घण्टेश्वर देवता

{{Notability}

घण्टेश्वर अथवा घण्टाकर्ण को हुन् ?सम्पादन

 
घण्टेश्वर देवताका धामी स्व. वासुदेव मडै

[१]

प्राचीन कालमा घण्टाकर्ण मिथिलामा प्रदेशमा ‘केतुमान’ नाम गरेका एउटा राजा थियो । आफ्नो राज्यमा बस्ने एउटा निर्दोष ब्राह्मणलाई वध गर्दै उनकी पत्नीलाइ हरण गरेका पापले मृत्युपछि उ भयंकर ब्रह्मराक्षस भयो । त्यो राक्षस अन्य राक्षसहरुसंग मिलेर मलयाचल,विन्ध्याचल पर्वतहरु लगायत नगर र गाउँहरुमा मानवसंहार गरी अनेक दुष्कर्म गर्न थाल्यो । भगवान श्री विष्णुको नाम आफ्नो कानमा नपरोस् भनी कानमा घण्टा झुण्डयाएर हिड्ने हुनाले उनि घण्टाकर्ण राक्षस नामले प्रसिद्घ भए कालान्तरमा यसले कुनै एकजना ऋषिको उपदेशमा विभिन्न तीर्थहरुको भ्रमण गर्दै यसै पवित्र मानसखण्डमा आई शिवजीको ठूलो भक्ती गर्यो । तीर्थ सेवनको प्रभावले आफ्ना सबै पापहरुबाट मुक्त भई दिव्यदेह प्राप्त गरेका घण्टाकर्णले तपस्याको अन्तिम चरणमा भगवान शिवको दर्शन पाउँनु अघि यसै मानसखण्डको यसै ‘हगुल्टेलेकमा’ आफ्ना अन्य साथीहरु सहित ३ वर्षसम्म घोर तपस्या गरेका थिए भनेर स्कन्दपुराण मानसखण्ड संहिताको अध्याय १५ मा यसरी उल्लेख गरिएको पाइन्छ  ।

  • ततोदिव्येन देहेन दिव्यैः सहचरैः सह । जगाम मानसक्षेत्रं कैलासाधिविराजितम् ।।५।।]
  • स तत्र मज्जयामास रक्षोभिर्नृपसत्तम । सहदिव्यैर्देवकान्तैः स्वर्नद्यां सुरराडिव ।।६।।]
  • त्रिभिर्वर्षैमहाराज सह यातुगणैः शुभैः । स तत्र तपयामास तपः परमदुष्करम् ।। ७।।]
  • पूजयन्शङ्करं शान्तं पार्वत्या सह संस्थितम् । निनाय कालं धर्मात्मा साक्षादिव शतक्रतुः ।।८।।]
  • ततः कालेन महता तुषितः पार्वतीपतिः । दर्शनं दर्शयामास सह नन्दादिपार्षदैः ।।९।।]
  • तमाद्यं तोषयामास स तदा राक्षसोत्तमः। गीर्भिः प्रणयपूर्वाभिर्वाष्पपूर्णाभिः शङ्करम् ।।१०।।]

अर्थात : त्यो ब्रह्मराक्षस ऋषिका वचन सुनेर अन्य राक्षसहरु सहित कैलाशपती विराजमान हुनुभएको प्रदेश मानसक्षेत्र तिर गयो । वन, उपवन,पर्वत आदि पार गरेर शुभ्र हिमाच्छादित पवित्र हिमालय पर्वतको दर्शन एवं भगवान् गौरीशङ्करको शुद्घ हृदयले स्मरण र पूजा गरेपछि त्यो ब्रह्मघाती भयङ्कर राक्षसले आफ्ना साथी अन्य राक्षसहरु सहित दिव्यदेह धारण गरी मानसरोवरको यात्रा गर्न लाग्यो । दिव्य देहधारी त्यस राक्षसले सबै साथीहरु सहित ‘मन्दाकिनी’ नदिमा गएर स्नान, तथा शिवपार्वतीको पूजन गरी तीन वर्ष सम्म ‘मानसक्षेत्रमा’ तपस्या गरेको थियो ।

