गहु खेती प्रविधि तथा रोग नियन्त्रण

गहु खेती प्रविधि तथा रोग नियन्त्रण  नारायण ओली परिचय : गहुँ विश्वको एक प्रमुख अन्न बाली हो । यो विश्वका प्राय सबै देशमा खेती गरिन्छ । विश्वमा बालीको क्षेत्रमा गहुँले पहिलो स्थान ओगटेको छ। विश्वमा गहुँ उत्पादन तथा खपत गर्ने देशहरूमध्ये नेपाल एक प्रमुख देश हो। नेपालको कृषिमा धानपछिको दोस्रो स्थानमा गहुँ पर्छ । खाद्यान्नमा यसको महत्त्वपूर्ण भुमिका रहेको छ। गहुँ बाली पीठो उत्पादका लागि खती गरिन्छ । खासगरी पूर्वीय भारतसहित देशको अधिकांश भागमा गहुँको पीठोको रोटी बनाएर खाइन्छ, जो एक प्रमुख खाद्य हो। गहुँको नल वा छ्वाली पशुआहारमा पनि प्रयोग हुन्छ। नेपालीको मध्ये पहाडी क्षेत्रका लागि गहुँ प्रमुख बाली मानिन्छ । नेपालमा तराई देखि उच्च पहाड सम्म गहुँ खेती गर्न सकिन्छ। नेपालमा ७१६९७८ हेक्टर क्षेत्रफलमा खेति गरिन्छ । नेपामा बार्षिक २१४४५६ ८ मेट्रिक टन उत्पादन हुन्छ । यश वर्ष भारतबाट ३ लाख मेट्रिक टन गहु आयत हुने अनुमान गरिएको छ । नेपालमा सबैभन्दा धेरै गहुँ उत्पादन हुने प्रदेश मध्येस प्रदेश हो ।

हावापानी: गहुँ खेती प्रायः सबै प्रकारको हावापानीमा गर्न सकिन्छ। गहु उमार्नको लागि २०-२६ डिग्रीसेन्ट्रिगेट र पाक्दा १४ देखि १७ डिग्रीसेन्ट्रिगेट तापक्रम हुनुपर्छ। गहुँ खेती पानी नजम्ने खालको दोमट माटो उपयुुक्त हुन्छ । नेपालीको हावापानी अनुसार ३४०० मिटर उचाइ सम्म खेती गर्न सकिन्छ । यसका लागि माटोमा पि एच ६.७-७.७ हुन जरुरी छ । यसका लागि प्रसस्त मात्रामा प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ। यहाँको स्थानीय हावापानी अनुसार कार्तिक देखि मंसिरको अन्तिम सम्म गहुँको बीउ छर्न सकिन्छ।

जातहरू: रुकुम पूर्व र यसका आसपासका सबै क्षेत्र मध्ये देखि उच्च पहाड पर्ने भएको हुदा यहाँ स्थानीय रातो र सेतो गहुँ छरेको पाइन्छ। WK १२०४, पासाङल्यामु,अन्नपूर्ण १,२ गौतम र भृकुटी पनि खेती गरिन्छ ।

बीउदर:

गहुँको खेत गर्दा ६ के जी प्रति रोपनीका दरले पा १२० के जी प्रति हेक्टरका दरले बी रोप्न सकिन्छ। रोप्न योग्य गहुँको बीउमा ८५% उमार शक्ति, १२% चिस्यान र ९८% जातिय शुद्धता हुनुपर्छ । हाम्रो क्षेत्रमा गहुँको बीउलाई उपचार नगरिकनै छर्न सकिन्छ तर उपचार गर्नै पर्ने अवस्थामा भाइठाभेक्ट २०० ग्राम प्रति किलोका दरले बीउको उपचार गरेर छर्नुपर्छ । २०-२५ से मि को फरकमा बीउ रोप्दा राम्रो मानिन्छ । बीउ उत्पादनका लागि अरु बाली लगाएको भन्दा ३ मिटर सम्मको दुरी फरक बनाउनुपर्छ भने कालो पोके रोग देखा परेको खण्डमा १५० मिटर पृथक्ता दुरी कायम राख्नुपर्छ ।

