चिठी भनेको आफ्ना विचारहरू अरूसमक्ष पुर्याउनका लागि कुनै व्यक्ति वा संस्थाले तयार परेको लिखित सन्देश हो । चिठीको लेखन सूचना, मनको भावना, सन्देश, समाचार आदि पठाउनका लागि गरिन्छ । सबै किसिमका पत्रहरू निवेदन, निमन्त्रना, विज्ञापन आदि पनि एक प्रकारका चिठी नै हुन् । चिठी भनेको सम्बन्ध, व्यापार आदिलाई बलियो र विश्वसनीय पर्ने आधार हो भने यो सञ्चारको माध्यम पनि हो । चिठी सरल, स्पष्ट र प्रभावकारी हुनुपर्छ, जसले पठाउने व्यक्ति वा संस्थाको शिष्टता र हार्दिकतालाई सङ्केत गरेको हुन्छ । चिठी हुलाकबाट पठाउने भए खाममा टिकट सहित राखिएको हुन्छ तर हातबाट पठाउने भए टिकटको प्रयोग हुँदैन ।

चिठीका प्रकार सम्पादन गर्नुहोस्

चिठीमा रहने विषयवस्तुलाई हेरेर यसलाई तीन प्रकारमा बाँडिन्छ :

  • घरायसी वा व्यक्तिगत चिठी
  • व्यावसायिक (व्यापारसँग सम्बन्धित) चिठी
  • कार्यालयीय (निवेदन, सूचना वा कार्यालयसँग सम्बन्धित) चिठी

घरायसी वा व्यक्तिगत चिठी सम्पादन गर्नुहोस्

व्यक्तिले व्यक्तिलाई लेख्ने चिठी घरायसी हुन्छ । आफ्ना इष्टमित्र, नातेदार, साथीहरू आदि व्यक्तिगत सम्बन्ध भएकालाई यस्तो चिठी लेखिन्छ । आपसी सम्बन्ध कसिलो पार्न र खबरहरू आदान प्रदान गर्न नै यस्ता चिठीहरू लेखिन्छन् । व्यवहारमा यस्ता चिठीहरू अनौपचारिक हुन्छन् अर्थात् यिनमा नियमहरूमा खासै ख्याल राखिन्न र भाषा पनि बोलीचालीको जस्तै हुन सक्छ । परीक्षामा लेख्ता चाहिँ यस्ता चिठी पनि स्तरिय भाषामै लेख्नुपर्छ ।

