प्रयोगकर्ता:Riddi.sitaula/प्रयोगस्थल

श्री गणेशाय नमः जय श्रीराम जय हनुमान जय बङ्गलामूखी माता श्री रामायण सुन्दर काण्ड १. तर्छु क्षार समुद्र आज सहजै भन्न्या इरादा धरी। श्रीरामका चरणारविन्द मनले अत्यन्त चिन्तन् गरी।। भन्छन् वीरहरुलाई ताहिँ हनुमान हे वीर हो! पार तरी। सीताजीकन भेट्छु म अहिले जान्छू बडो बेग गरी।। २. पापी जन् पनि रामका स्मरणले संसार पार तर्छ ता। राम्‌कै काम निमित्त औँठिसँग ली जान्छु दुतै हुँ मता ।। क्या डर क्षार समुद्र तर्छु सहजै पौँचन्छु लङ्का भनी। चारै पाउ जमिन्‌बिषे धसि कुद्धा हेर्दै तमाशा पनि।। ३. दक्षिण तरफ मुख गरीकन कुद्‌न वस्ता। ऊपर नजर दि अघिका दुई पाउ धस्ता।। सोझो गराइकन घाँटि कुद्धा जसै ता। वायू सरी हुनगया हनुमान् तसै ता ।। ४. आकाश मार्ग गरी कुदेर हनुमान् उडेथेति आकाशमा। सीताजीकन भेटी फर्किकन फेर रामचन्द्रका पासमा।। पुग्ने अक्कल बल् छ छैन इनको बूझौँ सबै बल् भनी। इन्द्रादिहरुले खटाइ सुरसा जल्दी पठाया पनि।। ५. जल्दीगै सुरसा अघिल्तिर बसिन् साम्ने हुनमानका। के भन्दछन् हनुमान भनेर खुशिभै कुरा गरिन् खानका।। भोकी धेर्दिनकी म खोजी हिँड्थेँ के खाऊँ आहार भनी। पाऐँ बल्ल यहाँ मिल्यौ तिमी त एक् सारै भएँ खुशपनि।। ६. आउ लौ पस मूखमा जब भनिन् बोले हनुमान तसै। भन्छन् आज सीता नभेटिकन ता पस्तीन मुखमा कसै।। सीता भेटी म फर्कुँला र रघुनाथ ज्यूका हजुर्मा गइ। विस्तार विन्ति गरेर आइ पशुँला तिम्रोअहारा भइ।। ७. यस्ता बात सुनि भन्दछिन तिसुरसा मेरा मुखैमा पसी। निस्की जाउ नहीँ भन्या म बलले पक्रेर दाह्रा धसी।। मार्छु एति भनिन् र लौ तब यहीँ मुख बाउ चाँडै भनी। चार्कोसको त शरीर गरीकन बसे आफू हनुमान् पनि।। ८. चार्कोसको हनुमान देखि सुरसा बिस्कोसको मुखगरिन्। चालिस्कोस्को हनुमान् भएर असिकोस्मुख्फेरि जल्दी धरिन् ।। जल्दी फेर हनुमान्‌ले छबिस कोशको रुप गराई बसे। फेर दुइ सय कोश जब गरिन् अंगुष्ठझैँ भै पसे।। ९. निस्के झट्ट र भन्दछन् ति हनुमान् हे देवि! मुख्मा पसी। निस्केँ जान्छुमता अवश्य अबता बन्दैनकाम् ता बसी।। अक्कल बल्‌सँगका कुरा जब सुनिन् यस्ता हनुमानका। आफ्नु सत्य कुरा तसै सब कहिन् छाडी कुरा खानका।। १०. सक्छौकाम् तिमिसाधिआउ हनुमान् शक्ति छ तिम्रो भनी। चीन्हेँ भन्छु म इन्द्रका हजुरमा तिम्रो पराक्रम पनि।। बल् बुझ्नै भनि इन्द्रका हुकुमले आएकि ता हुँ भनी। खुश भै स्वर्गविषे गइन् ति सुरसा कुद्धा हनुमान् पनि।। ११. जस्ले सागर नाम् धरे मकनती राजा सगरजी गये। तिन्कै बँशमहा विभूषण सरी श्रीराम पैदा भए।। उन्कै कामनिमित्त आज हनुमान् जान्छन् इ लंकामहाँ। मैनाकपर्वत निस्क जाउ तिमि गै विश्राम गराऊ तहाँ।। १२. थाकेहुन् हनुमान् बिसाई फलफूल खाएर जाउन भनी। भन्दा सागरका कुरा सुनि तहाँनिस्के ति मैनाक पनि।। अर्को एक मनुष्यको स्वरुप ली हात् जोरि विन्ती गरे। आई फल-फूल खाइ जाउ हनुमान भन्दै अगाडी सरे।। १३. आज्ञा सागरको हुँदा चरणमा आएँ म ऐल्हे भनी। मैनाक्‌ले यति विन्तिबात् जब गरे बोले हनुमान् पनि।। राम्‌को काम् नगरी बसेर कसरी खान्छु मजान्छु यसै। हात्ले छुन्छु म लौ भनेर खुशिले छोएर कुद्धा तसै।। १४. केहि दुर हनुमान् पुगेपछि तहाँ एक सिँहिका राक्षसी। छायाँ पक्रि उजन्तु खैँचि बललेसान्थी जलैमा बसी।। छायाँ पक्रि उतान्नका लागि हनुमान् ज्यूको गती बन्दभो। कस्लेबन्द गर्योन गती भनि दिशा दशमा तसै दृष्टिगो।। १५. देखे तल्तिर दृष्टि दीकन तहाँ जस्सै नजरमा परी। एकै चोट् दुइ लात् दिए र सहजै घुस्त्रुक ताहीँ मरी।। ताहाँबाट् कुदी गएर हनुमान पौँचे जसै तीरमा। लङ्का पुरि तहाँ त्रिकुट गिरिका देखे उपर शीरमा।। १६. वरिपरि तहि तीरमा वृक्ष फल् फुल भरी छन् । जउन बनमहाँ ती गर्दछन् पक्षि गुन् गुन् ।। भ्रमरहरु लताका फुलमा हल्लि-हल्लि। घुनुनु- घुनुनु गर्दै हिँड्दछन् वल्लि वल्लि।। १७. नगर वरिपरीको जो छ शोभा नजर भो ! त्रिकुट गिरि उपर्का पुरिमा फेर नजर गो।। वरिपरि पर्‌खालछन् बीच-बीचमा छ खोवा। सहज सँग कसैले गर्न सक्दैन दांवा।। १८. अति तखत परेको खुब् अगम देखि लङ्का। यहि घरि पसि जाऊँकी राति जाँ येति शङ्का।। गरिकन ठहराए याहिँ बस्छु र राती। सहज सँग म जांला जानता राति जाती।। 19. तहि बसि यति जस्ले बाँकि दिन् सव् बिताए। दिन बिति जब रात् भो जान पाऊ चलाए।। स्वरुप पनि ति सानु ली पसेथे जसै ता। दगुरी नगिच आइन् लङ्किनी पो तसै ता।। 