बाबाजीको बारेमा कुनै ऐतिहासिक विवरण छैन । स्वामी प्रपन्नाचार्यले उहाँलाई हैडाखानी बाबा भन्नुभएको छ । महावतार बाबाजीको बारेमा लोककथा तथा जनश्रुतिहरु प्रसस्त पाइन्छन् । उहाँले लाहिडी महाशय लाई क्रियायोगको दीक्षा दिएर संसारभर फैलाउने आदेश दिनुभएको थियो ।  

महावतार बाबाजी को यो फोटो श्री योगानन्द जी ले बाबाजी को दर्शन गरेपछि बनाउनुभएको हो

परमहंस योगानन्द जी लेख्नुहुन्छ ः– बद्रीनारायणको उत्तरमा स्थित हिमालय शैलशृङ्खला लाहिडी महाशयका गुरु बाबाजीको उपस्थितिले अझै धन्य बनाएको छ । एकान्तवासी गुरुदेवले आफ्नो शरीरलाई सदीयौँ, सम्भवतः सहस्रौँ वर्षसम्म यथावत् राख्नुभएको छ । मृत्युञ्जय बाबाजी एउटा अवतार हुनुहुन्छ ।  यस संस्कृत शब्दको अर्थ हो ओर्लनु, यसको व्युत्पत्ति अव अर्थात् तल र तृ अर्थात् आउनुबाट भएको हो । हिन्दू शास्त्रहरूमा अवतारको अर्थ ईश्वर देहधारिका रूपमा अवतरित हुनु हो ।

बाबाजीको आध्यात्मिक अवस्था मानवकल्पनाभन्दा पर छ । श्री युक्तेश्वरजीले भन्नुभयो । मानवको सीमित दृष्टिले उहाँको अतीन्द्रिय आध्यात्मिक ज्योतिलाई हेर्न सक्दैन । यस अवतारको उचाइको स्पष्ट चित्र कल्पना गर्नु सम्भव छैन । यो अकल्पनीय छ ।

लाहिडी महाशयले भेट्दाको अनुभव

बाबाजीसँग लाहिडी महाशयको पहिलो भेट एउटा अचम्भित पार्ने कथा हो र अजम्बरी गुरुका बारेमा विस्तृत झलक दिने केहीमध्ये एक हो ।

म तेत्तीस वर्षको हुँदा मैले बाबाजीलाई पहिलो पल्ट भेटेँ । लाहिडी महाशयले बताउनुभयो । सन् १८६१ मा म दानापुरमा सरकारी मिलिट्री इन्जिनियरिङ् विभागमा लेखापालको पदमा नियुक्त थिएँ । एक दिन बिहान अफिस म्यानेजरले मलाई बोलाए ।

लाहिडी – उनले भने हाम्रो मुख्य कार्यालयबाट भर्खरै एउटा तार आएको छ । तिमीलाई रानिखेत सरुवा गरिँदै छ र जहाँ हालै आर्मी पोस्ट स्थापित गरिएको छ ।

एकजना नोकर साथमा लिएर म ५०० माइलको यात्रामा निस्कें । घोडा र बग्गी यात्रा गर्दै तीस दिनमा हामी हिमालयस्थित रानीखेत आइपुग्यौँ ।

मेरो अफिसको काम धेरै गाह्रो थिएन, म घण्टौँ भव्य पहाडको भ्रमण गर्ने समय पाउँथेँ । मैले हल्ला सुनेँ कि धेरै सन्तहरूको उपस्थितिले त्यो क्षेत्र धन्य भएको छ । मलाई उनीहरूलाई हेर्ने उत्कट इच्छा भयो । एक दिन दिउँसो म पहाडमा डुल्दै थिएँ टाढाबाट कसैले मेरो नाम काढी बोलाएको सुनेर म आश्चर्यचकित भएँ । म द्रोणगिरी पहाडको उकालो फूर्तिसाथ चढ्दै गएँ । अँध्यारो भएपछि फर्किँदा जङ्गलको बाटो पहिल्याउन सक्दिनँ होला भन्ने सोचेर एकछिन चिन्तित भएँ ।

अन्त्यमा म एउटा खुल्ला चौरमा पुगेँ जसको चारैतिर गुफाहरु थिए । एउटा पहाडी चट्टानमाथि एकजना नवयुवक स्वागतमा आफ्ना हात फैलाएर खडा थिए जो मुस्कुराइरहेका थिए । मैले आश्चर्यका साथ देखेँ कि ताम रङ्गको कपालबाहेक उनको अनुहार मसँग एकदम गजबले मिल्दोजुल्दो छ ।

लाहिडी तिमी आयौ । सन्तले मलाई स्नेहपूर्वक हिन्दीमा सम्बोधन गर्नुभयो । यहाँ गुफामा आराम गर । तिमीलाई डाक्ने म नै हुँ ।

उहाँ नै महाबतार बाबाजी हुनुहुन्थ्यो ।

बाबाजीका भक्तहरू विश्वभर छरिएर रहेका छन् । सुपरस्टार रजनीकान्त पनि बाबा का भक्त हुन् ।