घरायसी चिठी लेख्ने तरिका सम्पादन गर्नुहोस्

  • चिठी लेख्ने कागजको दायाँतिर सबैभन्दा माथि पठाउने (प्रेषक) व्यक्तिको ठेगाना लेख्ने र त्यसको मुनि चिठी लेखेको दिनको पूरा मिति लेख्ने ।
  • मिति लेखिएको दुई पङ्क्ति तल बायाँतिर पाउने व्यक्तिसँगको आफ्नो सम्बन्ध अनुसार सम्बोधन र त्यसमुनि अभिवादन वा शिष्टाचारको शब्द लेख्ने ।
  • अभिवादन लेखेको एक पङ्क्ति तलबाट सामान्य भलाकुसारी वा सन्चोबिसन्चोको कुरा र पहिले पाएको चिठीको सन्दर्भ लेख्ने ।
  • अर्को अनुच्छेदमा आफ्नो विषयसँग सम्बन्धित मूल कुरा, सन्देश, समाचार वा आफ्ना भावनाहरू लेख्ने ।
  • छुट्टै अनुच्छेदमा पत्र टुङ्गिएको जानकारी दिने किसिमका वाक्यहरू लेख्ने र फेरि पनि पत्राचारका लागि अनुरोध गर्ने ।
  • चिठीको अन्त्यमा दायाँतिर पाउने व्यक्तिसँगको आफ्नो सम्बन्ध जनाउने शब्दहरू (सम्बन्ध ज्ञापन) लेखी त्यसमुनि आफ्नो नाम लेख्ने ।
घरायसी चिठी लेख्ता नाता सम्बन्ध अनुसार सम्बोन्धन, अभिवादन र सम्बन्ध ज्ञापन गर्ने कुराको तालिका
नाता / सम्बन्ध सम्बोधन (सुरुमा) अभिवादन सम्बन्ध ज्ञापन (अन्त्यमा)
हजुरबुबा / हजुरआमा, बुबा / आमा, पति, ससुरा / सासू पूज्य, पूजनीय, श्रद्धेय साष्टाङ्ग दण्डवत्, दण्डवत्, प्रणाम, सेवा ढोग हजुरको / की, नाति / नातिनी, छोरा / छोरी, हजुरकी पत्नी, बुहारी
फुपू / फुफाजु, दाजु, दिदी, काका / काकी, गुरु, मामा, माइजू आदरणीय, श्रद्धेय प्रणाम, ढोग, दण्डवत्, नमस्कार हजुरको / की भदा, भाइ / बहिनी, भतिज / भतिजी, शिष्य / शिष्या, भान्जा / भान्जी
छोरा / छोरी, भाइ / बहिनी, भतिज / भतिजी, भान्जा / भान्जी, साला / साली, श्रीमती प्रिय / प्रिया, प्यारो / प्यारी, स्नेही, मायालु आशीर्वाद, शुभाशीर्वाद, आशिष, मिठो सम्झना, सुमधुर स्मृति भलो चिताउने, माया गर्ने, तिम्रो / तिम्री, बुबा / आमा, दाजु / दिदी, काका / काकी, मामा / माइजू
साथी, मित्र प्रिय, मित्र (नाम), प्यारो साथी, प्यारी मित्रवर नमस्कार, सम्झना, दिनदिनको सम्झना हितैषी, सुभेच्छुक, तपाईँको शुभचिन्तक, तिम्रो मित्र, उही साथी

खाम ठेगाना लेख्ने तरिका सम्पादन गर्नुहोस्

  • खामको बायाँतिर चिठी पठाउने व्यक्ति (प्रेषक) को नाम र त्यसमुनि पूरा ठेगाना लेख्ने (चिठी फिर्ता आएमा यसले गर्दा सजिलै प्राप्त हुन्छ ।)
  • खामको दायाँतिर चिठी पाउने व्यक्ति (प्रापक) को नाम र त्यसमुनि पूरा ठेगाना लेख्ने (ठेगाना पूरा नभए चिठी फिर्ता आउन सक्छ ।)
  • आवश्यकता अनुसारको टिकट दायाँतिर माथिल्लो कुनमा टाँस्ने ।

नमुना





प्रेषक
प्रापक

नरेन्द्र सुवेदी
विनोद राई

प्याराडाइज स्कूल
श्री नमुना माध्यमिक विद्यालय

धोबिघाट, ललितपुर
धम्बोजी, नेपालगञ्ज

घरायसी चिठीको नमुना सम्पादन गर्नुहोस्

प्रौढ शिक्षामा भाग लिने सल्लाह दिँदै छोराले बुबालाई लेखेको चिठीको नमुना
जनकपुरधाम, धनुषा

