छैटौँ सेङटक (टुल्कु) रिन्पोछेको संक्षिप्त जीवनी

हिमाली बौद्ध परम्परामा अवतारी लामाको विशेष महत्त्व रहेको छ । རྙིང་མ། ञिङमा, བཀའ་བརྒྱུད། काग्र्युद्, ས་སྐྱ། साक्य र དགེ་ལུགས། गेलुक सहित चारै बौद्ध परम्पराहरूमा टुल्कुलाई विशेष स्थान दिएको पाइन्छ । लोक हितका लागि पुनः आगमन हुनु अर्थात् जन्म लिनुलाई अवतारीको रूपमा मान्दछन् । त्यसै मध्यका एक अवतारी धर्म गुरु སེང་བྲག सेङटक रिन्पोछे तिब्बतको दिङरी नामक स्थानमा सिंह आकारको भीरमाथि गोन्पा निमर्ण गर्ने लामाका अवतारीलाई སྐྱབས་རྗེ་སེང་བྲག་རིན་པོ་ཆེ། सेङटक रिन्पोछे (सेङ् =सिंह र टक= भीर) को नामबाट चिनिन्छ ।

चिप्री नेश्येत् अर्थात् चिप्री तीर्थ वर्णन नामक पुस्तकमा लेखिएका अनुसार उक्त गोन्पा प्रथम सेंडक रिन्पोछेले निर्माण गर्नु भई “लुचे सम्तेन छोलिङ”नामकरण गर्नुभएको थियो । प्रथमदेखि पाँचौँसम्मका सेङटक रिन्पोछेहरूको बसाई सोही गोन्पामा भएको थियो । पाँचौँ सेङटक रिन्पोछे ङावाङ तेन्जीन जाङपो सन् १९५९ देखि नेपालमा निर्वासित जीवन बिताउँदै सोलु, थुप्तेन छोलिङ्ग गोन्पामा रहनु भई नेपालमै निदान हुनु भएको थियो ।

रिन्पोछेको निदान पश्चात् छैटौँ सेङटक रिन्पोछेको जन्म सन् १९७१ जनवरी १ तारिकका दिन सोलुदुधकुण्ड नगरपािलका वडा नं. २, चातुक्पा नामक गाउँमा पिता पासाङ शेर्पा र माता छोक्पा शेर्पाको कोखबाट भएको थियो । उहाँका जन्म कालको नाम ङिमा तेन्डी शेर्पा हुन् । पाँच वर्षको उमेरमा सोलु, थुप्तेन छोलिङ्ग गोन्पाका प्रमुख एवं ञिङमा परम्पराका वरिष्ठ धर्म गुरु ༸སྐྱབས་རྗེ་འཁྲུལ་ཞིག་རིན་པོ་ཆེ། परम श्रद्धेय ठुशिक रिन्पोछेज्यूबाट छैटौँ सेङटक रिन्पोछेको रूपमा प्रमाणित गर्नु भई “ठितेन” अर्थात अवतारीको गद्दी आरोहण गराउनु भएको थियो ।

चित्र:༸སྐྱབས་རྗེ་སེང་བྲག་རིན་པོ་ཆེ།
༸སྐྱབས་རྗེ་སེང་བྲག་རིན་པོ་ཆེ། श्रद्धेय टुल्कु सेङटक रिन्पोछे

तत्पश्चात् थुप्तेन छोलिङ्ग गोन्पामा १३ वर्षसम्म गुरु ङवाङ टासीबाट सम्भोट भाषा एवं सामान्य बौद्ध धर्म दर्शन र लोपोन ङवाङ चोन्डुबाट बौद्ध कर्मकाण्ड विषयका अध्ययन गर्नु भएको थियो । साथै परम श्रद्धेय ठुशिक रिन्पोरछे ज्यूबाट श्रामणेर शील (गेछुल) ग्रहण गर्नु भई ङवाङ तेन्गे नामकरण गर्नु भएको थियो । सानै उमेरमा परम श्रद्धेय खेन्चे रिन्पोछे ज्यूबाट ङोडो, तेरजोद्, कमा, दमङक् जोद् आदिको अभिषेक (वाङ) एवं आगम (लुङ) प्राप्त गर्नु भएको थियो ।

सोलुखुम्बु स्थित थुप्तेन छोलिङ्ग गोन्पामा अध्ययनपछि उच्च बौद्ध शिक्षा अध्ययन गर्नको निम्ति सन् १९९५ मा दक्षिण भारतका कर्नटक राज्यमा अवस्थित ञिङमा परम्पराका अध्ययन केन्द्र, नम्डोलिङ्ग गोन्पामा पाल्नु भई खेन्पो पेमा श्येरव, खेन्पो नम्डोल, खेन्पो गुरु आदिको साथै बौद्ध धर्म एवं दर्शनका विज्ञहरूबाट अभिधर्मशास्त्र, माध्यमिकशास्त्र, बौद्ध न्याय एवं बौद्ध तन्त्र आदि विषयहरू गहन अध्ययन गर्नु भई सन् २००४ मा परम श्रद्धेय पेमा नोर्वु रिन्पोछे ज्यूबाट लोपोन अर्थात् आचार्यको उपाधि प्राप्त गर्नु भएको छ । साथै परम श्रद्धेय पेमा नोर्बु रिन्पोछे ज्यूबाट भिक्षुका शील (गेलोङ दोम्पा) ग्रहण गर्नु भई अध्ययन पश्चात् सोही गोन्पामा स्वयं सेवाका रूपमा एक वर्ष कार्य गर्नु भएको थियो ।

