चैत्यको निर्माण अत्यन्त प्राचीन कालबाट नै सुरुवात भएको पाइन्छ । बुद्धका मूर्ति पूजा गर्नु भन्दा पहिला नै चैत्यको पूजा गर्ने प्रचलन रहेको थियो । सामान्यतः पूजनीय (पूजा गर्ने) आधारलाई नै चैत्य भनिन्छ । जसलाई बुद्धको चित्त गुणका प्रतीक मानिन्छ । यस्तो मान्यता छ कि चैत्यको आकार बुद्ध समाधिमा लीन रहनु भएको समयको आकार जस्तै हुन्छ । त्यसैले कुनै द्रव्यबाट त्यस्तै आकार निर्माण गरी पूजाका प्रतीकको रूपमा स्थापना गरेर पूजा आदि गर्ने प्रचलन रहेको छ । बुद्ध समाधि लीनमा रहनु भएको आकारमा निर्माण गरेकोलाई नै बुद्ध अनुयायीहरूले चैत्यको रूपमा पूजा गर्ने गर्दछन् । तर सबै चैत्यहरू एकै आकारको हुँदैन ।

चैत्य शब्द ‘चि’ धातु ण्यत् प्रत्यय मिलेर निष्पन्न भएको शब्द हो । यसको भावार्थ स्मारक, समाधि–प्रस्तर, पूज्य स्थान अथवा बुद्ध एवं अर्हतहरूका मूर्तिको प्रतीक हुन अर्थात् चित्तलाई प्रसन्न पार्ने स्मारक पूज्य स्थान नै चैत्य हो । चित्तले कामना गरेका सम्पूर्ण आकांक्ष पूरा हुने अलौकिक रत्न नै चैत्य (छ्योर्तन्) हुन । चैत्यलाई भोट भाषामा ‘‘छ्योर्तेन” भनिन्छ । ‘‘छ्यो” शब्दले पूजा अर्चना अर्थात् पूजा अर्पण र ‘‘र्तेन” शब्दले आश्रय, आलम्बन र आधार भन्ने अर्थ बुझिन्छ । अर्थात् पूजा आराधना गर्न लायक धार्मिक आलम्बनमा श्रद्धालु भक्तजनहरू भेला भई पूजापाठ र धार्मिक क्रियाकलाप गरी प्रदक्षिणा गर्दा शुद्ध भई पुण्य उत्तरोत्तर फैलिने र त्यस स्थानमा पुण्य कार्य तथा परिणमना गर्दा सबै मनोभावना पुरा हुन्छ । त्यस कारण चैत्यलाई चिन्तामणि पनि भन्ने गर्दछ । सामान्यतः पूजनीय आधारलाई चैत्य भनिन्छ । चैत्यका आकार लगभग बुद्ध भगवान् समाधि (ध्यान) मा रहेको सदृश हुन्छ । त्यसैले कुनै द्रव्यले त्यस आकार सदृश निर्माण गरेर पूजाको प्रतीकको रूपमा स्थापित गरेर पूजा आदि गर्ने गरिन्छ ।

