धर्मपोखरा गुल्मी जिल्लाको बलेटक्सार गा‍विस वडा न‌ ७ मा पर्ने एक गाउँ हो । यो समुद्री सतहदेखि १४६५ मीटरको उचाइमा रहेको शीतल हावापनि भएको एक रमणीय गाउँ हो । २७ ५९ ५५ N ८३ २२ ७९E को अक्षांश र देशान्तर मा अवस्थित यो गाउँबाटै बलेटक्सार र दिगाम गाविस सिमाना छुट्टिन्छ । तानसेन देखि तम्घास जाने पक्की सडकमै तानसेनबाट करीव ४७ कि.मी.मा पर्ने यो गाउँ श्री श्रृङ्गेश्वर तपोभूमी लेखको काखमा अवस्थित छ । उक्त तपोभूमीमा त्रेता युगमा भगवान श्रीरामले यात्रा गर्नुभएको र दशरथ राजालाई पुत्रेष्टी यज्ञ गराउने श्रृङ्गी ऋषिले केही समय तपस्या समेत गरी रेसुङ्गा तर्फ लाग्नुभएको धार्मिक महिमा छ । त्यसैले यस पावन क्षेत्रमा बसोवास गर्ने समुदायका मानिसहरु अत्यन्तै भाग्यमानी छन् ।

उत्तरतिरको अन्नपूर्ण मनास्लु पर्वत हिमश्रृङ्खला सोझै देख्न पाइने यो गाउँमा हिमालयबाट आउने स्वच्छ हावा वहीरहने हुनाले वातावरणीय हिसावले स्वच्छ र शीतल हावापानी भएको ठाउँ भनेर चिनिन्छ ।