  • शिव उवाच :
  • वरं वरय वै रक्षस्त्वया सन्तोषितोऽस्म्यहम् । मयि त्रातरि भक्तानां न भयं विद्यते क्वचित् ।।१८।।
  • राक्षस उवाच :–
  • नाऽहं स्वर्गं शून्यसंज्ञं वृणेमि, पदं महेन्द्रस्य तथा समस्तम् ।
  • त्वत्पादकञ्जं त्रिदिवेन्द्रपूज्यं , वृणोमि रक्षैः सह शंकर प्रभो ।।१९।।

त्यस राक्षसको तपस्या बाट प्रसन्न भएका शिवजिले पार्वती तथा आफ्ना नन्दी लगायतका पार्षदहरु सहित राक्षसलाइ दर्शन दिनुभयो र इच्छित वर माग्नका लागी भन्नु भयो ।

  • राक्षसले भन्योे :

“हे भगवान न मलाई स्वर्गको इच्छा छ ,न इन्द्रपदको इच्छा छ , म सधै इन्द्र द्वारा पूजित हजुरका चरणकमलको भक्ति गर्नपाउँ” भन्ने वर मागे पछि भगवान शिवले तथास्तु भन्दै उहाँको मनोकामना पुर्ति गरिदिनु भएको थियो भन्ने वृतान्त स्कन्दपुराण मानसखण्ड संहिता अध्याय १५ मा स–विस्तार उल्लेख गरिएको छ । त्यो सबै प्रसंङ्ग क्रमशः हु–बहु यस पुस्तकमा पनि उल्लेख गरिनेछ । त्यसपछि भगवान शिवले राक्षस घण्टाकर्णलाई उसका सबै पापहरुबाट मुक्त गराई देवत्व प्रदान गराउँनु भएको थियो । साथै उहाँले घण्टाकर्णलाई आफ्नो गणमा समेत सामेल गराउँनु भयो । त्यसपछि राक्षस घण्टाकर्ण ‘घण्टेश्वर देवता’ भए । उनलाई कैलाशपती भगवान शंकरले यस मानसक्षेत्रमा यौन दुराचार गर्ने मनुष्यहरुलाई दण्डदिने कामको जिम्मेवारी समेत दिनु भयो । देवत्व प्राप्ति संगै उन्लाई उड्ने सिद्धी लगायत अष्टसिद्धीहरु प्राप्त भए । सिद्धी प्राप्त भए पछि घण्टेश्वरले नेपाल तथा भारतवर्षका कैयौं तीर्थहरुको भ्रमण गरे । काठमाण्डौ पशुपतिनाथ संग पनि यिनको विशेष सम्वन्ध रहि आएको छ । हरिवंश पुराणको असीऔं अध्यायमा राक्षस घण्टाकर्णले आफ्नो परिचय यसरी दिएका छन् ।*धनदस्यानुगन्ताहं साक्षाद् रुद्रसखस्य च ।

  • ममायमनुजः साक्षदन्तकस्यान्तको ह्ययम् ।।२४।।

भगवान शंकरका भाई साक्षात् कुवेरजीको म अनुचर हुँ । यो मेरो आफ्नै सहोदर भाइ हो । जो कालको पनि काल जस्तै छ ।।२४।। घण्टाकर्णले भगवान शिवलाई प्रसन्न पारिसकेपछि कालान्तरमा सयकडौवर्ष पछि फेरी मुक्तिको कामना गर्दै भारत उत्तराञ्चल राज्यमा पर्ने बद्रिनाथ परिसरमा भगवान श्री विष्णुको घोर तपस्या गरे । प्रसन्न भएका भगवान श्री विष्णुले घण्टाकर्णलाई यस्तो वरदान दिएका थिए ।

