दोलखा बजार भिमेश्वर नगरपालिका वडा न २ र ४ मा अवस्थित प्राचीन बजार हो ।काठमाडौँ देखि दोलखा बजारसम्म सडक यातायातको दुरी १ सय ३४ किलोमिटर छ। बजारमा करिब ५ हजार मानिस बस्छन्। नेवार, थामी, तामाङ र दमाई बढी छन्। बजार प्रवेश गर्ने ठाउँमा भर्खरै राजा जयइन्द्रसिंह देवमा समर्पित ढोका निर्माण गरिएको छ। मन्दिर र बिहारमात्रै होइन, कलात्मक आँखीझ्याल भएका घर र दरबार पनि छन् यहाँ। कतिपय कलात्मक घर र दरबार जिर्ण भइसकेका छन्। बहाल टोलको रानी दरबारको पनिविजोग नै छ। पुरानो दरबार भत्किएको ठाउँमा राजकुलेश्वर निम्न माध्यमिक विद्यालय ठडिएको छ। टक्सार भवन जिर्णोद्धार गरी सङ्ग्रहालय बनाउने अभियानमा जुटेको छ, द्वाल्खा गुठी। यसबाहेक कुमारी घर, त्रिपुरा सुन्दरी, तलेजु भवानी, महादेव आदिका मन्दिर र ९ वटा चैत्य छन्। यति सानो बस्तीमा मठ, मन्दिर, पोखरीलगायत एक सय १४ वटा सांस्कृतिक सम्पदा छन्। 'यसले पनि दोलखाको ऐतिहासिकता पुष्टि गर्छ,' श्रेष्ठ भन्छन्।

भिमेश्वर मन्दिरमा धार्मिक पर्यटकको घुइँचो लाग्छ। संस्कृतिकर्मी शान्तकृष्ण श्रेष्ठका अनुसार भिमेश्वरको दर्शनबिना पशुपतिनाथको दर्शन अपुरो मानिन्छ। जनकपुरको रामजानकी मन्दिर र भिमेश्वरलाई एकिकृत गरी गुरुयोजना तर्जुमा गर्नुपर्ने मागका साथ संस्कृतिमन्त्रीलाई पनि भेटिसकेको उनले बताए। सरकारले 'भीमेश्वर जनकपुर बृहत्तर क्षेत्र विकास योजना' लागू गरे हिमाली, पहाडी र तराईबासीबीच सहिष्णुताको नाता अझ गाढा हुने उनको भनाइ छ।