माधवप्रसाद घिमिरे (साहित्यकार)
माधवप्रसाद घिमिरे (जन्म: वि.सं. १९७६ असोज ७ गते हालै मृत्यु: २०७७ भाद्र २ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रूपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौँ विधा-उपविधाहरूमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्।[२] प्रकृतिका अनेकन विविध पक्षहरूलाई आफ्ना जीवन्त रचनाहरूमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाए थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई 'राष्टकवि' को उपाधिले सम्मान गरिएको छ। उनको मृत्यु वि.सं. २०७७ साल भाद्र २ गते मङ्गलवार काठमाडौँ, लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा भएको हो।[३]
राष्ट्रकवि माधव प्रसाद घिमिरे | |
---|---|
![]() | |
जन्म | [१] लमजुङ, नेपाल | २३ सेप्टेम्बर १९१९
मृत्यु | १८ अगस्ट २०२० काठमाडौँ, नेपाल | (१०० वर्ष)
पेशा |
|
विधा | |
विषय |
|
उल्लेखनीय कार्यहरू | 'मालती मङ्गले, शाकुन्तला, हिमालवारी हिमालपारी, गौरी' |
उल्लेखनीय पुरस्कारहरू | गोरखा दक्षिणबाहु त्रिभुवन प्रज्ञा पुरस्कार साझा पुरस्कार |
सक्रिय अवधि | सन् १९३४–२०२० |
जीवनसाथी | गौरी घिमिरे (जन्म उपनाम पोखरेल) (सन् १९३३–३४ देखि सन् १९४७–४८), महाकाली घिमिरे (सन् १९४८–२०२०; उनको मृत्यु)
|
बच्चाहरू | ८ |
सुरुवाती जीवनसम्पादन
माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भयो। जन्मिएको तीन वर्षमा उनकी आमा बितिन्। ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे। ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौँको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे। त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे।[४] घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।
पेशागत जीवन र अन्यसम्पादन
१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे। घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिरे पनि थिए। बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए। [४]
वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए।
चर्चित राष्ट्रिय गीत 'गाउँछ गीत नेपाली' का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा 'फूलको थुङ्गा बगेर गयो' (तारादेवी) तथा 'आजै र राति के देखेँ सपना' (नारायण गोपाल)ले गाएका छन्। उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे।
व्यक्तिगत जीवनसम्पादन
वि.सं. २००४ सालमा उनको जीवनसंगिनी गौरीको निधन भयो।
कृतिसम्पादन
उनको काविक यात्राको पहिलो कृति नव मञ्जरी वि.सं. १९९४ सालमा प्रकाशित भएपछिको यात्रा निरन्तर छ। गौरी राष्ट्रकवि माधव घिमिरेद्वारा लेखिएको शोककाव्य हो। साझा प्रकाशनले वि.सं. २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविताहरू सङ्ग्रहित छन्।
माधव घिमिरेद्वारा लेखिएका कृतिहरू
- नव मञ्जरी
- गौरी (शोककाव्य)
- मालती मङ्गले (गीतिनाटक)
- हिमालपारि हिमालवारि (गीतिनाटक)
- राजेश्वरी
- इन्द्रकुमारी
- राष्ट्रनिर्माता
- किन्नर-किन्नरी (गीतसङ्ग्रह)
- चारु चर्चा (निबन्ध)
- आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध)
सम्मान तथा पुरस्कारसम्पादन
राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। उहाँलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको छ।
- वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि का लागि साझा पुरस्कार प्राप्त
- वि.सं.२०५८ सालमा चारु चर्चा(निबन्ध) का लागि साझा पुरस्कार प्राप्त
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "Rastra Kavi Madhav Prasad Ghimire no more", kathmandupost.com (Englishमा), मूलबाट २० अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०२०।
- ↑ "माधवप्रसाद घिमिरे"।
- ↑ "माधवप्रसाद घिमिरे: राष्ट्रिय सम्मानका साथ आजै आर्यघाटमा राष्ट्रकविको दाहसंस्कार", बीबीसी न्यूज नेपाली, अन्तिम पहुँच अगस्ट १९, २०२०।
- ↑ ४.० ४.१ http://www.nagariknews.com/feature-article/story/60739.html