फिल्मः तलाश

निर्देशकः रिमा काग्ती

निर्माताः आमिर खान, फरहान अख्तर र रितेश सिधवानी

लेखकः रिमा काग्ती र जोया अख्तर

कलाकारः आमिर खान, करिना कपुर, रानी मुखर्जी, नवाजुद्दिन सिद्दिकी, राजकुमार यादव आदि।

चित्र:Talaash poster.jpg

'तलाश'मा आमिर खानले एक पुलिस इन्सपेक्टरको भूमिका गरेका छन्। उनले एक सुपरस्टारको दुर्घटनामा मृत्यु भएको घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउँछन्। रानी मुखर्जी र करीना कपूर पनि मुख्य भूमिकामा छन्। रानी इन्सपेक्टरकी श्रीमतीको भूमिकामा छिन् भने करीना कपूर यौनकर्मीको भूमिकामा छिन्। घोप्टे जुँगासहितको आमिरको हुलिया पात्र र कथा सुहाउँदो छ।

फिल्मको पहिलो दृश्यमा एउटा हुइँकिएको गाडी सडकबाट उछिट्टिएर समुद्रमा खस्छ। फिल्मको 'भिजुयल ल्यांग्वेज' परिपक्व छ भन्ने सङ्केत त्यही दृश्यले गर्छ। दुर्घटनामा बलिउड स्टार अरमान कपुरको मृत्यु हुन्छ। केही सहकर्मीले घटनालाई स्वाभाविक बताए पनि इन्सपेक्टर शेखावत (आमिर)ले त्यसमा 'कन्सपिरेसी थ्योरी' महसुस गर्छ।समुद्रमा गाडी खसेको घटनाले शेखावतलाई पिरोल्नुका साथै उसको पुरानो घाउ बल्भि्कन्छ। 'अरमान प्रकरण' सुल्झाउन अनुसन्धानमा डुब्दै जाँदा उसको निजी जिन्दगीका गाँठाहरू पनि खुकुलो बन्दै जान्छ। उसकी पत्नी रोशनी (रानी मुखर्जी)लाई छोप्ने निराशा क्रमशः जायज ठहरिन्छ।शेखावतको द्वन्द्व तीन तहमा खापिएको छ। आफैसँग, पत्नी वा अरु पात्रसँग र सामाजिक संरचना गरी तीन पक्षसँग उसको द्वन्द्व छ। पत्रैपत्रको द्वन्द्वले ऊ एक्लिएको हुन्छ। मृत्तात्मा वा परलौकिक तत्वहरूमा विश्वास नराख्ने ऊ त्यतिबेला विक्षिप्त बन्छ, जतिबेला उसको त्यस्तै तत्वसँग साक्षात्कार हुन्छ।

पात्रहरूबीचको सम्बन्धलाई विश्वसनीय देखाउन निकै मिहेनत गरिएको छ। एउटा पात्रले अर्को पात्रसँग ठूलो सरोकार राख्छ, सँगसँगै उनीहरूले एकअर्कालाई शंकाको दृष्टिकोणले हेर्नुपर्ने बाध्यता पनि हुन्छ। पात्रहरूबीच पुल र पर्खाल दुवै छ। मुख्य पात्र शेखावतको कथामा शशि (सुब्रत दत्त), तेहमुर (नवाजुद्दिन सिद्दिकी), फ्रेनी (शेरनाज पटेल) जस्ता सहायक पात्रहरूका उपकथा पनि गाँसिएको छ।

बलिउडका पाँच सफल निर्देशकको रचनात्मक लगानी 'तलाश'मा छ। आमिर खान, फरहान अख्तर, जोया अख्तर, रिमा काग्ती र अनुराग कश्यप सबै फिल्म निर्देशक हुन्। यसमा फरहानले पैसा मात्र लगाएका छैनन्, संवाद पनि लेखेका हुन्। जोया र रिमाले फिल्मका पटकथा लेखक हुन् भने अनुरागलाई अतिरिक्त संवाद लेखनको श्रेय दिइएको छ। पात्र र परिवेश अनुसारका संवाद फिल्मको सबल पक्ष हो।