तलेजु भवानी मन्दिर काठमाडौँ दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो। मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको १ पटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरु राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण स्मारकहरु हुन् तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप

तलेजू भवानी मन्दिर

सर्वसाधारणका लागि दसैंको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरको इतिहास पनि रोचक छ । कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चलाइयो । पाप मोचनका लागि बलि दिने राणाकालीन त्यो परम्परा अझै पनि कायमै छ । हरेक वर्षको दसैंमा नेपाल सरकारले ५४ वटा राँगा तथा ५४ वटा बोका बलि चढाउँछ । नेपाल आर्मीको हेडक्वार्टरबाट मार हान्न केही सैनिक खटाइन्छन् । पहिले तलेजु मन्दिर प्रवेश गर्ने चारवटा गेट थिए ।


ती चारै दिशाबाट ओहदाअनुसारका व्यक्तिले प्रवेश पाउने व्यवस्था थियो, जसअनुसार दक्षिणतिरको ढोकाबाट राजा उत्तरतिरबाट भारदार, पूर्वतिरबाट भक्तपुर, ललितपुर तथा कीर्तिपुरका राजा अनि पश्चिमतिरबाट सर्वसाधारणले प्रवेश पाउँथे । देवी, देउता तथा कुमारीलाई पनि पश्चिमकै गेटबाट प्रवेश गराइन्थ्यो । सन् १९९० को भुइँचालोपछि भने अरू सबै गेट बन्द गरेर एउटै मात्र गेट खुलाइयो ।


तुलजा भवानीलाई नेवार समुदायमा इष्टदेवीका रूपमा पुज्ने गरिएको छ । तुलजा भवानीलाई तुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पूजा–अर्चना गरिन्छ । तुलजा भवानीलाई दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिन्छ । तुलजा भवानीको पूजा–अर्चना नेपाल, भारतलगायत तिब्बतमा पनि गरिन्छ । नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने व्यक्ति कर्नाटवंशी राजा हरिहरसिंह देव हुन् ।

उनी सिम्रौनगढका राजा थिए । मल्ल राजाहरूले यो मन्दिरलाई निजी प्रार्थना स्थलका रूपमा विकास गरेका थिए । तीनतलाको हनुमानढोकास्थित तलेजु मन्दिर १ सय २ फिट अग्लो छ । सप्तमीका दिन मन्दिरबाट भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ । नवमीका दिन मूलचोकबाट भवानीलाई फेरि मन्दिरमा फिर्ता लगिन्छ र दिनभर पूजा–अर्चना गरी सर्वसाधारणका लागि खुला गरिन्छ ।


सर्वसाधारणका लागि तलेजु मन्दिर वर्षमा एकपटक खुला गरिए पनि यहाँ दिनहुँ पूजाआजा भने भैरहेको हुन्छ । बिहान साढे ८ बजेतिर मन्दिर छिर्ने पुजारी उद्धव साढे १० बजेसम्म पूजाआजामै व्यस्त हुन्छन् । कर्माचार्यका अनुसार एउटा पूजा गर्न कम्तीमा ८ जना मानिस संलग्न हुन्छन् । त्यहाँ हरेक बेलुका आरती हुन्छ । मुख्य मन्दिर (देवीको मूर्ति राखिएको ठाउँ) मा तीनवटा थर भएका व्यक्तिले मात्र प्रवेश गर्न पाउँछन्, कर्माचार्य, जोशी र राजवंशी ।

त्यसबाहेक राजभण्डारी, प्रधान, सुवाल, सिं, बज्राचार्य, राजोपाध्याय, खड्गी, महर्जन तथा परियारले मन्दिर परिसरमा प्रवेश गर्न पाउँछन् । थरअनुसार नै उनीहरूको कामको प्रकृति तोकिएको हुन्छ जस्तो नगरा बजाउने, घण्टा बजाउने, भुजा पकाउने, लिपपोत गर्ने, पानी ल्याउने, कुमारीलाई भोग चढाउने आदि । यो मन्दिरमा मल्ल तथा शाह राजाहरूले विभिन्न पर्वको परम्परा बसाएका थिए ।

यो तलेजु मन्दिरमा प्रत्येक वर्ष ७५ वटा ठूला तथा २४ वटा साना पर्व मनाउने गरिएको छ । रोचक त के भने एउटा पर्वमा ४२ जना मानिस, त्यसमा पनि १६ जातका मानिस अनिवार्य चाहिन्छ ।

तलेजु मन्दिरमा सबैले पूजा गर्न पाउँदैनन् । राणाकाल र त्यसअघि राजपरिवारका सदस्यहरूले मात्र पूजा गर्ने अवसर पाए । त्यहाँ पूजा गर्न विधि–विधान पुर्‍याउनुपर्छ । त्यसका लागि ज्योतिष कहाँ गएर तिथिमिति हेराएर, शुभ साइत र शुभ मिति जुराउनुपर्छ । त्यसपछि पुजारीले मन्त्र दान गर्छन् अनि मात्र पूजा गर्न पाइन्छ ।


राणाकालमा जंगबहादुर राणाबाहेक अरू कसैले यो मन्दिरमा पूजा गर्ने आँट गरेनन् । ‘किन सर्वसाधारणका लागि यो मन्दिर सधैं खुला हुँदैन ?’ ‘छोपेको चिजलाई छोप्नैपर्छ ।’ पुजारी उद्धवले अथ्र्याए, ‘सधैंभरि देख्न पाए त्यसको महत्त्व हुँदैन । भगवान् पनि अदृश्य नै राम्रा ।’ हनुमानढोका क्षेत्रमा तलेजु मदिर सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको अग्लो मन्दिर हो ।

https://saptahik.com.np/culture/2016/10/09/20161009110155

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  1. मन्दिर
  2. नेपालका हिन्दू मन्दिरहरूको सूची
  3. वटुक भैरव (Batuk Bhairab (Lagankhel))
  4. बंगलामुखी मन्दिर (Bangalamukhee Mandir)
  5. चामुन्डा मन्दिर, पाटन (Chamunda Temple (Patan))
  6. मिन नाथ मन्दिर (चाकुवा ध्यो) (Min Nath (Tangal))
  7. रातो मच्छिन्द्रनाथको भोटो जात्रा
  8. मच्छिन्द्रनाथ
  9. सेतो मच्छिन्द्रनाथको रथयात्रा
  10. मच्छिन्द्रनाथ रथ जात्रा(दोलखा)

फोटो ग्यालरी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडी सम्पादन गर्नुहोस्