नगरकोट
नगरकोट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो ।[२][३][४] यो स्थान राजधानी काठमाडौँबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ ।[५] गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ ।[६] यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ ।[७] यो हाल चाँगुनारायण नगरपालिकामा पर्दछ।
नगरकोट | |
---|---|
पूर्व नगरपालिका | |
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ३ |
जिल्ला | भक्तपुर |
नगरपालिका | चाँगुनारायण नगरपालिका |
जनसङ्ख्या | |
• जम्मा | ४,५७१ |
• धर्म | हिन्दु बौद्ध |
समय क्षेत्र | युटिसी+५:45 (नेपालको प्रमाणिक समय) |
नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन् । नगरकोट भक्तपुर जिल्लाको पूर्व नगरपालिका तथा देशमा सङ्घीयता लागू भएसँगै नयाँ स्थानीय तहको संरचना अनुसार यो चाँगुनारायण नगरपालिका[८] को एक मुख्य पर्यटकीय स्थल हो । नगरकोट काभ्रे जिल्ला र भक्तपुर जिल्लाको दोसाधमा रहेको छ, पानी ढलोको सिमा व्यवस्था रहेकोले नगरकोटको उच्चतम विन्दुमा यी दुई जिल्लाहरूको सङ्गम रहेको छ ।
नामकरण
प्राचीन समयमा यहाँ एक जना मानिस आफ्नो कुनै कार्य गर्न लाग्दा आफूले लगाई राखेको कोट फुकाली राखी हेरिरहेका अन्य मानिसलाई "नचलाकोट" भनी कार्य सुरू गरेका थिए। त्यही मानिसले नचलाकोट भनेका आधारबाट नगरकोट नाम रहन गएको भन्ने स्थानीय बासिन्दाको भनाइ रहेको पाइन्छ। कालान्तरमा गएर नचलाकोटबाट अपभ्रंश भएर नगरकोट भएको होला भन्ने जनश्रुति छ।[९] त्यस्तै नेपालको पश्चिम भागमा तामाङ मगर बस्ती रहेको डाँडाको अति चुच्चो भागलाई कोट भन्ने चलन छ ।[१०] यस भेकमा पनि ताम्राङ रहको र नगर क्षेत्रबाट यो गाउँ अग्ला भएको हुँदा यसलाई नगरकोट भन्ने गरेको पाइन्छ। साथै नगरकोट दुई भिन्न शब्दहरू मिलर नगरकोट शब्द बनेको हो। त्यस शब्दलाई टुकर्याएर हेर्दा पनि नगरको अर्थ शहर र कोटको अथ अग्लो भाग भन्ने बुझिन्छ।अर्को जन श्रुती अनुसार १८०१मा नगरकोट विजय पश्चात् नगरकोटको नियन्त्रण पृथ्वीनारायण शाहले भक्तपुरका राजा(उनका मितबा)लाई सुम्पिएका पछि नगरकोटलाई कोतको रूपमा विकास गरिएको र नगरको कोतका रूपमा रहेकोले नगरकोट नाम रहेको भन्ने कथन पनि रहेको छ।
पहुँच
नगरकोट पुग्नको लागि पर्यटक तथा जनसाधारणहरूले प्रयोग गर्ने उपायहरूमा
- मोटर यात्रा
- नगरकोट पुग्नको लागि सजिलो तरिकाको रूपमा मोटर यात्रालाई लिन सकिन्छ। नगरकोट काठमाडौँबाट मात्र ३२ किलोमिटरको दूरिमा र भक्तपुरबाट २० किलोमिटरको दुरिमा रहेको छ। भक्तपुरबाट नगरकोटको लागि छोटो छोटो समय बीचमा बसहरू छुट्ने गर्दछन्।
- साइकल यात्रा
- केही पर्यटकहरू काठमाडौँ देखि नगरकोट सम्म साइकलमा साहसिक यात्रा गर्ने गर्छन् बाटो उकालो र गाह्रो भए तापनि केही मानिसले यो मन पराएको पाइएको छ।
- पदयात्रा[११]
- पदयात्रा गरेर नगरकोट भित्रिने पर्यटकको मात्रा धेरै छ। मूख्यतया नगरकोट भित्रिने पदयात्रा मार्गमा