२०७४/०१/०८

पूज्य बुबा,
सदर दण्डवत् ।

आजसम्म म यहाँ सकुशल छु र त्यहाँ बुबाआमाका गाथमा पनि कुशलताको कामना गर्दछु ।

बुबा ! हजुरले घरबाट पठाएको चिठी आजै मात्र हातमा पर्यो । यसले त मलाई एकपटक घरमै बुबाआमाका साथमा बसेजस्तो अनुभव गरायो । मुख्य कुरा के भने बुबाले चिठीमा अब गाउँमै प्रौढ शिक्षा कार्यक्रम सुरु भएको कुरा लेख्नुभएको रहेछ । यसले बुबा र बुबाजस्ता बुढेसकालमै पनि केही गर्ने उत्साह भएकाहरूलाई निकै प्रेरणा दिएको हुनुपर्छ भन्ने मैले ठानेको छु । आफूले केही पढ्नलेख्न जानेदेखि गाउँमा कसैले हेप्न र ठग्न नसक्ने हुनाले यस्तो मौका बुबाले छाड्नुहुने छैन भन्ने कुरामा म विश्वस्त छु । मर्ने बेलामा पनि कापीकलम समातेर के पो हुन्छ र भन्ने भाव लिएर हिम्मत हार्नेहरूलाई पनि बुबाले सम्झाउनुपर्ने हुनाले मैले यो पत्र लेख्न हतार गरेको हुँ । शिक्षाले एकातिर ज्ञानको विशाल भण्डार नै आँखा अघिल्तिर नै भएको देखाइदिने छ भने अर्कातिर बुढेसकालमै पनि रमाइला र अरूलाई फाइदाजनक काम गरेर जीवनलाई हल्का बनाउन सकिने हुन्छ । बुबाले पढ्न सक्ने भएपछि म आउँदा हजुरलाई रोचक पुस्तक र पत्रिकाहरू ल्याइदिने छु ।

आमालाई मेरो प्रणाम छ र मेरो चिन्ता लिनुपर्दैन भनिदिनुहोला । हस् त, अहिलेलाई यत्तिकैमा चिठी बन्द गर्दछु, फेरि समाचार आदानप्रदान हुने नै छ ।

हजुरको आज्ञाकारी छोरो,

रविन यादव






प्रेषक
प्रापक

रविन यादव
महेशप्रसाद यादव

जनकपुरधाम
माईस्थान रोड

वीरगञ्ज महानगरपालिका


व्यावसायिक चिठी सम्पादन गर्नुहोस्

कुनै व्यवसाय गर्ने संस्थाले व्यापारिक सम्बन्ध वा कारोबारका लागि माग र आपूर्तिसँग सम्बन्धित भई लेख्ने चिठी व्यावसायिक हुन्छ । यस्ता चिठीहरू सामान किनबेचका लागि व्यवहार गरिन्छन् र सामान्यतः संस्थाको नाममा छापिएको 'लेटरप्याड' मा लेखिन्छन् । यसको शैली औपचारिक हुन्छ ।

व्यावसायिक चिठी लेख्ने तरिका सम्पादन गर्नुहोस्

  • चिठी लेख्ने पृष्ठको माथिल्लो भागमा पहिले संस्थाको नाम र ठेगाना लेखि त्यसको मुनि दायाँतिर मिति लेख्ने ।
  • बायाँ किनारको माथितिर प.सं. (पत्र सङ्ख्या) लेख्ने ।
  • त्यसभन्दा मुनि विषयका रूपमा सम्बन्धित कुरा छोटो पारेर लेख्ने ।
  • विषयभन्दा मुनि एक पङ्क्ति छाडी पाउने संस्थाको प्रमुखलाई सम्बोधन गर्ने र त्यसमुनि संस्थाको पूरा ठेगाना लेख्ने ।
  • त्यसपछि एक पङ्क्ति छाडी सुरुमै 'महोदय' वा 'महाशय' लेख्ने ।
  • अन्त्यमा 'सहयोगका लागि धन्यवाद !' लेखी चिठी टुङ्ग्याउने ।
  • बायाँतिर 'भवदीय' वा 'यहाँको शुभेच्छुक' लेखी त्यसमुनि आफ्नो नाम र पद लेख्ने ।
  • आवश्यकता अनुसार खाम तयार गर्ने ।

द्रष्टव्य : 'श्रीमान्' लेखेर सम्बोधन गरेपछि नाम वा पदका अन्त्यमा 'ज्यू' लगाउनुपर्दैन ।

व्यावसायिक चिठीको नमुना सम्पादन गर्नुहोस्

माग गरिएका पुस्तक पठाइदिन अनुरोध गर्दै पुस्तक पसलले प्रकाशकलाई लेख्ने चिठीको नमुना
अभिनव पुस्तक सदन
भरतपुर, चितवन
प.सं. १२२/०७५/०७६
मिति : २०७६/०५/०५
विषय : पुस्तकहरू पठाइदिनेबारे ।

