प्राचिन किरात भूमि वल्लो किरात(पूर्वमा सुनकोशी देखि पश्चिममा त्रिसुली नदिसम्म र दक्षिणमा मकवानपुरजिल्लाको चित्लाङदेखि उत्तरमा रसुवा जिल्लाको गोसाँइकुण्डसम्मको भूभाग) भित्र र आसपासका जिल्लाहरु मकवानपुर, नुवाकोट, काभ्रे, चितवन, धादिङ, सिन्धुली आदिको भूभागमा आधार इलाका बनाई सदियौँदेखि हाल सम्म निरन्तर बसोबास गर्दै आफ्नै प्रकारको परम्परा मूल्य मान्यताहरु रहेका भूमिपुजक भूमिपूत्र राईहरु नै किरात देवास राई हुन् । नेपाल एकिकरण पूर्व कालखण्डमा मुकुन्द सेनका रानी महिमवतीतर्फका कान्छा छोरा लोहांग सेनको राज्य संचालनको समयमा मकवानपुर राज्य पूर्वमा विजयपुर र दक्षिणमा भारतको चम्पारण सम्म फैलिएको थियो l त्यसताका वल्लो किरात भूमि मकवानपुरका चौतारिया बाजहाङ राय (बाजू राय ) र उनका छोरा चौतारिया विद्याचन्द्र राय , विजयपुर चौदण्डीका चौतारिया अगमसिँह राई, धुलिखेल चौकटका राजा महेन्द्रसिंह राई, नाम सिं राई, माझ किरातका अटल राई, चितन राई, अगमासी चम्लोंङ राई थिए l यिनै चौतारियाहरु तथा राजाका सन्तानहरुनै देवास राई भएको अग्रज पुर्खाहरु बताउछन् ।

5th सम्मेलन

मकवानपुरका देवास राईको संक्षिप्त परिचय

      नेपाल एक बहुजाति, बहुभाषी तथा बहुसंस्कृति  भएको राष्ट्र हो l एघारौ राष्ट्रिय जनगणना २०६८ को जनगणनामा  नेपालका १२५ जातजातिहरुको अभिलेखीकरण भएको पाइन्छ l यी जातजातिहरुको आफ्नै मौलिक भाषा, धर्म, संस्कृति, प्रथा, परमपरा तथा मुल्यामान्यताहरु रहेकाछन् l  आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा २ को खण्ड "क" अनुसार नेपालमा रहेका  ५९ विभिन्न जातजातिहरुलाई आदिवासी जनाजजतीको रुपमा सूचिकृत गरेको छ l एघारौ जनगणना अनुसार नेपालमा बोलिने भाषा संख्या जम्मा १२३ ओटा रहेको उल्लेख छ l त्यस्तै  भाषा आयोगको अध्ययनबाट  पुन: ६ ओटा नयाँ भाषा पहिचान भयो l नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ । चुम (स्यार) र नुब्री (लार्के) दुईवटा भाषा गोरखामा बोलिने पाइएको हो । यो  संगै  २०७६ कार्तिक १८ गतेदेखि नेपालमा बोलिने भाषा संख्या १२३ बाट १२९ ओटा पुगेको थियो  l  भाषा आयोगको २०७६/७७ प्रतिवेदन अनुसार मारेक(याक्खा) र नावा शेर्पा थप दुई नयाँ भाषाहरु पहिचान भएको प्रतिवेदनमा उल्लेख छ l  नयाँ थप दुई भाषा थपिएसँगै नेपालमा बोलिने भाषाहरुको संख्या हाल १३१ पुगेको हो l (१२ औं राष्ट्रिय जनगणनाको विस्तृत विवरण सहितको प्रतिवेदन सार्वजनिक हुन बाँकी)
        आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार  सूचिकृत ५९ आदिवासी जनजातीहरु मध्ये एक जाति राई पनि हो l  राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा राईहरुको जनसंख्या ६,२०,००४ जना भएको तथ्यांकमा उल्लेख छ l यो कुल जनसंख्याको २.३४ प्रतिशत (%) हो l जनसंख्याको आधारमा नेपालको १० औं ठूलो जातिको रुपमा किरात राईलाई चिनिन्छ l (१२ औं राष्ट्रिय जनगणनाको विस्तृत विवरण सहितको प्रतिवेदन सार्वजनिक हुन बाँकी)l राई जाति वहु भाषिक जाति हो l यो जातिमा थर सबैको एउटै लेखेता पनि बोल्ने भाषामा भने विविधता पाइन्छ l 
किरात राई जाति बारे कलम चलाउने धेरै इतिहास विद, समाजसास्त्री तथा मानवशास्त्रीहरु छन् l तर राई जाति  र राई शब्दमा भने लेखकहरुको विचार तथा परिभाषा बीच मतभेद रहेको पाइन्छ l  राईहरुको बसोबास विशेषगरी नेपालको  पूर्वी क्षेत्रमा रहेको पाइन्छ  l तर  हाल देशभरिनै  छरिएर बसेको पाइन्छ l किरात राई समुदायभित्र पनि विभिन्न जातिहरु रहेको पाइन्छ l यिनीहरुको भाषा, संस्कृति, प्रथा, मुल्यामान्यताहरु पनि ठाउँ विशेष अनुसार फरक फरक छन् l पूर्वकालमा विभिन्न कारणले एक अर्कासंग छुट्टीएका यी राईहरु बसोबास गरी बसेका ठाउँको परिवेशले प्रभाव परेको पाइन्छ l जसलेगर्दा  राई समुदायहरु बिचको एक अर्का थरीसंग भाषा, संस्कृति र मुल्यामान्यताहरु केहि सामिप्यता छ तर केहिको भने  विल्कुल फरक पाइन्छ l बसोबास गर्ने गरेका  भौगोलिक क्षेत्र, हावापानी अनुसार शारीरिक बनावट र रुपरंग पनि राईहरुको फरक फरक देखिन्छ l किरात राईहरुको सर्वोच्च संस्था किरात यायोक्खा अन्तर्गत आवद्ध भएका किरात राई समुदायका राईजातिहरुमा - आठपहरिया, वान्तवा, चाम्लिङ, खालिङ, कुलुङ, थुलुङ, कोयु, छुक्वा/पोहीङ्, छिन्ताङे,तिलुङ, वाम्बुले,जेरुङ, देवास, छिलीङ/छुला, नाछिरिङ, याम्फु, पुमा,दुमी,दुङ्माली, बेलहरी,मुगाली, मेबाहाङ, वाहिङ,बुङ्ला,फाङदुवाली, लोहरुङ, साम्पाङ, सोताङ र साम् गरी जम्मा २९ पुगेका छन् l तर राईजातिका खोज अनुसन्धानकर्ताहरुका अनुसार यहिनै अन्तिम नभएको बताउछन्  l अनुसन्धानकर्ताहरुका  अनुसार राईहरुका अन्य थप जातिहरु पनि छन् जो सम्पर्कमा छैनन् , आफ्नो इतिहास पहिचान गर्न सकेका छैनन् जसले गर्दा गुमनामको अवस्थामा छन् l       

