बकपत्रः जीवनदर्शन र संघर्ष

बकपत्रः जीवनदर्शन र संघर्ष

बरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरको जीवनसंघर्षको आँखीझ्यालबाट नियालिएको ६ दशकको अनुभवको पुञ्ज हो बकपत्र कृति । इन्डिगो इन्कले २०८० मा प्रकाशित गरेको यो कृतिमा लेखकले गरेका सार्वजनिन अनुभवहरुलाई संघर्षको दर्शनबाट नियालिएको छ ।

यो कृतिमा युद्धको सामना नगरेको, प्रेमको पीडा नसहेको, जेल नभोगेको र बेखर्ची भएर नभौँतारिएको मान्छेले जीवनलाई न समुचित भोग्न सक्छ, न खुसी र पीडाको मर्म अनुभूत नै गर्न सक्छ । जीवन स्वयम् एउटा महाआख्यान हो । यसलाई जसले जसरी पढ्छ, पृथक् जीवनबोध गर्छ । जोखिम उठाउने, भीडभन्दा अलग हुने र एक्लो बाटो हिँड्ने आँट सनातनीसँग हुँदैन । संसारमा भएका सबै क्रान्ति अधुरा हुन्छन् । त्यही अपूणर्तामा टेकेर नयाँ क्रान्तियात्रा सुरु हुन्छ । क्रान्तिको अन्त्य कहिल्यै पनि हुँदैन । बाँकी कार्यभार आउँदो पुस्तालाई सुम्पिएर एउटा पुस्ताले आफ्नो समयको जिम्मेवारी पूरा गर्छ । कुनै समयको प्रगतिशील समूह अर्को समयमा यथास्थिति रुचाउने मात्रै नभई प्रतिगामी पनि हुन सक्छ भन्ने निस्कर्ष निकालिएको छ ।

वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरद्वारा लिखित यो कृति एक व्यक्तिले चिहाएको नेपाली गरिव, किसान, सर्वहारावर्गको मुक्ति संघर्षका आरोहअवरोहरुको दस्तावेजीकरण पनि हो ।