20. को हो आज मलाई केहि नगनी यो भित्र जाने भनी। चोरै हो भनीलात् उठाई रिसले एकचोट त हानिन् पनि।। झट्टै वाम मुठी उठाइ सहजै ठोक्ता जमिन्‌मा परिन्। छाद्धै ताहिँ रगत उठेर दुइ हात् जोरेर विन्ति गरिन्।। 21. लङ्कापूरी त हुन् ति राक्षस भई बस्थिन् सदा द्वारमा। जानिन् श्री हनुमान् भनेर जब चोट् पाई चलिन सारमा।। लङ्किनी हुँ मलाई ता जितिलियौ यस्ले सक्यो राज्‌गरी। रावण्‌को त मरण् हुने बखत भो आयो मरण्‌को घरी।। 22. ब्रम्हाजी अघि भन्दथे प्रभुजिको हुनेछ रामावतार। हर्ला रावणले सीता र रघुनाथ सुग्रिवथ्यै मित्रचार।। गर्नन सुग्रीवले पनि दशदिशा सीताजिको खोजखबर। गर्नालाई पठाउनन् वीरहरु छानेर खूब खुब जबर।। 23. तिन्मा एकविर आउला र तिमिले लात्‌मारिद्यौ लिँ जसै। हान्‌ला बाम मुठी उठाइ रगतै छाद्धै गिरौली तसै।। रावणको तहिसम्म आयुछ भनी भन्थेर र सोही सुनी। ब्रम्हाको वचनै प्रमाण गरि भनेँ त्यो मर्छ रावण पनि।। 24. जाऊ भेट सीताजिलाइ अगम् भित्री बगैँचामहा। आश्शोका वनमा छ बृक्षबढिया एक् शिँशपाको तहाँ।। ताहीँ छन् प्रभूकी प्रिया वरिपरी छन् राक्षसीगण पनि। भेटीगै रघुनाथथ्यौ भन पनि विपत् छन् भनी।। 25. धन्यै भएँ म अहिले प्रभुको स्मरण भो। संसारको भय छ जो उ त आज दूर भो।। जस्तो मिल्यो मकन सँग र भक्ति ऐल्हे। यस्तै रहोस् यहि म पाउ नबिर्सि कैल्हे।। 26. जस्सै श्रीहनुमान्‌पुगे सहजमा लङ्का समुद्रै तरी। तस्सै जानकीको फुर्यो‌ नयन वामहातै समेत बेसरी।। रावण्‌का पनि वामहात् नयन वाम् फूर्यो रघुनाथको। दायाँ अङ्ग फुर्योि उसै बखत मन् खुशी भयो नाथको।। 27. सानु रुप लिई पसी शहर सब् हेर्दै विचार खुब् गरी। रावण्‌को दरबार विशेष गरिढुँडे चोटा कोठा गरी।। पाएनन् र कता मजाँ भनितहाँ मन्मा विचारभो जसै। सम्झेलङ्किनीका वचन् र ति गए अशोक बन्मा तसै।। 28. जो जो वृक्ष छ इन्द्रका नगरमा सो सो सबै छन् तहीँ। रत्नैका सिढि साफ असल्‌जल पनि यस्ता तलाऊ कहीँ।। फल्‌फूल्ले अतिभार भएर रूखका संपूर्ण हाँगा पनि। लच्केका भ्रमर र पंक्षि बहुतै रूख्मा बसेका पनि।। 29. बीच्बीच्मा सुनका हवेली पनि छन् उच्चामणीको छ थाम्। जस्मा छन् कति गर्नु वर्णन जहाँ हेर्योण तहाँ पक्कीकाम्।। यस्तो उत्तम वन् नजर गरि सब डुल्दा हनुमान गए। देखे वृक्ष र सिंसपा खुशी हुँदै ताहीँ ति दाखिल भए।। 30. अधिक गम्भिर छायाँ सूर्यको ताप् नपस्ने। उपर अति पहेँला बेस् चरा मात्र बस्ने।। वरिपरि पनि नाना राक्षसीको छ घेरा। रूखमनि तहिँ सीता देखिइन् फेद नेर।। 31. भोकी मैलि निदाउरी नत कपाल्‌कोरेकि सव् केश उसै। लट्टा मात्र परेकि खाली भुमिमा रुँदै बसेकी यसै।। राम् राम् राम् यतिमात्र बोलिरहँदी देखे र साना भई। पात्‌का अंतरमा लुके ती हनुमान रूख्का उपर्मा गई।। 32. भन्छन् श्रीहनुमान तहाँ मनमनै ऐल्हे कृतार्थै भयाँ। जो सीताकन देखि आज खुशीले सीतासमीप्मा रह्याँ।। साधे काम् पनि राम्‌को भनि तहाँ खुशी भएथे जसै।। अन्तः पूरमहाँ भयो र खलबल् त्यो शब्द सूने तसै।। 33. केको शव्द भयो भनेर हनुमान् लुके ति झनपातमा। आयो रावण झट्‌ताहिँ नगीचै सब् स्त्री लिईसाथमा।। कैल्हे मर्दछु रामदेखि अझतक् सीता हरेँ तापनि। आएनन् रघुनाथ भनेर रहँदा देखेछ स्वप्ना पनि।। 34. राम्‌को दूत अतिवीर वानर अशोकवन्‌भित्र आइपसी। सीताजीकन देखिने गरि तहाँ पात्‌भित्र लुकी बसी।। हेर्दो चाल् सब कामको खुशी भई स्वप्ना मिलेथ्यो जसै। साँचै होकि भनेर दौडिकन त्यो आयो नगिचै तसै।। 35. साँचैनै यदिहो भने असल भो दुर्वाच्य बोल्छ जसै। सीतालाई यसो सुनेर रिसले जाला र भन्ला तसै।। मेरो दुष्ट कुरा सुनेर रघुनाथ आएर मार्नन भनी। यस्तो निश्चय मन् गरी नगीच गैदुर्वाच्य बोल्यो पनि।। 36. सीताले पनि दुष्टलाई नगीचै देखी अधोमुख गरिन्। श्रीरामका चरणारविंद मनले अन्तःकरणमा धरिन् ।। चुप्पलागी जननी रहिन् जब तहाँ सो देखि रावणपनि। लाग्यो भन्न मलाईदेखि किन है लायौ अधोमुख भनी।। 37. राम्‌मेरा पति हुन् भनेर तिमि पो भन्छ्यौ उभन्छन्‌कहाँ। मेरी हो यदि भन्दथे पनि भने आउनु पर्थ्यो यहाँ। माया छैन तिमि उपर नबुझिके शोक मात्र गर्छ्यौ उसै। यौवन व्यर्थ गयो विचार गर यो यौवन आफाल्छ्यौ यसै।। 38. यौवन व्यर्थ नफाल व्यर्थ मनमा शोक्गर्दछ्यौ यो कति। मैलाई पति मान आज तिमिलर हुन्छु म तिम्रो पति। मेरी पत्नी भयौ भने सकलकी मालिक हुनेछौ म ता। साह्रै प्रेमगरि राखुँला बुझअधिक बैगुनि छन् राम्‌ता।। 