श्रीमान् व्यवस्थापक,
तलेजु प्रकाशन,
भोटाहिटी, काठमाडौँ ।

महाशय,

हाम्रो पुस्तक भण्डारले चितवनमा नयाँ र महत्त्वपूर्ण पुस्तकहरूमाझ छिटो, छरितो र सुलभ तरिकाले पाँच वर्षदेखि उपलब्ध गराउँदै आएको कुरा यहाँलाई अवगत नै छ । त्यस प्रकाशनबाट प्रकाशित पुस्तकहरूको माग चितवनमा बढिरहेको हुँदा तपसिलमा माग गरिएका पुस्तकहरू कञ्चन यातायात सेवाबाट तुरुन्त पठाइदिन अनुरोध गर्दछु । त्यसको मूल्यबापत तलेजु प्रकाशनको नाममा रु. १,००,०००/- (रु. एक लाख मात्र) को ड्राफ्ट चेक पठाएको छु । बाँकी हिसाब अर्कोपल्ट चुक्ता हुने नै छ ।

सहयोगका लागि धन्यवाद !

भवदीय,

_____________

(अनल दनुवार)

सञ्चालक
तपसिल :
क्र.सं. पुस्तक लेख थान
नेपाली गीतिनाटक : स्वरूप र प्रवृत्ति डा. बिन्दु शर्मा २०० थान
अन्तर्विषयक नेपाली समालोचना डा. नेत्र एटम १५० थान
मुनामदन लक्ष्मीप्रसाद देवकोटा ३०० थान
सम र समका कृति तारानाथ शर्मा ५० थान
कथा-सिद्धान्त डा. कृष्णहरि बराल १०० थान




प्रेषक
प्रापक

अनल दनुवार
श्रीमान् व्यवस्थापक

सञ्चालक
तलेजु प्रकाशन

हाम्रो पुस्तक भण्डार, चितवन
भोटाहिटी, काठमाडौँ


कार्यालयीय चिठी सम्पादन गर्नुहोस्

एउटा कार्यालयले अर्को कार्यालय वा व्यक्तिलाई लेख्ने चिठीलाई कार्यालयीय चिठी भनिन्छ । यसका साथै कुनै व्यक्तिले कुनै काम गरिदिने अनुरोधका साथ कार्यालयसमक्ष प्रस्तुत गरेको निवेदनलाई पनि कार्यालयीय चिठी अन्तर्गत नै राखिन्छ । औपचारिक प्रकारको हुने भएकाले यसमा विशेष शिष्टता र सावधानी अपनाउनुपर्ने हुन्छ ।

निवेदन लेख्ने तरिका सम्पादन गर्नुहोस्

  • कागजको माथि दायाँतिर निवेदन लेख्ने दिनको मिति लेख्ने ।
  • त्यसका मुनि एक पङ्क्ति छाडी बायाँतिर सम्मान जनाउने शब्दका साथ कार्यालयक प्रमुखलाई समोधन गर्ने र त्यसमुनि कार्यालयको नाम तथा पूरा ठेगाना लेख्ने ।
  • ठेगानाभन्दा मुनि एक पङ्क्ति छाडी 'विषय' लेख्ने अनि विषयका रूपमा आफूले अनुरोध गरेको मूल कुरालाई छोटो वाक्यांशका रूपमा प्रस्तुत गर्ने ।
  • विषयका मुनि एक पङ्क्ति छाडी बायाँतिर 'महोदय' शब्दले सम्बोधन गर्ने ।
  • त्यसभन्दा मुनि नयाँ अनुच्छेदका रूपमा आफ्नो विषयलाई कारण, समस्या आदि खुलाई काम गरिदिन विनम्रतासाथ अनुरोध गर्ने ।
  • अर्को अनुच्छेदमा 'सहयोगका लागि धन्यवाद !' लेख्ने ।
  • अन्त्यमा दायाँतिर 'निवेदक' वा 'भवदीय' लेखी त्यसमुनि आफ्नो नाम र ठेगाना लेख्ने र हस्ताक्षर गर्ने भए त्यसभन्दा ठिक माथि गर्ने ।
  • औपचारिक हुने हुनाले निवेदनमा शिष्ट र नम्रतापूर्ण तरिकाले आवश्यक कुरा मात्र आउने गरी स्तरीय भाषा प्रयोग गर्ने ।