  • अक्षयः स्वर्गवासस्ते यावदिन्द्रो वसिष्यति ।
  • तावत् स्वर्गी भवानस्तु शासनान्मम नान्यतः ।।२४।।
  • नष्टे शव्रmे ततः स्वर्गात् सायुज्यं मम गच्छतु ।
  • योऽयं भ्राता तव स्वर्गी यावदिन्द्रो भवेत् तदा ।।२५।।

[२]

 अर्थात् : “जब सम्म यी इन्द्र रहन्छन् तबसम्म तिम्रो अक्षय निवास स्वर्गलोकमा हुनेछ । तबसम्म तिमी मेरो शासन (वा आज्ञा) द्वारा स्वर्गमा निवास गर अन्यत्र होइन । यी इन्द्र बदलिए पछि तिमि स्वर्गबाट सिधै माथि उठ्दै मेरो सायुज्य (बैकुण्ठ धाम) प्राप्त गर्नेछौ । जो यो तिम्रो भाई छ नी, त्यो पनि जब सम्म यि इन्द्र रहन्छन् तब सम्म स्वर्गीय सुखको उपभोग गर्नेछ” ।।२४–२५।।

श्री घण्टेश्वर देवताको स्थान :सम्पादन

सुदूरपश्चिमको डोटी र डडेलधुरा जिल्लाको सीमानामा पर्ने धनगढी डडेलधुरा राजमार्गको हगुल्टेखान देखि उत्तरपूर्व माथि उकालो हिडेर लगभग १ घण्टामा पुगिने ठाउँमा श्री घण्टेश्वर देवताको  प्राचीन मन्दिर अवस्थीत छ । यो स्थान जोरायल डोटी क्षेत्र भित्र पर्दछ । यस पर्बतका बिषयमा महर्षि वेदव्यासले स्कन्दपुराण अन्र्तगत मानसखण्डको १५७ र १५८ औं अध्यायमा विस्तृत रुपले उल्लेख गर्नु भएको छ । यस पर्वतमा घण्टाकर्ण देवता विराजमान भएकोले भगवान वेदव्याशले नै यस पर्वतलाइ घण्टाकर्ण पर्वत नामाकरण गर्नु भएको थियो । जस्तै :

  • घण्टापर्वतसंलग्नो यज्ञाद्रिर्यस्त्वयेरितः ।
  • तस्मिन्क्षेत्राणि पुण्यानि कानि सन्ति तपोधन ।।१।।

[३]

अर्थात् : हे तपोधन ! हजुरले घण्टा पर्वत (घण्टेश्वर धुरा) सँग जोडिएको ‘यज्ञ पर्वत’ (चौडेथल ,जगत्तडी) का बारेमा हामीलाई बताउँनु भयो । त्यो पर्वत मा अरु पवित्र ठाऊँ के–के छन्, (हामीलाई पनि बताउँनु होस् ) श्री घण्टेश्वर केदार श्रेणीका देवता हुन् । यस क्षेत्रमा यी केदार श्रेणीका सातवटा देवताहरु छन् भनी डोटी जिल्लाका संस्कृति तथा इतिहास विज्ञ श्री पदमराज जोशी ‘भारद्वाज’ले आफ्नो कालोपातल भन्ने खोजमूलक पुस्तकमा विस्तृत रुपमा उल्लेख गर्नु भएको छ । जस अनुसार सबै भन्दा जेठा घण्टेश्वर हुन् । त्यसपछि क्रमशः कपल्लेकी केदार (डोटी कफल्लेकीमा), कपडेउती केदार (डोटी मुडेगाउमाँ), असिउँ केदार (डोटी जिल्लाको मुडेगाउँ ,जोरायल अवस्थीगाउँ तथा डडेलधुरा जिल्लाको गांङ्खेत गा.वि.स.को गांङ्खेतगाउँ तथा असिग्राम गा.वि.स. गरी चार ठाउँमा) भागेश्वर केदार (डडेलधुरा र डोटी दुबै ठाउँमा ) काफली केदार (मुडभरा डोटी) गन्याप केदार (डडेलधुरा जिल्लाको कैलपाल गा.वि.स.मा) पर्दछन् ।

