प्रवर शब्दले प्रभावि, प्रभावशाली, प्रखर भन्ने अर्थ दिन्छ । अथवा प्रवर शब्दले मुख्य, प्रधान, सर्वोत्तम, सर्वश्रेष्ठ भन्ने अर्थ दिन्छ । संस्कृत भाषाको प्रवर शब्दसँग सबैभन्दा बढी निकटता प्रखर शब्दको देखिन्छ । प्रखर भन्नाले अत्यन्त प्रभावशाली, अत्यन्त प्रतिभावान, मुख्य, श्रेष्ठ भन्ने जनाउछ । [१]

परिचय सम्पादन गर्नुहोस्

प्रवर शब्दले दिने अर्थ प्रखर अथवा श्रेष्ठ शब्द कसको हकमा वा कसलाई जनाउन प्रयोग हुन्छ त ? यस सम्बन्धमा विद्वानहरूको निर्विवाद मत रहेको छ । सबै विद्वानहरूले प्रवर भन्नाले गोत्र प्रवर्तक ऋषिका महान पूर्वज तथा सन्तती भन्ने बुझिन्छ भनेका छन् । अर्थात कुनै खास गोत्र प्रवर्तक ऋषिका मुख्य सर्व श्रेष्ठ पुर्खा तथा सन्ततिलाई प्रवर भनिन्छ । यसका आधारमा गोत्रको अलग पहिचान गरिन्छ । जस्तो गौतम गोत्र भन्दैमा सबै कुरा पूर्ण हुन सक्दैन । गौतम भन्ने नामसँग अन्य नाम पनि मिल्न वा बाँझिन सक्छन् तर कुन गौतम गोत्री अथवा कुन गौतम ऋषिका सन्तान भनेर थाह पाउन महर्षि गौतमका प्रवरहरू थाह पाउनु पर्ने हुन्छ । जस्तै :- गौतम ऋषिका प्रवर भनेर अंगिरस, वृहस्पति वा औतत्थ्य र गौतम पर्दछन् । यी प्रवर भएका गौतम गोत्रीहरू सगोत्री कहलाउछन् । [१] अर्को शब्दमा भन्नु पर्दा प्रवर भन्नाले गोत्र पर्वर्तक ऋषिका पूर्वज पुर्खाका अत्यन्त प्रभावशालि ऋषिहरू जस्तै :- गौतमका अंगिरस जस्ता पूर्वज तथा गोत्र पर्वर्तक ऋषि पछीका प्रभावशालि सन्ततीहरूलाई प्रवर मान्ने गरेको देखिन्छ । विद्वानहरूबीच प्रवर भन्नाले गोत्र प्रवर्तक ऋषिका पूर्वज वा सन्तती भन्ने कुरामा अलि विवाद रहेको देखिन्छ तर यस विवादको सही निरुपण भनेको प्रवर शब्दले गोत्र प्रवर्तक ऋषिका पूर्वज र सन्तति दुबैलाई जनाउँछ भन्ने नै हो । [१]

विभिन्न विद्वानहरूले गरेका परिभाषा सम्पादन गर्नुहोस्

प्रवरका सम्बन्धमा विभिन्न विद्वानहरूले निम्नानुसार परिभाषा गरेका छन् ।[१]:-

  • गोत्र प्रवर्तक ऋषिका खलकका नामी ऋषिहरू प्रवर हुन् ।
    • -नेपाली शब्द सागर

गोत्र चलाउने ऋषि वंशको मुख्य मानिएको पूर्खा प्रवर हो । प्रयोगात्मक नेपाली शब्द कोषमा माथि उल्लेखित परिभाषा अनुसार पनि प्रवर भन्नाले गोत्र प्रवर्तक ऋषिका खलकका नामी तथा प्रभावशाली पूर्वज र सन्तती ऋषिहरूलाई जनाउँछ । अथवा गोत्र चलाउने ऋषिका वंशका पूर्वज तथा सन्तती प्रमुख वा प्रभावी ऋषिहरूलाई नै प्रवर भनियो । जस्तै :- गोतम गोत्र चलाउने महर्षि गौतमका प्रखर, प्रमुख वा नामी पुर्खा तथा खलकहरूमा अङ्गिरा, अयास्य, औतथ्य गौतम हुन् । यहाँ गौतम ऋषि स्वयं गोत्र पर्वर्तक हुन् भने अंगिरा गौतमका प्रमुख पुर्खा हुन् त्यस्तै अयास्य गौतमका प्रमुख खलक हुन् । तसर्थ गौतम गोत्रको तिन प्रवरहरू अंगिरा, अयास्य र स्वयं महर्षि गौतम हुन् । एवम् रितले प्रत्यक गोत्रका १, २, ३, वा ५ प्रवर हुन्छन् । जस्तै :- गौतम गोत्रका तिन प्रवर छन् । प्रवरका सम्बन्धमा नेपाली थर गोत्र प्रवर कोष नामक पूस्तकमा विद्वान प्रा. शिव गोपाल रिसालले यस्तो लेखेका छन् :-

