मुख्य सूची खोल्नुहोस्



नापित नेवार समुदायको एक जाति हो। वास्तवमा नापित जात नभएर थर मात्र हो। कपाल काट्ने 'नाउ' भनिन्छ। त्यही 'नाउ' जातिबाट नापित हुन गएको हो। यो तथ्यलाई हेर्दा नापित जाति परिचित भएको पाइन्छ। कपाल काट्ने पेशा अवलम्बन गर्नेहरू नै 'नापित' हुन गएकाले यो जातिको न्वारान पेशाबाट हुन गएको मान्नुपर्दछ।

विषयसूची

किंवदन्तीसम्पादन

किंवदन्तीअनुसार त्रेतायुगमा जमदग्नि नामका ब्राहृमण महषिर्की सालीको सहस्त्रार्जुन नामका क्षेत्रीसँग विवाह हुँदा विवाहका लागि भोजन तयार गर्न इन्द्रले पठाइदिएको कपिला गाईलाई सहस्त्रार्जुनले दाइजोको रूपमा माग्दा जमदग्निले दिन नसकेका कारण सहस्त्रार्जुनले उनको हत्या गरे। जमदग्निकी पत्नीले पति वियोगमा गरेको विलौनादेखि रिसले क्रुद्ध जमदग्निका जमदग्निको छोरा परशुरामले पृथ्वीबाट २१ कुलसम्म क्षेत्रीहरूको हत्या गरे। परशुरामको आक्रमणबाट क्षेत्रीयहरूले बाँच्नका लागि नयाँ पेशा अवलम्बन गर्दा एक क्षेत्रीले कपाल काट्ने हजाम बनी ज्यान बचाए। तिनै क्षेत्री 'नाउ' पेशाबाट 'नापित' हुन गए। यसपछि रामखेरी, माली, तेली, सूचिकार, कुमाल, ग्वाला आदि पेशाकै आधारमा जातिको उत्पत्ति भयो।[मेयर, १९८६: ६१-६२)]|

किंवदन्तीलाई अन्य प्रमाण तथा तथ्यहरू फेला नपार्दासम्म ऐतिहासिक प्रमाणका रूपमा ग्रहण गर्न सकिन्छ। किंवदन्ती नै प्रामाणिक सत्य हो भन्न सकिँदैन। पछिल्ला दिनका पुरातात्विक सामग्रीहरूमा हजामको उत्पत्तिबारे अन्य कुराहरू पनि भेटिएका छन्।

केश तथा दाह्री काट्ने प्रथा मानव सभ्यताको विकाससँगै उद्भव भएको पुरातात्विक प्रमाणहरूले बताउँछन्। सिन्धुघाँटी सभ्यताको खोजी गर्ने क्रममा दाह्री काट्ने ढुङ्गाको छुरा तथा स्लेट पाइएको थियो। यस्ता सामग्रीले दाह्री, कपाल खौरन होइन छोटो पार्ने मात्र काम हुन्थ्यो। केश काट्ने प्रथाको उद्भव यसैबेलादेखि सुरु भयो। -गोस्वामी, १९६६:३५६)। अर्को तर्क के पनि छ भने सिन्धु सभ्यतापछिको वैदिककालका देवता भनिएकाहरूमध्ये ब्रहृमा र अग्निको मात्र केश र दाह्री भएको तस्बिर पाइएको र अरूले केश, दाह्री नराखेका तथा इ.पू. ४००० का वैदिक आर्य ऋषि वशिष्ठको टाउकोमा दायाँपट्टी कपर्दक (टुप्पी) भएकोले -सांकृत्यायन १९६०:१७-१८) प्राचीनकालदेखि नै मानिसहरूले केश काट्न थालेको पाइन्छ। मानव सभ्यताको विकास समुद्री किनार तथा नदी किनारहरूबाट भएको र दक्षिणी समुद्री टापुको तोगाका एक प्राचीन समुद्री यात्रीले मान्छेका पेशा र तिनीहरूको सामाजिक मर्यादाबारे उल्लेख गर्दै हजाम वंशाणुगत वा अन्य पेशा छोडेर आएका वा दुवै हुन सक्ने उल्लेख गरेका छन्। -हर्स कोभित्स, १९७४:१४६-१४७)।

