चतराधाम

नेपालको हिन्दु तिर्थस्थल

चतराधाम सुनसरी जिल्लाको बराहक्षेत्र गाविसमा पर्दछ। यो ठाउँ धरान देखि करिब १३ किलोमिटर पश्चिममा सप्तकोशी नदीको किनारामा पर्दछ। वराहक्षेत्र जाने बाटोमा पर्ने चतराधाम ज्यादै प्राचीन स्थल मानिन्छ। पहाडको फेदीमा नै रहेको चतराधाममा मुख्यतया दुईवटा धार्मिक स्थलहरू छन। तीनीहरू चतराधामको औलीया बाबा मठ र जगद्गुरु पीठ (राधाकृष्ण आध्यात्मिक भक्ति साधना अध्यात्मिक प्रतिष्ठान)हरू हुन। यिनीहरू मध्ये यहाँको पुरानो मठ भने औलीया बाबा मठ हो। औलियाबाबाको कहानीसँग जोडिएको यस मठको इतिहास मध्यकाल सम्म पुग्दछ।

चतराधाम

चतराधामको औलिया बाबा मठ क्षेत्रमा भैरव, काली, शिव, शिवगणेश र हनुमान आदिका मूर्ति र मन्दिरहरू छन्। यसवाहेक औलिया बाबाको गुदरी घर (बाबा मनमुकुन्द सेनले ओड्ने कपडा राखिएको घर) पनि यसै भित्र पर्दछ। यहाँको मनमुकुन्देश्र शिवालय, मनमुकुन्द सेनले स्थापना पाएको मानिन्छ।

चतराधाममा मेला लाग्ने मुख्य पर्व कार्तिक पूर्णिमा हो। उक्त अवशरमा साधु सन्यासीहरू नेपाल र भारतको ठूलो क्षेत्रबाट यस मठमा आउँछन् र विशेष उत्सवका साथ औलि बाबाको निसान वराहक्षेत्र पुर्‍याउँछन। त्यसपछि उक्त निसानलाई तीन दिनसम्म वराहक्षेत्र मन्दिर भित्र राखी कार्तिक पूर्णिमाको भोलिबाट चतराधाम फिराएपछि कार्तिक मेलाको समापन गर्दछन। चताराधाममा २०५९ साल वैशाख १ गते कलियुगमा पहिलो पटक सुरु गरिएको कुम्भ मेला निरन्तर १२/१२ वर्ष मा पूर्ण कुम्भ मेला र ६/६ वर्ष मा अर्धकुम्भमेलाको रूपमा मेला लाग्ने गर्दछ। उक्त अवसरमा विश्व भरिका हिन्दु धर्मावलम्बीहरु जगद्गुरु बालसन्तको नेतृत्वमा बैदिक सनातन धर्मका सम्पूर्ण जगद्गुरुहरुका साथमा चतराधामबाट बराहक्षेत्रस्थित कोकाः कौशिकी नदीको संगम मा स्नान गर्न जाने चलन रहेको छ । यसरी चतराधाम र वराह क्षेत्रको विशेष महत्त्व रहेको पाइन्छ। चतराधामको अर्को आकर्षणार नेपालको एक मात्र जगद्गुरुको आश्रम जगद्गुरु पीठ (राधाकृष्ण भक्ति साधन आध्यात्मिक प्रतिष्ठान) हो। वि. सं २०५१/५२ साल तिर चतराधामको दुर्वासाघाट नजिकअनन्त श्री विभूषित वालसन्त मोहन शरण देवाचार्यजी महाराजले स्थापना गरेको सो आश्रम २०६७ वैशाख १ गते महाराज श्रीले काशी पण्डित सभा द्वारा जगद्गुरुको उपाधि प्राप्त गरेपछी जगद्गुरु पीठको रूपमा स्थापित भएको पाइन्छ। बालसन्तले प्राचीन हरिद्वारका प्रमाणित गरी प्रचार गरेको यो स्थान पर्यटकीय दृष्टिले निकै महत्त्वपूर्ण छ। हाल त्यस स्थानमा मन्दिरहरू, वृद्धाश्रम, वेद विद्यालय, कुम्भ स्मारक (नेपालको प्रथम कुम्भ मेलाको प्रतिक), तथा आकर्षणका थुप्रै विषयवस्तु रहेका छन्। त्यहाँ आयुर्वेदिक विश्वविद्यालय, धर्मशाला, गौशाला, यज्ञशाला र अन्य मठ मन्दिरहरू भने निर्माणाधिन छन ।

चतराधाम क्षेत्र जङ्गल सफारी, जलक्रिडा तथा नौकाशयरका दृष्टिले समेत महत्त्वपूर्ण छ। चतराधाम छेउको सप्तकोशी नदीमा नौकाशयर गरी पर्यटकहरू रमाउन सक्तछन्। दोलालघाटबाट आउने राफ्टिङ सेवा टुङ्गिने अन्तिम विन्दु पनि चतराधाम नै हो। चराहरूको पदयात्रा र सुन्दर पहाडी दृश्य अवलोकन समेत यस स्थानमा आउने पर्यटकका लागि आकर्षणका केन्द्र विन्दु हुन सक्दछन। [१]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "चतरा", birattourism.org.np [dead link]