39. मानिस् मूर्ख कृतघ्न मानुषमहाँ साह्रै अधम् जो त छन्। शक्तिका पनि कम् उ राम्‌पनि यहाँ आउन के सक्तछन्।। तस्मात् छोड न राख रामतिर मन यस्तो भनेथ्यो जसै। लाल्‌लाल्‍ नेत्र गराइ पूर्ण रिसले बोलिन सीताजी तसै।। 40. पाजीरावण बोल्दछस् कति बहुत दुर्वाच्य बक्‌बक् गरी। राघवदेखि डराई छल्न भनि एक् सन्यासीको रूपधरी।। जस्तै यज्ञविषे हवि कुकुरले हर्छन उही चालले। राम्-लक्ष्मण् नहुँदा हरिस तँ बुझिले मर्लास् यसै कालले।। 41. सागर शोषि कि साँघुलाई रघुनाथ आएर घेरा दिई। तेरोवंश विनाश गरेर पछि फेर प्राण् खैँची तेरो लिई।। लैजानन् प्रभुले मलाई भनि झट् दिईन जवाफ् यो जसै। लाल्‌लाल् नेत्र गराई खड्ग पनि ली काट्नै तयार भो तसै।। 42. मन्दोदरी विनति गर्न अगाडि सर्दी। यो खड्ग टारुँ कसरी भनि चित्त धर्दी।। पाउ परीकन बहुत गरी बिन्ति लाईन्। सब् रिस शमन पनि गराएर खड्ग टारिन।। 43. हुकुम रावणले त्यहाँ यति दियो हे राक्षसी यो सीता। मैन्हा दुई यसै बसोस् तब उपर मेरा शयनमा कि ता।। बस्‌ली बस्ती नपो पनि भनि भने काटेर टुक्टुकगरी। तरकारी भुटुवा बनाउनु असल्‌मिठा मसाला धरी।। 44. मासू खाइ म छोडुँला अझ पनि चेताउ यती भनी। रावण् फर्कि गयो ति राक्षसीहरु एक्मुख भये फेर पनि।। एक भन्छे किन व्यर्थै यौवन सक्यौ रावण् गराउ पति। दोस्री के भनि उठ्तछे कि कतिवार भन्छेस तँ थाक्छेस कति।। 45. काट्नै पर्छ नकाटि हुन्न भनि बात गर्द थिई अर्किता। हात्‌मा ली तरवार दौडि पनि गै भन्दै म काट्छु सीता।। अर्की घोर मुखबाई डरदिन नगिच धाई सीताथ्यौँ जसै। बुढी राक्षसी एक थिई र त्रिजटा तेस्ले हटाई तसै।। 46. लागी भन्न अभागी दुष्टहरुहो ! के दुष्टका झैँ मति। गर्छौछाड विरोध नराख गरखुब् सीताजीको ता स्तुती।। पाउमा पर दण्डवत् गर सबै स्वामी इनै हुन् भनी। मेरा आज वचन लियौ यदि भने खूब हितहोला पनि।। 47. स्वप्नाको सुन भन्छु लक्षण यहाँ श्रीरामसीताका पति। ऐरावत् उपरै चढेर सँगमा भाई लिई वीर अति।। यहाँ आई रिसाई भस्म सब यो लङ्का गराई दिया। रावण्‌मारि सीता लियेर सँगमा पर्वत उपर पो थिया।। 48. रावण्‍ गो यमकुण्डमा कुलसमेत खुप तेल मर्दन गरी। बुड्थ्यो स मुडआफ्ना उनी उसै मुड्कोत मालाधरी।। श्रीराम्‌का नगीचै विभिषण थिए भक्ति प्रभूको गरी। गर्थे खूब टहल बहुत खुशी हुँदै तन्मन् वचनले गरी।। 49. राम्‌ले रावणलाई आज सहजै मार्छन् कुलै साफगरी। रावण्‌को अव बृद्धि छैन यसकोआयो मरणको घरी।। राम भक्त विभीषणै अब उपर बस्नन् यहाँ राज गरी। जस्तो हुन्छ हुकुम सीतापतिजीको सोही शिरो पर धरी।। 50. जस्तो स्वप्नभयो सबै भनिसकेँ येती भनी चुप् जसै। लागी थी त्रिजटा ति सब्‌सुनि डरेथे राक्षसीगण तसै।। निद्राका वशमा सवै परिगए सीता बहुतै रुँदी। आधार केहि नपाउँदी अधिक ताप् मानेर विह्वल हुँदी।। 51. भोको शोक्गरी भन्दछिन अब यहाँ ऐल्हे कसोरी मरूँ। इन्का हात परेर मर्नु ननिको आफैँ म मर्छु बरू।। ताप्ले पूर्ण हुँदी उपाय अरुथोक् केही नजान्दा कवै। मन्मा स्वस्थ नपाउँदी विरहले देख्ती अँध्यारो सबै।। 52. राममा चित्र दिएर मर्नु बढिया मानेर सीता तहाँ। झुण्डीने मतलवलिई खडि भइन् पक्रेर हाँगामहाँ।। राक्षस्‌का बिचमा बसीजिउनु धिक् मर्नु निको मर्दछु। चुल्ठो लामु छ झुण्डिनाकन यहाँ डोर त यै गर्दछु।। 53. यस्तो निश्चयले गरीकन सीता झुण्डिन आँटिन जसै। काम्‌वित्ला भनि सानुबोलि झट्पट् बोले हनुमान तसै।। भारतवर्ष विषे मणीमुकुट झैँ नाम्‌ता अयोध्या भनी। ठुलो एक पुरी थियो मणिमया राम्रो बनेको पनि।। 54. इक्ष्वाकुकाकुलैमा अतिबलि दशरथ् वीर्‌महाराज रहेछन्। तिन्का तीन् रानीमध्ये गुणी2 अतिवीर् चार छोरा भएछन्।। जेठाराम्‌जी ति चार्‌मा उहि पछित भरतजी लक्ष्मण ई तीनै। भन्दा शत्रुघ्न कान्छा सकलगुँणमहाँ कम्ति छैनन् ई कुनै।। 55. जेठा राम पिताजीका हुकुमले सब राज्य छाडिदिई। बन्मा बस्न चलेबहुत खुशी हुँदै सीता र लक्ष्मणलिई।। एकदिन पञ्चवटी गए प्रभु तहीँ डेरा प्रभूको पर्यो्। रावण्‌ले अतिछल् गरीकन तहाँ सीताजीलाई हर्यो‍।। 56. रामलक्ष्मण नहुँदा सीता पनि तहाँ चोरीजसै ता हर्यो‍। चोरी आज सीता हर्योस भनि ठूलोखेद् रामलाई पर्यो‍।। जान्थे खोजी सीताजीलाई वनमा फेला जटायूपरे। तिन्माथि करूणा भयो प्रभूजीको ताहीँ जटायू तरे।। 