यहाँ राईजाति को हुन् ? भने विषयलाई भन्दा पनि किरात राई अन्तर्गतको एक जाति देवास राईजातिको विषयलाई उत्थान गर्ने प्रयास गरिएको छ l kiratdewasrai.comको प्रारम्भिक खोज तथा अनुसन्धान अनुसार यो जाति विशेष गरी मकवानपुर,सिन्धुली, रौतहट, बारा, चितवन, धादिङ, नुवाकोट, ललितपुर , काठमान्डौ लगायत अन्य केही जिल्लाहरुमा पनि बसोबास गरेको पाइन्छ l किरात देवास राई उत्थान समाजको अध्ययन अनुसन्धान अनुसार मुलुकभर देवास राईहरुको जनसंख्या एकलाख भन्दा बढी रहेको अनुमान छ l यस देवास राईजाति बिच विविध कारणले लामो समयसम्म एक अर्का समुदायहरु संग सम्पर्क नहुनु, साथै हालको मिश्रित समुदायको प्रभावका कारण यस जातिको आफ्नो मौलिकता संरक्षणमा आवश्यक प्रयास नहुँदा भाषा तथा संस्कृतिनै लोपहुँदै गएको अनुमान गर्न सकिन्छ l जसको परिणाम देवास राई जातिले बोल्ने आफ्ना भाषा, कला, संस्कृति, मुल्यमान्यताहरु संरक्षणको अभावले ठाउँ अनुसार केहि फरक रहेको पाइन्छ l किरात देवास राईजातिको अध्ययनको क्रममा आज यहाँ मकवानपुर जिल्लाको पूर्वी भेग साविक राईगाउँ गा.वि,स. र हालको बागमती गाउँपालिकामा सदियौं वर्षदेखि बसोबास गर्दै आएका देवास राईहरुको बारेमा छोटो चर्चा गर्ने प्रयास गरिएको छ l यो प्रारम्भिक अध्ययन भएकोले सबै विषय वस्तु समेटिने अवस्था छैन l यस अध्ययन पश्चात अर्को चरणमा थप विषय वस्तु संगै अध्ययनको क्षेत्र बढाउने प्रयास गरिने छ l देवास राई को हुन् ? प्राचिन किरात भूमि वल्लो किरात(पूर्वमा सुनकोशी देखि पश्चिममा त्रिसुली नदिसम्म र दक्षिणमा मकवानपुर जिल्लाको चित्लाङदेखि उत्तरमा रसुवा जिल्लाको गोसाँइकुण्डसम्मको भूभाग) भित्र र आसपासका जिल्लाहरु मकवानपुर, नुवाकोट, काभ्रे, चितवन, धादिङ, सिन्धुली आदिको भूभागमा आधार इलाका बनाई सदियौँदेखि हाल सम्म निरन्तर बसोबास गर्दै आफ्नै प्रकारको परम्परा मूल्य मान्यताहरु रहेका भूमिपुजक भूमिपूत्र राईहरु नै किरात देवास राई हुन् । नेपाल एकिकरण पूर्व कालखण्डमा मुकुन्द सेनका रानी महिमवतीतर्फका कान्छा छोरा लोहांग सेनको राज्य संचालनको समयमा मकवानपुर राज्य पूर्वमा विजयपुर र दक्षिणमा भारतको चम्पारण सम्म फैलिएको थियो l त्यसताका वल्लो किरात भूमि मकवानपुरका चौतारिया बाजहाङ राय (बाजू राय ) र उनका छोरा चौतारिया विद्याचन्द्र राय , विजयपुर चौदण्डीका चौतारिया अगमसिँह राई, धुलिखेल चौकटका राजा महेन्द्रसिंह राई, नाम सिं राई, माझ किरातका अटल राई, चितन राई, अगमासी चम्लोंङ राई थिए l यिनै चौतारियाहरु तथा राजाका सन्तानहरुनै देवास राई भएको अग्रज पुर्खाहरु बताउछन् ।

देवास राई किन भनियो ?

यस जातिको आफ्नो छुट्टै प्रकारको भाषा, संस्कार, संस्कृति तथा धर्म, परम्परा मूल्य मान्यताहरु रहेको पाइन्छ l यो जातीय समाजमा पहिला देखिने गरिने कुलपूजा तथा खेललाई  देवास भन्ने गरिन्छ l

परापूर्व कालमा शिकार जानु अघि देवास बसेर शिकार कहाँ पाइन्छ त्यसको जोखाना हेरी शिकारमा निस्कन्थे l कुनै शुभकार्य गर्न पूर्व तथा खेतीपाती लगाउँदा प्राकृतिक प्रकोप, रोगब्याधबाट जोगाउन र नयाँ बालीनाली भित्र्याउदा इष्टदेव खुशी पार्नका लागि देवास बस्ने प्रथा यस समुदायमा रहेको कारण यस जातिलाई देवास राई भनिएको हो भनी अग्रज पुर्खाहरु बताउछन् । पुस्तान्तरणसंगै यस्ता संस्कार तथा संस्कृति हस्तान्तरण हुन नसक्दा विस्तारै हराउदै गएको छ l किरात देवास राई उत्थान समाज नेपालको अध्ययन अनुसार यो जातिको प्रमुख बसोबासको थलो मकवानपुर, सिन्धुली, काभ्रे, नुवाकोट अर्थात् वल्लो किरात क्षेत्रहरुलाई मुख्य रुपमा मानिएको पाइन्छ l यस अतिरिक्त हाल रौतहट, सर्लाही, बारा, चितवन, धादिङ, ललितपुर काठमाडौं, उपत्यकाका विभिन्न स्थानमा पनि यो जातिको बसोबास छ l

यो जातिले आफूहरुलाई किरातकालिन समयको उपत्यकाबासी किरातका सन्तान मान्ने गर्दछन् l अन्य जातिका राईहरुमा जस्तै यो जातिभित्र पनि विभिन्न गोत्र एवम् पाछाहरु रहेकाछन् l

