प्रयोगकर्ता:देवप्रकाश शर्मा/प्रयोगस्थल

सिक्किमका बौद्ध मठहरू

सिक्किम भारतको एउटा सानो राज्य हो तर यदि तीर्थाटनको कुरा गर्ने हो भने यहाँ बौद्ध मठहरूको संख्या मात्र दुइ सयभन्दा धेरै छ। यो सुन्दा अचम्म लाग्नसक्छ, तर रुम्तेक गुम्बा र इञ्चे गुम्बाजस्ता ठूल्ठूला गुम्बाहरूबाहेक पनि यो राज्यमा यस्ता धेरैवटा गुम्बाहरू छन् जो कुनै न कुनै दृष्टिकोणबाट विशेष महत्त्व बोकेका छन्। यहाँ विशेषगरी काग्यु र न्यिङमा मतका मठहरू धेरै छन्। यहाँका गुम्बाहरूले स्थानीय मानिसहरूको जीवनशैली र संस्कार संस्कृतिलाई एउटा आकार दिने काम गरेको देखिन्छ भने यहाँका संस्कार-संस्कृति बौद्ध दर्शनद्वारा प्रभावित रहेको पाइन्छ। जताततै बौद्ध मठहरू, लामा र आनीहरू रातो वा गेरु वस्त्रमा देख्नपाइने, हातमा माला जप्दै हिँड़ेको देख्नपाइने स्थल हो यो सिक्किम। यहाँका कलाकृतिहरू पनि बौद्ध परिपाटीका छन्। यहाँ धेरैवटा बौद्ध मठहरूका साथसाथै बौद्ध स्कूलहरू छन् जहाँ बौद्धका दर्शनहरूको बारेमा पढ़ाइन्छ, सिकाइन्छ। स्थानीय अनि देश-विदेशबाट शिष्यहरू बौद्ध दर्शनबारे जान्न र सिक्न आउँछन्। बौद्ध संस्थानको यतिको उच्चस्तरसम्मको विकासको कारण सिक्किमले बौद्ध तीर्थाटन परीक्षेत्रमा समाहित हुने अवसर पाएको वा सिर्जना गरेको छ। आजको यो तीर्थाटन स्तम्भमा सिक्किमका केही प्रमुख बौद्ध मठहरूको वा गुम्बाहरूको परिचय दिने प्रयास गरिएको छ भने यसको जानकारीपछि सिक्किमका प्रमुख बौद्ध मठहरूको तीर्थाटन गर्न जोकोहीलाई पनि सहज हुनेछः- पेमायाङ्त्से मठ: यो मठ पश्‍चिम सिक्किमको गेजिङमा पर्छ। गेजिङ गान्तोकदेखि लगभग 140 किलोमिटरको दूरीमा पर्छ जुन दूरी गान्तोकदेखि सिलगढ़ीभन्दा टाढ़ा हो। पेमायाङत्सेबाट कञ्चनजङ्घाको अद्वितीय दृश्य देख्नपाइन्छ। यो मठ न्यिङमा मतमा आधारित छ भने यो मतको सबैभन्दा प्रमुख मठ यही हो र राज्यका अन्य न्यिङमा मतमा आधारित मठहरूलाई यसै मठको अधीनमा राखेर देखरेख गर्नेगरिन्छ। रुम्तेक (रूम्तेक) मठ: रूम्तेक मठ पूर्व सिक्किममै पर्छ र यो गान्तोकबाट मात्र 24 किलोमिटरको दूरीमा छ। रूम्तेकबाट गान्तोकको राम्रो दृश्यावलोकन गर्नसकिन्छ। रूम्तेकको धर्मचक्र केन्द्र सन् 1960-को दशकमा 16औं ग्याल्वा कर्मापाले बनाउन लगाएका हुन्। तिब्बतमा चीनको अतिक्रमणपछि तिनी सिक्किममा शरणागत भएको बेला यो धर्मचक्र केन्द्र बनाइएको हो। यो धर्मचक्रमा विश्‍वकै प्राचीन र विशिष्ट कलाका नमुनाहरू देख्नपाइन्छ। इञ्चे मठ: यो मठ राजधानी गान्तोकदेखि केही दूरीमा गान्तोकको सिरानमा छ। थुटोब नामग्यालको शासनकालमा यो मठ निर्माण गरिएको हो। यो पनि राज्यका प्रमुख मठहरूमध्ये एक हो। फेन्साङ मठ: सन् 1721-मा जिग्मे पाओको कालमा बनाइएको यो प्राचीन र महत्त्वपूर्ण मठ सन् 1947-को आगलागीमा पूर्णरूपमा क्षतिग्रस्त भएको थियो तर सन् 1948-मा यसको पुनर्निर्माण गरियो। यो मठ उत्तर सिक्किममा पर्दछ। फोदाङ मठ: यो पनि उत्तर सिक्किममै पर्ने एउटा मठ हो जुन राजधानी