57. भेट्सुगृव्‌सँगभो पछि प्रभूजीको लाए मित्यारी पनि। बालीमारि रजाईँ वक्सनुभयो हुन् मित्र मेरा भनि।। छानी वानर वीर सुगृवजीले सीताजी खोज्नै भनी। आज्ञाबक्सनु भो र वीरहरू गए सीताजी खोज्न पनि।। 58. तिन्‌मा एक वीरता म हुँ म त यहाँ आएँ समुद्रै तरी। संपातीसित भेट् हुँदा खवर भो उनकै वचन्‌ले गरी।। लङ्का दाखिल भै गये छिनमहाँ राम्‌का प्रताप्‌ले गरी। फुत्के लङ्किनीदेखि निर्भय भई अश्शोक वन्‌मा परी।। 59. देखेँ सुन्दर वाटिका वरिपरी रूख् वेश लताले गरी। बेरेका चहुँतर्फ रत्नसरीका फल्फुल फलेका भरी।। देखेँ आज सीताजीलाई र यहाँ आनन्द पायेँ भनी। यति बिन्ति गरेर चुप् भइरहे ताहाँ हनुमान पनि।। 60. सीताजीलाई जब इ बात् क्रमले सुनीथिन्। आश्चर्य भैकन वरीपरि हेरि एकछिन्।। कोही नदेखि ति सीता अरुलाई ताहाँ। भन्छिन् कुरा इ कहने जनको छ याहाँ।। 61. भ्रम हो भनुँ पनि भने सब चेत् छ मेरा। स्वप्ना कसो हरि भनूँ निद छैन मेरा।। जो हो इ बात कहने उ अगाडी आई। अमृत वचन इ सब आज भनी मलाई।। 62. सीताजीको यति वचन् जब सून्न पाया। सानू स्वरुप लि हनुमान अगाडी आया।। दर्शन् प्रणाम् पनि गरे र सीताजीलाई। ताहीँ खडा भई रह्या अति हर्ष पाई।। 63. लाल्मुख पीतसरी शरीर पनि अधिक् भंगेरासरी। धारेका हनुमान् देखि मनले आफैँ ति शङ्का परी।। रावण्‌को छलहोकि यो भनि तहाँ लाइन् अधोमुखजसै। शङ्का भो अव माईलाई भनि झट् बोले हनुमान तसै।। 64.

हे माता ! म त दास हुँ हजुर्‌को राम्‌का हुकुमले गरि। आएको छु हजुर्‌को खवरमा गम्भीर सागर तरी।। राजा सुग्रीवको म मन्त्रि पनि हुँ वायु पिता हुन् पनि। येति बिन्ति गरेर चुप् भइरहे के हुन्छ आज्ञा भनी।। 65. सीताजी पनि भन्दछिन् कसरी यो मानुँ म माननिस पनि। बानरसित मितेरी लाउँछ कतै के हुन् कुरा को जनी।। एती बोलि सीताजी चुप्‌भई रहिन साँचो नमानी जसै। फेर वृत्तान्त गरी बुझाई सब् बात् औँठी दिए पो तसै।। 66. औँठी दिकन फेर प्रणाम् पनि गरी जस्सै हनुमान् बसे। देखिन् औँठि जसै तसै बखतमा हर्षाश्रुधारा खसे।। बर्बर आँशु खसाउँदै प्रभूजीको औँठी शिरोपर धरिन्। सारै खुश् हनुमान् उपर भई तहाँ प्राण झैँ पियारो गरिन।। 67. हित गरि हनुमान्‌जी लाइ भन्छिन ति माता। म कन तिमी भयौ खुब प्राणको आज दाता।। तिमीसँग रघुनाथले खुब विश्वास मान्या। तब म सित पठाया एहि काम्‌ले त जान्या।। 68. अब त तिमी हनुमान् झट्ट गै रामलाई। भन, विपति परेको देखिहाल्यौ मलाई।। जति गरि म उपर श्रीरामको हुन्छ माया। तति गरि तिमीले खूब् युक्तिले विन्ति लाया।। 69. जिन्‌तिन् शरीर महिना दुई ता म धर्छु। ताहाँ पछि त तिमी निश्चय जान मर्छु।। खान्याछ दुष्ट तरकारी बनाई येही। छैनन् यहाँ अरु सहाय मलाई कोही।। 70. तस्मात अवश्य इ दुई महिना नजाई। सुगृव समेत सकल सैन्य लिए आई।। यो दुष्टलाई सब वंश समेत मारुन्। यो दु:ख सागर परेको मलाई तारून्।। 71. सिपसंग गरि विन्ति खूब दयालु बनाया। जति छ फजिति मेरो यो सबै थोक जनाया।। यति विनती गर्याो लौ पाउमा धर्म धेरै। सकल भनि सकेँ बात् के भनूँ बेर-बेरै।। 72. बिन्ती श्रीहनुमान्‌ले पनि गरे माता म सेवक त हुँ। ख्वामित्‌का इ विपत सबै कहुँला धेरै यहाँ के कहुँ।। राम् लक्ष्मण् दुई भाई सुग्रिवसमेत वानरकि सेनालिइ। वंशै रावण्‌को विनाश गरिदिनन् धरा शहर्‌मा दिई।। 73. ख्वामित्‌लाई लिएरफेरी रघुनाथ फिर्नन् अयोध्यामहाँ। आवैनन् कि प्रभू भनेर मनमा शङ्का न लागोस् यहाँ।। यो विन्ती सुनि भन्दछिन् तहिँ सीताश्रीरामजी के गरी। सेना लीकन आउनन् अति ठुलो यस्तो समुद्रै तरी।। 74. जननी कन बुझाया यो हुकुम सुनी ताहाँ। मइछु प्रभूजीको दास् बोकुँला पीठ माहाँ।। रघुपति दुई भाईलाई क्या दुःख पर्छन्। सकल अरु र सुग्रिव कूदि आफैँ ति तर्छन।।

75. जननी मत बिदा झट् पाउँ मर्जी त सुन्या। अव त उहीँ गए पो काम् झट्ट हन्या।। जउन चिज दिँदामा राम विश्वास मान्छन्। उहि चिज पनि पाउँ जान्छु दिन मात्र जान्छन्।। 76. यति सुनि अघिदेखि केश पाश्‌मा धरेको। मणि झिकि दिईहालिन् रामको मन्‌परेको।। मणि दिई फेरी भन्छिन् चित्रकुटमा भएको। शरण परि नजर दि काग बाँची गएको।। 77. एकदिन् हे हनुमान् म चित्रकुटमा राम्‌का नगिचै थिएँ। मेरा काखमहाँ सुते र रघुनाथ हात्‌को तकिया दिए।। मेरा लाल् दुई पाउ देखिकन काग् आएर ठुँग्यो जसै। मेरा यी दुई पाउबाट बहुतै आयो रगत् पो तसै।। 78. उठी श्री रघुनाथले नजर भो वाहीँ थियो काग पनि। फ्याँकेथे तृण एक ली प्रभुजीले यो काग मार्छु भनी।। त्यो काग् चौधभुवन डुल्यो त पनि क्वै पाएन आधार जसै। फेरी आई शरण् परि नजर दी बाँची गयो काग् तसै।। 