यो जातिमा पनि आफ्नै प्रकारको परम्परागत संस्कार रहेका छन् जो अन्य जातिका राईहरुसंग अलग प्रकारको रहेका छन् l

     किरात देवास राई उत्थान समाज नेपालको अध्ययन अनुसन्धान अनुसार देवास राई जाति विशेषत :  नौं जिल्लाहरुमा बसोवास गर्दछन् l यहाँ  मकवानपुर जिल्लाको साविक राईगाउँ गाविस हाल बागमती गाउँपालिकामा बसोबास गरिरहेका  देवास राईहरुको भाषा, परम्परा तथा संस्कृति बारे संक्षिप्त चर्चा गरिने प्रयास गरिएको छ :- 

भाषा तथा लिपि : राई जाति एक बहुभाषी जातिको रुपमा चिनिन्छ l किनकि किरात राई जातिहरुमा २६ भाषीहरु छन् l आदिवासी जनजातीहरु अन्तर्गत रहेका तामाङ, नेवार आदि जातिहरुमा थर फरक फरक लेख्ने गरेता पनि भाषा भने एउटै बोल्ने गरेको पाइन्छ l तर राईहरुको थर राई मात्रै लेख्ने गरिन्छ भने बोल्ने भाषा भने फरक फरक हुन्छ l सबै भन्दा बढी थर भएको जाति मगर हो भने सबै भन्दा बढी भाषा भएको जाति राई हो भनी अध्ययन कर्ताहरु बताउछन् l किरात राई ययोक्खामा हाल २९ भाषिका राईहरु आवद्ध छन् l किरात राई जातिका विभिन्न थरहरूको आ–आफ्नै प्रकारका भाषा छन् । नेपालका जातजाति सम्बन्धी अध्ययन कर्ता डोरबहादुर विष्टको भनाइ अनुसार राईहरुमा अनेक ससाना अलगअलग भाषा बोल्ने र अलगअलग चालचलन भएका धेरै बथान छन् l कतिपयका भाषा लोप भइसकेका छन् भने कतिपयको लोपोन्मुख अवस्थामा पुगेका छन् । हरेक चार कोषमा पानी फेरिन्छ र हरेक आठ कोषमा बाणी फेरिन्छ भने झैँ सरकारी एकल भाषिक नीति, बसाइँसराइ, मिश्रित सामाजिक संरचना, अन्तरजातीय विवाह, आर्थिक विपन्नता, अन्तर्राष्ट्रिय प्रभाव आदिका कारण अधिकांश राईहरूको भाषिक अवस्था लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ भने ठाउँअनुसारको संस्कार, संस्कृति र भाषिकाहरूको विकास भई भाषिक विविधता भएको पनि देखिन्छ । यसै मध्ये एक भाषाको रुपमा देवास राई भाषालाई लिन सकिन्छ l जुन भाषा अहिले लोपोन्मुख अवस्थामा पुगिसकेको छ। अब राईगाउँका देवास राईहरुले बोल्ने गरेको भाषा बारे यहाँ चर्चा गरिन्छ l प्राय राईहरुको भाषा भोटबर्मेली भाषा परिवार अन्तर्गत पर्दछन् l तर राईगाउँका देवास राईहरुले बोल्ने भाषा भारोपेली परिवार अन्तर्गत पर्दछ l यस भाषाको छुट्टै लिपि त छैन l तर हाल किरात राईहरुको साझा लिपि किरात सिरिजंगा लिपिलाई अङ्गीकार गर्दै आएको छ l कालक्रमिक एवम् समकालिक भेदको कारणले गर्दा देवास राई भाषा एक नयाँ भाषाको रुपमा जन्म भएको अनुमान गरिएकोछ l सामान्यतया यस भाषामा नेपाली, मैथली, भोजपुरी जस्ता भाषाहरुको मिश्रण रहेको पाइन्छ l स्थानान्तर, ठाउँअनुसारको संस्कार, संस्कृति, भाषाभाषीको प्रभावका कारण पुर्खाले बोल्ने गरेको वास्तविक भाषालाई संरक्षण गर्न नसकेको कारण यस भाषामा विचलन आएको हो भनी जानकारहरु बताउदछन् l हाल यो भाषा बोल्नेको संख्या अत्यन्तै कम संख्यामा भेटिन्छन् l राईगाउँका देवास राईहरुले बोल्ने भाषामा उच्चारणका आधारमा देवनागरी लिपि अन्तर्गतका अ, आ, इ, उ, ए, ओ गरी जम्मा ६ ओटा स्वर वर्ण र क, ख, ग, घ, ङ, छ, छ, ज, झ, ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल,व, स, ह गरी जम्मा २९ ओटा व्यञ्जन वर्णहरु प्रयोग भएको पाइन्छ l जन्म संस्कार : हरेक जातजातिहरुमा अलग अलग मुल्य मान्यता भए झैँ यो जातिमा पनि आफ्नै छुट्टै मान्यता रहेको छ l मकवानपुरको साविक राईगाउँ गाविस (हालको बागमती गाउँपालिका वडा नं. १ र २ ) मा सदियौदेखि बसोबास गर्दै आएका देवास राई समुदायमा प्रचलित मूल्यमान्यतामा आधारित जन्मदेखि मृत्युसम्मका संस्कार बारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ l न्वारन (छटिहार) : यस समुदायमा बच्च्चा जन्मेपश्चात तत्काल आमा र बच्चालाई चारैतिरबाट जालले बारेर(घेरेर) राखिन्छ l यसो गर्दा भूतप्रेतले आमा र बच्चालाई छुन सक्दैन भन्ने जनविश्वास छ l शिशु जन्मेपछी पहिलो चरणको खानपान सुत्केरी महिलालाई छोरा जन्माए कुखुराको भाले र छोरी जन्माए पोथी काटेर खुवाउने चलन छ l

