हेमन्त शर्मा (गायक)

नेपाली गायक

हेमन्त शर्मा एक चर्चित नेपाली पप गायक तथा गीतकार र एक स्वतन्त्र रेकर्ड लेबल हरियाली क्रियसनका संस्थापक हुन्। शर्माले हालसम्म विभिन्न लोकप्रिय तथा चर्चित पप गीतहरू गाइसकेका छन्। शर्माले आफ्नो कार्यकाल एक पप गायकको रूपमा शुरू गरेता पनि उनले पछि आधुनिक गीतहरू पनि गाउन शुरू गरेका थिए।

हेमन्त शर्मा
हेमन्त शर्मा
जन्मपौष ४
नवलपरासी, त्रिवेणी
राष्ट्रियतानेपाल नेपाली
शिक्षास्नातक तह (व्यवस्थापन)
पेशागायक, गीतकार, सङ्गीतकार
चिनारीको कारणगायक, गीतकार, सङ्गीतकार
उल्लेखनीय कार्य
मूल हौ भने रसाइदेऊ, माया त यस्तो होस्..., थाप न थाप हातैमा..., ‘जाले रुमाल.
गृहनगरभैरहवा
जीवनसाथीरीतु शर्मा
सन्तानहिरक हेमन्त भट्टराई र हार्दिक हेमन्त भट्टराई
मातापितासुमित्रा शर्मा र दण्डपाणि शर्मा
पुरस्कारजेसिस युथ अवार्ड, इमेज अवार्ड, कालिका एफएम अवार्ड

नवलपरासी जिल्लाको त्रिवेणीमा जन्मिएका शर्मा सानैदेखि गीत सुन्न र गाउन रुचाउँथे। तराईमा जन्मेको र तराईमा नै हुर्केको हुनाले उनी धेरैजसो हिन्दी गीतहरू सुन्ने गर्थे। शर्माले हालसम्म ७ वटा गीति सङ्ग्रह सार्वजनिक गरिसकेका छन् भने उनको पहिलो गीति सङ्ग्रह वि.स. २०५७ सालमा प्रकाशित भएको थियो। उनको पहिलो एल्बमको एक गीत माया साह्रै महङ्गो सार्वजनिक भएपछि उनी एक्कासि सङ्गीतप्रेमी माझ लोकप्रिय बनेका थिए।[१]

बाल्यकाल सम्पादन गर्नुहोस्

लोकप्रिय गायक हेमन्त शर्माको जन्म पौष ४ का दिन नवलपरासी जिल्लाको त्रिवेणीमा बुवा दण्डपाणि शर्मा र आमा सुमित्रा शर्माको पहिलो सन्तान रूपमा एक मध्यमवर्गीय परिवारमा भएको थियो। हेमन्तका बुवा सरकारी कार्यलयमा काम गर्ने भएकाले बुवाको विभिन्न स्थानमा सरुवा भएसँगै उनी पनि उनको परिवारका साथ देशका विभिन्न सहरहरूमा बसाइँसराइ गरेका थिए र उनको बाल्यकाल विभिन्न सहरहरूमा बित्यो।[२] उनी जन्मिएको चार वर्षसम्म त्रिवेणीमा बसेको शर्माको परिवार उनको बुवाको सरुवापछि जोमसोममा बसाइँसराइ गरेको थियो। उनले जोमसोमस्थित मार्फा भन्ने ठाउँमा रहेको जनहित निम्न माध्यमिक विद्यालयबाट शिक्षा आरम्भ गरेका थिए। तर त्यसको एक वर्ष पश्चात् पुन उनको परिवार त्रिवेणीमा बसाइँसराइ गरेकाले उनले त्यहीँको विद्यालय नारायणी गण्डकी नि मा वि.मा कक्षा २ देखि कक्षा ६ सम्म पढेका थिए। शर्माले कपिलवस्तु स्थित रत्ना राज्य माध्यमिक विद्यालयबाट आफ्नो प्रवेशिका परीक्षा उतीर्ण गरेका थिए। शर्माले भैरहवास्थित भैरहवा बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक गरेका हुन्।[३] हेमन्त शर्मा बाल्यकालमा छिमेकीको घरमा बजेको रेडियोबाट दिनभरी गीत सुनेर बस्थे। उनको आमा पनि गीतहरु गुनगुनाउछिन् । तराईमा जन्मेको र तराईमानै हुर्केको हुनाले उनी धेरैजसो हिन्दी गीतहरु पनि सुन्ने गर्दथे।