यसरी प्राचीनकालदेखि नै समाजमा मानिसहरूले जीविकोपार्जनका लागि रोजिएको पेशा र सो पेशालाई सम्बोधन हुने गरी जाति प्रथाको उद्भव भएको पाइन्छ। मानव सभ्यताको विकासको क्रममा श्रम विभाजनका कार्यको प्रारम्भदेखि नै मानिसहरूले विभिन्न कामको सिर्जना गरे र सीपमा आधारित भएर पेशाहरू अवलम्बन गर्न थाले। यही क्रममा कपाल काट्ने 'नाउ' पेशा पनि एउटा कामको रूपमा स्थापित भयो। यसरी भारतवर्षमा स्थापित 'नाउ' हरू नेपालतिर पनि पसेका हुन्। भारतमा यसरी कपाल काट्ने पेशामा लागेका मानिसहरूलाई 'नाइ' भनिन्छ।

नेपालमा हजाम वा नापितसम्पादन

चिनियाँ, सिन्धु र मोहनजो-दारो सभ्यताको सम्मिश्रण नेपालका वासिन्दाहरूमा पाइन्छ। यसर्थ नेपालमा 'नाउ' कसरी र कहिले आए भन्ने कुरा यकिन छैन तर पनि कर्नाटवंशी राजाहरू शरणार्थीका रूपमा काठमाडौं उपत्यमा आएर बसोवास गर्न थालेपछि उनीहरूसँगै 'नाई'हरू पनि नेपाल छिरे। उपत्यकामा आएर तिनीहरू 'नाई' या 'नाउ' नभएर नापित भनिन थाले। जाति प्रथाले छुवाछूतको आकार नलिँदासम्म सबै जाति बराबरीजस्तै थिए र यिनीहरू पनि काठमाडौं उपत्यकाको नेवार समुदायबीच घुलमिल भए। मध्यकालीन युगपूर्व नै यिनीहरू नेवार समुदायका अन्य पेशागत जातिहरूको जस्तै अवाले, कसाई, साल्मी, व्यञ्जनकार आदिसँग चालचलन, खानपिन र संस्कृति मिल्दोजुल्दो पाइन्छ -विष्ट, २०५२ः१०)।

नापितहरू आफूलाई नेवार बताउँछन्। उनीहरूको खानपिन, संस्कार र चालचलनको अध्ययनबाट नेवार समाज आज जुनरूपमा खडा भएको छ, त्यो विभिन्न चरणको ऐतिहासिक विकासको नतीजा -शर्मा, २०५४ः३) भएकाले पनि नेवारी समाजले लामो ऐतिहासिक चरण पार गरिसकेको देखिन्छ। जहाँसम्म नापितको प्रश्न छ, त्यसबारेमा एक विद्वान् यसरी लेख्दछन्ः-

"नेवारहरूलाई एउटै मूल समूहबाट विकसित भएको प्रमाणित गर्न सकिँदैन बरु, तिनीहरूलाई प्राग-ऐतिहासिककालदेखि उपत्यकाको वरिपरिका क्षेत्रबाट बसाइँ सरेर आउने विविध मानव जातिको क्वाँटी मानिएको छ र यसै क्वाँटीभित्र 'नापित'लगायत अन्य पेशागत जातिहरूको अस्तित्व रहिआएको छ।" -[ईशिइ, २०४४ः४]

उक्त भनाइले के देखाउँछ भने नापितहरू उपत्यका वरिपरिका अन्य क्षेत्रका मानिसहरू र उपत्यकाका मानिसहरूको सम्मिश्रणका उपज हुन्। नापितहरूको अवस्थाको अध्ययनले पनि उक्त भनाइ सत्यको नजीक भएको पाइन्छ।