79. मेरो आईशरण पर्यो भनि दया आयो उ काग्‌मा पनि। मै माथी त दया कसो हुनगयो भन्थिन् भने यो पनि।। हात् जोरीकन विन्ति फेरि हनुमान् फेर गर्न लागे तहाँ। याहाँ छन् भनि थाह नै न भई पो आउँन ढिलो भो यहाँ।। 80. रावण्‌ले हरिलीगयो भनि खबर् हुन्थ्यो त बाँच्थ्योकहाँ। पापी रावणको कुलै प्रभुजीले सब् भस्म गर्थे यहाँ।। देख्छु रुप म सानु मानु भँगेरा जत्रो कसोरी लडी। गर्छौ राक्षसको विनाश तिमी ठुला हुन्छौ स्वरुप कि बढी।। 81. तिम्रो रुप अतिसानु देख्छु अरुझन् कत्रा हुनन् ति भनी। सम्झन्छु मनले र गम्छु मनमै आश्चर्य मान्छु पनि।। यस्तो मर्जि सीताजीका सुनी तहाँ पर्वत सरीका भए। मेरुतुल्य स्वरूप धरेर हनुमान् साम्ने खडा भै रहे।। 82. जब त ति हनुमान्‌को रुप ठुलो देखि लिईन्। खुशि भई तहिँ बिदा माईले झट्ट दिईन्।। अब त तिमी हनुमान! धृष्ट चाला छिपाऊ। यिनीहरु अब देख्नन् कुदी फेर जाईजाऊ।। 83. यति सुनि हनुमान्‌ले फेरि विन्ती लगाया। सहजसँग म जान्थ्याँ एति फल खान पाया।। वरिपरी फलफूल छन् मर्जि मात्रै म पाऊँ। हुकुम बिनु कसोरी आज आफैँ म खाऊँ।। 84. यति विन्ति गरेथे खानको मर्जि पाई। खुशी भइ फल खाई माईथ्यौँ फर्कि आई।। चरण परि बिदा भै क्यै गए दूर जसै ता। अलिकतिकछु काम् फेर गर्न आँटे तसै ता।। 85. आफैँ मन्‌मन्‌मा भन्दछन् ति हनुमान् जुनवीर दूत भैगई। जत्ती ख्वामित्‌को हुकुम् छ उत्तिमा मात्रै चनाखो भई।। उत्ती काम गरेर फिर्दछ भने त्यो दूत अधम् हो भनी। भन्छन्‌ लोकहरु त भेटिकन जाँ कस्तो छ रावण् पनि।। 86. यति गमि ति बघैँचा फेक्न मन्सुब चलाई। खुशी भइ ति महावीर झट्ट फेर फर्कि आई।। सकल वन उखेल्दै चौकी सम्पूर्ण मारे। फगत जननी बस्ने एक् शिशौ शेष पारे।। 87. जब त वन विनाश्या राक्षसी झट्ट आई। पुगि नगिच सीताका सोधी सीताजीलाई।। भनन तिमी सीताजी ! वीर को हो क्यान आयो? अति असल बघैँचा क्या न मैदान बनायो।। 88. यति सुनि तहिँ सीता भन्दछिन् के म जानूँ। विपति परि रह्याकी छू म ता चानुमानूँ।। तिमी बुझन सबै बात् हो क्वै हो क्यान आयो। अति असल बघैँचा क्यान् मैदान् बनायो।। 89. सकल छल त हो यो राक्षस गर्छ माया। जब त यति भनीथिन राक्षसी सब् डराया।। कहन भनि गए सब रावणैका हजुर्‌मा। पुगि कहन ति लागे वन् गयो जो विसुर्‌मा।। 90. ऐल्हे हे महाराज ! अधिक बलियो आएर बानर यहाँ। सीताका सँग केहि बात्चित गरी कुद्यो बघैँचा महाँ।। सारा बृक्षहरु उखेली सहजै मैदान बनाई दियो। चौकी चूर्ण गरी हबेली पनि सब् नाशी बसेको थियो।। 91. आयौँ हामी बिन्ति गर्न भनि यो विन्ति गरेथे जसै। सून्यो झट्ट उठेर पक्रन भनी लश्कर पठायो तसै।। हुकुम् पायर लाख लश्कर गए पक्रेर ल्याउँ भनी। लाखौँ लश्करलाई देखि हनुमान अत्यन्त गर्जे पनि।। 92. त्यो शव्दै सुनि मोह लश्कर भए छाडे हतियार पनि। मारे श्री हनुमानले क्षणमहाँ यि हुन् भुसूना भनी।। लोहस्तम्भ उठाई साफ् सब गरे सम्चार पुगेथ्यो जसै। रावण् खूब रिसाई फेर पनि ठूलो सेना पठायो तसै।। 93. सेनाका पति पाँच गए हुकुम्‌ले ठूलै थियो तापनि। त्यो सेना पनि साफ् सबै गरिदिए उस्तै भुसुना गनी।। फेर मन्त्री सुत सात् गए हुकुम्‌ले खुब भारि सेना लिई। लोहस्तम्भ उठाई साफ् फेरि गरे सब्‌लाई ठक्कर दिई।। 94. सात् मन्त्री सुतलाई सैन्य सहितै मारी सकेथे जसै। कान्छो रावण-पुत्र अक्षयकुमार पो लड्न आयो तसै।। भारी फौज लिएर त्यो पुतली झैँ आई जसै ता पर्यो । आकाश्‌मा गइ लोहदण्ड शिरमा ठोके सहज्मा मर्योे।। 95. पैल्हे अक्षयकुमार मारि अरुसब् सेना समेत् नाशगरे। आउँदै तहिँ बत्तिका पुतली झैँ हुँदै अनेकौँ मरे।। सारा राक्षसलाई मारि अव को आउँछ योद्धा भनी। लोहस्तम्भ लिई खडा भइरह्या ताहाँ हनुमान् पनि।। 96. जब त अति पियारो पुत्र कान्छो मरेको। खबर कहन आए फौजको नाश गरेको।। तब त अधिक ताप् भै भन्छ रावण् रिसाई। अब त गइ म आफैँ मार्दछु तेसलाई।। 97. कि मार्दछु कि त बाँधिल्याउँछु यहाँ तेरा नगीचै भनी। रावणले यति इन्द्रजित्‌सँग भन्यो त्यो इन्द्रजित्‌ले पनि।। हात् जोरीकन विन्ति गर्छ म छँदै आफैँ हजुरले तहाँ। जानूपर्छ कतै? म गै सहज्‌मै ल्याउँछु बाँधी यहाँ।। 98. एति विन्ति गरी चढेर रथमा क्यै फौज साथै लिई। आयो श्री हनुमान् भएतिर गयो साम्ने मुहुडा दिई।। देखे श्रीहनुमानले पनि र खुब गर्जे ति साम्ने गई। लोहस्तम्भलिई कुदीकन उपर आकाश बिच्‌मा गई।। 