कार्यालयीय चिठीको नमुना सम्पादन गर्नुहोस्

विद्यालयमा नेपाली शिक्षकको जागिर पाउनका लागि लेखिने निवेदनको नमुना
२०७४/०२/०५

श्रीमान् प्रधानाध्यापक,
जीवन माध्यमिक विद्यालय,
बुटवल, रुपन्देही ।

विषय : नेपाली शिक्षकमा नियुक्ति दिनेबारे ।

महोदय,

उपर्युक्त सम्बन्धमा मिति २०७४/०२/०३ गतेको 'लुम्बिनी' दैनिक पत्रिकामा प्रकाशित विज्ञापन अनुसार त्यस विद्यालयमा खाली रहेको मा.वि. स्तरको नेपाली शिक्षक पदका लागि आफू योग्य भएकाले मैले यो निवेदन पेस गरेकी छु ।

म २५ वर्ष पुगेकी स्वस्थ, कर्तव्यनिष्ठ एवं मिलनसार युवति हुँ । मैले पद्मोदय मा.वि., भरतपुरबाट एसएलसी तथा महेन्द्र बहुमुखी क्याम्पस, दाङबाट मुख्य विषय नेपाली लिई आइए र बिए उत्तीर्ण गरेकी छु । यसका साथै जनता विद्यापीठ, बिजौरीबाट नेपाली विषयमा एकबर्से बिएड उत्तीर्ण गरी हाल बबई विद्या सदन, तुलसीपुरमा अध्यापन कार्य गरिरहेकी छु । नेपालमै ख्यातिप्राप्त त्यस विद्यालयमा रही शिक्षाक्षेत्रमा योगदान गर्ने प्रतिबद्धता भएकाले र पेसागत रूपमै शिक्षणकार्यमा सहभागी हुनाले म विद्यालयमा काम गर्न उत्सुक भएकी हुँ । यदि मैले त्यस विद्यालयमा काम गर्ने अवसर पाएँ भने लगनशीलताका साथ आफ्नो कर्तव्य पूरा गर्ने विश्वास दिलाउँछु । मेरो शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रका प्रतिलिपिहरू यसै निवेदनका साथ संलग्न गरेकी छु र अन्तर्वार्ताका समयमा तिनका सक्कल प्रतिहरू लिएर उपस्थित हुने छु ।

यहाँबाट पूर्ण सहयोगको अपेक्षा गरेकी छु । धन्यवाद !

भवदीय,

_____________

(प्रनिता विश्वास)

हापुर गा.वि.स. - ३, दाङ






प्रेषक
प्रापक

प्रनिता विश्वास
श्रीमान् प्रधानाध्यापक

हापुर गा.वि.स. - ३
जीवन माध्यमिक विद्यालय

दाङ
बुटवल, रुपन्देही


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  • बराल, प्रा. डा. कृष्णहरि; एटम, प्रा. डा. नेत्र, सरल माध्यमिक व्याकरण (अभिव्यक्ति र अभ्यास) (नेपालीमा), स्वयम्भू, काठमाडौँ: तलेजु प्रकाशन, आइएसबिएन 978-9937-535-46-5 
  • बराल, प्रा. डा. कृष्णहरि; एटम, प्रा. डा. नेत्र, तलेजु नेपाली व्याकरण (अभिव्यक्ति र अभ्यास) (नेपालीमा), स्वयम्भू, काठमाडौँ: तलेजु प्रकाशन, आइएसबिएन 978-99933-45-46-6 

बाह्य कडी सम्पादन गर्नुहोस्