उपत्यकामा नापितसम्पादन

काठमाडौं उपत्यकाका राजा जयस्थिति मल्लले बाँधेको थितिमा नापितहरूको अस्तित्व प्रस्टरूपमा देखापर्दछ [रेग्मी, २०३६ः१३८]| जयस्थिति मल्लले विभाजित गरेका ३६ जातमध्ये एक जात नापित पनि थियो। त्यसबेला तयार पारिएका जातिमाला सूचीमा नापितलाई 'नापिक' पनि लेखिएको छ। 'मल्ल भक्तपुर' नामक पुस्तकमा दिइएको सूचीमा भने नापितको सट्टा 'नाउ' लेखिएको छ। -कोल्भर, १९८४ः१२८-१३०)। यसबाट के बुझिन्छ भने 'नाउ' जाति नै नापित हो। अझ जयस्थिति मल्लले बाँधेको थितिमा नेवार समुदायका विभन्नि पेशागत जातिहरूको सूचीमा 'नाउ'ले कपाल खौरनु, नङ काट्नु भनिएको छ र काम नहुँदामा दण्ड सजाय पनि तोकिएको छ -रेग्मी, २०३६ः१७०-७१) परम्परागतरूपमा चलिआएको नेपाल उपत्यकाको समाजलाई व्यवस्थित गर्न जयस्थिति मल्लले विधि बसालेका थिए तर पछि उपत्याकाका राज्यहरू विभाजित हुने, टुक्रिने, राजाहरू अस्थिर हुने, बालक राजाहरूको उदय हुने तथा मन्त्रीहरूले राजा फेरिरहनेजस्ता राजनीतिका घातक खेलहरू देखा पर्दै राज्य अत्यन्त कमजोर बन्दै गए। यस्तो अवस्थामा राज्य विप्लवको खतरा सन्मुख थियो। यही मौकामा नै गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यकामाथि आक्रमण गरेर विजय प्राप्त गरे। राम शाह तथा जयस्थिति मल्लले बाँधेको थिति हेरी नयाँ थिति बाँध्ने उनको इच्छा पूरा नहुँदै उनको मृत्यु भयो। लामो समयसम्म राज्य एकीकरणको युद्ध मैदानमा गोरखाली शासकहरू लाग्नु परेकाले सायद यस कुरामा ध्यान गएन। अङ्ग्रेज-नेपालबीच भएको सन् १८१४-१६को युद्ध र त्यसपछि भएको सुगौली सन्धिले एकीकरण अभियान रोकियो। त्यसपछि भीमसेन थापाले थितिको फेहरिस्त तयार पारी नाउले सुत्केरी चोख्याउने दिन छेवर, व्रतवन्ध गर्दा इहि, बाह्रा, विवाह, जुठो चोख्याउने दिन, पुराण लगाउने आदिजस्ता कार्यमा गर्ने कामको ज्यालासमेत तोकिदिएको पाइन्छ[नेपाली, २०३५ःपरिशिष्ट-३) ]

भनिन्छ कर्नाटक वंशका अन्तिम राजा नेपाल आउँदा शरणार्थीका रूपमा प्रवेश गरेका थुप्रै मैथलीहरू पनि उपत्यकामा आएर बसोवास गर्न थाले -रेग्मी २०३६-९१)। मिथिला क्षेत्रबाट आएका मानिसहरू र उपत्यकाका मानिसहरूका बीचमा पेशा र धर्मका आधारमा समाजमा एउटा थिति बाध्नुपर्ने आवश्यकता ठानी मध्ययुगीन राजा जयस्थिति मल्लले नेपाली समाजलाई 'चारवर्ण छत्तीस जात'मा बाँडे। चार वर्ण वणराश्रम धर्म मान्नेहरूसँग सम्बन्धित थियो भने छत्तीस जात वणराश्रमबाहेकका जातहरूसँग सम्बन्धित थियो, यसबेला पनि पेशागतरूपमा केश, नङ काट्ने पेशा अवलम्बन गर्ने मान्छे 'नापित' कहलिन्थ्यो -उही, ः १६५-१६६)। उपत्यकामा गोरखा राज्यको आधिपत्यपछि पनि पृथ्वीनारायण शाहले रामशाह तथा जयस्थिति मल्लको थितिलाई यथास्थानमा राखेर शासन चलाउने हुँदा त्यो क्रम भङ्ग भएन। अन्य जातिका मानिसले कपाल, नङ नकाट्ने भएकोले पेशागत प्रतिस्पर्धा हुन नसक्दा भीमसेन थापाकालीन नेपालमा मनपरी ज्याला लिएको कुरा भीमसेन थापाका भनाइहरूले बताउँछ। भीमसेन थापाले भनेका थिएः-