यो जातीय समाजको परम्पराअनुसार छोरा वा छोरी जे भए पनि शिशुहरुको एकै प्रकारले सात दिनमा न्वारन (छटिहार) गर्ने प्रचलन रहेको छ l  शिशु छोरा भए २ माना चामल र छोरी  भए १ माना चामल राखेर वंश चिनाइन्छ l यही चामल राखेको आधारबाट शिशु छोरा वा छोरी के हो अन्यले चिन्ने पनि गर्दछन् l यही चामल पछि न्वारान (छटिहार) को समयमा पिसेर रोटी पकाएर सानानानीहरुलाई बाँडिदिने गरिन्छ l अन्य नानीहरु जस्तै यो शिशुको पनि चाँडै हातखुट्टा लागोस् भनेर यसो गरिएको हो भनिन्छ l न्वारन (छटिहार) को दिन बिहान देखि बेलुकीसम्म ठडेउरो बत्ति बालेर राखिन्छ l यसरी बालेर राखेको ठडेउरो बत्ति सकेसम्म निभ्नबाट बचाइन्छ l यदि बत्ति बिचमा निभेमा अशुभ मानिन्छ l न्वारान(छटिहार) को काम प्राय : धामीले नै सम्पन्न गर्ने गर्दछन् l न्वारन (छटिहार) सकेर शिशुको नामकरण पनि धामीले नै जन्मको बार, गते, ऋतुजस्ता कुराहरु विचार गरेर मिल्दो नाम  राखिदिने गर्दछन् l न्वारान(छटिहार)को समयमा आगन्तुकहरुलाई सामान्य भोजको आयोजना गरी न्वारानको कार्य सम्पन्न गरिन्छ l यसै दिनदेखि सुत्केरी लगायत अन्य संलग्न सबै व्यक्तिहरु चोखिएको मानिन्छ l 

पास्नी (भात खुलाई) : यस समुदायका राईहरुले पास्नी प्राय : छोरी भए ५ महिना र छोरा भए ६ महिना पुगेपछि राम्रो दिन विचार गरेर गर्दछन् l यो कार्य गर्नका लागि समुदायले मान्दै आएको धामीलाई आवश्यक विधि प्रक्रिया गर्ने जिम्मा दिइन्छ l धामीले आफ्नो विधिअनुसार पूजा गरी कुखुरा काट्छन् l कुखुराको मासु पकाएर भरसक नयाँ चामलको भात पकाएर मासुभात बालबालिकालाई पहिले आबुआमा अनि मान्यजनाहरुलाई खुवाइन्छ l यसरी आफन्तहरुलाई सामान्य भोजको आयोजना गरी पास्नीको काम सम्पन्न गरिन्छ l छेवर/ गुन्युचोली : राईगाउँका राईहरुमा छेवर तथा गुन्युचोली प्राय गरिदैन l तर अहिले अन्य समुदायको प्रभावका कारण केहिले गर्ने गरेकाछन् l छोराको छेवर प्राय: ३ वर्ष नाघेपछी गर्ने चलन छ l यसमा मामाको उपस्थिति अनिवार्य हुन्छ l साथै अन्य आफन्तहरु पनि आमन्त्रण गरिन्छ l मामाहरुले पालो पालो गरी भान्जाको कपाल काटिदिनुपर्दछ l कपाल फुपूले टपरीमा थापेर चोखो ठाउँमा फाल्ने गर्दछन् l कपाल काटिसकेपछि भान्जालाई नयाँ लुगा फेराएर घरभित्र दहीचामलको सेतो टीका लगाई आशिर्वाद साथ केही दक्षिणा दिने गरिन्छ l यो कार्य आगन्तुक सबैले गर्दछन् l यो बेला आगन्तुकहरुलाई भोज खुवाइन्छ l यस्ता भोजहरुमा प्राय: जाँड, रक्सी बान्छनीय मानिन्छ l छोरीको गुन्युचोली गर्ने चलन भने खासै देखिदैन l तर आजभोलि अन्य जातिको प्रभाव तथा देखासिकीमा सामान्य रुपमा गर्ने गरेको पनि पाइन्छ l विवाह संस्कार : अन्य राईजातिहरुमा जस्तै यो जातिमा पनि मागी, चोरी, जारी विवाहहरु हुने गर्दछन् l विशेषत: मागी विवाह प्रचलनमा छ l मागी विवाह : यस समुदायमा छोरीचेली विवाह गर्नका लागि उपयुक्त उमेर देखेपछी केटी माग्न दुराइते (लमी) चुनेर सगुनको रुपमा एक सेर(बोतल) रक्सी बोकाएर आफूले छानेको केटीको घरमा कुरा चलाउन पठाइन्छ l दुराइतेको प्रमुख जुनसुकै उमेरको भएता पनि अनिवार्य लौरो टेकेर जानुपर्दछ l जब ऊ केटीको घरमा पुग्छ, ती सगुन र लौरो टेकेको देखेपछि घरकाले शंका गरी घरभित्र प्रवेश गर्न दिइदैन र बाहिरै बसाइन्छ l दुरातेले सांकेतिक रुपमा "तपाईहरुको बगैचामा सुन्दर फूल फुलेछ त्यही देखेर भमरा डुल्न आएको" जस्ता कुराबाट कुरा खोल्न सुरु गर्छन् l यस चरणलाई एक