99. लोहस्तम्भ उचालि घुम्न बिच्‌मा लागे गरुड्झै जसै। पाँचबाण छोडि लगाई आठ् अनिथपि फेरी लगायोतसै।। बाण् लाग्यो भनि इन्द्रजित्‌ खुशीभई गर्ज्यो जसैता तहाँ। घोडा सूतरथ चूर्ण पारि हनुमान कुदे ति आकाशमहाँ।। 100. फेर अर्को रथमा चढेर अब ता बाँध्छु म ऐल्हे भनी। फ्याँक्यो झट्ट र ब्रम्हापाश हनुमान्‌जीलाई बाँध्यो पनि।। बाँधी श्री हनुमान्‌लाई सँग ली फर्केर दरबार गयो। बाँध्याका हनुमान देखि शहरै सम्पूर्ण खुशी भयो।। 101. जुन्‌राम्‌को चरणै स्मरण गरि सहज अज्ञान पाप्‌नाश्‌गरी। बैकुण्ठै सब पुग्दछन् पनि भने त्यै ब्रम्हापाशमा परी।। बाँधिन्थे हनुमान कहाँ तर पनि बन्धन परेझैँ भए। भेटी रावण जाँ भनेर हनुमान् चुपचाप लागी गए।। 102. जस्सै इन्द्रजितै पुग्यो र हनुमान्‌जीलाई बाँधी तहाँ। फर्केथ्यो घर जाँ भनी तब यहाँ आएर बाटोमहाँ।। रिस फेरे पुरवासीले पनि मुठी उठाई हान्दा भए। रिस् फेर्छन भुसुना भनेर हनुमान चुपचाप लागी गए।। 103. पैल्हे ता ब्रम्हापाश्‌मा परिकन क्षणभर बाँधिन काम थियो। ब्रम्हाको वाक्यसाँचोगरिकन पछिता पाशले छाडिदियो।। बन्धनदेखि त खुस्के तर पनि हनुमान् भेट्नमन्सुब्धरेका। पौँचे रावण्‌छ जाहाँ खुशी भई अरुता मान्दछन् करपरेका।। 104. रावण वीर पनि मन्त्रीवर्ग सँगली भारी सभामा थियो। पौँच्यो ताहिँ र इन्द्रजीत हनुमान्‌जीलाई सुम्पिदियो।। हात् जोरी विनती गर्योइ हरिपयो बानर छ सेना पनि। धेरै नाश गरेछ आज मईले ल्याएँ खुनी हो भनी।। 105. जे गर्नु अब पर्छ मन्त्रीसँगका सल्लाह बात्चित गरी। यस्को आज ठेकान लगाउनुहवस् मन्‌मा विचार खुब्‌गरी।। एति विन्ति सुनेर इन्द्रजितको हेर्योि नजर्ले पनि। लाग्यो सोध्न प्रहस्तलाई किन यो आएछ लौ सोध भनी।। 106. अस्सलमा पनि के भनुँ अति असल् मेरो बघैँचापनि। नाश्यो वीर पनि अनेक मकनता मानू भुसूना गनी।। यो आज्ञा सुनि त्यो प्रहस्त हनुमान्‌जीका अगाडीगई। लाग्यो सोध्न सबै कुरा पनि निकै आधार दिने भई।। 107. यै बिच्‌मा नडराई रावण उपर साम्ने नजर दी तहाँ। बोले श्री हनुमानजी तँ बुझिले काम्‌ले त आएँ यहाँ।। भार्या जस्किहरिस् उनै जगत्‌नाथ् राम्‌कोमदास हुँ मती। तेरो नष्ट भयो र अर्ति दिन पो आएँ नले यो मती।। 108. आए राम मतंग पर्वत विषे लक्ष्मण् समेत भै जसै। लाए सुग्रीवले मितेरी खुशि भै श्रीराजीथ्यौँ तसै।। बाली मारी रजाईँ बक्सनु भयो सुग्रीव राजा भए। सीता खोज्न हुकुम्‌हुँदा वीरहरुफेर दशदिशामा गए।। 109. यौटा वीर म हुँ हुकुम् शिरउपर लिएर आएँ यहाँ। पाएँ देख्न सीताजीलाई दुत हुँ राम्‌को छलिये कहाँ।। बानर हुँ र उखेली साफ् गरिदिएँ तेरो बघैँचा पनि। आए मार्न मलाई जो अगि सरी उन्लाई मारेँ पनि।। 110. यो इन्द्रजीत् गई त्यही बिचमा मलाई। बाँधेर ल्याईकन आज दियो तँलाई।। बन्धन पर्यो भनि नठान् तँ दिएँ जनाई। खुला छु अर्ति पनि दिन्छु म सुन तँलाई।। 111. लोक्को गती सब विचार गरि आज तैँले। यो राक्षसी मति नले हित भन्छु मैले।। ब्राम्हण् तँ होस ऋषि पुलस्त्यजीको नाती। राक्षस् कसोगरि तँ होस् बुझिले न भाँती।। 112. आत्मा स्वरुप उ त झन स्वरुप काहाँ। जाती र वर्ण लिइ भन्न सकिन्छ याहाँ।। सो आत्मरुप भनि नित्य विचार गर्नु। आनन्दमा रहूँ भन्या मति एहि धर्नु।। 113. जो यो लोकविषे प्रपञ्च छ सबै जान् स्वप्न जस्तै भनी। सुतुञ्जेल सपना छ सत्य उठ्ता लाग्दैन साँचो पनि।। तेस्तै ज्ञान भय भने त्रिभुवनै एक्‌देख्छ आत्मा फगत्। अज्ञानरुपनिँदमा पर्यो् पनि भने देखिन्छ नाना जगत्।। 114. आत्मा सत्य म हुँ भनेर बुझिले यो देहलाई पनि। झूटो जान पृथिवी जल्‌हरु मिलि झुटो बनेको भनी।। तर्लाम यो मनमालिईस पनि भने तार्ने उनै विष्णु छन्। जो हो विष्णु उ राम हुन् शरणपर रिस उठ्छ तेरा तझन।। 115. एस्तो मूर्खपना तँ छाडिलिइजा सीताशरण्‌मा तँ पर। खुश हुनन् रघुनाथ शरण् परिगए यो दुष्टचाला नगर।। राम्‌को भक्ति गरेन ता कसरी यो संसार तर्ला उसै। पर्ला जन्मनु मर्नु यै फजितमा छुट्तैन यो ता कसै।। 116. यो ठानीकन भक्ति गर शरण पर राम्‌का हजुर्मागई। आत्माआफ्नु नरक्‌विषे नलिईजा यस्तो तँ जान्ने भई।। सीतारामसँगको विरोध गरि हेर गिर्लास नरक्‌मा भनि। फेर उत्तीर्ण हुनू कठिन्‌छ बुझिले अर्ती दिएँ यो पनि।। 