पलाञ्चोक भगवतीको मन्दिर काभ्रे जिल्लाको साठीघर भगवती गाविसमा अवस्थित छ। काभ्रेको पाँचखालबाट ७ किलोमिटर पूर्वस्थित यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन्। शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतिको मूर्ति अद्दितीय मानिन्छ। नक्शाल भगवतीशोभा भगवती अनि पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ति रहेको छ।

पलाञ्चोक भगवती
भगवतीको मुर्ती
पलाञ्चोक is located in नेपाल
पलाञ्चोक
नेपालको नक्शामा पलाञ्चोक
प्राथमिक विवरण
स्थान:साठीघर भगवती, पाँचखाल
निर्देशाङ्क२७°३७′४३″उ॰ ८५°४०′२६″पू॰ / २७.६२८६१°N ८५.६७३८९°E / 27.62861; 85.67389निर्देशाङ्कहरू: २७°३७′४३″उ॰ ८५°४०′२६″पू॰ / २७.६२८६१°N ८५.६७३८९°E / 27.62861; 85.67389
सम्बन्धनहिन्दुत्व
देवताभगवती
चाडपर्वदशैं, चैते दशैं
जिल्लाकाभ्रेपलाञ्चोक
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा शैली

पुरात्वातिक एवम् ऐतिहासिक पक्ष सम्पादन गर्नुहोस्

पलान्चोक भगवती मन्दिरको स्थापना लिच्छवि राजा मानदेवले गरेका हुन् । विक्रम संवत् ४२५ को लिच्छविकालीन अभिलेखहरूमा राजा मानदेवले यस मन्दिरको स्थापना गरेको उल्लेख गरिएको छ । । नेपालका अन्य अभिलेखहरूमध्ये यहाँको अभिलेखलाई पुरानो मानिएको छ । यो मन्दिर अलौकिक र अनुपम् कलाकौशलले भरिपूर्ण तथा आकर्षित रहेको छ । सुनको जलप लगाइएको पित्तलको गजुर भएको प्यागोडा शैलीको तीनतले यस मन्दिरका दुवै छाना तामाका छन् भने टुँडाल र झ्यालहरू कलात्मक काठका रहेका छन् धातुले नै मोडिएका ढोकाहरू छन् । मन्दिरको वरिपरिको भाग पाटीपौवा, धर्मशाला, त्रिशूल, घन्टा र अन्य देवदेवीका मूर्तिहरूले भरिपूर्ण छ ।

मध्यकालको प्रारम्भमा यस जिल्लाका सात वटा स्थानहरू– चण्डेश्वरी नजिको बनेपुर बनेपा, प्रयाग तीर्थनेर पानवती (पनौती), नाला भगवतीनेर (नाला), नारायण तीर्थनेर धौखेल (धुलिखेल), धनेश्वरनजिकै श्रीखण्डपुर (खड्पु), चकोट ऋषिको आश्रमनेर (चौकोट) र नासिकास्थान पीठनेर (साँगा)ले विशेष महत्व पाएकाले विकसित हुने अवसर पाएका थिए ।

मानदेव प्रथमको शासनकालमा स्थापित पलान्चोक भगवती मन्दिर मध्यकालमा एउटा प्रमुख गढको रूपमा थियो । जयसिंह राय वर्धनलाई जयस्थिति मल्लले सामन्त अर्थात शासक बनाएपछि उनको परिवारको प्रभुत्व कायम भयो । उनको भतिजा शक्तिराम वर्धन त्यहाँको सामन्त रहेका बेला चीनका बादशाहले निजलाई वांग पदवी दिएर दौत्यसम्बन्ध कायम गरेका थिए । यक्ष मल्ल परलोक भएपछि उनका छोराहरूले राज्य टुक्र्याउन थाले । त्यसैले रण मल्लद्धारा बनेपामा एउटा स्वतन्त्र राज्य खडा गरियो । यसरी निजको मृत्युपछि सो राज्य भादगाउँअन्तर्गत गाभिएकाले सात गाउँ नै भक्तपुरको अधीनमा गयो । केही भाग मात्र कान्तिपुरअन्तर्गत रह्यो ।

यस मन्दिरमा दर्शनार्थ काठमाडौं लगायत नेपालका विभिन्न स्थानबाट प्रत्येक शनिबार र मंगलबार श्रद्धालु भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ ।

वि.सं. २०३२ मा तत्कालीन सरकारले यस पलान्चोक भगवती मन्दिरको जीर्णोद्धार गरेका थिए । यस मन्दिरको केही पर काली र गणेशका मन्दिरहरू पनि रहेका छन् । यो मन्दिर यस स्थानमा कसरी स्थापना भयो भन्ने रोचक लोकोक्तिहरू छन् ।

काभ्रे जिल्लाको पलान्चोक भगवती स्वदेश र विदेशमा रहेका हिन्दुहरुका लागि प्रसिद्ध शक्ति पीठ हो । लिच्छवीकालीन भगवतीको यो मूर्ति अत्यन्तै सुन्दर छ । काठमाडौं उपत्यकास्थित शोभा भगवती, नक्साल भगवती, दक्षिणकाली पछाडि यो शक्ति पीठमा जीवनको एकपल्ट प्रत्येक हिन्दु होस् वा प्रत्येक नेपालीले एकपल्ट पुग्नैपर्ने हुन्छ । देशमा छरिएर रहेका अनेकन शक्तिस्थल मध्ये साक्षात देवीको रुपमा पुजिने र निश्वार्थ मनले पूजा गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलान्चोक भगवतीलाई मान्ने गरिन्छ ।[१]