"नाउ आदिले मौका हेरी मनपरी किसिमसँग ज्यादा रकमको माग गरी असुल गर्दथे। यसले गर्दा ज्यादा रकम दिन नसक्ने परिवारकहाँ ठूलो मार्का पर्दथ्यो। यिनीहरूलाई सजायका निम्ति कुनै कानुनी बाटो पनि थिएन र यिनीहरूको पजनी पनि हुन सक्दैनथ्यो" -नेपाली, २०३५ ः १५२ परिशिष्ट-३)।

भीमसेन थापाले नाउहरूको ज्यालाको लापरवाहीलाई रोक्न कुनै कदम उठाए वा कुनै थिति बाँधेको पाइन्छ। जे भए पनि काठमाडौं उपत्यकामा नापितहरूको उद्भवलाई हेर्दा मध्यकालभन्दा धेरै पहिले प्राचीन समाजको विकासक्रमसँगै आएको देखिन्छ। चिनियाँ सभ्यतामा विकसित मङ्गोल जातिको दाह्री नआउने र केश मात्र हुने तर आर्य समाजका मानिसहरूको दाह्री पनि हुने र त्यसलाई काट्नै पर्ने बाध्यताका कारण पनि उपत्यकामा नापितहरू भारतीय सभ्यताकै उपज भएको मान्नुपर्दछ। धेरै पहिलेदेखि नै उपत्यकाका नेवार समुदायसँगको संसर्ग र घुलमिलबाट यिनीहरू कालान्तरमा नेवार नै बन्न गए। भाषागतरूपमा नेवार भाषा नै यिनीहरूको पनि भाषा बन्यो। यिनीहरूको बसोवास उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरबाहेक यदाकदा धरान तथा पोखरामा पनि पाइएकाले नापितहरू उपत्यकाभित्र नै आएका र पछिपछि मात्र बसाइँ सराईका क्रममा बाहिर छिटफुट गएको देखिन्छ।

रीतिथितिसम्पादन

धर्मका आधारमा नापितहरू हिन्दू तथा बौद्ध दुवै धर्मग्राही भए पनि अत्यधिक बौद्धमार्गीहरू छन्। भारतमा मुसलमान आक्रमणबाट बौद्धधर्मीहरू विस्थापित हुने क्रममा यिनीहरू पनि नेपाल पसेको हुन सक्ने तर्कलाई अहिले नजर अन्दाज गर्न सकिँदैन। नेवार समुदायमा देखिने संस्कारमा कुनै पितृकार्य गर्नु परेमा 'द्योः भाजु'को सट्टामा ब्राहृमणलाई नै पुरोहितका रूपमा वरण गरिन्छ र विधि हिन्दूकै हुन्छ। उपत्यका बाहिरका नेवारहरूमा यो प्रथा हावी छ। उपत्यकाका बाहिरका नेवारहरूलाई यस्तो कार्यमा केश वा नङ काट्नु परेमा नापितको आवश्यक पर्दैन। जसले काटिदिए पनि हुन्छ तर उपत्यकाका नेवारहरूमा भने यस्तो बेला नापितबाहेक अरूले केश काटेर हुँदैन, आफ्नो नापित नै चाहिन्छ। यो परम्परालाई हेर्दा नापित काठमाडौं उपत्यकाको नेवार समुदायको परम्परागत तथा स्थापित जाति भएको बुझिन्छ। पेशागत कारणले पनि जीविकोपार्जनको मूल आधार केश, नङ काट्ने नै भएकोले र नेवार समुदायभित्र यो जाति अपरिहार्य भएकाले पछिल्ला दिनसम्म पनि नापितको जीविकोपार्जनको रक्षा उपत्यकाका अन्य नेवार जातिले गरिदिएकाले नापितहरू उपत्यका बाहिर जीविकोपार्जनका लागि त्यत्रो रूपमा बसाइँ सर्न पुगेनन्। यहाँबाट बाहिर विभिन्न पेशामा जाने अन्य नेवारहरूलाई पनि नापितहरूले पछ्याएनन्। त्यसैले नापितहरू उपत्यकामा नै सीमित हुन गए भन्ने भनाइमा -ईशिइ, २०४४ः३) सत्यता रहेको पाइन्छ।