जग्गाको तयारी तथा मलको प्रयोग: गहुँ खेती गर्न कम खनजोत वा सतहि छराई गर्ने तरीकाबाट गर्न सकिन्छ । रोटोभेटर वा पावर ट्रेक्टरबाट जोताई गरी सोझै गहुँ छर्न सकिन्छ । तर हाम्रो जस्तो पहाडी क्षेत्रमा मकै छरेको जमिनलाई राम्रो संग खनजोत गरि बुरबुराउदो मसिनो माटो बनाउनुपर्छ । जग्गामा भएका सबै झारपातहरू हटाएर बीउ छर्नका लागि तयार गर्नुपर्छ । गहुँ छर्ने जग्गामा १ महिना अगाडि १ टन कम्पोस्ट मल प्रति हेक्टरका दरले छरेर कम्तीमा पनि दुई पटक खनजोट गरेर डल्लाहरू फुटाउनुपर्छ । खनजोत गरेको जमिनमा पानीको राम्रो निकास हुन जरुरी छ किनकि छरेको बीउ नउम्रेर कुन सक्छ । १२–१५ मे.टन प्राङ्गारीक वा गोठेमल सहित १००ः५०ः२५ के.जी. प्रति हेक्टरका दरले नाइट्रो जन, फोसफोरस र पोटास अर्थात (डि.ए.पि. ३.५ के.जी., यूरिया २.२ के.जी., म्युरेट अफ पोटास १.५ के.जी. प्रति कठ्ठा) जग्गा तयारीकोबेला प्रयोग गर्ने । गहुँको बीउ छरेको १ महिना पछाडि झारपात गोडेर नाइट्रोजनले टपड्रेस गर्न सकिन्छ । भने हाम्रो जस्तो पहाडी क्षेत्रमा भने बीउ छर्नु पूर्व नै कम्पोस्ट मल प्रयोग गर्नुपर्छ ।

सिचाइ व्यवस्थापन: जमिन सुख्खा छ भने बाली लगाउनुभन्दा अगाडी नै सिंचाई गर्नुपर्छ । गहुँ बालीमा पानी जम्मा हुन दिनु हुँदैन तसर्थ खेत राम्ररी सम्याएको हुनुपर्छ । बीउ रोप्दा जमिनमा दुई चोटी सिंचाई गर्नु जरुरी छ । विशेष गरि गहुँ बालीमा ४ पटक सिचाइ गर्नुपर्छ । जरा निस्किने वेला, गाज हाल्ने वेला, फुल फुल्ने वेला , दुध पसाउने र भरिने वेलामा सिचाइको आवश्यक पर्ने गर्छ । सिचाइ गर्दा माटो र बालीको अवस्था हेरेर २- ४ पटक सम्म गर्न सकिन्छ । सिचाइ गर्दा मौसमी अवस्था हेरेर हावा नचल्ने वेला गर्न सकिन्छ । अझै भन्ने हो भने बिहान वा बेलुकी पख सिचाइ गर्दा राम्रो मानिन्छ । सिचाइ गर्दा मल नबग्ने गरि फोहोरा सिचाइ गर्नुपर्छ किनभने हाम्रो जमिन भिरालो भएको कारणले गर्दा पहिरो जाने वा मल बगेर खेर जाने हुन सक्छ ।

रोग किरा तथा व्यवस्थापन: १. कीटकीटे खपट लक्षणहरू यसको लार्भा ले गहुँको जरा काटीदिन्छ र बोट सुक्छ । व्यवस्थापन विधि • गहुँको फेंद काट्ने कीराका लागि राम्रो विषादी प्रयोग गर्ने । • सिंचाई सुविधा भएमा राम्रोसँग सिंचाई गर्ने व्यवस्था मिलाउने । २. लाही कीरा लक्षणहरू बाला पसाउने बेलामा यसले साह्रै दुःख दिन सक्छ । लाही कीराहरूले कलीलो बालाको रस चुसी नोक्सान गर्ने गर्दछ। व्यवस्थापन विधि • लेडी विटल्स (मित्रु खपटे) संरक्षण गरि प्रयोग गर्न सकिन्छ । • डायमेथोएट ३०५ ई.सी. को १ मी.ली.प्रति लीटर पानीका दरले प्रयोग गर्न सकिन्छ । • सिचाँइ गर्दा पनि राम्रो हुन्छ । ३. गुलावी गभारो लक्षणहरू यिनीहरूले गहुँको गुवो काटी नोक्सान गर्ने गर्दछन् र बोट सुक्दै जाने हुन सक्छ । व्यवस्थापन विधि • गवारोको क्षति कम गर्न हरेक वर्ष गहुँ काटी सकेपछि वमिनमन रहेका सम्पूर्ण ठूटा निकाली जलाइ दिनुपर्छ वा ठूटा डुब्ने गरी पानी हाल्ने वा सिचाइ गर्ने,अथवा गहुँ काटिसकेपछि खेतलाई राम्रोसँग खनजोत गर्ने गर्नुपर्छ । • बिरुवाको पातहरूका टुप्पोमा देखिएका फुलहरूलाई पातको टुप्पो निमुठेर नष्ट गर्ने । • प्रकाशको पासोको माध्यमबाट वयस्क पुतलीलाई मार्ने गर्नुपर्दछ । • ट्राइकोग्रामा जस्ता परजीवी कीरा बीउ छरेको ३–४ हप्ता पछि छाडिदिने । • गहुँखेतको आलीमा कोसे बलीहरू लगाउने • व्यासीलस थुरीनजियन्सीस ३ ग्राम प्रति लिटर पानीका दरले छर्ने । • गवारोहरूको धेरै प्रकोप भएको खेतमा कार्वोफ्यूरान खेतमा छिपछिपे पानी जमाइ छर्ने । विषादी छरेपछि ४ दिनसम्म खेतबाट पानी बग्न दिनु हुँदैन । • माकुरा, लामा सिंगे फट्याङग्रा जस्ता मित्रजीवको संरक्षण गर्ने ।

