प्रेमकुमार राई (जन्म विसं २०१८) नेपाल सरकारका पूर्वप्रशासक एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालका प्रमुख आयुक्त हुन् ।[१]

शिक्षा सम्पादन गर्नुहोस्

संखुवासभा जिल्लाको खोरन्डे गाउँमा मध्यम वर्गीय किसान परिवारमा जन्मिएका उनले संखुवासभाकै खाँदबारीस्थित हिमालय माविवाट २०३५ सालमा एसएलसी उत्तीर्ण गरे । २०३६ सालमा काठमाडौँको शंकरदेव क्याम्पसमा आईकममा भर्ना भए । आन्दोलनका कारण २०३९ सालमा मात्रै आईकम पास गरे । त्यसपछि नेपाल कमर्स क्याम्पस, मीनभवनबाट बीकम र २०४५ सालमा शंकरदेव क्याम्पसबाट एमबीएको उपाधि लिए।

सरकारी सेवा सम्पादन गर्नुहोस्

उनले अध्ययनकै क्रममा २०४० साउन १ गते निजामती सेवाको लेखापालमा नाम निकाले। महालेखापरीक्षकअन्तर्गतको जागिर गर्दा उपत्यकाबाहिर जान नपर्ने र काम सकिएपछि पढ्ने समय पनि पाइने भएका कारण उनले त्यो जागिर रोजेका थिए।[२]

२०४४ मा शाखा अधिकृत र २०४९ मा खुला प्रतिस्पर्धाबाट उपसचिवमा नाम निकालेका उनले सहसचिव हुँदा लामो समय अख्तियारमा काम गरेका थिए। सचिव भएर अख्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयमा जिम्मेवारी सम्हाले। २२ महिना गृहसचिवको जिम्मेवारी सम्हालेका राईले २०७६ माघ २० देखि सरकारी सेवाबाट विदा लिएका थिए।[३] ‍‍

चर्चा‍‍ सम्पादन गर्नुहोस्

गृहसचिव हुँदा चर्चित ललिता निवास जग्गा घोटाला प्रकरणमा अनुसन्धान गर्न लगाएर वास्तविक तथ्य सतहमा ल्याउन भूमिका खेलेका थिए। बालुवाटारको ११३ रोपनी सरकारी जग्गा हिनामिना भएको भनिएको यस प्रकरणमा २ जना भूतपूर्वप्रधानमन्त्रीसहित दर्जनौँ पूर्वमन्त्री, सचिव तथा अन्य कर्मचारी र बिचौलियाको भूमिका रहेको प्रतिवेदन पूर्वप्रशासक शारदाप्रसाद त्रिताल नेतृत्वको अध्ययन टोलीले दिएको थियो।[४] उनी वाइड बडी खरिद प्रक्रियामा पनि संलग्न थिए। उनी भ्रष्टचारमा संलग्न रहेको भन्दै विवाद छ।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्