बौद्ध चैत्य निर्माणको सुरुवात

बौद्ध चैत्य निर्माणको सुरुवात तथागत बुद्धको जीवनकाल मै भएको देखिन्छ । क्षुद्रकविनयसूत्रमा भनिएको छ – འདུལ་བ་ཕྲན་ཚེགས་ལས། भगवान् बुद्धको जीवनकालमा उहाँका धेरै शिष्यहरूमध्ये प्रमुख शारिपुत्रले जब निर्वाण प्राप्त गरिएको थियो । तब उहाँको धातुलाई आर्य मौद्गलीपुत्रले आफूसँग राखिएको थियो । यो कुरा श्रावस्तीका गृहपति अनाथपिण्डदले थाहा पाउन साथ आर्य मौद्गलीपुत्रबाट धातु लिने प्रयास गरिएको थियो । तर आर्य मौद्गलीपुत्रले उहाँलाई धातु दिना इन्कार गरियो । त्यसपछि गहृपति अनाथपिण्डद भगवान् बुद्ध समक्ष गई शारिपुत्रको धातुको लागि निवेदन गर्दै धातुलाई पूजा गर्ने इच्छा व्यक्त गरे । यस विषयमा भगवान् बुद्धले आर्य मौद्गलीपुत्रलाई शारिपुत्रको धातु गृहपति मौद्गलीपुत्रलाई दिना आज्ञा दिनु भयो । तत्पश्चात् आर्य मौद्गलीपुत्रले गृहपति अनाथपिण्डद्लाई प्रदान गरियो । अनाथपिण्डद्ल् आफ्नो घरमा लगेर समस्त परिवारहरूले सबै मिलेर वृहत् पूजा गरिएको थियो । यो कुरा कौशलको राज प्रसेनजितलाई थाहा पाउन साथ उहाँ रानीसँग विभिन्न पूजा–सामग्री लिएर गृहपति अनाथपिण्डद्को घरमा पुगियो । दुर्भाग्यवश उस समयमा गृहपति अनाथपिण्डद कुनै आवश्यक कामले सपरिवार अन्यत्र गएको थियो । जसको कारणले कौशलका राज प्रसेनजितले धातुको पूजा गर्न पाएन । राज प्रसेनजितले अनाथपिण्डद प्रति अप्रसन्नता व्यक्त गरियो । यो कुरा भगवान् बुद्धसम्म पुगियो ।

जब गृहपति अनाथपिण्डद घरमा पुगियो त्यो कुराको जनकारी हुना साथ भगवान् बुद्ध समक्ष गएर ‘‘आफू बहिरा गएको समयमा कौशलका राजा शारिपुत्रको धातु पूजा गर्नको लागि पाल्नु भएको र आफू घरमा नभएकै कारणले फर्केको हुँदा आफू त्यसबाट लज्जित भएको कुरा निवेदन गरे । त्यसैले शारिपुत्रको धातुलाई एउटा प्रतीक बनाउन चाहन्छु त्यसबाट सबैले पूजा गर्नु सकोस् । तर प्रतीक कस्तो प्रकारको बनाउने हो, त्यो मलाई थाहा नभएकोले यसको विषयमा उपाय बताउन कृपा गर्नुको लागि निवेदन गरे ।” त्यसपछि भगवान् बुद्धले चैत्य निर्माणको विषयमा यसरी भन्नु भयो :  सर्वप्रथम भूमिमा आधारशिला बनाउनु होस् । त्यसमाथि क्रमशः सानो ठुलो अकारको चार वेदिकाहरू बनाउनु त्यसमाथि कुम्भ निर्माण गर्नु त्यसमाथि द्रोण अकारको पात्र बनाउनु होस् । त्यसमाथि यष्टि बनाएर त्यसमा एकदेखि तेह्रसम्म छत्र चक्र निर्माण गर्नु । त्यसमाथि छाता (वर्षाशाली) निर्माण गर्नुहोस् ।

आठ प्रकारको महाचैत्य

तथागतका आठ प्रकारका चैत्य निर्माण नेपालको कपिल वस्तु र भारतबाट सुरु भए पनि यस चैत्यका स्वरूप अधिकतर लुप्त भएको थियो र केही चैत्यहरूका स्वरूप बौद्ध तीर्थस्थानहरूमा विद्यमान रहेका छन् । अधिकतर बौद्ध विहार एवं चैत्य (छ्योर्तेन) हरूको विनाश यवन (मुसलमान) को शासन कालमा भएको थियो । तर पनि सौभाग्यले चैत्य एवं त्यसको निर्माण विधि परम्परा सम्पूर्ण रूपमा हिमाली क्षेत्र र तिब्बतमा पूर्व भारतका आचार्यहरू र लोचावहरूको अथक प्रयासले संरक्षण गरेको देखिन्छ । जसको फलस्वरूप अहिले पनि शाक्यमुनि बुद्धसँग सम्बन्धित विभिन्न आकारका चैत्यहरू दर्शन गर्न पाइन्छ । चैत्यहरू निर्माण गर्दा पूर्ण विधि, विधान र परम्परा अनुसार निर्माण गर्नु पर्दछ ।