गहुँबालीका मुख्य रोगहरू १. डढुवा रोग (Leaf blight) लक्षणहरू साना साजा खैरो रङ्गका थोप्लाहरू पातमा देखिछन् । पछि ती थोप्लाहरू बढ्दै गएर एक आपसमा जोडिई पात सुकेको वा डढेको जस्तो देखिन्छ । व्यवस्थापन विधि • भाइटाभेक्स–२००, दुइ ग्राम प्रति किलोका दरले बीउ उपचार गर्न सकिन्छ । • पोटास मलको प्रयोग गर्न सकिन्छ । • उपयुक्त समय र मौसम मिलायर गहुँ छर्ने । • रोग अवरोधक गहुँका जातहरू लगाउने । २. खैरो सिन्दुरे (Brown rust) लक्षणहरू गहुँका पातको माथिल्लो सतहमा सुन्तला रङ्गका धेरै फोकाहरू देखिन थाल्दछन् । ती फोकाहरू छुट्टाछुट्टै रहेका हुन्छन् । व्यवस्थापन विधि • रोग अवरोधक जातहरू छनौट गरि लगाउने । • सिफारिस गरे अनुसारको मलखाद प्रयोग गर्ने, उपयुक्त समयमा गहुँ छर्ने • गहुँको बोट ठूलो भएमा म्यान्कोजेव ७५% डव्लु.पि. (डाइथेन एम–४५) नामक विषादी१.५–२ के.जी. प्रति हे. ७५० लिटर पानीमा मिसाई १५ दिनको अन्तरमा २–३ पटक छर्कने । हाम्रो जिल्लाको हकमा जैविक विषादीहरू प्रयोग गर्ने। ३. पहेंलो सिन्दुरे (yellow rust) लक्षणहरू गहुँको पातको माथिल्लो सतहमा पहेंला, लाम्चिला फोकाहरू एक अर्कासँग मिलेका धर्सा परेर बसेका हुन्छन् । व्यवस्थापन विधि • रोग अवरोधक जातहरू जस्तैः डव्लु के १२०४, पासाङ्गल्हामु, लगाउने र ठीक समयमागहुँ छर्ने । • सिफारिस गरिए अनुसार मलखादको प्रयोग गर्ने । • माथि खैरो सिन्दुरे जस्तैः रसायनीक वा जैविक बिसादी प्रयोग गर्ने ४. कालो पोके (Loose smut) लक्षणहरू बालामा दाना लाग्नुको सट्टा कालो ढूसीले भरिएको हुन्छ । गहुँका बालाहरू कालो पिठो जस्तो पदार्थले भरिएको हुन्छ । व्यवस्थापन विधि • स्वस्थ्य बीउको प्रयोग गर्ने । • भाईटाभेक्स–२०० विषादी २ ग्राम प्रति किलो बीउका दरले गहुँको बीउ उपचार गरी छर्ने । • रोग लागेको बालाबाट धूलो नझर्दै उखेलेर खाल्डोमा गाड्ने अथवा जलाई दिने गर्नुपर्छ । • अन्नपूर्ण–४ जातको गहुँमा यो रोग कम लाग्ने हुँदा यो जात लगाउन सकिन्छ। ५. गन्हाउने कालो पोक (Stinking smut or hill bunt) लक्षणहरू रोगी दानाहरू गोलाकार हुन्छन् र कालो रङ्गको जीवाणुहरूले भरिएका हुन्छन् । ती जीवाणुहरू दाना फुटाएर बाहिर झर्दछन्। नजिकबाट सुँघ्दा माछा कुहिएको जस्तो सिद्राको जस्तो गन्ध आउँछ। व्यवस्थापन विधि • दुई तीन वर्षसम्म घुम्ती बाली लगाउने वा गहुँ नै नलगाउने गर्नुपर्छ । • भाईटाभेक्स–२०० विषादी २ ग्राम प्रति किलो गहुँको बीउका दरले बीउको उपचार गरी छर्ने । • स्वस्थ्य र रोग प्रतिरोधक बीउहरूको प्रयोग गर्ने ।

बाली काट्ने र भण्डार गर्ने : गहु राम्रो संग सुकेर पहेलो भएपछि दातले टोक्दा दूध ननिस्किने कडा भएको खण्डमा गहुँको क्षति कम हुनेगरी काट्ने र चुट्ने गर्नु पर्दछ । गहुँको गोडालाई ३-४ घाम सुकाएर चिस्यान १२% मा झारी झारपात राम्रोसँग केलाएर भण्डारण गर्नुपर्छ । हावा नछिर्ने भाडोमा टिन वा माटोले बन्नेका भाडामा राख्नुपर्छ । भण्डारण गर्दा बनेस्पतीका धुलो वा झोल प्रयोग गर्न सकिन्छ । निमको बीउको धुलो, टिम्मुरको धुलो,बोझोको धुलो आदि प्रयोग गर्ने वा कपडामा बेरेर सेलफस प्रयोग गरेर पनि भण्डारण गर्न सकिन्छ ।