भाषाको मानक रूपबारे चर्चा गर्दा मूलतः लेख्य रूपकै चर्चा हुन्छ। अहिले जुन किसिमको नेपाली भाषा बोलिँदैछ त्यसको रूप हेर्दा कथ्यमा मानक अब सम्भव छैन भन्ने अनुभव हुन्छ। मूलतः नेपाली जाति विभिन्न उपजातिहरू मिलेर बनेको एउटा ठुलो समूह/जाति हो। यहाँ आआफ्नै उपजातीय संस्कार र संस्कृतिबाट आएका ससाना उपजातिहरू छन्। उनीहरूको उच्चारण, शब्द प्रयोग भिन्न छन्। त्यसका साथै स्थान, परिवेश, समय र धार्मिक मान्यताहरूका आधारमा पनि भाषाको कथ्य रूपमा भिन्नता रहेको हुन्छ। प्राज्ञिक लेखन, औपचारिक लेखन, प्रभावकारी लेखनमा भने भाषाको मानक रूप हुनु पर्छ भन्ने अडान रहेकै छ तर प्राज्ञिक वा औपचारिक लेखनमा पनि हाम्रो एकरूपता छैन। हिज्जेको एक रूपताबारे हाम्रो प्रयास चलिरहेको छ तर विडम्बना के छ भने प्राज्ञिका लेखन र औपचारिक लेखनमा पनि लिङ्ग, वचन, कारक, वाच्य, सङ्गति आदि लथालिङ्गै पाइन्छन्। हामी राम्रा र ठुला ठुला समालोचना वा लेखहरू लेख्छौँ तर भाषा विचार गर्दैनौँ। कुरा राख्छौँ तर कुरा राख्ने भाषा ठिक हुँदैन। यी त भए ठुला कुरा, सानो कुरो के छ भने हामीले कथ्य अनि लेख्य दुवै तहमा तिर्यक् रूप/कारक-लाई ध्यान दिन छाड्यौँ। धेरै लेखहरूमा तिर्यक् रूप/कारक विचार नगरी लेखिएको पाइन्छ। शिक्षक-प्राध्यापक, समालोचक, सम्पादक सबैले नै तिर्यक् रूपबारे विचार गरेको देखिँदैन। पुराना मानिसहरू र भाषाबारे सचेत व्यक्तिहरूले तिर्यक् रूप विचार गरेर नै बोल्छन्। तिर्यक् रूप हिज्जे होइन, यो भाषाको प्राकृतिक नियम हो। भाषामा स्वतः तिर्यक्‌को सङ्गति आउँदछ। त्यसैले पहिले भाषाको प्रकृति बुझ्नु र बिचार्नु आवश्यक छ। तिर्यक् रूप ठिक छैन भने पाठकलाई लेख पढ्न झिँजो लाग्छ।


तिर्यक् रूप/कारक-को सूत्र सम्पादन गर्नुहोस्

नाम वा सर्वनाम शब्दका पछि कुनै पनि विभक्ति र नामयोगी (अव्यय) आउँछ भने त्यस शब्दका अघिल्लो शब्दमा भएको ओ-कार आ-कारमा परिणत हुन्छ।

रामको घर > रामका घरमा (हुन्छ) (घर शब्दका पछि /मा/ विभक्ति लाग्दा /रामको/ /रामका/ भयो)

घरको आँगन > घरका आँगनमा/

रूपविधानको दृष्टिकोण > रूपविधानका दृष्टिकोणमा

हाम्रो भाषा > हाम्रा भाषाले/हाम्रा भाषामा

उहाँको आत्मा > उहाँका आत्माले

यो कुराले (हुँदैन)> यस कुराले (हुन्छ) – यहाँ /ले/ विभक्ति लाग्दा /यो/ सर्वनाम /यस/ मा परिणत भएको हो।

यो कुरो/ एउटो कुरो/ (हुन्छ) तर यसको बहुवचन रूप चाहिँ /यस कुरा/ /एउटा कुरा/- हुन्छ। यो बहुवचन सूचक पनि हो र तिर्यक् रूप पनि हो। कुरो- एकवचन/ कुरा- बहुवचन रूप हो। त्यसैले /कुराहरू/ भनिरहनु पर्दैन। /हामी/ प्रथम पुरुष बहुवचन रूप भएकाले /हामीहरू/ भनिरहनु पर्दैन।