नापितको गोत्रसम्पादन

मानव सभ्यताको विकासको क्रममा मानिस आदिम जङ्गली युगबाट पशुपालन युगमा प्रवेश गरेको कुराको वैज्ञानिक सत्यता पाइन्छ। युरोपेली समाजभन्दा सभ्यताको विकासमा भारतीय महाद्वीप जेठो रहेको छ। युरोपमा पशुपालनको युगमा प्रवेश नगदर्ैै भारतीय उपमहाद्वीपमा त्यो क्रम सुरु भइसकेकाले गाई पाल्ने पेशाबाट नै गोत्र बन्न गएको र इ.पू. १५००को आसपासमा देखिएको दास तथा सामन्ती युगमा वशिष्ट, विश्वामित्र, भारद्वाज आदि गोत्रको उदय हुन पुग्यो -सांकृत्यायन, १९८२ः२०)। यो भनाइका अतिरिक्त अर्को पनि के भनाइ पाइन्छ भने अमेरिकामा मानवशास्त्रीहरू आमाको पक्षलाई वंश मान्छन् र त्यसलाई गोत्र ९अबिल० पनि मान्दछन् भने पिताको वंशलाई न्भलक भनिन्छ। -हर्सकोवित्स, १९७४ः१७४)। नेपाली समाज सिन्धु सभ्यताको परिणाम भएकाले नेपाली समाजको गोत्र प्रायः हिन्दू आर्य नाम प्रचलनमा रहेको छ। नेपाली गोत्र भनेको वंशानुक्रमको निरन्तरता हो, जो आमाबाबुबाट निःसृत हुन्छ र पछिल्लो पुस्तासम्म विस्तार हुँदै जान्छ। पितृसत्तात्मक समाज भएकाले नेपाली समाजमा सन्तानको गोत्र आमाको गोत्र नभएर बाबुको गोत्र राखिने चलन छ। छोरीको विवाहपछि बाबुको गोत्र या थर परिवर्तन गरी उसको पतिको थर गोत्र ग्रहण गराइने प्रचलनले सन्तानको गोत्र बाबुकै गोत्रमा आधारित हुने गरेको छ। यसैखाले आनुवंशिक परम्परा काठमाडौं उपत्यकाका नापितहरूमा पनि रहेकाले यिनीहरू आफूलाई 'काश्यप गोत्री' भएको बताउँछन्। नेपालको नेवार समुदायको गोत्र प्रायः 'काश्यप' नै रहेको पाइन्छ। यसका अतिरिक्त नापितहरूको कुनै अन्य गोत्र वा उपगोत्र पाइँदैन।

धर्ममा नापितसम्पादन

धर्म, परम्परा, सामाजिक विश्वास, भन्ने कुरा सामाजिक तथा आर्थिक जीवनमा आउने परिवर्तनसँगै परिवर्तित हुँदै जान्छ तर पनि यो परिवर्तन सामाजिक रीतिरिवाज र परम्परामा एक्कासि असर गर्ने गरी आएको पाइँदैन। परम्परादेखि मनमस्तिष्कमा गाडिएको विश्वास एकैचोटि सहजै हट्दैन तर विभिन्न खाले सामाजिक परम्पराको सम्मिश्रणले त्यसको स्वरूप, आकार र मात्रामा परिवर्तन ल्याएको हुन्छ।

