रेडियो र टिभीको मित्रता -बबिता शाह


बाबाले घरमा नयाँ टिभी र रेडियो ल्याउनुभयो । त्यसैले रोहन खुसी भयो । गाउँघरमा अरू कसैको पनि टिभी थिएन । गाउँले रोहनको घरमा रेडियो र टिभी हेर्न/सुन्न आउँथे । रोहनका टिभी र रेडियो पनि एकआपसमा साथी बनिसकेका थिए । उनीहरू कोही नभएको बेला आपसमा कुराकानी गर्थे, एकअर्कासँग धेरै मिल्थे । ‘तिमी निकै राम्ररी समाचार सुनाउँछौ साथी †’ टिभीले रेडियोको प्रशंसा गथ्र्यो । ‘तिमी पनि त कति रमाइला दृश्य देखाउँछौ साथी †’ रेडियो पनि टिभीलाई भन्थ्यो । केही वर्षपछि रोहनका बुबाले घरमा ‘डिभिडी प्लेयर’ ल्याउनुभयो । टिभी र रेडियो नयाँ साथी बनाउन पाउँदा खुसी भए । डिभिडी प्लेयरको स्वभाव भने उनीहरूभन्दा अलि फरक थियो । ऊ घमन्डी र झगडालु स्वभावको थियो । ऊ अरू मिलेर बसेको देख्न सक्दैनथ्यो । डिभिडी प्लेयरले टिभी र रेडियोबीच झगडा उब्जाउनेबारे सोच्यो र मौका हेरिरह्यो । एकपटक रेडियोलाई बोकेर रोहन बुबासँग खेततिर जानुभयो । टिभी घरमा एक्लो भयो, डिभिडी प्लेयरले टिभीलाई एक्लो भएको देखेर सोध्यो, ‘रेडियो खोइ त ?’ टिभीले भन्यो, ‘रेडियोलाई त रोहनको बुबाले खेततिर लानुभएको छ ।’ डिभिडीले मौका यही हो भन्दै टिभीलाई कुरा लगायो, ‘रेडियोले तिम्रो बारेमा ठीकै कुरा गरेको रहेछ । उसले तिमी त कतै घुम्न जान पाउँदैनौ भन्थ्यो । मालिकले पनि टिभीलाई भन्दा रेडियोलाई नै मन पराउँछ भन्थ्यो । टिभी त ठूलो छ । मोटे र भद्दा पनि देखिन्छ । टिभीले त लुगा पनि लगाउन पाउँदैन, नांगै बस्छ भनेर पनि भन्थ्यो । रेडियोले आफू सानो छु, चिटिक्क परेको छु, राम्रो लुगा लगाएर गाउँ पनि घुम्न पाउँछु भन्थ्यो । बिचरा † तिमीलाई सोझो दखेर त्यसले साह्रै हेप्दो रहेछ बाबै †’ डिभिडीको कुरा सुनेर टिभी गहिरो सोचमा डुब्यो । उसले भन्यो, ‘रेडियोले घुम्न र लुगा लगाउन पाउँछ भन्दैमा मलाई जे पायो त्यही भन्दो रहेछ । रेडियोभन्दा त म नै ठूलो हुँ नि । म सबै खाले कार्यक्रम देखाउँछु । समाचार, सिरियल र खेलकुद पनि देखाउँछु । मालिकले पनि खाली त्यसलाई मात्र किन बाहिर लानुभएको होला ?’ टिभी दु:खी भयो । उसलाई रेडियोदेखि खुबै रिस उठ्यो । बेलुकी रोहनको बुबा काम सकेर घर आउनुभयो । रेडियो पनि सँगसँगै घर आइपुग्यो । राति सबैजना सुतेपछि टिभीले रेडियोसँग बांगो कुरा गर्न थाल्यो । रेडियोलाई भन्यो, ‘अनि कस्तो भयो त घुमघाम साथी ? कतै तिम्रो नयाँ लुगामा खेतको हिलोमाटो त लागेन ? कतै तिम्रो सुन्दर शरीरमा धुलो त लागेन ?’ टिभीको कुरा सुनेर रेडियोलाई अचम्म लाग्यो । आजसम्म उसले यस्तो कुरा सोधेकै थिएन । रेडियोले नम्र भएर भन्यो, ‘के भयो साथी तिमीलाई ? किन यस्तो कुरा गरेको ?’ टिभीले रिसाउँदै भन्यो, ‘भयो धेरै चेपारो घसेर कुरा गर्नु पर्दैन । मलाई सबै थाहा भइसक्यो । तिमी मलाई मोटे र भद्दा भनेर गाली गर्दो रहेछौ ।’ रेडियोले आफूले यस्तो कुरा कहिल्यै नगरेको बतायो । तर, टिभीले उसको कुरा मान्दै मानेन । टिभीले रेडियोलाई जथाभावी भन्न थाल्यो । आफूले भन्दै नभनेको कुरालाई लिएर टिभीले निहुँ खोजेकामा रेडियोलाई पनि रिस उठ्यो । उसले भन्यो, ‘धेरै निहुँ नखोज है † लौ जा मैले भनेकै भए पनि के भयो त ? तिमी त्यस्तै देखिन्छौ त †’ त्यसपछि टिभी र रेडियोबीच निकै ठूलो भनाभन भयो । उनीहरूको झगडा सुनेर कोटमा रहेको मोबाइल बाहिर निस्कियो । मोबाइलले भन्यो, ‘तिमीहरू सधैँ मिल्ने साथीहरू किन यसरी झगडा गरेको ?’ टिभी र रेडियोले सुरुदेखिको कुरा मोबाइललाई बताए । मोबाइलले यो सबै डिभिडी प्लेयरको चाल हो भन्ने कुुरा बुझ्यो । त्यसपछि मोबाइलले सम्झाउँदै भन्यो, ‘हेर साथीहरू, संसारमा खुट्टा तान्नेहरू धेरै हुन्छन् । त्यसैले हामी सावधानीपूर्वक बस्नुपर्छ । डिभिडीलाई तिमीहरूको मित्रता देखेर डाहा लाग्यो । त्यसैले उसले तिमीहरूलाई नचाहिने कुरा लगायो । तिमीहरू पनि उसको कुरामा लागेर झगडा गर्न थाल्यौ ।’ टिभी र रेडियोले मोबाइलका कुरा ध्यान दिएर सुनिरहेका थिए । मोबाइलले भन्यो, ‘संसारमा कामले कोही पनि सानो र ठुलो हुँदैन । सबैको आ–आफ्नो ठाउँमा महत्त्व छ । टिभीको काम कार्यक्रम देखाउने हो । रेडियोको काम सुनाउने मात्र हो । अनि मेरो काम मानिसहरूलाई सम्र्पक गराउनु हो । हामीहरू सबै एक समान हौ । त्यसैले कहिल्यै झगडा नगरौँ ।’ मोबाइलको कुरा रेडियो र टिभीलाई साह्रै चित्त बुझ्यो । उनीहरूले डिभिडीको भनाइमा लागेर झगडा गरेकामा एक–अर्कासँग माफी मागे । उनीहरूले डिभिडीलाई पनि सम्झाए । डिभिडीले पनि गल्ती महसुस गर्‍यो । लज्जित हुँदै माफी माग्यो । त्यसपछि रेडियो र टिभीले कहिल्यै झगडा गरेनन् । सधैँ असल साथी बनी मिलेर बसे ।