जसका कारण मानिसहरू नयाँ खोज र आविष्कार गर्न उत्साहित भै लागि पर्छन्।

बौद्धिक सम्पत्ति कानूनले नै सुरक्षित गरेको हुन्छ। नेपालमा 'पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२' तथा 'प्रतिलिपी अधिकार ऐन २०५९' ले यसलाई नियमन गरेका छन्। [१] नेपालमा सर्वप्रथम वि.सं. १९९३ मा प्रधामनमन्त्री जुद्ध सम्शेरले 'नेपाल पेटेण्ट डिजायन् र ट्रेडमार्क कानून १९९३' नामको कानून बनाई लागू गरेका थिए। [२]

प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार साहित्य, कला, ज्ञान–विज्ञान र अन्य क्षेत्रमा मौलिक एवं बौद्धिक रुपले प्रस्तुत गरिएका रचना जस्तै किताब, पर्चा, लेख, शोधपत्र; नाटक, नाट्य–संगीत, मुक चित्र र यस्तै किसिमले मञ्चनका लागि तयार गरिएका रचना; शब्द सहित वा शब्द रहित सांगीतिक रचना; श्रव्य दृश्य रचना; आर्किटेक्चरल डिजाइन; चित्रकला, पेन्टिङ्ग, मूर्तिकला, काष्ठकला, लिथोग्राफी र आर्किटेक्चर सम्बन्धी अन्य रचना; फोटोजन्य रचना; प्रयोगात्मक कला सम्बन्धी रचना; उद्धरण, मानचित्र, योजना, भूगोल सम्बन्धी त्रि–आयामिक रचना, टोपोग्राफी र वैज्ञानिक लेख रचना; कम्प्युटर प्रोग्राम; लगायतका रचनालाई बौद्धिक सम्पत्ति भनिएको छ। [३]

नेपाल सरकारले २०७३ फागुनमा बौद्धिक सम्पत्तिमा ७ वटा क्षेत्र थपेको छ। जस अनुसार भौगोलिक संकेत, वनस्पति प्रजाति संरक्षण, व्यापारिक गोपनीयता, एकीकृत सर्किटको लेआउट डिजाइन, परम्परागत तथा मौलिक ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदा, जैविक विविधता र अनुवांशिक स्रोत थप भएका छन्। यस अघि प्रतिलिपि, ट्रेडमार्क, डिजाइन र पेटेन्ट गरी ४ क्षेत्र मात्र समेटिएका थिए। [४]

नेपाल विश्व बौद्धिक सम्पत्ति संगठन (WIPO) को सदस्य राष्ट्र हो। नेपालमा यो मामिला हेर्ने निकाय नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय हो जुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत रहेको छ।


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. आचार्य, कृष्ण (फाल्गुन १८, २०७३), "बौद्धिक सम्पत्तिमा ७ क्षेत्र थपिए", कान्तिपुर दैनिक, अन्तिम पहुँच ३१ अगस्ट २०१८ 
  2. "नेपाल पेटेण्ट डिजायन् र ट्रेडमार्क कानून १९९३", नेपाल कानून आयोग 
  3. "प्रतिलिपी अधिकार ऐन २०५९", नेपाल कानून आयोग। 
  4. आचार्य, कृष्ण (फाल्गुन १८, २०७३), "बौद्धिक सम्पत्तिमा ७ क्षेत्र थपिए", अन्तिम पहुँच ३१ अगस्ट २०१८