उहाँले विभिन्न समयमा परम श्रद्धेय पेमा नोर्बु रिन्पोरछे ज्यूबाट तेरजोद्, ङोडो, ङिङथिक यजी, चलुङ जोक्छेन, परम श्रद्धेय तक्लुङ चेटुल रिन्पोरछे ज्यूबाट च्याङतेरको अभिषेक, आगम, परम श्रद्धेय दुडुप रिन्पोरछे, ङिङथिक यजी, यङथाङ रिन्पोरछे ज्यूबाट बुमको आगम, दोवाङको अभिषेक, परम श्रद्धेय ज्यटल रिन्पोरछे र मिलिङ ठीछेन रिन्पोरछे आदिबाट ञिङमा परम्पराका परम्परागत सम्पूर्ण आगम, अभिषेक प्राप्त गर्नु भएको छ । साथै परम पावन दलाई लामाबाट कालचक्र अभिषेक, सैतिस बोधि ग्रहण, बोधिचर्यावतार, मध्यमकावतार, र शाक्य ठिजीन, डुप्छेन रिन्पोरछेको साथै अन्य धेरै रिन्पोरछेज्यूहरूबाट आगम, अभिषेक आदि प्राप्त गर्नु भएको थियो ।

तत्पश्चात् नेपालमा आउनु भई पल्युल ओग्यन दोर्जे छोलिङ्ग गोन्पा फार्पिङमा २ वर्ष अध्यापन र सन् २००६ देखि काँगडाभित्त गोन्पामा प्रमुख लामाको पदमा रहनु भएको छ । साथै उहाँ विभिन्न संघ संस्थाहरूमा आबद्ध भई सक्रिया रुपमा कार्यरत रहँदै आउनु भएको छ । उहाँ शेर्पा गोन्पामा हरेक साल वज्रगुरु मन्त्रजप कार्यक्रमको प्रमुख लामा र शेर्पा गोन्पाका आजीवन सदस्य, नेपाल शेर्पा संघका सल्लाहकार, नेपाल बौद्ध ञिङमा संघका अध्यक्ष पदमा हुन् हुन्छ ।

धर्म गुरु परम श्रद्धेय ठुल्शिक रिन्पौछेको आज्ञ अनुसार उहाँकै सक्रिया नेतृत्वमा सन् २००९ मा सोलु जिल्लाको सोलुदुधकुण्ड नागरपालिका वडा नं. २, मोपुङ गाउँमा ६५ फिट उचाइ तथा ४२ फिट चौडाइ भएको टासी गोमाङ चैत्य, निर्माण सुसम्पन्न गर्नु भएको थियो र परम श्रद्धेय ठुल्शीक रिन्पोछे तथा काठमाडौं सेक्षेन गोन्पाका प्रमुख औतारी गुरु परम श्रद्धेय दिल्गु खेन्चे याङसी रिन्पोछेज्यूबाट प्रतिष्ठा (राम्ने) सुसम्पन्न गर्नु भएको थियो । यो चैत्य सोलुखुम्बुमा जिल्ला कै विशाल तथा पहिलो टासी गोमाङ चैत्य (छ्योर्तेन) भएको मान्न सकिन्छ । साथै उहाँ कै नेतृत्वमा मोपुङ काग्युर गुम्बा, (सामुदायिक गुम्बा) को पनि निर्माण सम्पन्न भएको छ । २०७२ सालको महाविनासकारी भूकम्पबाट जीर्ण भएको बौद्धमहा चैत्यको जीर्णोद्धर गर्ने क्रममा विशेषगरी उहाँले श्रद्धेय टुक्कु रिग्जीन पेमाज्यूसँग दैनिक रुपमा खट्नु भई महाचैत्यमा धारणी मन्त्र (जुङ) चढाउने महान् कार्य गर्नुभएको थियो ।

बौद्ध धर्म देशना एवम् विभिन्न चैत्य निर्माण आदि धार्मिक र सामाजिक कार्यमा संलग्न उहाँले हालसम्ममा राष्ट्रिय स्तरमा मात्र नभई भारत, भुटान एवं मेक्सिको आदि अन्र्तराष्ट्रिय जगतमा समेत आपनो धार्मिक एवं बौद्धिक गतिविधिहरूको शुभारम्भ गरिसक्नु भएको छ । सधारण स्वभाव एवम् स्वच्छ छविका धनी उहाँ शेर्पा समाजका अवतारी गुरुहरूमध्ये अग्रपंक्तिमा पर्दछ ।