१९८९ असोजमा पोखरामा जन्मिएर जीवनको अधिकाश समय पत्रिका वितरणमा विताएका चन्द्रकान्त पौडेलको सवैले चिन्ने नाम गोरखापत्र बाजे हो |२२ माघ २०६९मा निधन भएका ८१ वर्षिय चन्द्रकान्तलाईले २९ वर्षमा थालेको पत्रिका बाँड्ने काम उनले निधन हुन अघिसम्म गरिरहे। लामो समयसम्म गोरखापत्र बाँड्दै हिँड्ने गरेका हुनाले सबैले उनलाई 'गोरखापत्र बाजे' भन्न थालेका हुन् भन्ने भनाई छ| पछि अन्य पत्रिका वितरणमा पनि उतिकै लागेता पनि त्यही नामले उनको चिनारि थियो।

उनी पत्रिकालाई माध्यम बनाएर भित्रभित्रै पञ्चायत विरुद्धको अभियानमा लागेका थिए। उनले पत्रिका बाँडेर चेतना फैलाउने र प्रजातान्त्रिक आन्दोलनलाई सघाउने काम गरे। प्रतिबन्धित अवस्थामा पञ्चायत व्यवस्थाविरुद्ध लेखिएका समाचारका हेडलाईन भट्टयाउँदै हिँंड्थे। जहाँ-जहाँ पञ्चहरूको जमात हुन्छ, त्यहीं पुगेर पञ्चायत विरोधी समाचार फलाक्थे। तत्कालीन सीडीओ, अञ्चलाधीशकै सामुन्ने उनीहरूको विरोध गर्ने साहस बाजेमा रहनु का साथै प्रजातन्त्र र प्रेस स्वतन्त्रता उनको आस्था थियो। सिद्धान्तमा उनी कांग्रेस समर्थक थिए र पनि कहिल्यै पार्टी कार्यकर्ता भएनन्। प्रजातान्त्रिक आस्थामात्र राख्ने तर नेताहरूको झोला नबोक्ने स्वभावका कारण राजनीतिमा लागेनन्। पञ्चायतकालमा दुईपटक नगरपालिकामा वडा सदस्य निर्वाचित हुँदा पनि उनले पत्रिका बाँड्ने काम छाडेनन्। पहिला पञ्चायतको विरोध गर्थे। ०४६ पछि कम्युनिष्टका कडा आलोचक थिए। सशस्त्र द्वन्द्वमा माओवादी र सेना दुवैतर्फबाट मानिस मारिएको गलत भन्दै शान्तिमा जोड दिन्थे।

२०१७ सालमा पोखराबाट पहिलोपटक प्रकाशित हिमदूत साप्ताहिकलाई घर-घरमा पुर्‍याउने काम गरे। ०२६ सालमा हिम सन्देश गृहमा आउने गरेको गोरखापत्र बाँड्ने काम थाले। केही वर्षपछि बाजेले आफ्नै नाममा गोरखापत्रको एजेन्सी लिए। ०२९ सालमा महेन्द्रपुलमा अहिलेको हुलाक भवनको उत्तरपट्टि सडकमा काठले बारेको जसताको छाना भएको 'ट्याङ्की' राखेर पत्रिका बिक्री गरे। पछि सडकले हटाएपछि ०५० सालमा महेन्द्रपुलकै मुखमा नगरपालिकाको सटर भाडामा लिएर पसल राखे। जुन अहिलेसम्म पनि छ। पछिल्लो अवधिमा धेरै पत्रिका र पुस्तक पसलमा राखे पनि उनले वितरणको आफ्नो दैनिकी भने कहिल्यै छाडेका थिएनन्। नेपाल रेडक्रस, परिवार नियोजन सङ्घ, पोखरा सार्वजनिक पुस्तकालयका आजीवन सदस्य रहेका बाजे विभिन्न सङ्घ-संस्थामार्फत सामाजिक कार्यमा सक्रिय थिए। पत्रिका वितरण गरेर समाजलाई सुसूचित गराएको योगदानको कदरस्वरूप स्थानीय रेडियो अन्नपूर्णले २०६५ सालको 'लाईफ टाइम एचिभमेन्ट' सम्मान प्रदान गरेको थियो।

[१] वेब्याक मेसिन अभिलेखिकरण २०१३-०२-१५ मिति