२०१४ सालमा राजा श्री ५ महेन्द्र आफ्नो सवारीको सिलसिलामा यस स्थानबाट भएर डडेलधुरा जाँदै गर्दा यो शिखरमा पुगेपछि उहाँलाइ अद्भुत र दिव्य अनुभव भयो । त्यसपछि महेन्द्र सरकारले स्थानीय जानकार भक्त श्री करनसिंह बम लाइ  बोलाउँन लगाई करनसिंह बम संग श्रीघण्टेश्वरको विषयमा आवश्यक सोधपुछ गरिबक्सेको थियो । त्यसै दिन देखि महेन्द्र सरकारबाट श्री घण्टेश्वर देवताकोे नित्यपूजा गर्नु भनि हुकुम हँुदै नेपाल सरकारबाट दैनिक रु १/– प्राप्त हुने व्यवस्था मिलाउनु भएको थियो । जो हाल केही बृद्धि भई रु.३०००/– बार्षिक भएको छ । सोही बर्ष बाट घण्टेश्वर जात्राको पूजाको  प्रशाद नेपाल दरवार पठाउने गरिएको थियो । त्यस पूर्व १२ औं सताब्दि तिर डोटी क्षेत्रका राजा नागीमल्लको दरवार अजयमीरकोटमा पठाइन्थ्यो भने नागीमल्लको राज्य समाप्ती पछि विचमा कुनै दरवारमा पठाइएन । राजा नागीमल्लका पाला देखीनै यस मन्दिरमा देउकी चढाइएको पाइन्छ । घण्टेश्वर देवताका ८५ बर्षिय ‘माली’ दसरथ पालीका अनुसार अन्तिम देउकिहरुको नाम ‘तुली’ र ‘काली’ थियो । हालको मन्दिर बन्नु अघि त्यहाँ कलात्मक ढुङ्गाहरु बाट बनेको माण्डौं थियो । त्यो माण्डौ १९९० सालतिर गएको भूकम्पमा परि क्षतिग्रस्त भएपछि ,तिनै माण्डौका ढुङ्गाहरु बाट २०२४ सालमा हालको मन्दिर बनाइएको थियो । २०६१ सालतिर यहाँ बाट नजिकै रहेको धनगढी डडेलधुरा राजमार्गमा तत्कालिन माओबादी विद्रोहिहरु र नेपाली सेनाका विच ठुल्ठूला भिडन्तहरु भएका थिए । यो लेखमा संलग्न मन्दीरको फोटोमा पनि गोलि लागेको चिन्ह स्पष्ट देख्न सकिन्छ ।

श्री घण्टेश्वर देवताको पूजा लाग्ने तिथि :सम्पादन

नेपालको महाभारत पर्बत श्रृङ्खलामा पर्ने विविध स्थानहरु सहित काठमाण्डौ पशुपतिनाथ देखी भारतको गयाँ , बनारस, द्वारका, रामेश्वरम्, बद्रीनाथ धाम लगायत अन्य कैयौं तीर्थ स्थानहरुमा पनि घण्टाकर्णका स्थानहरु पाइन्छन् । यस क्षेत्रमा पर्ने महाभारत पर्वत श्रृङ्खलामा सबै केदारहरुको पूजा लाग्नु भन्दा अगाडि सर्वप्रथम घण्टेश्वरकोे पूजा लाग्ने गर्दछ । विविध पौराणिक ग्रन्थहरुमा घण्टाकर्ण भनेर उल्लेख गरिएका घण्टाकर्ण राक्षस नै श्री घण्टेश्वर देवता हुन् भन्ने मान्यता रहि आएको छ । यिनको औपचारीक पूजा तिथि प्रत्येक वर्ष श्रावण महिनामा पर्ने ‘कृष्णपक्षको चतुर्दशी’ तिथि हो । जस लाइ ‘घण्टाकर्ण चतुर्दशी’ पनि भन्दछन् । तर यहाँ घण्टेश्वर शिखरमा भने मुख्य पूजा भने ‘भाद्र शुक्ल अष्टमी,का राती हुन्छ । यसका अलावा विविध पौराणिक ग्रन्थहरुमा अन्य घण्टाकर्णहरुको पनि उल्लेखगरिएको पाइन्छ । जस्तै :