साङ्गीतिक कार्यकाल सम्पादन गर्नुहोस्

सुरुवाती कार्यकाल सम्पादन गर्नुहोस्

शर्मा सानैदेखि नेपाली गीत सङ्गीतमा रुचि राख्ने भएकाले उनले छिमेकीको घरमा बजेको रेडियोबाट दिनभरि गीत सुन्ने गर्दथे। शर्माले पहिलोपटक कक्षा ११ मा पढ्दा कलेजको एक बिद्यार्थी सङ्गठनले आयोजना गरेको कार्यक्रममा पहिलोपटक उनले सार्वजनिक रूपमा गीत गाउन पाएका थिए।[३] उनले कलेजमा गीत गाएपछि त्यहाँ उनको चर्चा कलेज र आसपासको गाउँभरिनै भएको थियो। उनको चर्चा यतिसम्म भयो कि उनीसहित केही साङ्गीतिक क्षेत्रका मानिसहरूको समूहले त्यहाँ एक साङ्गीतिक समूह बनाउन सफल भएका थिए र उक्त समूहको नाम ‘अङ्कुरण सङ्गीत समुह’ राखिएको थियो।[४] ‍‍

गीती सङ्ग्रहहरू सम्पादन गर्नुहोस्

हेमन्त शर्माको पहिलो एकल गीतीसङ्ग्रह ‌'ओ प्रिय' वि‍‍.सं. २०५७ सालमा प्रकाशित भयो। सो गीतीसङ्ग्रहले उनलाई सञ्चारकर्मी र सङ्गीतकर्मीबीच स्थापित गरायो भने उनको वि‍‍.सं. २०५७ मा प्रकाशित दोस्रो गीतीसङ्ग्रह 'विशेष' को माया 'साह्रै महङ्गो' गीतले उनलाई आम श्रोताहरू बीच लोकप्रिय बनायो।[५] परम्परा उनको अहिलेसम्मको अन्तिम गीतीसङ्ग्रह हो भने हालसम्म उनले ७ वटा एकल गीतीसङ्ग्रहरू निकालिसकेका छन्।[६]

  • ओ प्रिय वि‍‍.सं. २०५७
  • विशेष वि‍‍.सं. २०५९
  • आत्मीय २०६१
  • लोकप्रिय वि‍‍.सं. २०६३
  • मन्दिर वि‍‍.सं. २०६५
  • इतिहास वि‍‍.सं. २०६७
  • परम्परा वि‍‍.सं. २०७०