गान्तोकबाट लगभग 28 किलोमिटरको दूरीमा पर्छ। यो मठको पनि पुनर्निर्माण गरिएको हो र कलाकारिताको हिसाबमा यो मठ एउटा नमूना हो। टासिडिङ मठ: न्यिङमा मतको अर्को महत्त्वपूर्ण मठ टासिडिङ मठ हो जुन पश्‍चिम सिक्किमको गेजिङबाट लगभग 40 किलोमिटरको दूरीमा लेगसेप मार्गमा पर्दछ अथवा दक्षिण सिक्किमको जोरथाङबाट यो मठ नजीक पर्दछ। यहाँ सदैव हावामा फर्फराइरहने लुङदरहरू र यहाँबाट देखिने राथुङ चु (नदी) र रङ्गीत नदीको दृश्यले साँच्चै यो शान्तिकुञ्ज हो भन्ने भान पर्दछ। सङ्घ-छ्योइलिङ मठ: यो मठलाई सिक्किमको सबैभन्दा पुरानो मठ मानिन्छ जुन सन् 1697-मा निर्माण गरिएको हो। पेमायाङत्सेबाट सात किलोमिटरको दूरीमा यो मठ पर्छ। दुब्दी मठ: ई.स. 1700 -मा निर्माण गरिएको पुरानो मठ हो यो जुन योक्सम नजीक डाँड़ाको टाकुरामा अवस्थित छ। तर यहाँ पुग्नलाई पैदल यात्रा गर्नैपर्छ। खेचीपारी मठ: योक्सममै अवस्थित अर्को प्रमुख मठ हो यो। मल्ली मठ: योक्सम नजीक पर्ने यो पनि एउटा प्रमुख मठ हो। सिनों मठ: टासिडिङबाट 10 किलोमिटर टाढ़ा एउटा डाँड़ाको टाकुरामा अवस्थित यो मठ पनि सिक्किमको निक्कै पुरानो मठ हो। यो मठ सन् 1716-मा निर्माण गरिएको हो। सिनोंको अर्थ ‘अतिभयमाथि विजय’ हुन्छ। डालिङ मठ: किउजिङ नजीकको सन् 1840-मा निर्मित मठ हो डालिङ मठ। डालिङको अर्थ ‘वज्र’हुँदछ। याङयाङ मठ: राभङ्लाबाट 10 किलोमिटरको दूरीमा सन् 1840-मा निर्मित यो मठ पनि एउटा प्राचीन बौद्ध मठ हो। नाम्ची मठ: पश्‍चिम सिक्किमको मुख्यालय नाम्चीमा पर्ने नाम्ची मठ छोग्याल गुर्मेद नामग्यालले बनाउन लगाएको प्राचीन मठ हो। किउजिङ मठ: दक्षिण सिक्किमको किउजिङमा पर्ने यो मठको निर्माण छोग्याल थुटोब नामग्यालले गर्नलगाएका थिए। सिमिक मठ: पूर्व सिक्किमको प्रमुख वाणिज्यिक शहर सिङ्ताम नजीकको मठ यहाँको महत्त्वपूर्ण बौद्ध संस्थान हो। यो छोग्याल त्सुत्फुद नामग्यालले बनाउन लगाएको मठ हो। हि-ग्याथाङ मठ: हि-ग्याथाङमै पर्ने यो मठ न्यिङमा मतमा आधारित बौद्धमार्गीहरूको एउटा प्रमुख मठ हो। लिङतेम मठ: यो उत्तर सिक्किमको जङ्गु क्षेत्रमा पर्दछ। चेवाङ आनी मठ: गान्तोक-मगन मार्गमा पर्ने पेन्साङमा अवस्थित यो मठ पनि छोग्याल त्सुत्फुद नामग्यालकै पालामा निर्माण गरिएको हो। रिनाक मठ: रिनाक क्षेत्रमा पर्ने यो मठ पुग्न गान्तोकबाट 63 किलोमिटर दूरीको यात्रा तय गर्नुपर्छ। खातोक मठ: पूर्व सिक्किमको पाकिममा पर्ने यो प्राचीन मठको अहिले ढाँचा छोग्याल थुटोब नामग्यालको पालामा बनाइएको हो। बर्मेक मठ: सिङ्तामदेखि केही टाढ़ा दक्षिण सिक्किममा पर्ने यो मठ सन् 1952-मा न्यिङमा मतका बौद्धमार्गीहरूले बनाएका हुन्। लाचेन मठ: उत्तर सिक्किमको यो मठ पनि न्यिङमा मतमा आधारित मठ हो जुन सन् 1806-मा निर्माण गरिएको हो। लाचुङ मठ: उत्तर सिक्किमको, सन् 1880-मा निर्मित न्यिङमा मतको मठ। सङ्घ मठ: रुम्तेक नजीकको यो मठ सन् 1912-मा निर्माण गरिएको हो। रालोङ मठ: यो मठ दक्षिण सिक्किमको राभङ्लामा पर्छ॥