- भक्तपुर-चाँगुनारायण-नगरकोट मार्ग
- सुन्दरीजल-साँखु-नगरकोट मार्ग पर्दछन
- खरिपाटी–तेलकोट–नगरकोट पद मार्ग
महत्त्व
पर्यटकीय
नगरकोट नेपालको एक प्रसिद्ध पर्यटकिय स्थल हो। नगरकोटबाट देखिने उत्तरका चाँदिका शिखरले बिहान र बेलुकी सुनौलो रङ्ग फेर्दाको मनोहरितामा कुनै कविको कविता फुर्दछ भने कुने संगितकारको मानसपटलमा अमोद नाद। मन्दिरै मन्दिरको सहर भनिने हाम्रो देशको राजधानी काठमाडौँ घुम्न आउने पर्यटक मध्ये अधिकांश पर्यटकहरूले नगरकोटको भ्रमण गर्ने गर्दछन साथै काठमाडौँ निवासीहरूचाहिँ आफ्नो व्यस्त तथा कोलाहलपूर्ण जीवनलाई थातीराख्दै केही समय प्रकृतिसँग भलाकुसारी गर्न नगरकोट आउने गर्दछन।[१२] नगरकोट रिसोर्ट व्यवसायका लागि पनि प्रसिद्ध छ। यहाँ साधारण देखि लिएर अति महँगा र सुविधा सम्पन होटल, रेष्टुराँ तथा लजहरू रहेका छन, जसले कुनै पनि देश, संस्कृति र स्तरका पर्यटकको आवश्यकताको पूर्ति गर्दछन्।
प्राकृतिक
नगरकोट उच्च पहडी भेगमा पर्दछ नगरकोट चारै तिरबाट वन तथा जंगलले घेरिएर रहेको छ। लोप हुनलागेको "हरियो वन नेपालको धन" भन्ने लोकोक्ती यहाँ सार्थक भएको देख्न पाइन्छ। यहाँ जडिबुटी खेतिको प्रचुर सम्भावना रहेको छ। साथै वरपर रहेको बालवन भनिने जंगलमा अनेकन बोटबिरुवा र जीवजन्तु बसोबास गर्दछन। यो वन जंगलले काठमाडौँ उपत्यकाको लागि केही मात्रामा जलाधारको पनि काम गरेको छ। यस स्थललाई वैज्ञानिक खोजको लागि प्रयोग गर्न सकिने सम्भावना धेरै छ।
महादेव कुण्ड
यहाँ प्रत्येक वर्ष रक्षा बन्धनको दिनमा ठूलो मेला लाग्ने गर्दछ। यहाँ काठमाडौ, भक्तपुर, साँखु र बनेपा देखिका भक्तजनहरूको भिड लाग्ने गर्दछ।यो नगरकोट गाविस र काभ्रेको टुकुचा गाविसको दोसाधमा रहेको छ।
महाँकाल मन्दिर
यस मन्दिर तान्त्रिक साधकहरूको लागि महत्त्वपूर्ण रहेको मानिन्छ । काठमाडौँको महाँकाल मन्दिर यीनै देवलाई स्थानान्तरण गरी निर्माण गरिएको जनविश्वास रहेको छ। यो मन्दिर भक्तपुर जिल्लाको नगरकोट गाविस र काभ्रेको बालुवापाटी देउपुर गाविसको दोसाधमा रहेको छ भने काठमाडौ जिल्लाको सुनटोल गाविसको सिमा यहाँबाट ५ मिनेटको दुरीमा रहेको छ।
काली देवी मन्दिर
यो मन्दिरलाई ग्रामदेवीको रूपमा मानिदै आएको छ र प्रत्येक वर्ष पौष पूर्णिमाको दिन यहाँ मेला लाग्ने गर्दछ। यसै मन्दिरमा नगरकोट हत्याकाण्ड घटेको थियो
जालपादेवी मन्दिर
नगरकोटको तेलकोटमा अवस्थित जालपादेवी मन्दिर एक महत्त्वपूर्ण ठाउँ हो।[१५]
गीता मन्दिर
यो मन्दिर नगरकोट गाविसको फेदि–१, नयाँबस्ती, गीतानगरमा अवस्थित छ। यो ठाउँ नगरकोट, छालिङ र वागेश्वरी गाविसको बिचमा पर्दछ। याहाँ गीतामाता, सप्तऋषि, नागराज, बुढानिलकण्ठ, गणेश, कुमार तथा शिवको मन्दिर रहेको छ। यहाँ बिषेशगरी हरितालिका तिज, दशै, तिहार जस्ता पर्वहरूमा मेला लाग्ने गर्दछ । यो मन्दिर भक्तपुर शहरबाट ५ किलोमिटरको दुरीमा अबस्थित छ ।
ऐतिहासिक