विविध पौराणिक ग्रन्थहरुमा एकजना पाशुपत सम्प्रदाय का आचार्य घंटाकर्णको उल्लेख गरिएको पाइन्छ । शैव परम्पराका पौराणिक साहित्यहरुबाट के थाहा हुन्छ भने अगस्त्य, दधीचि, विश्वामित्र, शतानन्द, दुर्वासा, गौतम, ऋष्यश्रृंग, उपमन्यु, घंटाकर्ण ,व्यास आदि महर्षिहरु शैव मतका अनुयायी थिए । भगवान वेदव्यासले यिनै आचार्य घण्टाकर्णबाट केदारनाथ क्षेत्रमा पाशुपत दीक्षा लिएका थिए  । यी आचार्य घण्टाकर्णका साथमा उनि धेरैदिन सम्म काशीमा समेत रहेका थिए । कालान्तरमा व्यासजीले उनको सम्झनामा काशीमा घण्टाकर्ण नामक तलाउको निर्माण गराए । त्यहीँ हातमा शिवलिंग धारण गरेको घण्टाकर्णको मूर्ति पनि विराजमान छ । त्यसै तलाउको तटमा व्यासजीको मन्दिर पनि रहेको छ । शिवपुत्र कुमार कार्तिकेयका पार्षद घण्टाकर्ण :
हिन्दू पौराणिकग्रंथ महाभारतका अनुसार कुमार कार्तिकेयका एक जना  पार्षदको नाम घण्टाकर्ण थियो 

भारत उत्तराखण्डको लोक संस्कृतिमा घण्टाकर्ण :सम्पादन

भारत उत्तराञ्चल राज्यको टिहरीगढवाल अन्तर्गत पर्ने कीर्तिनगर विकासखण्डको लोस्तु बडियारगञ्जमा प्रत्येक १२/१२ बर्षमा  आदिबदरी (घ्ांटाकर्ण)कोे महापूजा अथवा पूर्ण कुम्भको आयोजना गरिन्छ । सत्ययुगमा घंटाकर्णको जन्म राक्षसका रूपमा भएको थियो । उसका दुबै कानहरुमा ठूल्ठुला घंटाहरु लगाएका हुन्थे । शिवभक्त घंटाकर्ण बद्रीनाथ स्थित भगवान शिवको पवित्र स्थलमा रहेर पूजा–अर्चना गर्ने गर्दथे । एक पटक भगवान शिवको अनुपस्थिति भएको बेला विष्णु भगवान त्यहाँ पुगे र उनले घण्टाकर्णबाट केहीदिनका लागि शिव को स्थानमा रहने अनुमति मागे । घंटाकर्णले विष्णु भगवान लाई त्यहाँ बस्ने अनुमति दिएनन् । क्रोधित भएका विष्णु भगवान र घंटाकर्णको युद्ध हुनथाल्यो । युद्ध हुँदाहुदै धेरै बेर भइसके पछि पनि घण्टाकर्ण पराजित् भएनन्् । विष्णु भगवान थाक्नलाग्नु भयो । त्यसपछि उहाँले सुदर्शन चक्र प्रहार गरेर घंटाकर्णको गर्दन काटि दिनुभयो । जब शिवजी त्यहाँ आए उन्लाई सबै कुरा थाहा भयो । त्यसपछि शिवले घण्टाकर्णलाई उसका भक्तहरुको मनोकामना पूर्णगर्ने वरदान दिनुभयो । भनिन्छ घण्टाकर्णले त्यसपछिको जन्ममा पाँच पाण्डवमध्येका अर्जुनका पुत्र ‘अभिमन्यु’ को रूपमा जन्म लिए । आज भोली पनि लोस्तु पट्टीमा आयोजित हुने कुंभमेलामा अभिमन्यु लाई ‘पश्वा’ अथवा धामीमा देवअवतार गराइ सकेपछि उनी : “मेरी माता सुभद्रा रेली, पिता अर्जुन को जाया, सुभद्रा को पठायो” अर्थात मेरी आमा सुभद्रा ,बुवा अर्जुनले मलाई पठाएका हुन् भन्दै आफ्ना भक्तहरुलाई प्राचीन कथानकको आभाष गराउँछन् ।

