आर्यअवलोकेश्वर लाई जमलका एक ज्यापुले खेतमा भेटेको लोकोक्ति छ। त्यसैले, जनवहाः भित्रको होस् या बाहिरको, हरेक उत्सव-अनुष्ठानमा यिनका लागि केलटोलका शाक्य र बज्राचार्यहरूको मानमनितो जस्तै ज्यापुहरूको सान्निध्य अनिवार्य हुन्छ। जनश्रुति अनुसार, लिच्छविकालमा आर्यअवलोकेश्वरलाई घरमा लगेर राखेपछि बढेको ज्यापुको समृद्धिबाट चकित राजाले उनलाई कनकचैत्य महाविहारमा स्थापना गरेका थिए। यक्ष मल्लको समयमा जनवहाः द्योलाई चढाइएको सुनको वाला पाइएकाले उनको स्थापना लिच्छविकालमा भएको भन्न सकिन्छ।

वर्षमा एक पटक चैत्र शुक्ल अष्टमीको न्यानो दिन जमलबाट रथमा शहर परिक्रमा गरी पुनः जमलबाटै खटमा बसेर जनवहाः फर्कने आर्यअवलोकेश्वरले वार्षिक महास्नानका लागि चाहिँ माछाले समेत जाडो मान्ने पौष शुक्ल अष्टमीलाई रोजेका छन्। त्यसमाथि संयोग भन्नुस् या सत, न्हवं दवुमा पानी पर्छ, पर्छ। यसपालि पनि यस्तै भयो।

महास्नानका लागि सप्तमीको बेलुका नागलाई बक्साएर भचाखुशी (शोभाभगवती नजिकविष्णुमती र भद्रमतीको दोभान)बाट पानी ल्याइन्छ। भोलिपल्ट मन्त्रसिद्धि महाविहार सवलवहाःका दुई गुरूले कुमारीको उपस्थितिमा तान्त्रिक विधिअनुसार न्हवं दवुको नेतृत्व गर्छन्। नवमीदेखि पूर्णिमासम्म हरेक दिन देवतालाई लंपुँई छायगु (पवित्र रंगहरूबाट शरीरधारण) गराइन्छर पूर्णिमाको साँझ् मन्दिरको दथुगल (सिकुवा र मूल आसनको बीच)मा न्यासः (प्राणप्रतिष्ठा) गरेर मूल आसनमा राखिन्छ। आर्यअवलोकेश्वरले माछा, हाँसको फुल र अय्ला सगुन लिने यही एक अवसर हो। मानिसलाई जात, लिङ्ग वा धर्मका आधारमा विभेद नगर्ने देव आर्यअवलोकेश्वरको पवित्र जनवहाःमा सबै धर्मावलम्बीले स्वागत र आशिष पाउँछन्। महायान र वज्रायान दुवै बौद्ध सम्प्रदायमा उत्तिकै पूजनीय आर्यअवलोकेश्वरलाई तिब्बतीहरू झयम्लिङ कार्मोको रूपमा पुज्छन्।