किंवदन्ती सम्पादन गर्नुहोस्

यस पलान्चोक भगवतीलाई काभ्रेकै बुचाकोट भन्ने ठाउँबाट ल्याइएको हो भनाइ छ । बुचाकोट भगवती, पलान्चोक भगवती, नाला भगवती र नक्साल भगवती दिदी बहिनी हुन भन्ने विश्वास छ । यी चारै देवीका मूर्ति एउटै कालीगढले अलगअलग हात र खुट्टाले बनाएका हुन् भन्ने किंवदन्ती छ । एक भगवतीको मूर्ति बनाइ सकेपछि अर्को त्यस्तै नबनोस् भनेर तत्कालीन समयमा कालीगढको हात काटिएको थियो । उसले हात नभए पनि नाला र नक्साल भगवती मुर्ति खुट्टाले बनाएको किम्वदन्ती छ । बनाएका मूर्तिमध्ये बुचाकोटबाट पलान्चोक भगवतीको मूर्ति अन्य ठाउँमा ल्याउँदै थिए । त्यस ठाउँमा राती बास बसेपछि मूर्ति पनि त्यहिँ राखेछन् । भोलिपल्ट बोकेर हिँड्न लाग्दा मूर्ति उठाउन नसकेर भगवतीले यहि ठाउँमा बस्ने इच्छा गरेकाले त्यहि प्रतिस्थापन गरिएको भनाइ छ । पलाञ्चोक भगवतीलाई त्यहीँ राखी मन्दिर बनाएर पूजा गर्न थालियो ।[२]

व्यवस्थापन सम्पादन गर्नुहोस्

महारानीको आदेशानुसार नित्य पूजाको लागि गुठीको बन्दोबस्त गरियो । समय क्रममा मल्ल तथा शाह वंशीय राजाहरु तथा भगवतीप्रति श्रद्धा राख्ने भक्तजनहरुले आ–आफ्नो गच्छे अनुसार भगवतीको गुठीमा जमिन, गर गहना तथा पैसा चढाए । आस्था, मौखिक र हुकुमको आधारमा चलिआएको संस्कारलाई धार्मिक शासकिय क्रममा राजा राजेन्द्र बिक्रम शाहको पालामा पुजारी, बिर्ता र गुठी प्रमाणको लागि १८८४ मा लालमोहर लाग्यो ।

गुठी बन्दोबस्त र गुठी संस्थानको आगमनको साथमा पलाञ्चोक भगवतीको सम्पत्तिमा ह्रास आयो । यस्तै २०४२ सालमा तत्कालिन श्री ५ को सरकारका केन्द्रीय प्रशासनबाट आएका प्रशासकिय कर्मचारीहरु र सुरक्षा दस्तासहितको टोलीले द्योःछें बाट भगवतीको सम्पत्ति सुरक्षाको लागि भनि एक ट्रक अमूल्य गरगहना काठमाडाैँ लिएर गएको र त्यो कहाँ भण्डारण गरिएको स्थानीय कसैलाई पनि जानकारी दिइएन ।

भगवतीको महत्व लाई नमन गर्दै २०४५ सालमा काभ्रेपलाञ्चोक जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बागेश्वरी चटौतले मन्दिर विकास समिती गठन गरी मन्दिर क्षेत्र विकासमा योगदान पुर्‍याएका थिए । मूख्य समिति क्रियाशिल हुन नसकेपछि विकासमा टेवा पुर्‍याउन स्थानीयले उप–समिति गठन गरेका छन् । खरेलथोकका अच्युत कृष्ण खरेलले मन्दिर सुरक्षार्थ बि.सं. २०५० सालमा तिनवटा फलामे च्यानल गेटको साथमा इटाको पर्खाल लगाए र शहरी विकास मन्त्रालयले मन्दिर परिसर बाहिर ढुङ्गा बिच्छ्याउने काम भयो । २०७२ सालको भूकम्पले बिग्रेको मन्दिरलाई स्थानीय सरकार र जन सहभागितामा गत वर्ष २०७६ मा जिर्णाेद्धार सम्पत्र भएको छ ।[३]

 
पलाञ्चोक भगवती मन्दिर
 
पलान्चोक भगवतीको पूजा गर्दै

श्रोत सम्पादन गर्नुहोस्

  1. "पलाञ्चोक भगवती मन्दिरबारे रोचक जानकारी -", Ujyaalo Network (en-USमा), २०२०-१२-१३, अन्तिम पहुँच २०२३-१२-२४ 
  2. "पलाञ्चोक भगवती मन्दिरबारे रोचक जानकारी -", Ujyaalo Network (en-USमा), २०२०-१२-१३, अन्तिम पहुँच २०२३-१२-२४ 
  3. उलक, विश्व (२०२०-०८-०७), "पलाञ्चोक माईको ऐतिहासिक र पर्यटकीय पक्ष", देशसञ्चार (en-USमा), अन्तिम पहुँच २०२३-१२-२४ 

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्