१. བདེ་གཤེགས་མཆོད་རྟེན། तथागत् चैत्य : नेपालको तराई भेग भारतको सिमाना सुनौलीबाट करिब २५ कि.मि. दूरीमा अवस्थित लुम्बिनी उपवनमा शाक्यमुनि बुद्धको जन्म हुँदा नागहरूले पद्मासन अर्पण गरेको उपलक्ष्यमा राजा शुद्धोदनले कपिल वस्तु नगरमा स्थापना गरेको चैत्य हो । यसको आकार मूल जगको आसनमाथि चार तह गोलाकार र त्यस गोलाकारको गर्भमा पद्य (कमल) र धर्म चक्रले सुसज्जित गरिएकोले यस चैत्यलाई “पद्यकटक” चैत्यको नामले पनि पुकारिने गर्दछ ।

२. བྱང་ཆུབ་མཆོད་རྟེན། बोधिचैत्य : भारतको विहार प्रदेशको उरुवेल गाउँको नैरन्जन नदीको किनार (बोधगया) मा शाक्यमुनि बुद्धले बोधिज्ञान प्राप्त गर्नु भएको उपलक्ष्यमा राजा विम्विसारले बोधिज्ञान प्राप्ति प्रतीक स्थापना गरेको चैत्य हो । बुद्धले बोधिज्ञान प्राप्ति पश्चात् बोधगया मै मार दमन गरेकाले यस चैत्यलाई (मार दमन) नामले पनि चिनिन्छ । यस चैत्यको आकार कलशको पीठहरूमा कुनै प्रकारको चार तहको पेटी हुन्छ, पेटीहरूमा कुनै प्रकारको कलाकृतिले अलङ्कृत रहित साधा रूपमा निर्माण गरेको हुन्छ ।

३. ཆོས་འཁོར་མཆོད་རྟེན། धर्म चक्र चैत्य : भारतको उत्तर प्रदेश वाराणसीको सारनाथमा शाक्यमुनि बुद्धले प्रथम पटक चार आर्य सत्यको धर्म चक्र प्रवर्तन गर्दा पञ्च वर्गीय भिक्षुहरूले धर्म चक्र प्रवर्तकको उपलक्ष्यमा स्थापना गरेको चैत्य हो । यसका आकार चार तह चतुष्कोण पेटी रहेको हुन्छ । पेटीहरूमा चार आर्य सत्य, आठ विमोक्ष, द्वादशाङ्ग प्रतीत्यसमुत्पाद, दुई सत्य र सोह्र शून्यका प्रतीक ढोकाहरू निकालिएको हुन्छ त्यस कारण यस चैत्यलाई ‘‘टासी गोमाङ” छ्योर्तेन् पनि भन्ने गर्दछ ।

४. ཆོ་འཕྲུལ་མཆོད་རྟེན། प्रातिहार्य चैत्य : शाक्यमुनि बुद्धले महाप्रतीहार्य (धार्मिक शक्ति) प्रदर्शन गरी आफूसँग प्रतिस्पर्धा गर्न आउने अबौद्ध (तैर्थिक) हरू परास्त गर्दा धर्म विजयको प्रतीक लिच्छविहरूले श्रावस्तीको जेतवनमा स्थापना गरिएको चैत्य हो ।

५. ལྷ་བབ་མཆོད་རྟེན། देव अवतरण चैत्य : शाक्यमुनि जन्मेको सात दिनमा परलोक भएकी माता मायादेवीलाई धर्म देशना गर्न बुद्ध तुषित देवलोकमा पाल्नु भएको थियो । त्यही वर्षावास बिताई पूर्वसन्धयामा वर्षावासको समारोह गरी अपराह्नमा मनुष्य लोकमा अवतरण हुनु भएको उपलक्ष्यमा निर्माण गरेका चैत्य हो ।

६. དབྱེན་ཟླུམ་མཆོད་རྟེན། सङ्घ पुनर्गठन चैत्य : देवदत्तद्वारा फुटाएको भिक्षु सङ्घलाई शाक्यमुनि बुद्धका प्रमुख शिष्य शारिपुत्र र मौद्गल्यायन पुत्रले एकत्रित गरी पुनर्गठन गर्नु भएको उपलक्ष्यमा निर्माण गरेको चैत्य हो ।