प्रवर :- मुख्य प्रधान, सर्वोत्तम, सर्वश्रेष्ठ, महिमान्ती जेष्ठ, श्रेष्ठ, वर्णन गर्न योग्य वा वर्णनिय नै प्रवरमा पर्दछन् । गोत्र चलाउने ऋषि वंशका अत्यन्त प्रशिद्ध नाम चलेका ख्याती प्राप्त महान् ऋषिहरू नै प्रवरमा परिणत गरिएका हुन् । [१]

त्यस्तै नेपाली थर गोत्र प्रवर कोषका लेखक श्रीहरी रुपाखेतीले आफ्नो पूस्तकमा प्रवरका बारेमा यस्तो लेखेका छन् :-

प्रवर शब्दको अर्थ प्रकर्षेण वरणम् अर्थात प्रकर्षका साथ वरण गर्नु हो । गोत्रका क्षेत्रमा यस्तो हैसियत रहेका ऋषिहरूलाई नै प्रवर भनिएको छ ।[१]

नेपाली थर गोत्र प्रवर कोषका लेखक रुपाखेतीले संस्कार दिपिका भन्ने धार्मिक ग्रन्थलाई उद्धत गर्दै लेखेका छन् :- [१]

प्रवरस्तु गोत्रव्यापर्तक ऋषि विशेष एवं दुई पूर्णमासादिषु प्रवियमाणत्वत्तस्य प्रवर संज्ञा ।

त्यस्तै :-

प्रवरास्तु प्रवराणनी प्रवराः कल्पकाराही वाशिष्ठेनी होता वशिष्ठ जदिति अर्ख्यूः इत्यादिना यषाः प्रवरणमामनन्ति ते प्रराः
-निर्णयसिन्धु
प्रवियन्ते क्षोत्रध्वर्य्भ्यामसक्रिर्त्यन्ते इती प्रवराः
-सत्कर्मरत्नावली
प्रवरक्षण तु वंश प्रवर्तक ऋषिणा व्यावर्तक ऋषिविशेषाः प्रवर इत्यव संक्षेपतो ज्ञयमः
-धर्मसिन्धु

माथी सबै परिभाषाको व्याख्या गर्दै छोटकरीमा प्रवर बारे रुपाखेतीले यस्तो लेखेका छन् :-

गोत्र प्रवर्तक ऋषिहरूका व्यावर्तक अर्थात मुल वंश छुट्याउने ऋषि नै प्रवर हुन् । यी विशिष्ट ऋषिलाई ठुला ठुला यज्ञादीमा होता र अध्वर्यूद्वारा विशेष रूपमा वरण गरिन्थ्यो ।[१]

अर्थात हरेक गोत्रभित्र कुनै विशेष पूजा यज्ञादी गर्नुपर्दा पहिले त्यस गोत्रका मुल प्रवर ऋषिहरूलाई अध्वर्यूद्वारा विशेष रूपमा यीनलाई धारण गरिन्छ, अनि मात्र पूजा पाठ गरिन्थ्यो भन्ने देखाइ प्रवरको सम्बन्धमा रोन्जु सेन नामक भारतीय विद्वानले आफ्नो पूस्तकमा यस्तो लेखेकी छन् :-[१]

प्रवर शब्दको अर्थ प्रखर भन्ने हो र प्रवरले प्रखर ऋषिको सङ्ख्यालाई जनाउँछ, जो कुनै खास गोत्रसँग सम्बन्धित हुन्छन् । प्रवर खासगरी आफ्नो पूर्खाप्रती आदरभाव राख्दै उनिहरूको प्रार्थना गर्ने तथा आफ्नो गौरवशाली पूर्खाको परिचय दिन र आफ्नो खास पहिचान गर्न प्रवरको आवस्यकता देखिन्छ ।

प्रवरको बारेमा शास्त्र तथा विभिन्न विद्वानहरू मत र गोत्र प्रणालीमा प्रवरको प्रयोगलाई ध्यान दिने हो भने प्रवर विना गोत्रको पहिचान असम्भव देखिन्छ । गोत्रको नाम मिल्दैमा गोत्रको सम्पूर्ण परिचय खुल्दैन । गोत्र पत्ता लगाउन मुलतः गोत्र, सूत्र, शाखा र प्रवर एकै साथ भन्न आवस्यक छ । किनकी ४९ वटा गोत्रभित्र कतिपय शाब्दिक अपभ्रंशका कारण एउटै जस्तो लाग्ने नामका धेरै गोत्र रहेको पाइन्छ त्यस भ्रम र समस्याको निकारण गोत्र, सूत्र, शाखा र प्रवरको तुलनाबाट मात्र सम्भव छ । तसर्थ प्रवर गोत्रको पनि गोत्र हो भन्दा अत्युक्ति नहोला ।[१]

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ गौतम गोत्र एकता समाज नेपालद्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पृष्ठ २८-३० पहिलो संस्करण, लेखक - राजेश कुमार बटाला

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्