नेपालमा महिला रेडियोकर्मी

नेपालमा महिला रेडियोकर्मी भन्नाले रेडियोमा कार्यरत भई पत्रकारिता एवम् अन्य कार्यक्रमहरू सञ्चालन गर्ने नेपाली महिलाहरूलाई बुझाउँछ ।

 
एक नेपाली महिला रेडियो कार्यक्रम सञ्चालन गर्दै

नेपाली सञ्चार क्षेत्रमा महिलाको उपस्थिति पुरुषको तुलनामा कम छ । तर भएका मध्ये सबैभन्दा बढी महिला रेडियोमा कार्यरत छन् । काठमाडौँ र काठमाडौँ बाहिर स्थापना भएका एफ एम रेडियोहरुका कारण पनि रेडियोमा महिला उपस्थिति बढेको पाइन्छ । प्रतिस्पर्धी र चुनौतीपूर्ण पेशा मानिने पत्रकारितामा महिलाको संख्या अरु उस्तै पेशाको अनुपातमा गतिलै देखिन्छ । समग्र पत्रकारिताका समस्यामा रेडियोमा काम गर्ने सञ्चारकर्मी महिला पनि मुछिएकै छन् । सुरक्षा तथा सेवा, सुविधाका हिसावले समग्र पत्रकारितामा जुन समस्या छ त्यसबाट सञ्चारकर्मी महिला टाढा हुने कुरै भएन । तर महिला सञ्चारकर्मीका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाहरूले विभिन्न घटनाहरूका आधारमा पनि पत्रकारितामा महिला अझ बढी असुरक्षित रहेको बताइरहेका छन् । सेवा सुविधाका हिसाबले भने काठमाडौँमा कार्यरत सञ्चारकर्मी महिलाको अवस्था तुलनात्मक रूपमा दयनीय नै नभएको केही अध्ययनले देखाएका छन् ।

वि.सं. २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापना भएपछिको परिवर्तनको रूपमा पनि रेडियोमा सञ्चारकर्मी महिलाको उपस्थिति बढेको मान्न सकिन्छ । २०४९सालमा जारी भएको राष्ट्रिय प्रसारण ऐनले निजी तथा स्वतन्त्र रेडियो स्थापना गर्न पाउने व्यवस्था कार्वान्वयन भइ रेडियोहरु स्थापना हुन थालेपछि रेडियोमा महिला सञ्चारकर्मी बढेका हुन् । विद्युतीय सञ्चार माध्यममा फ्रिक्वेन्सी मोडुलेसन अर्थात एफ् एम् रेडियो सञ्चालनको लहर चलेको छ । राजधानीदेखि मोफसलसम्म सामुदायिक, सहकारी र व्यापारिक प्रयोजनका निजी एफ् एम् रेडियो सञ्चालनमा आए । ती रेडियो प्रसारणहरूमा स्वर सन्तुलनका लागि पनि पुरुषको हाराहारीमा महिलाले प्रवेश पाएका छन् । (सञ्चारकर्मी महिलाको अवस्था २०६२:३)[]

सञ्चारिका समूहले गरेको एक अध्ययनमा विद्युतीय सञ्चार माध्यममा कार्यरत मध्ये एफ एम रेडियोमा काम गर्ने ६५ प्रतिशत भन्दा बढी छन् । त्यो अध्ययनका अनुसार ए एम(एम्पिच्यूड मोडुलेसन) अर्थात रेडियो नेपालमा काम गर्ने १२ प्रतिशत छन् । ए एम रेडियो रेडियो नेपाल मात्रै हो । करिब एक दशक अघिको त्यो अध्ययनले विभिन्न सञ्चार माध्यममा काम गर्ने महिला सञ्चारकर्मी मध्ये सबै भन्दा बढी काठमाडौँमा र त्यसपछि क्रमशः कास्की, बाँके, सुनसरीचितवन जिल्लामा पाइएको थियो । स्नातक अध्ययन गर्ने महिला सञ्चारकर्मी ३८ प्रतिशत, प्रविणता प्रमाणपत्र तहका ३३ प्रतिशत र स्नातकोत्तर अध्ययन गर्ने १५ प्रतिशत सञ्चारकर्मी रहेको उसको तथ्यांक छ ।