लगन भनिन्छ l केटी पक्षबाट छोरीचेली दिने इच्छा भए राम्रो कुराकानीका साथ ती लगिएका सगुन स्वीकार गरिन्छ l गाउँका आफन्त र मान्यजनहरु बोलाएर खुशीका साथ जाँड, रक्सी खाँदै कुरा अगाडि बढाइन्छ l तर कुरा नमिल्ने भएमा लगिएका सगुनसहित दुराइतेलाई बाहिरैबाट फर्काइन्छ l कुरा मिलेमा एक साताभित्र दिन निर्धारण गरी केटी पक्षबाट केटाको घर हेर्न आउछन् l केटाको घर हेरेपछि मात्र विवाह गर्ने नगर्ने अन्तिम टुङ्गो लाग्ने गर्दछ l यस चरणलाई दुई लगन भनिन्छ l यसपछि केटी लिन जाने दिनको पनि टुङ्गो गरिन्छ l तोकिएको दिन विशेष तयारीका साथ केटी लिन जाने गर्दछन् l केटाले दौरा सुरुवाल, कोट, पगरी(फेटा), पटुका बाँधेर खुकुरी भिरेको र कालो छाता ओढेको हुनुपर्छ l आफ्नो गच्छेअनुसार केटीलाई लुगाफाटा, गरगहनासमेत लिएर जानुपर्दछ l जन्त हिंड्ने र दुलहीकहाँ पुग्ने बेलामा बन्दुक पड्काउनुपर्दछ l केटा पक्षबाट एउटा बोका, एक माना चामल, तेल, दियो, मोहर दाम, सुपारी, एक सेर रक्सीसमेत लगेर दुराइतेमार्फत केटीका आमालाई दूधको भारा बुझाइन्छ l यतिबेला दुलही अगाडिनै तयार पारेर राखिएको हुन्छ l दुलाहालाई माइति पक्षले भित्र लगी दुलहीको छेउमा राख्दछन् l दुलहीको आमाबुबा र अन्य नातागोता तथा निम्तालु सबैले क्रमश: दहीचामलको सेतो टीका लगाइदिएर शुभ आशिर्वादका साथ केही दक्षिणा पनि दिइन्छ l केटी पक्षबाट आफ्नी छोरीचेलीलाई केटाको साथमा जिम्मा लगाएर बिदा दिने गर्दछन् l यस चरणलाई तीन लगन भनिन्छ l केटापक्षकाहरु नवदुलही लिएर घरतर्फ लाग्दछन् l अर्थात् यस्तो कार्यमा तीनै लगनका समयमा केटा पक्षबाट गएका जोकोही पनि केटीको घरमा बासबस्न भने हुँदैन l टाढा घर भए बरु केटीको घर बाहेक अन्तै बास बस्नुपर्दछ l नवदुलही ल्याउदा केटापक्षका चेलीहरुले बाटोमा गुन्द्रिवा कपडाले बाटो छेक्ने गर्दछन् l यसबेला बाटोमा रक्सीलगायतका खानाहरु साथै केही पैसा पनि राखिएको हुन्छ l ती खानेकुरा पहिले दुलाहादुलहीले खाएपछि अन्यले खानुपर्छ l तर केटापक्षले सामानको उचित मूल्य स्वरूप पैसा र पैसाको ठाउँमा भरसक डबल बनाएर दिनुपर्दछ अनि मात्र जान दिइन्छ l घर आइपुगेपछि केटाको आमाले नवबुहारीलाई एउटा कुचो दिएर अगेनामा पुर्याएर तीन चुलो घुमाइ छुवाउछिन l र बुहारीलाई चुलो ढोग्न लगाई नयाँ दुलही आफ्नो कुलमा आएको भनी विधिवत् मान्यता दिइन्छ l यसपछि आफन्त मान्यजनहरुलाई सक्दो भोज खुवाएर विवाहभोज सम्पन्न गरिन्छ l विवाहको सातौं दिनपछि दुराइतेको सल्लाह अनुसार सम्धीढोगको व्यवस्था गरिन्छ l यसलाई "गारागुरी" भनिन्छ l गारगुरी पूर्व नवदुलहीले आफ्ना माइत पक्षसंग भेट्न नहुने र कतै आकस्मिक भेट भएमा पनि हेर्न नहुने (अनुहार देखाउन नहुने) प्रथा रहेको छ l गरगुरिमा पहिले केटा पक्षबाट केटाको बाबु लगायतका केही व्यक्तिहरुका साथ केटी पक्षकहाँ गई सम्धी ढोग्ने काम हुन्छ l फेरी केटी पक्षबाट पनि सम्धी लगायत केही व्यक्तिहरु केटापक्षकहाँ सम्धीढोगमा आउछन् l दुवै पक्षका सम्धी र सम्धिनी बीच ढोग गर्दा सिधा नजर जुधाउन नहुने भएकोले सकेसम्म कपडाले बार लगाई ढोग गर्ने गरिन्छ l गारगुरीपछि यो जातिमा विधिवत् रुपमा मागी विवाह सम्पन्न भएको मानिन्छ l चोरी विवाह : कसैले कसैको छोरीचेली जबरजस्ती वा केटी पक्षको अभिभावकको अनुमतिबिना विवाह गरेको खण्डमा केटीपक्षबाट यथासक्दो जरिवाना (जारी तिर्नु पर्ने) गर्ने गर्दछन् l तर अन्य रीतहरु मागी विवाहजस्तै हुन्छ l