117. यस्ता बात् हनुमानका जब सून्यो रावण् रिसायो तहाँ। लाल्लाल् नेत्र गराई भन्छ रिसले सुनाई सभामहाँ।। मेरो डर रत्तिभर नराखि बहुतै के बोल्दछस् रे यहाँ। राम्‌लक्ष्मण् दुइभाइलाई सहजै मार्नेछु छाड्छु कहाँ।। 118. सुगृवलाई तँलाई मार्दछु पछि मार्छु सीताजी पनि। राम्‌लक्ष्मण्‌सँग के डराउँछु र कि मार्नन् मलाई भनी।। तिन्‌का बानर सैन्यको पनि विनाश गर्नेछु एतिजसै।। बोल्यो रावणले सुनि यति तहाँ बोलर हनुमान् तसै।। 119. यसरी किन बहुतै गर्दछस् शेखी धेरै। प्रभूकन त परै राख् जोडि छैनस् तँ मेरै।। अगसरुँ त तँ जस्ता कोटी रावण् म मारुँ। हुकुम त नभएको मार्न पो आज क्यारुँ।। 120. यस्ताबात् हनुमानका सुनि तहाँ रावण् रिसायो अति। साँचै हुन् इ कुरा तथापि पनि त्यो लिन्थ्यो कहाँ दुर्गति।। यो बानर्‌कन काटि टुक गर भनी यस्तो हुकुम्‌पो दियो। हात्मा बेस्हतियारली अघिसर्यो जुन् वीरै नगिचैथियो।। 121. यै बिच्‌मा त विभिषणै अघिसरी हात् जोरी बिन्तिगरे। दूत् हो यो महाराज् कुरा पनि वहाँ लैजान्छको यो मरे।। केही चिन्ह लगाई छोडिदिनुहोस जावस र विस्तार गरोस। येही बानरका कुरा सुनियहाँ आउन् ति संग्राम् परोस।। 122. साँचो भन्यो भनि बुझि कपडा मगायो। तेल् घिउले मुछि पुच्छर भरि बेर्न लायो।। हुकुम् दियो अब जलायेर बाँधिलेउ। सारा शहर भरि घुमाएर छाडिदेउ।। 123. जावस ठुटो पुच्छर लिकन फर्कि वाहीँ। पुच्छर डढि नसकि छाड्नु हुँदैन काहीँ।। यस्तो हुकुम जब दियो तब बाँधिलिया। आगो पनि पुच्छर तिर लगाई दीया।। 124. बाँधेका हनुमान लिएर खुशी भै भेरी अगाडी फुकी। लागे घुम्न शहर ति राक्षसहरु चोरहो भनी खुब बुझी।। चुप्‌लागी हनुमान् पनि खुरुखुरू गम् हेरी हिँड्दै गए। ढोका पश्चिममा पुगी शहरका ताहीँ ति साना भए।। 125. बन्धन्‌देखि त खुस्कि सुक्ष्मरुपले पर्वत सरीका भए। ठूलो स्तम्भ उठाई राक्षस अनेक मारे र कुद्‌दै गए।। बल्दो लामु पुच्छर लिइ घर-घरै कुद्‌दै शहर्‌मा डुलि। पोले सब् शहरै छुटेन कहिँ घर बाँकी कतै एक् भुलि।। 126. लाग्यो बल्न शहर जली घरहरू सब् बन्द रस्ता भइ। भागी जान नपाउँदा हुँदी अनेक राक्षस अटाली गई।। फाल्‌हालीकन अग्निमा परि मरे यो चाल् शहर्‌मा भयो। पोलेनन् घर् एक विभिषणजीको त्यै मात्र बाँकी रह्यो।। 127. येती काम गरिसकी पुच्छरको आगो निभाउँ भनी। कुदी झट्ट समुद्रमा पुगी पुच्छर चोभी निभाए पनि।। अग्निले पनि मित्र-पुत्र भनि ताप् केही गरेनन् तहाँ। सीताको पनि प्रार्थना हुनगयो डढ्थे हनुमान् कहाँ।। 128. राम्‌का फगत् स्मरणले पनि दुःख छुट्छन्। आध्यात्मिकादिहरु ता पनि झट्ट छुट्छन्।। साक्षात् उनै प्रभूजीका दुत भै गएका। डड्थे कहाँ ति हनुमान् अति हित भएका।। 129. फिर्ने मन्सुवले बिदा हुन सीताजीथ्यौँ हनुमान गए। बिदा खूशी भएर बक्सनुहवस जान्छु म भन्दा भए।। आउँछन रघुनाथ अवश्य भनि यो बिन्ती गरेथे जसै। साह्रै शोक् मनमा धरीकन सीताक्यै भन्न लागिन तसै।। 130. तिमीकन नगिचैमा देखी खुब खूशी हुन्थेँ। घरि-घरि रघुनाथका मिष्ट वार्ता म सुन्थेँ।। अब कसरि म यस्ता दुःखले प्राण धर्छु। तिमी पनि फिरि जाने फेरी ताप्मा म पर्छु।। 131. सीताका इ कुरा सुनेर छट्पट् हात जोरी बिन्ती गरे। यस्तो शोक् अब छाडिवक्सनुहवस् आपत्ति साह्रै परे।। ऐल्हे दाखिल गर्छु राम्-चरणमा बोकी हुकुम् लौ हवस्। धेरै शोक् किन गर्नु हुन्छ मनमा यो शोक्‌दुरै रहोस।। 132. सीताजी पनि भन्दछिन म त नजाऊँ तिमीमात्र गै। विस्तार विन्ति गरेर झट् रघुनाथ लिएर आउसँगै।। राम् आईकन दुष्टलाई सहजै मारी मलाई सँगै। लैजानन् प्रभूले त कीर्ति रहला के हुन्छ यसै मगै।। 133. सीताको जब यो हुकुम् हुनगयो बिदा हनुमान् भए। तीनबेर झट्ट परिक्रमा गरि प्रणाम् गर्दा छँदा ति गये।। पर्वतमाथि चढेर रुप पनि ठूलो पर्वत् सरीको धरे। आकाश मार्ग लिई कुदेर खुशीले खुब् शव्द ठूलागरे।। 134. सूने शब्द ति अङ्गदादिहरुले बोले परस्पर पनि। शव्दैले बुझियो अवश्य सहजै भेटेर आए भनी।। यस्तै बात् तिरमा बसेर सब ती गर्दै थिए खूशभइ। पौँचे श्रीहनुमान्‌जी तिरमहाँ आनन्द खुशी रही।। 135. भेट भो अङ्गद वीरहरुसँग तहाँ विस्तार कुरा सब्‌गरे। अङ्गद वीरहरु खुशी भइ पुच्छर पक्रेर चुम्बन गरे।। नाचे कोहिखुशी भएर यहिरित् गर्दै ति राम्‌थ्यौँ गए। सुग्रिवको मधुवन् मिल्यो नगिचमा अत्यन्त खुशी भए।। 136. विन्ति अङ्गदथ्यौँ गरे पनि तहाँ खाऊँफल्फूल् भनी। अङ्गदले पनि खाउ जाउ हनुमान्‌जीका प्रसादले भनी।। दिए मर्जि र खाउ फल्फूल् भनी बानर गएथे जसै। चौकी वानर जो थिए सब तहाँ आए र रोके तसै।। 