सञ्चारकर्मी महिला मध्ये सबैभन्दा बढी कार्यरत रहेको काठमाडौँ उपत्यकामा पनि छापा, अनलाईन र टेलिभिजनमा कार्यरतको तुलनामा रेडियोमा नै धेरै छन् । सञ्चारिका समूहले २०६८ सालमा प्रकाशन गरेको काठमाडौँ उपत्यकामा कार्यरत महिला सञ्चारकर्मीको अवस्था अनुसन्धान प्रतिवेदनमा टेलिभिजनमा २६ प्रतिशत, छापामा ३२ प्रतिशत महिला सञ्चाकर्मी रहेकोमा रेडियोमा सबैभन्दा बढी ४२ प्रतिशत छ । विविध सञ्चार संस्थामध्ये अधिकांश महिलाको प्रथम रोजाइमा विद्युतीय सञ्चार माध्यम रेडियो परेको पत्ता लागेको छ । समग्र महिलाको विविध सञ्चार माध्यममा आवद्धतामा रेडियो प्रथम स्थानमा रहनुका पछाडि रेडियोमा अन्य सञ्चार माध्यम भन्दा सुविधा तथा सेवाको हिसाबले सहज रहेको पाइएको छ ।[](काठमाडौँ उपत्यकामा कार्यरत महिला सञ्चारकर्मीको अवस्था अनुसन्धान प्रतिवेदन २०६८ को ठहर हो । यस्तै यहा उक्त प्रतिवेदन अनुसारका तथ्याङ्क समावेश गरिएका हुन् । अहिले अवस्था फरक भएको हुनसक्छ । तर यसबारे यथार्थ सार्वजनिक भएको छैन । )

सञ्चारकर्ममा लाग्नेहरु धेरै युवा पुस्ताका छन् । रेडियोमा काम गर्ने महिलाहरू पनि धेरै युवा नै छन् । उपत्यकामा काम गर्ने सञ्चारकर्मी महिलाहरू धेरै २० देखि ३० वर्ष उमेर समूहका छन् । अध्ययनका अनुसार ४६ प्रतिशत महिला सञ्चारकर्मी यो उमेर समूहका छन् । बीस वर्ष मुनिका जम्मा तीन प्रतिशत महिला सञ्चारकर्मी उपत्यकामा कार्यरत रहेको त्यो अध्ययनले देखाएको छ । ३० वर्ष नाघेका महिला भने उपत्यकामा १६ प्रतिशत कार्यरत छन् । यी मध्ये ३३ प्रतिशत अविवाहित, ३० प्रतिशत विवाहित छन् भने २ प्रतिशत एकल महिला उपत्यकाका सञ्चार माध्यममा कार्यरत छन् ।

यो संख्याको अनुपातमा सञ्चारकर्मी महिलाको पदीय दायित्व भने सन्तुलित देखिदैन । यो अध्ययनले उपत्यकामा कार्यरत अधिकांश सञ्चारकर्मी महिला कनिष्ट पदमा छन् । उक्त अध्ययनले डेस्क एडिटरमा ६ प्रतिशत, सम्पादक पदमा ३ प्रतिशत मात्र सञ्चारकर्मी महिला रहेको देखाएको छ । रेडियोका सवालमा २७ प्रतिशत महिला सञ्चारकर्मीले समाचार पढिरहेको र प्रस्तोताका रूपमा १० प्रतिशत कार्यरत रहेको त्यो अध्ययनको ठहर छ ।

तर पछिल्लो समय यसमा सुधार आएको देखिन्छ । रेडियो सञ्चालनमा सञ्चारकर्मी महिला संगठित भएका उदाहण पनि छन् । नेपालमा केही रेडियोहरु महिलाहरूले मात्रै पनि सञ्चालन गरेका उदाहरण छन् । यो समग्र उपस्थिति बढाउने र सन्तुलनका लागि भन्दा पनि गर्न सक्छौ भन्ने आटको पुष्टि गर्ने रूपमा लिइएको पनि पाइन्छ । २०६४ सालदेखि सञ्चालनमा रहेको विराटनगर स्थित रेडियो पूर्वाञ्चलमा कार्यरत सबै महिला छन् ।

महिला पुर्नस्थापना केन्द्र(ओरेक)ले उदयपुरमा रेडियो उदयपुर सञ्चालन गरेको छ । बुटवलको रेडियो मुक्ति, पर्वतको रेडियो दिदीबहिनी तथा जुम्लाको नारी आवाज महिलाले सञ्चालन गरेका रेडियो हुन् । सञ्चालक समिति समेत पनि महिला मात्रै भएको रेडियो मुक्ति र रेडियो दिदीबहिनी हुन् ।

  • यो सामग्री (विकिपिडियामा सार्वजनिक हुनु भन्दा)केही वर्ष अघि सार्वजनिक भएका प्रतिवेदनहरूमा आधारित छन् । वर्तमान समयमा तथ्यांकहरु घटबढ भएका हुन सक्छन् ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. sancharika samuha (२०६३), rediokarmi mahila, sancharika samuha। 
  2. kathmanduka upatyekama karyarat mahila sancharkarmi ko abastha (२०६८), kathmanduka upatyekama karyarat mahila sancharkarmi ko abastha 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्