उत्तराखण्डको टिहरी गढवालमा घंटाकर्ण लाइ ‘घंडियाल’ देवताको रुपमा अलग–अलग स्थानमा पूज्ने गरिन्छ । त्यहाँको लोस्तु बडियारगञ्जमा ‘ क्षत्रिय’ घंटाकर्णका नामले पूजा गरिन्छ । यी देवता यहाँ लगभग सोह«ौं शताब्दी भन्दा पहल्यै नै आई सकेका थिए । त्यहाँ खत्री घंडियाल देवता, राठी, क्षेत्रपाल, विनसर, हीत, नागराजा, र देवी महाकालीको विधि विधान द्वारा पूजा हुन्छ । लाखौं श्रद्घालुहरु यस महाजाँतमा भाग लिन आउँछन् । देव भूमि उत्तराञ्चलका अन्य कैयौं स्थानहरुमा पनि यस देवताका मन्दिर छन् । त्यहाँ समय–समयमा देव–पूजाको आयोजन गरिन्छ । ढोल वादकहरु र स्थानीय पूजारीहरुको भनाइ अनुसार, जब दिल्लीमा गैर हिन्दुहरुको साम्राज्य स्थापित भैरहेको थियो, तेसै बेला देवताहरुले पनि दिल्ली छोडेर उत्तराखण्डका यसै पवित्र हिमालय क्षेत्रमा आएर अफ्नो निवास क्षेत्र बनाएका थिए । यो पवित्र तपस्थली भगवान शिवको गृहभूमि भएको कारणले यहाँका अधिकांस ठाउँमा देवताहरुले आफ्ना मठहरु बनाएका थिए ।                    

यक्षहरुका देवता घण्टाकर्णसम्पादन

विविध पौराणिकग्रन्थरुमा घंटाकर्णलाई यक्षहरुका देवता पनि भनिएको छ । जस्तै :  

  • धनदस्यानुगन्ताहं साक्षाद् रुद्रसखस्य च । [४]

अर्थात् : भगवान शंकरका भाई साक्षात् कुवेरजीको म अनुचर हुँ ।

बद्रीनाथ धामका चौकीदार घण्टाकर्णसम्पादन

  • यत्र विष्णुर्जगन्नाथस्तपस्तस्वा सुदारुणम् । द्विधाकरोत् स्यमात्मानं नर नारायणाख्यया ।।२१] ===
  • सिद्घ क्षेत्र मिदं प्राहुऋषयो वीत मत्सरा ः विशालां वदरी विष्णुस्तां द्रष्टुँ सकलेश्वरः।।२२।।] ===

[५] भगवान बदरी विशाल मन्दिरमा दाहिने तर्पmको परिक्रमापथमा कथा मंडप को नजिकै घंटाकर्ण को एउटा मूर्ति रहेको छ । घण्टाकर्णलाई भगवान बदरीविशालका द्वारपाल अथवा स्थानीय भाषामा ‘कोतवाल’ पनि भनिन्छ । घंटाकर्ण को थिए र यहाँ आएर कोतबाल अथवा थानेदार कसरी भए भन्ने प्रसंङ्गको कथा हरिवंस पुराणमा विस्तारले उल्लेख गरिएको छ । जो यसै पुस्तकमा पछि उल्लेख गरिनेछ छ । घण्टाकर्णको तपस्याले प्रसन्न भएका श्री कृष्ण ले घण्टाकर्णलाई वरदान दिदै भन्नु भएको थियो :

