नेपालको पश्चिमी पहाडि भेक तिर , विशेषत: रुकुममा साउनको राँके संक्रान्तिका दिनदेखि सुरु गर माघे संक्रान्तिका दिन सम्म नाचिने नाच लाई नचारु भन्ने गरिन्छ। रन्मामैकोट, तकसेरा, हुकाम, महत, जाङ, मोंराबाङ, काँक्री लगायतका एक दर्जनभन्दा बढी गाविसमा नाचिने तीन सय वर्ष पुरानो परम्परा रहेको विश्वास गरिएको र स्थानीय मगर बस्तीमा अत्यन्तै लोकप्रिय रहेको सो नाचलाई रुकुम जिल्लाको ठूलो गहनाका रूपमा लिने गरिन्छ। ढुंगा र तरबारको धारलाई छोएर कसम खाई सो नाचको सुरुवात गर्ने चलन छ । नाच अन्तर्गत सुरुका साढे चार महिना हरेक दिन साँझपख आ-आफ्नै गाउँमा नाचिने गरिए पनि १२ मंसिरदेखि आफ्नो गाउँ छोडेर छिमेकी गाउँमा गएर नाच्ने परम्परा रहेको छ। पुस महिनाभर अर्काको गाउँमा नाचेर सो महिनाको मसान्तमा विशेष कार्यक्रम गरेर माघे संक्रान्तिका दिन राँगाको बलि दिई पूजाआजा र भोजभतेर गरेर यसको समापन गरिने गरिएको छ। मगर गीत गाउँदै विभिन्न भेषभूषामा सजिएर देउसीभैलो जस्तै गरी पन्ध्रदेखि बीसजनाको समूहमा घर-घरमा गइ नाचिने नाचमा द्माहा, मादल, नरसिंह जस्ता पुराना बाजाको प्रयोग गरिन्छ। यो नाच नाच्दा मगरबस्तीमा महामारी नपस्ने, कुलदेवता खुसी हुने, गाउँमा शान्ति छाइरहने विश्वास रहँदै आएको छ।