बडामहाराज पृथ्वीनारायण शाहको सेनाले परशुराम थापाको नेतृत्वमा वि.सं. १८०१ असोजमा नाल्दुम महादेवपोखरी(हालको नगरकोट) माथि विजय प्राप्त गरी यसलाई भक्तपुरलाई हस्तान्तरण गरिएको कुरा इतिहासमा लेखिएको छ । र नगरको कोतलाई यहाँ सारेको र लामो समयसम्म नगरको कोत रहेकाले यसको नाम नगरकोट रहेको हो भनि अड्कल काटिन्छ । यहाँ राणाकालिन दरबारहरू पनि रहेका छन।यो राणा शासकहरूको मनोरञ्जतथा समय बिताउने स्थान थियो । यहाँ रहेको पुतली दरवार , भँगेरी दरवार अहिले सम्म पनि प्रख्यात रहेको छ। तर सबै दरबारहरू २०१८ सालमा नेपाली सेनाको नगरकोट स्थानानतरण भए पछि दरबारहरू सेनाको अधिनमा पर्यो र अहिले जीर्ण रहेकाले भत्काई नयाँ बनाउने कार्य हुँदैछ ।
वैज्ञानिक
नगरकोट एक वेज्ञानिक केन्द्र पनि रहि आएको छ। यहाँ रहेको त्रिकोणमितिय(trigonometric)मापन केन्द्र ,गुरुत्वमापन केन्द्र , खगोल वैधशाला (Geodic Observatory),जल तथा मौसम तथ्याङ्क सङ्कलन केन्द्रका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ज्योतिष(Astronomical) अध्ययन केन्द्रले देशमा आवश्यक केही थोरै वैज्ञानिक आवश्यकता पूर्ति गर्दै आइरहेको छ।
खगोलीय अध्ययन केन्द्र
बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले नगरकोटमा निर्माण गरेको यस केन्द्र २०६४ सालमा नगरकोटमा स्थापना भएको हो। आधुनिक दूरबिन प्रयोग गरी अध्ययन अनुसन्धान गर्ने सुविधा छ। वेधशालामा रहेको दूरबिन नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो हो। १६ इन्च व्यास रहेको दूरबिनले आकासीय वस्तुलाई पाँचदेखि आठ सय गुणासम्म ठूलो पार्न सक्छ। दूरबिनमा रहेको सफ्टवेयरले एक लाख ५० हजार वटा तारालाई चिन्न सक्छ। रोबोर्टिक अपरेटेड टेलिस्कोपबाट खगोल विज्ञानसम्बन्धी जुनसुकै अनुसन्धान गर्न सकिने व्यवस्था रहेको छ। खगोल विज्ञानको अध्ययन गर्न विदेशी अनुसन्धानकर्ताहरू नेपाल आउन थालेका छन्। विदेशी अनुसन्धानकर्ताहरू बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले नगरकोटमा निर्माण गरेको वेधशालामा अनुसन्धान गर्न आउने गरेका छन्। खगोल विज्ञानसम्बन्धी चर्चित अमेरिकी वैज्ञानिकहरूको संस्था (नासा), इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन तथा प फ्रान्सेली अनुसन्धानकर्ताहरू अनुसन्धानका निम्ति नगरकोटको वेधशालामा आएका थिए। खगोल अध्ययनका लागि उचाइ भएको ठाउँ उपयुक्त हुने भएकाले विदेशीहरू पनि नेपाल आउने गरेका छन्। रातिको समयमा उपत्यकाको आकास प्रायः खुला रहने र उचाइका कारण खगोल विज्ञानको अध्ययन गर्न उपत्यकालाई उत्कृष्ट स्थल मानिन्छ। चार वर्षअघि नगरकोटमा निर्माण गरिएको वेधशाला दुई हजार एक सय १५ मिटर उचाइमा रहेको छ।
सामरिक
अरनिको राजमार्ग खुल्नु पूर्व नगरकोट काठमाडौँ उपत्यका पूर्वी जिल्लाहरू जोड्ने एक प्रसिद्ध नाकाको रूपमा रहेको थियो। दोलखा, ओखलढुंङ्गा, सिन्धुपाल्चोक साथै गोसाईकुण्ड जाने सजिलो बाटोको रूपमा पनि। हाल पनि यसलाई हेलम्बु राजमार्गको वैकल्पिक रूपमा प्रयोग गरिदै आइएको छ।