137. रोक्ने बानरलाई लात् दिइपिए मीठो मधुरस तहाँ। यो चुक्ली दधिवक्रले लिइगए सुग्रिवजी छन् जहाँ।। सब् विस्तार दधिवक्रले जब गरे लुटे मधुवन भनी। लूटपीट्को समाचार सुनेर पनि रिस् उठेन कत्ति पनि।। 138. भेटेछन् बुझियो सीताकन नता लुट्थे मधुवन कहाँ। ई बात् सुग्रिव गर्दथे प्रभूजीले सुनेर सोधे तहाँ।। सीताको पनि नाम् लिएर तिमीले के बोल्दछौ बात्‌भनी। सोधीबक्सनुभो र सुग्रिवजीले विन्ति गरे बात् पनि।। 139. हे नाथ मधुवन्‌ थियो अति असल मेरे बगैँचा तहाँ। ऐल्हे ता हनुमान्‌हरु बलजफत आएर एक्‌क्षणमाहाँ।। लूटेछन् मधुरस् अनेक रितले चौकी लुटेछन् पनि। आए आज फिराद गर्न मधुवन लटे र कटे भनी।। 140. सोही बात म गर्दछू रघुपते ! इन्ले सीताजी पनि। भेटेछन् तब पो लुटे र मधुवन रोक्ता कुटेका भनि।। यो विन्ति गरि झट्ट सुग्रिवजीले ती चौकिलाई तहाँ। दिए हुकुम झट्ट फर्किकन गै चाँडो पठाउ यहाँ।। 141. आउन् श्रीहनुमानहरु अब यहाँ चाँडो भनी यो जसै। दिए निर्भय दि हुकुम् उहि घरि फर्केर दौडे तसै।। मामा सुग्रिवका गएर दधिमुख आज्ञा सुनाई दिए। खुशी भै हनुमान्‌हरु पनि गए श्रीराम जाहाँ थिए।। 142. राम् सुग्रिवकन दण्डवत् गरिलिए साम्ने जमिन्‌मा परि। सब् विस्तार हनुमान्‌ले तहिँ गरे बृत्तान्त एकेक् गरी।। भेटेँ आज सीताजीलाई रघुनाथ ! लङ्कापुरीमा गई। जस्सै देखिलिएँ सीताकन तसै सानू स्वरूपको भइ।। 143. पात्‌का अन्तरमा लुकी जननीको साम्‌ने नगिचै रह्याँ। जो बृत्तान्त थियो सबै हजुरको त्यै सूक्ष्मरुप्‌ले कह्याँ।। भोकी दुब्ली हजुर दूर रहँदा सम्झेर साह्रै रुँदी। राम्‌राम्‌बोलि अनाथ झैँ भइ बहुत विह्वल निरन्तर हुँदी।। 144. अशोकका वनमा शिशौ पनि छ एक्लै वृक्षका बिचमा। झुण्डिने मतलव लिई खडि भइन् सूनिन् उसै बिचमा।। यो वृत्तान्त सुनी हुकुम् पनि भयो को होस् तँ बोल्ने यहाँ। के लुकिकन बोल्दछस् अब नलुक आईज साम्ने महाँ।। 145. पाएँ येहि हुकुम् जसै जननीको बानर स्वरुपले गएँ। कोहोस भन् भनी सोधीबक्सनु भयो फेर विन्तिगर्दो भएँ।। सब्‌बृत्तान्त गरी सकी हजुर्‌को औँठी दिएथेँ जसै। बर्बर आँशु खसाउनु पनि भयो विश्वास लागो तसै।। 146. आफ्नूदुःख सब बताउनु भयो यस्ता विपत छन् भनी। आउँछन् रघुनाथ भनेर बहुतै मैले बुझाएँ पनि।। आज्ञाभो अनि फर्किजाउ हनुमान यस्ता हवाल्‌छन्‌ भनी। चाँडो गै रघुनाथका हजुर्‌मा विस्तार बताया पनि।। 147. वार्ता गरी जब यतातिर फिर्न लागेँ। विश्वास पार्न जननीसँग चीज माँगेँ।। चूडामणि दिनुभयो शिरमा रह्याको। काग्‌को कुरा कहनुभो अघि जो भयाको।। 148. लक्ष्मण्‌लाई अवाच्य बात् बहुतै बोलेकीछू तापनि। त्यो रिस लक्ष्मणले कदापि नलिउन् यस्तो भनीथिन् भनि।। हात्‌जोरीकन विन्ति खूब गरिदिए येती हुकुम्‌भो जसै। सब् वृत्तान्त सुनी विदा पनि भए फर्केर आयेँ तसै।। 149. माईसित बिदा भइ जब फिर मन्‌मा लहड्‌यो गयो। रावण्‌लाई नभेटी जाँ मकसरी भन्ने विचार यो भयो।। भेटी रावण्‌लाई अर्ति पनि दि फिर्नु असल हो भनी। फर्की ध्वस्त गरेँ अशोक वनको मारेँ अनेक वीर पनि।। 150. कान्छो रावण्-पुत्र अक्षयकुमार मारेँ र रावण जहाँ। थियो ताहिँ गयेँ भने हित कुरा टेरेन केही तहाँ।। गर्थ्यो बक्बक्‌ नै अनेक थरिका मैले भुसूनै गनी। रावण्‌कै अघि खाक् गरिसकिदिएँ पोलेर लङ्का पनि।। 151. येती काम गरी यहाँ हजुर्‌मा आएँ म ऐल्हे भनी। येती विन्ति गरी खडा भइ रहे ताहाँ ति सेवकपनि।। श्रीराम्‌ले पनि काखमा लिनु भयो सर्वस्व दिन्छु भनी। बात्‌ले चित्त बुझाइबक्सनु भयो सर्वस्व यै हो भनी।। 152. मैले खुश भइ काख दियेँ पनि भने फेर दिन बाँकीरती। केही चीज रहँदैन सब मिलिगयो यो बात बताउँ कति। काख्‌मा राखि हुकुम् भयो यति जसै खुशी हनुमान् भए। आनन्दाश्रु गिराई भक्तिरसले हाजिर हजुर्‌मा रहे।। 153. धन्य हुन् इ हनुमान् इ सरिको। कोहि छैन अरु भक्त हरीको।। भक्ति खुब गरि त काख पनि पाए। लोकमा अधिक धन्य कहाय।। 154. जस्‌को पुजा तुलसीमात्र चढाइ गर्छन्। उस्ता पनि त भवसागर पार पर्छन्।। ई ता उनै प्रभूजीका दुत हुन् त याहाँ। सक्नुछ वर्णन गरी इनको त काहाँ।।

जय श्रीराम जय हनुमान्।।

साभारः श्री दुर्गा साहित्य भण्डार, पो.ब.नं. 1096, नेपाली खपडा, वाराणसी-221001। मुद्रक- संसार प्रेस, (संसार लिमिटेड), काशीपुरा, वाराणसी। सोच/विचार/कम्प्युटर टङ्कनः ऋद्धिप्रकाश सिटौला, कपन, काठमाण्डौ।