मृत्यु संस्कार : यस समुदायमा मृतकलाई प्राय: गाड्ने चलन छ l साना नानीहरुको मृत्यु भएमा अनिवार्य गाड्ने गरिन्छ l ठूलाहरुको मृत्यु भएमा मृतकका मुखमा मोहर पैसा लगाइदिने, शरीरमा तेल लगाइदिने गरिन्छ l यसैगरी शरीरमा काँचो धागोले सात फन्को बाँधिन्छ l आफन्तहरु भेला भइसकेपछि हरियो बाँसको खाटमा मृतकलाई आफ्नै छोराहरुद्वारा बोकाएर नदी, खोलाको किनारमा लगेर विधिपूर्वक गाडिन्छ वा जलाइन्छ l गाड्न वा जलाउन पूर्व आफन्त सबैले दागबत्ति दिने गरिन्छ l मृतकलाई गाडिसकेपछि वा जलाईसकेपछि ज्वाइँलाई पुजारी मानेर सम्पूर्ण काजकिरिया गर्ने जिम्मा दिइन्छ l घर फर्कने क्रममा बाटोमा बयरको काँडा र धुपधुवा राखेर बाटो छेक्दै फर्किन्छ l अन्त्यष्टि गरी घर फर्किदा मलामीहरुले पछाडी फर्केर हेर्नुहुँदैन l १३ दिनसम्म घरको दलानमा मृतकको नाममा घरपरिवारका सदस्यहरुले एक लोटा चोखो पानी चढाइन्छ l लोटाको पानी घटेमा मृतक पानी चढाउने सदस्यसंग खुशी रहेको र पानी नघटेमा रिसाएको छ भन्ने विश्वास छ l साथै पानी राखेको वरपर पिठो छर्किएर राखिन्छ l छर्किएर राखेको पिठोमा देखिने केही सांकेतिक छापका आधारमा मृतक आएको वा नआएको अनुमान गरिन्छ l साथै पिठोमा देखिने छाप (पाइला) का आधारमा मृतकले विभिन्न जीवहरुको रुप धारण गरेको भनी विश्वास गरिन्छ l १३ दिनसम्म जुठो बारिन्छ l मुख्य घरका छोराहरुले तीन छाक खाना नै बार्दछन् भने बाँकि दिन नुन मात्रै बार्ने गर्दछन् l १२ औं दिनमा आगनमा दुरमुर (पिण्ड) चढाइन्छ l पिठोको रोटी आकारको पिण्ड बनेको हुन्छ l यसमा बाख्राको पाइलाजस्तो छाप लगाई सात भाग लगाइन्छ l पुरेतले ती पिण्ड दु:ख बोक्नेलाई क्रमश: दिन्छ र दु:ख बोक्नेहरुले पनि हातमा लिएर दूधले छर्कदै फाल्नुपर्दछ l पकाएर तयार पारिएका अन्य खानाहरु पनि दूधले छर्केर चोख्याइन्छ l ती खाना आगन्तुकहरुलाई भोजको रुपमा खुवाइन्छ l १३ दिनमा शुध्याँई गरिन्छ l शुध्याँईमा कालो कुखुरा खोलामा बगाएर ढुंगाले हानिमारिन्छ र टाउको खोलामा बगाइन्छ l सबै सन्तानले कपाल मुण्डन गर्नुपर्दछ l गाउँ/टोलका सबै महिलाहरु उक्त दिनमा खोलामा गई पिनाले नुहाउछन् , यस कार्यलाई सानाइ खानु भनिन्छ l चेलीबेटीहरुले ल्याएका बोका खोलाको बगरमा गई काटेर भोज लगाइन्छ l तर, भोज खानुभन्दा पहिले १३ दिन बारना गर्ने व्यक्तिले खाना कुशले दूध छर्केर चोख्याइन्छ l छाक बार्ने सन्तान सबैले भतेर खानुभन्दा अगाडि कपाल मुण्डन गरिन्छ l त्यसपछि सबैलाई दायाँ हातको कान्छी औलाले तेल छुवाइन्छ l सबैलाई भोज खुवाई सकेपछि सबैजना घर फर्केर आउछन् l स्त्रीहरु घरभित्र पसेर ढोकासामुन्ने उभिन्छन् , पुरुषजति ढोकाको ठिक बाहिर बेलको पात कानमा सिउरेर उभिन्छन् l किरिया भोजको लागि प्रयोग गरिएका भाँडाकुडा तथा अन्य प्रयोग गरिएका सामाग्रीहरु अगाडि राखी काठले बारिन्छ र यसको वरिपरीबाट मान्छेले घेरिन्छ l भित्रबाट स्त्रीहरुले ( आफ्नै भाषामा विधिअनुसार भट्याउदै ) जौ, तेल अक्षता फाल्छन् र मृतकले प्रयोग गरेको सामग्री , मृतकको जिम्मेवारीहरु छुटेकी छुटेन ? भनेर बाहिर बस्ने पुरुषहरुलाई सोध्छन् l बाहिरकाहरुले एकैसाथ छुट्यो है छुट्यो भन्नुपर्दछ l चेलीबेटीहरुले ल्याएको रक्सी, बोका लगायत अन्य ल्याएका सामग्रीको मुल्य निर्धारण गरी माइत पक्षले रुपैयाँ पैसा सक्दो दान दिने प्रचलन छ l पुरेतलाई चाहि एक माना चामल, केही हतियारहरु दिएर विदा गरिन्छ l विभिन्न कारणले आफ्नो जात र आफन्तबाट निष्काशनमा परेकाहरुलाई तोकिएको सजाय पुरा गरेकाहरुलाई पुन जातमा पुनर्मिलन गराउन र आफन्तमा समावेश गराउन यस्तो समयमा तोकिएको पुरेतद्वारा पकाइएको कालो दाल खुवाएर सजाय फुकुवा गरिन्छ l तर हाल यो प्रचलन हराएको जानकारहरु बताउछन् l