यो भनाइ- (हुन्छ) > यो भनाइले (हुँदैन) > यस भनाइले (हुन्छ) > यस भनाइ अनुसार/ यस भनाइमा (हुन्छ)

यो/त्यो/ सर्वनाम शब्दका पछि आउने शब्दमा कुनै विभक्ति वा नामयोगी आएको छ भने /यस/त्यस/ हुन्छ। साथै यो/त्यो/ऊ- एकाक्षरी सर्वनाममा नै विभक्ति लाग्छ भने यिनीहरूको रूप पनि यस/त्यस/उनी/उन/उस/ हुन्छ।

यो कुरो ठिक छैन तर त्यस कुरामा भने तर्क छ। त्यो मान्छे राम्रो छ तर त्यस मान्छेको बोली ठिक छैन। यो पढेको मान्छे हो तर यसले/उसले- पढेको सबै बिर्सन्छ। ऊ राम्रो काम गर्छ र उसले/उनले गरेको काम सबैले मन पराउँछ।

रामलाल अधिकारी राम्रा निबन्धकार थिए। उनी कविता पनि त्यत्तिकै राम्रा लेख्थे। उनका थुप्रै निबन्ध अनि कविताका पुस्तकहरू प्रकाशित भएका छन्। उनले ‘परालको आगो’ नेपाली चलचित्रमा अभिनय पनि गरेका थिए। नेपाली साहित्यको इतिहासमा उनलाई सफल निबन्धकारका रूपमा चिनिन्छ। अघिल्ला पुस्ताका निबन्धकारहरूको भन्दा उनका निबन्धमा रोचकता धेर पाइन्छ। सरल भाषाको प्रयोग उनका निबन्धको विशेषता मान्न सकिन्छ। उनले दार्जिलिङ सरकारी महाविद्यालयमा धेरै लामा समयसम्म पढाए। उनी सबै विद्यार्थहरूका प्रिय शिक्षक थिए। विद्यार्थीहरूलाई सधैँ उनी अघिल्लो पङ्क्तिमा बस्ने सुझाउ दिन्थे।

माथिका परिच्छेदमा भएका वाक्यहरू विचार गरौँ- (उनका थुप्रै निबन्ध अनि कविता...) यहाँ ‘उन’ सर्वनाममा –‘का’ लागेको छ। यो बहुवचन सूचक ‘का’ हो अनि ‘ऊ’ सर्वनाममा ‘का’ लाग्दा /उनका/ भएको रूप चाहिँ तिर्यक् रूप हो। (नेपाली साहित्यको इतिहासमा...) यस वाक्यमा /इतिहास/ शब्दमा /मा/ विभक्ति लागे तापनि /साहित्य/ शब्दमा लागेको /को/ -/का/ मा परिणत भएको छैन। - नियमअनुसार पछिल्लो शब्दमा विभक्ति वा नामयोगी लाग्दा अघिल्लो शब्दमा जोडिएको ओकार आकारमा परिणत हुनु पर्ने हो। तर यहाँ त्यसो नहुनाको कारण वचनले गर्दा हो। नेपाली साहित्य एउटा हुन्छ। (अब यहाँ एउटा नभएर एउटो हुनु पर्ने हो तर तिर्यक् रूपलाई हामीले पचाउँदै आयौँ र एउटा लेख्ने थाल्यौँ) र यो एकवचन रूप भएकाले (नेपाली साहित्यका इतिहासमा)-हुँदैन। (निबन्धकारका रूपमा....) रूप शब्दका पछि /मा/ विभक्ति आएकाले /निबन्धकारका/ भयो। (अघिल्ला पुस्तका निबन्धकारहरूको...) पुस्ता शब्दका पछि /मा/ लागेकाले अघिल्लो शब्द /अघिल्ला/ भयो। यो तिर्यक् रूप हो र बहुवचन पनि हो। आफूभन्दा अघिका थुप्रै पुस्ताहरू भन्ने बहुवचन यहाँ देखिन्छ। (धेरै लामा समयसम्म) हामी धेरै लामो समयसम्म- भन्छौँ तर समय शब्दका पछि /सम्म/ नामयोगी आएकाले /लामो/ तिर्यक् भएर /लामा/ हुन्छ। (विद्यार्थहरूलाई सधैँ अघिल्लो पङ्क्तिमा बस्ने सुझाउ दिन्थे..) माथिका वाक्यमा अघिल्ला पुस्तामा हुँदा- तलका वाक्यमा अघिल्लो पङ्क्तिमा किन भयो? भन्ने प्रश्न उठ्छ। यसका कारण वचन हो। तलका वाक्यमा /अघिल्लो पङ्क्ति/ भन्नाले एउटा लहर बुझिन्छ। त्यसैले /पङ्क्ति/ शब्दमा /मा/ विभक्ति लाग्दा पनि /अघिल्लो/ अघिल्ला/ भएन। अघिल्ला पङ्क्तिमा- लेख्नु हो भने थुप्रै पङ्क्तिहरू बुझिन्छन्।