“हे राक्षसराज यो ब्रह्माण्डमा मुक्ति बाहेक बाँकी सबै सांसारीक कुरा सहज रुपमा प्राप्त गर्न सकिन्छ तर मुक्ति पाउन कठिन छ । म तिम्रो शुद्घभावले गरेको भक्तिले प्रसन्न्न भएको छु । कलियुगको अन्तमा तिमिले सायुज्य मुक्ति प्राप्त  गर्ने छौं । तवसम्म मेरो यस पवित्र क्षेत्रको रेखदेख गर्दै यहि निवास गर”  भन्दै श्री हरि अन्तध्र्यान हुनु भएको थियो । त्यसै दिनबाट राक्षस घण्टाकर्ण भगवान श्री बद्रीनारायण मन्दिरका ‘कोतवाल’ अथवा ‘थानेदार’ भएर सुरक्षा प्रमुख हुँदै आफ्नो शुक्ष्मस्वरुपले बद्रीनाथ मन्दिर तथा यसक्षेत्र आसपासको रेखदेख गर्दै त्यहि निवास गर्दै आइरहेका छन् भन्ने विश्वास रहि आएको छ । बद्रीनाथ मन्दिर बाट उत्तर तिर भारत र चीनको सिमानामामा पर्ने अन्तीम गाँउ ‘माणा’मा प्राचीन आदीबद्री को मन्दिर अवस्थीत छ । माणा गाउँका निवासीहरुका अनुसार यो मन्दीर तिनै क्षेत्रपाल घण्टाकर्णको स्थान हो भन्ने भनाई छ । भगवान बद्रीनाथका क्षेत्रपाल घण्टाकर्ण देवता को माणा गाँउमा स्थित आदिबद्रीको मन्दिर आफ्नो अलग विशेषता र पहीचान राख्दछ । प्रत्येकवर्ष दिपावली आसपास भगवान बद्रीनाथ का ढोका बन्द भैसके पछि जेष्ठ महिनामा ढोका खुल्नु अघि सम्म यो पुरै क्षेत्र भारतीय सेनाको जिम्मामा रहन्छ । यसकारणले गर्दा माणा गाउका निवासीहरु पनि जाडोयामका ६ महिनाकाट्न सिंह धार, सैन्टुणा,  घिंघराण,नरौं, सिरोखुमा आदी स्थानहरुमा जान्छन् । त्यहाँका इन्टर सम्मका विद्यार्थिहरु पनि माणागाउँमा ६ महिनामात्रैै पढ्न पाउँछन् ।