काठमाडौं उपत्यकाका नापितहरूको धर्म हिन्दू वा बौद्ध हो। दुवै धर्मावलम्बीको परम्परागत जाति र पेशा पनि एउटै हो। नापितहरू बसेको टोलमा जुन धर्म मान्नेको बाहुल्य छ, त्यसै धर्मलाई सबैले ग्रहण गरेको पाइन्छ। धर्म जुन माने पनि उनीहरूमा दुवै धर्मप्रति सहिष्णुता छ। एक धर्मको व्यक्तिले अर्को धर्मको व्यक्तिसँग वैवाहिक सम्बन्ध राख्न सक्ने परम्पराको विकास यिनीहरूमा भएको पाइन्छ।

नापितहरूले पूजा गर्ने देवताको हकमा भीमसेन, देवी तथा कुलदेवताको पूजा गर्दछन्। उनीहरूको कुलपूजा गर्ने ठाउँमा एउटा मूर्त र अर्को अमूर्त देवता हुन्छ। मूर्त देवतामा भीमसेन या देवी हुन्छन्, जुन कुलात्मक मूर्तिको आकारमा हुन्छ भने अमूर्त देवता ढुङ्गोजस्तो मात्र राखिएको हुन्छ त्यो उनीहरूको कुल देवता भन्ने जनाइन्छ। उनीहरू विभिन्न समयमा देवीको पूजा गर्दछन् भने वर्षको एकपटक 'दिगु द्योः' गर्दछन्। त्यो कुल पूजा गर्दा सबै १३ दिने दाजुभाइ उपस्थिति भएर गर्ने प्रचलन छ। यसले उनीहरूको सामाजिक जीवनमा आपसमा सामिप्यता बढाउने र ऊर्जा भर्ने काम गर्दछ। उनीहरूको धार्मिक विश्वासबारे एक विद्वान् यसरी लेख्छन्ः-

"धर्मसँग सम्बन्धित विश्वासहरू हरेक संस्कृतिमा फरकफरक पाइन्छ र यी विभिन्न समयमा सिर्जित भएका हुन्छन्। तथापि तिनीहरूलाई दैवीशक्तिको रूपमा उपस्थित भएको कुरामा मानिसहरू विश्वास गर्दछन् र सोहीबमोजिम काम गर्दछन्। त्यस्ता दैवी शक्तिहरूमा देवता, आत्मा, भूतप्रेत, राक्षस आदि भएको उनीहरूमा विश्वास हुन्छ। -इम्बर एण्ड इम्बर, १९७७ः३८२)"

हो ठीक यस्तै विश्वासका आधारमा नापितहरू पनि देवी, कुल देवता र भीमसेन देवताले उनीहरूलाई सबैतिरबाट रक्षा गर्छन् भन्ने विश्वास गर्दछन्। यस्तै गरी नापितहरूले विश्वास गर्ने देवतामा नाग पनि हो। बलेँसीमा पानी बग्ने डुँढलाई समेत नापितहरू नागको रूपमा मान्दछन् र त्यो डुँढमा पिसाब पर्न हुँदैन भन्ने उनीहरूमा विश्वास छ। पानी नपरी खडेरी लाग्यो भने वासुकी नागको पूजा गरे पानी पर्छ भन्ने कुरामा उनीहरू विश्वास गरी वासुकीको पूजा गर्दछन्। भट्टी पसल राख्दासमेत नागको साधना गरिन्छ। कलशलाई नागले बेरेजस्तै भट्टीको रक्सी हाल्ने भाँडालई नागजस्तो आकारले बेरिन्छ। नापितहरूले अत्यन्त श्रद्धा गर्ने देवता गणेश तथा भैरवले नागको जनै लगाएकाले नागलाई बढो महìवका साथ पूजा गर्नुपर्ने विश्वास उनीहरूको रहिआएको छ। नापितहरू भैरवहरूमा आकाश भैरव, काल भैरव, घण्टाकर्ण भैरव, श्वेत भैरव, वटुक भैरव आदि र गणेशहरूमा गणेश तथा श्वेत गणेशलाई बढी महìवका साथ पूजा गर्दछन्। यी कुराहरूले के देखाउँछ भने नापितहरू बौद्धमार्गी भए पनि यी देवताहरूको पूजा गर्ने चलनका कारण उनीहरूमा हिन्दू संस्कार र रीतिरिवाजको बलियो तथा गहिरो विश्वास पनि छ।