थप सफलता सम्पादन गर्नुहोस्

शर्मा अङ्कुरण साङ्गीतिक समूहको सदस्य भएपछि उनले त्यस साङ्गीतिक समूहका लागि काम गरेका थिए। समूहको सुरुवाती चरणमा १५ जना सदस्यहरू रहेको समूहले सङ्गीतको लागि आवश्यक बाजागाजाहरूको जुगाड गरेको थियो र स्थानीयतहका कार्यक्रमहरूमा सहभागी हुन सुरु गरेको थियो। उक्त समूहले स्थानीयस्तरमा मात्र सिमित नभई आसपासका जिल्लाहरूमा पनि सक्रिय रूपमा साङ्गीतिक कार्यक्रमहरू सञ्चालन गर्न सुरु गरेको थियो।[७] शर्मा अङ्कुरण साङ्गीतिक समूममा आवद्ध भएपछि उनले एक गीत कैद गर्ने मौका पाएका थिए तर उक्त गीतले सोचेजति चर्चा भने कमाउन सकेको थिएन। सङ्गीतमा थप सफलता हासिल गर्नका लागि शर्मा पढाइको निहुँ पारी काठमाडौँ आएका थिए तथापि, उनी काठमाण्डौँ आएपछि कलेज भर्ना भने भएका थिएनन्।[८] काठमाडौँमा छँदा उनले विभिन्न सङ्गीतकर्मीहरूसँग भेट गरेका थिए र उनको जहाँ पनि नकारात्मक प्रतिकृया पाएका थिए तर त्यसको बाबजुद पनि उनले हिम्मत हारेनन्। शर्माले एक सङ्गीत विद्यालयमा २७ दिन शास्त्रीय सङ्गीत सिक्ने मौका पाएका थिए। काठमाडौँ आएपछि उनले २०५४ देखि २०५७ सालसम्म ८ वटा गीतहरू रेकर्ड गरे। त्यो समयमा सार्वजनिक गरिएको ‘ओ प्रिय...’ बोलको गीतले उनलाई सञ्चार क्षेत्र र सिमित दर्शक श्रोताहरूमाझ चिनाउन मद्दत गर्‍यो। त्यसपछि उनले २०५९ सालमा ‘विशेष’ नामक गीतिसङ्ग्रह निकाले। सोही गीतिसङ्ग्रहमा समावेश माया साह्रै महङ्गो बोलको गीतले उनलाई दर्शकमाझ निकै लोकप्रिय बनाउन पुग्यो।[३] त्यही गीतिसङ्ग्रहको कारणले उनको कमाई पनि भयो भने उनलाई कार्यक्रमहरूमा पनि निम्तो आउन थालेको थियो। यतिमात्र नभई यो गीतकै कारणले उनी कम्पनी र सङ्गीतकर्मीहररूको नजरमा पनि परे। उक्त गीत सार्वजनिक गरेको दुई वर्षपश्चात् शर्माले लोकप्रिय नामक एक गीतिसङ्ग्रह सार्वजनिक गरेका थिए। सो गीतिसङ्ग्रहमा समावेश ‘माया त यस्तो होस्...’, ‘थाप न थाप हातैमा...’, ‘जाले रुमाल...’ लगायतका गीतहरूले उनको चर्चालाई झनै उकास्यो। २-२ वर्षमा गीतिसङ्ग्रह बजारमा ल्याइरहेका उनले ‘लोकप्रिय’ गीतीसङ्ग्रह सार्वजनिक गरेको ठ्याक्कै २ वर्षमा अर्को एक गीतिसङ्ग्रह निकाले जसको नाम हो ‘आत्मिय’। ‘मुल हौ भने रसाइदेउ...’, ‘आउँदै गर मालती...’, ‘बदनामै हुन्छु तिम्रो नाउँमा...’ लगायतका गीतहरू समावेश गीतिसङ्ग्रहलाई पनि दर्शक र श्रोताहरूले अत्याधिक मन पराएका थिए।

साङ्गीतिक कार्यक्रमहरू सम्पादन गर्नुहोस्

साङ्गीतिक कार्यक्रहरूको सिलसिलामा शर्मा अहिलेसम्म २० वटा देशहरू घुमिसकेका छन्। विदेशको यात्रा गर्दा रमाइलो हुने भए पनि उनी धेरै समय घरपरिवारभन्दा टाढा रहन सक्दैनन्। उनले विदेशयात्राको क्रममा अहिलेसम्म सबैभन्दा लामो एक महिनाको युरोप भ्रमण गरेका छन्। विदेशमा शनिवार र आईतवार सबैको छुट्टी हुने भएकोले ती दुईदिन निकै रमाईलो हुने उनको अनुभव छ। दर्शकहरूको मायाले गर्दा वैदेशिक कार्यक्रमहरूमा जाने मौका पाईरहेकोमा उनी दर्शकहरूप्रति निकै खुसी व्यक्त गर्छन्।[९]

व्यक्तिगत जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "हेमन्त शर्माको जीवनी", कान्तिपुर डेल्ली, २६ पुस २०७४। 
  2. "हेमन्त शर्माको गीत", नेपाल पाटी।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-१५ मिति
  3. ३.० ३.१ ३.२ "हेमन्त शर्माको आधिकारिक वेबसाइट"। हेमन्त शर्मा डटकम। सङ्ग्रह मिति १६ जुन २०२० 
  4. "गायक हेमन्त शर्माको जानकारी", हाम्रो कलाकार।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०५ मिति
  5. यसरी गायक बने हेमन्त शर्मा-उज्यालोअनलाइन डटकम वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०१ मिति
  6. गायक हेमन्त शर्मा : तीतो विगत, मिठो वर्तमान-उज्यालो अनलाइन डटकम
  7. राजु शिवा (२७ सेप्टेम्बर २०१९)। "'अंकुरण'बाट साँगीतिक 'उडान' भरेका गायक हेमन्त शर्मा"नयाँ पेज। सङ्ग्रह मिति १६ जुन २०२० 
  8. "गायक हेमन्त शर्माको विवरण", डिसी नेपाल। [dead link]
  9. "गायक हेमन्त शर्माको पातली नामक गीत", नेपाल पाटी।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-१५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्