बसाइंसराइ गर्दा  : घर तथा बसाइँ सर्दा आफ्नो कुल देवता संगै लैजान ठडेउरो बत्ति बालेर नयाँ घर तथा बसाइँ सरेको स्थानसम्म बालेरै लगिन्छ l यसरी बत्ति सम्भव भएसम्म तीन दिनसम्म निभ्न नदिइ लगातार बाल्नु पर्दछ l यसरी बत्ति निभेमा अशुभको संकेत मानिन्छ l त्यसैले निभ्नबाट वचाइन्छ l

धर्म : प्रकृति पुजकको रुपममा मानिने यस समुदायको पनि आफ्नै प्रकारका धार्मिक मान्यता र इष्टदेवहरु मान्ने गरेको छ l कूल पूजा : यो समाजमा मुख्यरुपमा मानिने इष्टदेव कूलपूजा हो l यो पूजा प्राय: विहान, बेलुका, हरियो गोबरले चुला र दलान लिपेर ठडेउरो बत्ति बालेर गरिन्छ l यो पूजामा आफ्नो परिवारको कल्याणको कामना गरिन्छ l कसैले भाकल भए सो अनुसार विशेष रुपमा पूजा गर्ने गरिन्छ l यसका लागि कुनै निश्चित हुँदैन, समय अनुसार गर्न सकिन्छ l भाकलअनुसार कुखुरा तथा बोका(बाख्रा) पूजा गरेर बलि दिइन्छ l पूजा गरेको कुखुरा तथा बोका (बाख्रा) मासु आफ्नै कूल परिवारबाहेक अन्यले खान हुँदैन भन्ने विश्वास छ l साथै बली दिएका कुखुरा र बोका(बाख्रा) को मासु सोही दिन खाइसक्नु पर्दछ भने घर बाहिरसमेत निकाल्नु हुँदैन l पूर्वेली पूजा : यो समुदायले गर्ने अर्को पूजा पूर्वेली पूजा पनि हो l विशेष गरी समुदायका सबै घरपरिवारका सदस्यहरु मिलि सामुहिक रुपमा गरिन्छ l पूजा सम्पन्न गरेर २/३ दिनसम्म रमाइलोका साथ खाएर, पिएर बस्ने गरिन्छ l हाल यो पूजा छुट्टा छुट्टै परिवारले छुट्टाछुट्टै पूजा गर्न थालेका छन् l विशेष गरी यो पूजा माघ महिनामा गरिन्छ l थानी पूजा : सय समुदायले मान्ने थानी पूजा पनि एक हो l यो पूजा अत्यन्तै महत्वपूर्ण पूजाको रुपमा लिइन्छ l यस पूजामा ३६ देवदेवीको पूजा गरिन्छ भन्ने भनाई छ l यो पूजा पनि गाउँका सबै मिलेर सामूहिक रुपमा गर्ने गरिन्छ l यो पूजा गर्नका निम्ति गाउँले मिलेर एकजना पुजारी चुनेर राखिएको हुन्छ l उनै पुजारीको आज्ञाअनुसार पूजा सम्पन्न गरिन्छ l विशेषगरी यो पूजा नयाँ अन्नबाली लगाउने बेलामा, धान रोप्ने समयमा लगाएको बाली उठाउने समयमा गर्ने गरिन्छ l यो पूजामा सिन्दुर, ध्वजासमेत गरी कुखुरा काटेर बली दिइन्छ l धान पूजा तथा मिहा ढालाउनी (मियो ढाल्ने) : मङ्सिर महिनामा धान भित्र्याउने पूजालाई मिहा ढलाउनी भनिन्छ l गाउँका सबैजना मिलेर खेतमा भेलाभइ सामुहिक पूजा गरिन्छ l एउटा नयाँ काठ(पोथ्रा)को मियो (मिहा ) पूजाआजा गर्ने ठाउँमा गाडिएको हुन्छ र पुजारीले विधि प्रक्रिया पुर्याई ढाल्ने प्रचलन छ l विशेषत: आफूले नयाँ धान भित्र्याउन पूर्व आफ्नो पितृ र देवतालाई धान चराउने गरिन्छ l साथै धान भित्र्याउन पाउदाको खुशियालीमा खेतमा रमाइलो गरी नाचिन्छ l कुखुरा तथा बाख्रा काटी बली दिइन्छ l भूमे पूजा : यो समाजमा सामूहिक रुपमा गरिने पूजा भूमे पूजा पनि पर्छ l गाउँले मिलेर भाले, पोथी कुखुरा लिएर भूमे थानमा गई ध्वजापताका साथ आफ्ना पुजारीद्वारा पूजा गराउछन् l कुखुरा काटेर थानमा बलि दिई टाउकोबाहेक जीउ सम्बन्धित व्यक्तिलाई दिइन्छ l टाउको चांही धामीले लाने गर्दछन् l गाउँका सबैजना मिलि एउटा बोकाको बली दिइन्छ र मासु भाग लगाई अनिवार्य प्रत्येक घरधुरीमा पुर्याइन्छ l यो पूजा विशेषत: गाउँघरमा कुनै रोग,व्याधि, हैजा,प्राकृतिक विपति नआओस् भनेर गरिन्छ l यस अतिरिक्त यो समुदायले भीमसेन, महादेव, गयर, कुन्टा, भगवती, बलदेव, भवानी, तिरपुर, सावरसामी आदि मान्ने गर्दछन् l मरेका धामी, पितृ, राजालगायतका आत्मालाई पनि (भुँइया भगवान) को रुपमा मान्ने गर्दछन् l मुख्यगरी गर्भारीराजा, ब्रम्ठाकुर,ब्राम्हथान, आइतबारे, सोमबारे, गिढावर राजा, बलदेउ राजा, मानवीर भुँइया, बुढाइ धामी, सनाई धामी, नौधरन, सातौ संसारी, बागमती, त्रिपाई धामी आदि छन् l डाँडा खोला (प्रकृति)को पनि पूजा गर्ने गर्दछन् l एकादशी ब्रत : हरिबोधनी एकादशीको दिन विशेषत: महिलाहरु एकादशीको ब्रत बस्ने गर्दछन् l विहादेखि पानी समेत नखाई ब्रत बसी नजिकको शिव मन्दिरमा गइ पूजाआजा गर्दछन् l पूजाआजा पश्चात मात्रै केही कन्दमुल, फलफुल खान्छन् l कोही त उक्त दिन निराहार नै बस्ने गर्दछन् l रातको समयमा पुजारीको घरआँगनमा जाग्राम बसी रातभर रमाइलो गरिन्छ l रातभर जाग्राम बसी रमाइलो गरेमा आफूले शिवसंग मागेको वरदान प्राप्ति हुने जनविश्वास रहेको छ l अर्को विहान नजिकैको खोला-नदीमा गइ नुहाउने र पूजा गरेपछि एकादशी ब्रत पूरा हुन्छ l

चाडपर्व : यो समुदायले मान्ने चाडपर्व अन्य समुदायले मान्ने चाडपर्व भन्दा केही फरक प्रकृतिको रहेको पाइन्छ l यो समुदायले मान्ने गरेका चाडपर्वहरु संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ l चादी नावान : नयाँ धान पाकेपछि विशेष पूजाआज्ञा गरी नयाँ धनको भात, नयाँ धनको चिउरा बनाई गच्छेअनुसार कुखुरालगायतका जनावर काटेर आफन्तहरु भेला भइ मासुभात खाएर साथै जाँड, रक्सी पिएर रमाइलो मानी यो पर्व मनाइन्छ l साउने संक्रान्ति : यो जातिले मान्ने अर्को पर्व साउने सक्रान्ति पनि हो l गाउँलेहरु मिलेर, सुँगुर, राँगा काटेर जाँडरक्सी खाई रमाइलो गरी यो पर्व मनाइन्छ l भलायो, कुरिलोको राँको बाली नाङ्लो बजाई सबै कोठाचोट घुमी घरमा भएको भूत निकालिन्छ l साथै बालेको राँको फाल्दै लुतो लैजा, अनिकाल लैजा, हैजा गइजा, सुख सहकाल आइज भन्दै कराउदै सबै घरभित्रको भूतप्रेत धपाइन्छ l यो कार्य गाउँको पुजारीले थालनी गरेपछि मात्रै अन्यले सुरु गरिन्छ l आउता बाबु : यस समुदायले मान्ने गरेको एक फरक पर्व आउता बाबु पर्व हो l घटस्थापनाको दिन विहानै तीन चुलो(कुल देवता) को वरिपरी लिपेर ठडेउरो बत्ति बाली विभिन्न परिकारका पकाइएका परिकारहरु आफ्नो कुलदेवता र पितृहरुलाई चढान्छ l यतिबेला बनाएका परिकारहरुमा माछाको परिकार अनिवार्य मानिन्छ l तयार पारिएका परिकार खान गाउँ छरछिमेकका आफन्तहरुका बालबालिकाहरुलाई बोलाइ पालोपालो गरी सबैले एक अर्काको घरमा खान दिइन्छ l यो पर्वले दशैको आगमन भएको संकेत गर्दछ l यो रातमा देवास बस्ने (देवताको पूजा) गर्ने चलन छ l

