डोल्पोपा तिब्बती बौद्ध धर्म जोनाङपा सम्प्रदायका प्रमुख सन्त तथा सेन्टोङ्ग विचारधाराका प्रखर वक्ता हुन। उनको जन्म उत्तरी नेपालको डोल्पो क्षेत्रमा भएको थियो। तिब्बती भाषामा "डोल्पोपा" भन्नाले डोल्पो क्षेत्रको बासिन्दा भन्ने बुझिन्छ। उनलाई वर्तमान समयमा यहि नामले चिनिए पनि, उनको वास्तविक नाम भने शेरव ग्याल्क्षेन हो ।[१]

जिवनी सम्पादन गर्नुहोस्

डोल्पोपाको जन्म सन १२९२वमा भएको थियो । उनले सन १३०४ मा बौद्ध दिक्षा ग्रहण गर्न स्थानिय विहारमा प्रवेश गरे । आफ्नो प्रारम्भिक अध्ययन पश्चात उनले थप अध्ययनका लागि तात्कालीन बौद्ध दर्शनको केन्द्र विन्दु मुस्तांगमा गई आचार्य जामयांग ड्राग्पा ग्यालक्षेन मार्फत पारमिता यान, अभीधर्म कोष लगायतका धार्मिक ग्रन्थको गहन अध्ययन गरे । केहि समय पश्चात उनी उनका गुरु आचार्य जामंयाग ड्राग्पा ग्यालक्षेन सहित तिब्बतको सांग स्थित महान शाक्य विहारमा अध्ययनका लागि गए ।

शाक्य विहारमा उनले कालचक्र तन्त्र,चक्रसंभर तन्त्र,हेबज्र तन्त्र , हृदय सुत्र, बज्रक्षेदिका सुत्र, विमलप्रभा सुत्र, बुद्ध गर्भ सुत्र,प्रज्ञापारमिता सुत्र लगायतका गम्भिर बुद्ध सुत्र र तन्त्रको अध्ययन, ध्यान, जप, शिल र साधना गरे । सन १३२१ उनी तिब्बतको महान शाक्य मठको मठाधिसमा नियुक्त भए, त्यहि वर्ष उनले जोनांग मठको भ्रमण गरे, त्यहाको अध्ययन प्रक्रिया, जोनांग दर्शन र शिक्षाबाट पनि उनी औधि प्रभावित भए । उनले तत्कालिन तेस्रो कर्मपा श्री राब्जुङ्ग दोर्जेसँग पनि दर्शन भेट गरी बौद्ध दर्शनको राङटोङ्ग दर्शन सम्बन्धि गहन विचार विमर्श गरे । उनको तार्किक क्षमताको तेस्रो कर्मपाले मुक्त कण्ठले प्रशंसा गरेका छन । सुरवाती समयमा उनी शाक्य परम्पराबाट दिक्षित भई शाक्य मठका मठाधिस भए पनि उनले उक्त मठ सन १३२२ मा छोडेर जोनांग परम्परालाई आत्मसात गरेको पाईन्छ । उनले आचार्य योन्तान ग्यास्तो मार्फत जोनांग परम्पराको शिल अनुग्रहण गरे । उनले सोहि परम्परा अनुसार कालचक्र तन्त्रको गहन अध्ययन, जप, ध्यान आदि गरे। उनले षडपथ योगको १ वर्ष सम्म गहन बोध समाधी ग्रहण गरे । यहि ध्यान योग मार्फत प्रथम पटक उनले सेन्टोङ्ग विचारधारा प्रतिपादन गरे । सन १३२५ मा उनी जोनांग सम्प्रदायको मठाधिस र गुरु भए । उनका आध्यात्मिक गुरु आचार्य योन्तान ग्यास्तोको परिनिर्वाण पछि उनको सम्झनामा उनले महान छोर्तन(चैत्य) बनाउने संकल्प गरे अनुरुप उनी आफेैले श्रमदान गरे र सन १३३३ मा सम्पन्न गरे ।

उनले सन १३३६ मा पहिलो पल्ट परमार्थ सत्य, शुद्ध प्रकृतिको शुन्यवाद र सापेक्ष सत्यको विषयमा दिक्षा दिए र सान्टोङ्ग (सापेक्ष शुन्यता) विचारधाराको वकालत गरे । यस विचारधाराले तात्कालिन बौद्ध जगतमा ठूलो हलचल ल्याएको देखिन्छ । यस विचारधाराबाट तात्कालिन चिनका सम्राट पनि प्रभावित भई डोल्पोपालाई राजधानी आमन्त्रण गरे पनि डोल्पोपा गहन साधनारत रहेकोले जान भने सकेनन। यस्ता महान दार्शनिक, बौद्ध विद्वान, तथा आचार्य डोल्पोपाले सन १३६१ मा परिनिर्वाण प्राप्त गरे।[२]

स्रोत सामग्री सम्पादन गर्नुहोस्

  1. Dolpopa Shesrab Rgyalmtshan (2006). Mountain doctrine : Tibet's fundamental treatise on other-emptiness and the Buddha-matrix. Ithaca,
  2. Hookham, Susan K. (1991). The Buddha within: Tathagatagarbha doctrine according to the Shentong interpretation of the Ratnagotravibhaga. Albany, NY: State University of New York Press. ISBN 978-0791403587.