विशेषता
नगरकोट एक शान्त र प्राकृतिक विविधताले भरिपूर्ण त छदै छ साथै ग्रामीण जीवन शैली र बहुधार्मिक र बहुभाषिक केन्द्रका रूपमा पनि लिनुपर्ने हुन्छ। यहाँ बसोवास गर्ने मुख्य जातिहरूमा
- तामाङ्ग
- गुरुङ
- बाहुन-क्षेत्री हुन्
यिनीहरूमा धार्मिक, भाषिक र सांस्कृतिक विविधता रहेको छ तर नगरकोट धार्मिक, भाषिक र सांस्कृतिक सह अस्तित्वको नमुना पनि बन्दै आएको छ।
चित्र दीर्घा
सन्दर्भ सामग्रीहरू
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ "प्रसिद्ध रमणीय स्थल नगरकोट", sajhasabal.com (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-३०।
- ↑ "नयाँ वर्षमा घुम्न जाने योजना छ ? यी हुन गन्तव्यस्थल" (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-३०।
- ↑ "नगरकोट परिचय", www.abhiyan.com.np (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-३०।
- ↑ "स्वर्गको आभास गर्न चाहानुहुन्छ ? एक पटक नगरकोट पक्कै घुम्नुहोस्" (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-३०। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-१५ मिति
- ↑ "धर्तीको स्वर्ग “नगरकोट”", chautarikhabar.com (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-३०। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-२६ मिति
- ↑ "चर्चित हिल स्टेशन" (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-३०। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-०९ मिति
- ↑ "चाँगुनारायण नगरपालिकामा दुई कार्यकारी अधिकृत" (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-३०।
- ↑ "पुरातात्विक चिनो चाहियो", www.rajdhani.com.np (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-३०।[स्थायी मृत कडी]
- ↑ "प्रसिद्ध रमणीय स्थल नगरकोट", sajhasabal.com (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-३०।
- ↑ "धुलिखेलबाट नगरकोट पदयात्रामा सयौंको सहभागिता", kinmel.setopati.com, अन्तिम पहुँच २०१८-०६-३०। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०८-०३ मिति
- ↑ "पर्यटकको आगमनले खचाखच हुने नगरकोट सुनसान", kinmel.setopati.com, अन्तिम पहुँच २०१८-०६-३०। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०७-१६ मिति
- ↑ "भक्तपुर जिल्लामा रहेका ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थलहरु", nepal.cri.cn, अन्तिम पहुँच २०१८-०६-३०।
- ↑ "एक करोडको लागतमा शान्तिडाँँडामा बुद्धको विशाल मूर्ति स्थापना" (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-३०। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-१५ मिति
- ↑ "नगरकोटको जालपादेवी मन्दिर र यहाँको अन्य तिर्थस्थल एवम् इतिहास", gorkhalisamachar.com (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-३०।[स्थायी मृत कडी]