७. རྣམ་རྒྱལ་མཆོད་རྟེན། विजय चैत्य : शाक्यमुनि बुद्ध असी वर्षको हुँदा उहाँले महापरिनिर्वाण हुनका लागि यस संसारलाई त्याग्ने घोषणा गर्नु भए पनि आफ्नो अन्तिम शिष्य चुन्दका लागि तीन महिना आयु लम्ब्याउनु भएको उपलक्ष्यमा निर्माण गरेको चैत्य हो ।

८. མྱང་འདས་མཆོད་རྟེན། महापरिनिर्वाण चैत्य : शाक्यमुनि बुद्ध असी वर्ष हुँदा भारतको कुशीनगरमा महापरिनिर्वाण हुनु भएको थियो र त्यस उपलक्ष्यमा निर्माण गरेको चैत्य हो ।

चैत्य निर्माण गरेको अनुशंसा (लाभ)

सामान्य रूपमा तथागत बुद्धका प्रतिबिम्ब, चैत्य निर्माण गरियो भने अपरिमित अनुशंसा (लाभ) प्राप्त हुन्छ, भन्ने सूत्र एवं तन्त्रको अतिरिक्त अनेक बौद्ध शास्त्रहरूमा स्पष्ट रूपमा उल्लेख गरेको पाइन्छ । त्यसमा केही आगमको प्रस्तुत गर्दा जस्तै :– वैरोचनाभिसम्बोधि तन्त्र मा भन्नु भएको छ – ‘‘एक चैत्यको निर्माण गरियो भने त्यस चैत्यमा स्थित परमाणुहरूको सङ्ख्या बराबर अनुशंसा प्राप्त हुन्छ र जति परमाणुहरूको सङ्ख्या हुन्छ त्यति नै चोटि देव, मनुष्यको शुभ योनिमा जन्म प्राप्त हुन्छ । जुन स्थानमा जन्म लिए पनि त्यस ठाउँमा उहाँलाई पूर्व जन्मको स्मरण हुन्छ र छिट्टै अनुत्तर सम्यक् सम्बोधिको लाभ प्राप्त हुन्छ ।”

कूटागारसूत्रमा भगवान् बुद्धले भन्नु भएको छ – ‘‘यो पृथ्वीमा कोही श्रद्धावान् कुल पुत्र अथवा कुल पुत्रीद्वारा सात प्रकारका रत्न एक पात्रमा पूर्ण रूपले भरेर त्यसलाई स्रोता–आपन्न, सकृदागामी, अनागामी, अर्हत्, प्रत्येक बुद्ध एवं चतुर दिशाहरूमा अवस्थित सङ्घलाई अर्पित गर्नु भन्दा पनि अधिक पुण्य हुन्छ ।”

राजाप्रसेन्जिततगाथा सूत्रमा भगवान् बुद्धले भन्नु भएको छ – ‘‘चैत्य एवं काय रूपी प्रतिबिम्ब जसले निर्माण गरियो त्यस प्रतिबिम्बमा स्थित जति परमाणु हुन्छ त्यसको सङ्ख्या बराबर भविष्यमा निश्चयपूर्वक देवलोकको राजसिंहासन प्राप्त हुन्छ । जसले जिन तथागतका प्रतिबिम्बको निर्माण गरिन्छ, उहाँ भविष्यमा सुन्दर, मनोहारी, गुणवान् इन्द्रिय संयमी, सूर्यको प्रभास्वर हुन्छ र उहाँ त्यस लोकका आँखाहरूमा सर्वदा दृश्यमान रहन्छ । मुनीन्द्रका चैत्यको निर्माण गर्ने व्यक्ति सर्वथा शोक रहित, स्वस्थ, धनवान् एवं अनेक रत्न भण्डार सम्पन्न हुन्छ । वह शत्रुहरूबाट पनि अप्रदर्शित रहन्छ ।”

आचार्य सार्की शेर्पा