दशैं : यो समुदायले सामान्य रुपमा दशैँ पनि मान्ने गर्दछन् l यस चाडमा खसी /बोकाकाटेर दशैं मान्नुपर्ने चलन छ l कसैको घरमा खसी बोका नभए कुभिन्डोलाई बोकाको रुप बनाएर काटिन्छ l यो समयमा बेलको पात उत्तर-दक्षिण पारेर पूजा गरिन्छ l तिहार : यस समुदायले मान्ने अर्को चाड तिहार पनि हो l यो पर्वमा देउसी भैलो खेल्ने, दिदीबहिनीहरुको हातबाट भाइटीका लगाउने गर्दछन् l यो पर्वमा आफन्त र चेलीबेटीहरुलाई बोलाइ बिभिन्न परिकारहरु बनाई रमाइलो मानी खाने र खुवाउने गरिन्छ l माघे संक्रान्ति : यो जातिले मान्ने माघे संक्रान्ति पनि निकै महत्वपूर्ण चाड हो l विशेषत: चेलीहरुले आफ्ना माइतिहरुलाई तिहारमा जस्तै भाईटीका लगाइन्छदिने र माइतिहरुले पनि सक्दो चेलीहरुलाई दक्षिणा दिने गर्दछन् l यसलाई तिहारमा लगाएको टीका फर्काउने पनि भनिन्छ l हाल माघेसंक्रान्तिको बेला भाइटीका मान्ने प्रचन भने विस्तारै हराउदै गएकोछ l गोर धुवाई  : यो पर्व विशेषत: खेतीपातीको कार्य सकिएपछि मनाइन्छ l गोरुलाई विशेष रुपमा पूजी मिठा खानेकुरा खुवाएर खुट्टा धोइदिएर तेल, बेसार लगाइदिन्छ l यसरी पुजियको गोरुलाई पुन: जोत्न हुँदैन l जोत्नु परेमा पुन: पूजा गर्नुपर्छ l तर, गाउँका पुजारीले पहिले गर्नुपर्दछ l पुजारीले नगरेसम्म अन्यले यो पूजा गर्ने अनुमति हुँदैन l यस्तैगरी नयाँ अन्नबाली भित्र्याउने समयमा पनि सबैभन्दा पहिले पुजारीले आफ्नो घरमा अन्नबाली भित्र्याएपछि मात्र अन्यले पनि भित्र्याउने अनुमति पाएको मानिन्छ l गाउँघरमा जुनसुकै खेतीपातीको कार्य सुरु गर्दा वा भित्र्याउँदा पहिले पुजारीले काम सुरु गरेपछि मात्रै अन्यले पनि गर्ने अनुमति पाउँदछन् l यस्तै यो जातिले परापुर्व कालदेखि सुँगुर, राँगा खाने गरेका थिए l तर, पृथ्वीनारायण शाहको विजयपछि सुँगुर, राँगा खानेलाई सानो जाति मान्ने कुरा फैलाएपछि उनीहरुले खान छाडेका हुन् भनिन्छ l कतिपयले खाए पनि घरभित्र राम्ररी चोखिएर पस्न पाइने मान्यता बसेको छ l तर, आजभोलि यस्ता खानाहरु सहज बन्दै गएको अनुभूति गर्न सकिन्छ l

अन्तमा, माथि किरात देवास समुदायको एक प्रतिनिधिमुलक समुदाय राईगाउँका राईहरुको संक्षिप्त परिचय उल्लेख गरिएको छ l जहाँ देवास राई समुदायको भाषा तथा संस्कार एवम् संस्कृतिको सामान्य जानकारी गराउने प्रयास गरिएको छ l यस्तै धेरै विषयवस्तुहरु अध्ययन अनुसन्धान गर्न बाँकी छ, गर्न आवश्यक छ l सायद हामी एक अर्कामा भएको अलग पहिचानका विषयहरु चर्चा गर्न छुटेको छ l आगामी दिनहरुमा अन्य स्थानका समुदायका बारेमा अध्ययन अनुसन्धान गरी यसरीनै जानकारी गर्ने गराउने सुअवसर मिलोस र उत्थान गरिएका प्रसंगहरु बारे आवश्यक सकारात्मक सल्लाह सुझावको अपेक्षा गरिन्छ l सामान्यतया किरात राईहरु अन्तर्गत रहेको यस जातीय समुदाय अन्य राईहरु भन्दा केही पछाडी परेको महसुस गर्न सकिन्छ l देवास राई समुदाय पछी पर्नाका कारणहरु धेरै छन् l यस समुदाय शिक्षित जनशक्तिको कमी, सामाजिक एकता र चिन्तनको अभाव, राजनैतिक पहुँच नहुनु, आर्थिक अवस्था सवल नहुनु, राज्यबाट उपेक्षित, सरकारी सेवा तथा रोजगारीमा कमजोर उपस्थिति, व्यवसायिक संलग्नतामा खडेरी, परम्परागत रहन सहनमा रमाउनु, आफ्नो भाषा, कला, संस्कार तथा संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा दिलचस्पी नहुनु, खेल, भाषा, कला, साहित्य तथा संचार क्षेत्रमा परिचित हुन नसक्नु,समुदायको उत्थान र विकासको निमित योगदानको अभाव, अरुको आज्ञा पालक हनु, समाजिक भन्दा पनि व्यक्तिगत स्वार्थम रमाउन खोज्नु जस्ता थुप्रै कारणहरुले गर्दा यस समुदाय अन्य जातिहरु भन्दा पछि परको हो भन्ने सजिलै अनुमान लगाउन सकिन्छ l तसर्थ देवास राई समुदायको कला, भाषा, संस्कार संस्कृतिको संरक्षण तथा सम्बर्द्धनका लागि सबै पक्षको ध्यान जानु जरुरी छ l सामाजिक एवम् सामुदायिक स्वार्थलाई सर्वोपरी ठानी जातीय र सामुदायिक उत्थानको लागि सबैको ऐक्यवद्धता हुन आजको तत्कारो आवश्यकता एवम् अपरिहार्यता मानिन्छ l आफ्नो पहिचान दर्शाउदै राज्यसंग संविधान प्रदत हकअधिकार प्राप्तिको लागि विशेष पहलकदमीको आवश्यक छ l











               गीत 

उठ हो दाजुभाइ, उठ दिदीबहिनी, अहिले नउठे, कहिले उठ्ने हो , अहिले नजुटे, कहिले जुट्ने हो l

आफ्नो जातीय पहिचानको, उठाउनु छ नारा, भाषा, कला, संस्कृतिको संरक्षण, हाम्रो अभिभारा l

चौतारिया बाजाहाङ, थिए एक नामी, वीरताको कथा लेख्ने, उनकै सन्तान हामी l

एकताको सुत्रगाथा , सिर्जिनु छ फेरी, पहिचानको दियो बालौं, इतिहासलाई हेरी l

हामी किरात देवास राई, बढ्नु छ अगाडी, पुर्खाको नातालाई, वीरताको गाथालाई नपारौ पछाडी l

अब त बिउझ है, सबै जना उठौं , जातीयताको पहिचान र विकासमा जुटौं l