त्यसैले तिर्यक् रूप/कारकबारे विचार गर्दा वाक्यमा वचनको सङ्गति पनि विचार गर्नु पर्ने हुन्छ।

इकारान्त रूप चाहिँ आकारान्त हुँदैन। यदि हुन्छ भने त्यो वचनले गर्दा मात्रै हुन्छ।

रामकी आमाले भात पकाउनु भयो। शारदाकी आमाले बजारबाट सौदा ल्याइन्।

रामका दिदीहरू बजार गए। शारदाका बडीआमाहरू बजार गए। - बहुवचन


कुनै शब्दका पछि /लागि/ निम्ति/ निमित्त/ कारण/ साथै- आउँछ भने त्यो ओकारान्त शब्द आकारान्तमा परिणत हुन्छ।

भाइको लागि (हुँदैन)/ भाइका लागि (हुन्छ)

भाइको निम्ति (हुँदैन)/ भाइका निम्ति (हुन्छ)

भाइको निमित्त(हुँदैन)/ भाइका निमित्त (हुन्छ)

भाइको कारण (हुँदैन)/ भाइका कारण (हुन्छ)

यसको साथै (हुँदैन)/ यसका साथै (हुन्छ)

भाइका लागि केही लगेर जानू/ भाइका निम्ति मात्र आएको हुँ/ भाइका निमित्त मैले यो काम गरेँ/ भाइका कारण ऊ ठिक ठाउँमा पुग्न सक्यो/ यसका साथै अन्य कुराहरू पनि छन्।

के हुँदैन?

भुपेनको घरमा/ डपको बारीमा/ हुनुको/ भएकोले/ गरेकोले/ सुनेकोले/ खाएकोले/ भाइको लागि/ भाइको निम्ति/ भाइको निमित्त/ भाइको कारण/ यसको साथै/ मैसुरको तत्त्वावधानमा/ भाषाको व्याकरणको ज्ञान/ निबन्धकारको रूपमा/ कविको रूपमा/ कथाकारको रूपमा/ समालोचकको रूपमा/ बुझ्नुको/ लेख्नुको/ गर्नुको

के हुन्छ?

भुपेनका घरमा/ डपका बारीमा/ हुनाको/ भएकाले/ गरेकाले/ सुनेकाले/ खाएकाले/ भाइका लागि/ भाइका निम्ति/ भाइका निमित्त/ भाइका कारण/ यसका साथै/ मैसुरका तत्त्वावधानमा/ भाषाका व्याकरणको ज्ञान/ निबन्धकारका रूपमा/ कविका रूपमा/ कथाकारका रूपमा/ समालोचकका रूपमा/ बुझ्नाको/ लेख्नाको/ गर्नाको (यहाँ /को/ विभक्ति आएकाले उकार आकारमा परिणत भएको छ।)- यी शब्दहरूका पछि –लागि/कारण/निम्ति/साथै आउँदा यी शब्दहरू यसरी रूपान्तरित हुन्छन्- बुझ्नाका लागि/ लेख्नाका निम्ति/ गर्नाका साथै/ भन्नाका कारण

चुभुर्को- अघिल्लो शब्दमा विभक्ति लाग्दा पछिल्लो शब्दमा भएको ओकार आकारमा परिणत हुँदैन।

उसले भनेको ठिकै छ। तिमीले भनेको सुनेँ। व्यवस्थाले उसको समस्या झन् ठुलो बनायो।

- निबन्धकारले भनेका सबै कुरा सही छन्।– यहाँ अघिल्लो शब्दमा /ले/ विभक्ति भएकाले गर्दा पछिल्लो शब्द /भनेका/ भएको होइन। यो वाक्य आदरार्थी साथै बहुवचन पनि भएकाले /का/ लागेको हो।


बाह्य सामग्रीहरू सम्पादन गर्नुहोस्

वृहद् नेपाली व्याकरण

प्रयोगात्मक नेपाली व्याकरण

उच्चमाध्यामिक नेपाली व्याकरण