पाटनको अद्वितीय कृष्ण मन्दिर

काठमाडौँ उपत्यका प्राचीनकालदेखि नै कला र सुसंस्कृतिका लागि सुप्रसिद्ध रहँदै आएको छ। मल्लकालको एउटा कालखण्डमा आइपुगेर यो उपत्यका तीन राज्यहरूमा विभाजन हुन पुग्यो। ती राज्यहरू कान्तिपुर (काठमाडौँ, नेपाल भाषामा येँ), ललितपुर (पाटन, नेपाल भाषामा यल:) र भक्तपुर (भादगाउँ, नेपाल भाषामा ख्व:प) थिए। जहाँ राज्य गर्ने राजाहरु आफ्ना आफ्ना राज्यलाई कलाकौशलमा अग्रणी पार्ने होड गर्थे। यसैले आजभोलि सम्म पनि काठमाडौँ उपत्यकाका यी तीनै शहरहरुमा धार्मिक कलाकृतिहरु यथेष्ट पाइन्छन् । यहाँ हिन्दू तथा बौद्ध मन्दिर तथा गुम्बाहरू पाइन्छन्। यी कलाहरूलाई मल्लकालीन सिद्धहस्त कालीगढ़हरूले सिंगारेर आफ्नो कलाकारिताको परिचय दिएका छन्। यसै सिलसिलामा ललितपुर अर्थात् मल्लकालको पाटन राज्यले पनि एउटा अद्वितीय र अनुपम मल्लकालीन कालीगढीको उत्तम नमुना पेश गरेको छ। ती उत्कृष्ट कलाकृतिमध्ये कृष्ण मन्दिर एक हो।

कृष्ण मन्दिर एक अनुपम कलाकृति

सम्पादन गर्नुहोस्

मल्लकालीन पाटन राज्यको कृष्ण मन्दिर हाल ललितपुर जिल्लाको पाटन स्थित मङ्गलबजार दरबार क्षेत्रमा अवस्थित छ। यो मन्दिर विक्रम सम्वत् १६९३ फागुनमा बनेको हो। यो मन्दिर पाटनका राजा सिद्धिनरसिंह मल्लले बनाउन लगाएका हुन्। यी राजा महान धार्मिक प्रवृत्तिका र कृष्णका ठूला भक्त थिए। यसैले यिनले २१ गजुरसहित कृष्ण मन्दिरमा राधाकृष्णको सुन्दरमूर्ति स्थापना गरेका थिए। यो मन्दिर यस्तो उत्तम कालीगढीको नमुना भएर रहेको छ कि चारै दिशाबाट हेर्दा पनि उस्तै स्वरूपको देखिन्छ।

यो मन्दिरको पूर्वपट्टि एउटा दरबार छ। यो ललितपुर दरबार हो। यही दरबारबाट पाटनका राजाहरूले राज्य गर्दथे। यो दरबार अगाडि एउटा सालिक छ। त्यो सालिक ललितपुरका राजा योगनरेन्द्र मल्लको हो । मन्दिरको उत्तरपट्टि एउटा सानो कलात्मक मन्दिर छ। यस मन्दिरमा भीमसेन देवताको मन्दिर छ। कृष्ण मन्दिरको वरिपरि एउटा फराकिलो चोक छ। हाल त्यो चोक विभिन्न सामानहरूको बिक्री गर्ने बजार बनेको छ। यस मन्दिरको वरिपरि अरु देवी देवताको ससाना थुप्रै मूर्ति र मन्दिरहरू स्थापना गरिएका छन्।

मन्दिरको स्वरूप तथा प्रवेशद्वार

सम्पादन गर्नुहोस्

कृष्ण मन्दिर शिखर शैलीमा निर्माण भएको छ। यसका चारै दिशामा २० वटा गजुर सजिएका छन्। मन्दिरको छानामा माथि एउटा ठूलो गजुर पनि छ। यो मन्दिर जम्मा चार तल्ले छ। यस मन्दिरको प्रवेशद्वार पूर्वपट्टि छ।

कृष्ण मन्दिरमा प्रवेश गर्दा छालाको जुत्ता लगाई प्रवेश गर्न तथा कुनै पनि किसिमको क्यामेरा साथमा लग्न पूर्ण निषेध गरिएको छ। यस मन्दिरको तेस्रो तल्लामा राधाकृष्णको सुन्दरमूर्ति छ। यस मन्दिरको भित्ताहरूलाई मल्लकालीन सिद्धहस्त कलाकारहरूले रामायण र महाभारतका महत्वपूर्ण घटनाहरूको चित्रकुँदेर सजाएका छन्। यो कृष्ण मन्दिर एउटै विशाल ढुङ्गालाई कालीगढहरूले कुँदेर निर्माण गरेका थिए भन्ने रोचक किम्बदन्ती छ।

धार्मिक आस्था

सम्पादन गर्नुहोस्

कृष्ण मन्दिरमा सधैँजस्तो भक्तजनहरू श्रीकृष्ण भगवानको भजन गाइरहेका तथा स्तुति गरिरहेका भेटिन्छन्। कृष्ण अष्टमीका दिन भने यहाँ असाध्यै धुइरो लाग्छ। उक्त दिन भगवान श्रीकृष्ण जन्मेका थिए भन्ने धार्मिक मान्यता छ। त्यसैले यस दिनलाई कृष्ण जन्माष्टमी पनि भनिन्छ। यस दिन कृष्ण मन्दिरमा विशेष रूपले देशका विभिन्न भूभागबाट टाढा टाढाका भक्तजनहरू कृष्ण मन्दिरमा दर्शनार्थ भिड लाग्दछ। त्यस दिन यहाँ राष्ट्रध्यक्षद्वारा कृष्ण मन्दिरको दर्शन गरिन्छ।

धार्मिक मान्यता अनुसार श्रीकृष्ण भनेका भगवान विष्णुका दश अवतारमध्ये एक अवतार हुन्। यिनले पृथ्वीलाई पापमुक्त पार्न मानव अवतार लिएका थिए। यिनी पनि साधारण रुपमा मानवै थिए। भित्री रूपमा भने विभिन्न दैवी शक्तिका स्वामी थिए। जुन शक्तिले यिनले पापिष्ट र दुष्ट राक्षसहरूको नाश गरेर पृथ्वीमा शान्ति र सुख फैलाएका थिए। भगवान श्रीकृष्णका यिनै महत्त्वले नै सिद्धिनरसिंह मल्ल उनका ठूला भक्त भएका थिए र यिनले कृष्णको भव्य मन्दिर बनाउन लगाए भन्ने अनुमान गरिएको छ।

त्यसैले भगवान श्रीकृष्ण हिन्दुहरूका ठूला देवता हुन्। कृष्ण मन्दिरको ठूलो धार्मिक महत्व छ। यति मात्र नभई कृष्ण मन्दिरले ठूलो ऐतिहासिक सांस्कृतिक र कलाकृतिका शिल्पकारिताका दृष्टिले ठूलो महत्व राख्दछ। त्यसैले कृष्ण मन्दिरको सम्बर्धन र संरक्षण गर्नु अति जरुरी छ र हुँदै आइरहेको छ।