साराशंसम्पादन

समग्रमा भन्ने हो भने नापित भन्ने जाति परम्परागत पेशाले नामकरण भएको जाति हो। जीविकोपार्जनका लागि पेशा अवलम्बन गर्दा आदिकालदेखि नै केश, दाह्री तथा नङ काट्ने पेशा अवलम्बन गर्ने मानिसलाई ठाउँअनुसार हजाम, नाउ, नाई भन्न थालियो। सिन्धुघाँटीको सभ्यताको विकाससँगै उद्भव भएको यो जाति भारततिरबाट नेपालमा मानिसहरू बसाइँ सराई गर्ने क्रममा वा निर्वासित हुने क्रममा छिरेका भए पनि उपत्यकाका आदिवासीहरूसँगै धर्म, संस्कृति, परम्परा चालचलन र पारिवारिक सम्बन्धको सामीप्य राख्दै हरेक प्रकारले घुलमिल हुन गयो। कालान्तरमा उपत्यकाका अन्य नेवार जातिजस्तै यो पनि नेवार कहलिन थाल्यो।

समाजको विकासक्रमसँगै नापित जातिले पनि आफूलाई विकसित गर्दै लग्यो। इतिहासको कालखण्डमा विभिन्न समयमा राज्यद्वारा निर्मित नियम तथा थितिहरूले यो जातिको पेशालाई सुरक्षित राख्ने प्रयास गरेको भए पनि आधुनिक विकासको क्रममा समाजमा त्यो सुरक्षित हुन सकेन र पछिल्ला दिनमा नापितहरू पनि या त आफ्नो पेशालाई आधुनिकीकरण गर्न बाध्य भए या अन्य पेशा अवलम्बन गर्न पुगे। अन्य पेशा अवलम्बन गर्नाको परिणाम यिनीहरूको परम्परागत पेशामा अतिक्रमण पनि सुरु भयो। खासगरी भारतीय मूलका हजामहरूसँग प्रतिस्पर्धा गर्न यिनीहरूलाई कठिन भएको मानिन्छ। आज उपत्यकाका अधिकांश ठाउँहरूमा भारतीय हजामहरूको बाहुल्य हुनु र नापितहरू केवल परम्परागत जजमानसम्म मात्र सीमित भई अन्य पेशा अवलम्बन गर्नतिर लागेकाले नापितहरू उनीहरूको परम्परागत पेशामा प्रतिस्पर्धामा पछाडि परेका र अन्य पेशामा अरू जातिसरह अघि बढ्न खोजेको मान्नुपर्दछ। जे होस्, हिजोआज उपत्यकाका नापितहरू उनीहरूको परम्परागत पेशाबाट धेरै बाहिरिएको पाइन्छ। सबै परम्परा नष्ट हुनु पनि राज्यका लागि सुखद हुँदैन। पहिचान र संस्कृतिको रक्षा तथा इतिहासको वास्तविक अध्ययनका लागि पनि यस्तो परम्परालाई केही मात्रामा बचाउन जरुरी हुन्छ। यस्तो कुरामा राज्यको ध्यान जान जरुरी छ र सम्बन्धित जाति र सम्प्रदायले पनि आफ्नो पहिचानका लागि कुनै न कुनैरूपमा परम्परागत पेशाको संरक्षणमा लाग्न आवश्यक देखिन्छ।

  • [१] नापित जातिको उत्पत्ति र रहनसहन(सांस्कृतिक समीक्षा ,मातृकाप्रसाद तिम्सिना ,मधुपर्क २०६५ माघ )