मातहतका देवताहरुको परिचयसम्पादन

श्री घण्टेश्वरदेवता अन्तर्गत डडेलधुरा जिल्लाको गाङ्खेत गा.वि.स. डोटी जिल्लाको श्रीघण्टेश्वर गा.वि.स. श्री सरस्वतीनगर गा.वि.स.श्री लक्ष्मीनगर गा.वि.स. भित्रको अधिकांस क्षेत्र जसलाइ जोरायल भनिन्छ यसै भित्रका भेटासमैजी, खैगाड समैजी, विनाडाबेताल , पासो, लङ्गरी , पिनाकेश्व, जंगली, कफ्लडो ,भुमे ,मट्टे, अकड्काजी, कफलकट्टी ,बह्मबेताल, इत्यादि देवताहरु पर्दछन् । यिनिहरुका नायक वा राजा भनेका श्रीघण्टेश्वर हुन् । यी देवताहरु आफ्नो धामीमा कामीरहेको बेलामा श्री घण्टेश्रलाई ‘हे साँई’ भनेर सम्बोधन गर्दछन् । यी देवताहरुमा प्रधानमन्त्री : खैगाडसमैजी,कार्य–बाहक प्रधानमन्त्रीः भेटासमैजी,सेनापतिः पिनाकेश्वर, द्वारपालः सबै वेतालहरु, भान्सेः अकड्काँजी, हुन् भने अन्य देवताहरु परिआएको अवस्थामा आवश्यक सबै काम गर्ने तामीलदारहरु हुन् । यहाँका देवताहरुको आफ्नो धामीमा कामीरहेको बेला बोल्ने भाषा स्थानीय डोटेली भाषा भन्दा अलि फरक हुन्छ । जस्तै :- फौदार लाइ लौडे, भलादिमी लाइ बडैके, बाहुन लाइ तकाला, ठकुरीलाइ क्षेत्रे, दमाइहरु लाइ लकुडे, सार्किलाई लोते, महिला लाइ सिउणाल्ली, पानी लाइ नीर, मान्छेलाइ मुडा, मुखिया लाइ किलो, गाइलाइ कैलु, १दिन लाइ एकघडी ,२ दिन लाइ दोसरीघडी , महिना लाइ पाँख, बर्ष लाइ ठेक, रात लाइ रोहिणि ,चामल लाइ बियेँ, गोरस लाइ धौलीधार, छोरी लाइ कन्ये, सर्ब साधारण लाइ बुवा इत्यादि । मान्छे बिमारी हुँदा, वा कुनै विपत्ती आइ लाग्दा यी देवताका धामीहरुबाट आवश्यक परामर्श लिने चलन अझै पनि यथावत छ ।

श्री घण्टेश्वर कसरी आए यस शिखरमासम्पादन

किंम्बदन्ती अनुसार श्री घण्टेश्वरदेवताले भारत उत्तराञ्चलको कुमाउँमा रहेको तुङ्गीनाथ तीर्थमा सयकडौँ वर्षसम्म तपस्या गरे । श्री घण्टेश्वरको चैत (घण्टेश्वर सम्वन्धि प्राचीन ड्यौडा साहित्य) मा यो कुरा विस्तृतरुपमा उल्लेख गरिएको छ ।[६] उनी कहिले काँही तुङ्गीनाथ तीर्थ बाट आकासमार्ग भएर कैलास–मानसरोबर, काठमाण्डौ–पशुपथिनाथ , गोसाइकुण्ड , मुक्तिनाथ, छायाँनाथ इत्यादी तीर्थहरुमा आउने–जाने गर्दथे । उनको यो आकासमार्र्गको चौराहा वा केन्द्र यही हगुल्टे लेक थियो । यो रहस्यको जानकारी सर्वप्रथम बिनोडा बेताल लाई भयो । बिनोडा बेतालले माथि उल्लेख गरिएका आसपासका सबै देवताहरुलाई यो कुराको विषयमा जानकारी दिए । उनिहरु सबैले श्री घण्टेश्वर देवता लाई यसै शैलशिखरमा स्थायी रुपमा रोकि राख्न सके आफुहरुको र यस क्षेत्रको कल्याण हुने विषयमा छलफल गरे । तर सर्वप्रथम आकासगामी सिद्ध देवतालाई धर्तीमा अवतरण गराउन सक्नुनै पहिलो चुनौति थियो । धर्तीमा अवतरण गराउने जिम्मेदारी पासअस्त्र चलाउनमा निपुण विनोडा गाउँको पासो देवतालाइ दिइयो । बेताल देवताले शिखरमा घण्टेश्वर आउँदै गरेको जानकारी पासो देवतालाइ दिए पछि पासो देवताले पासेगौणा भन्ने ठाउँमा आफ्नो पासअस्त्रको संधान गरी श्री घण्टेश्वर देवताको आकास गमनको शक्तिलाई विच्छेदन गरी धर्तीमा अवतरण गराएका थिए । श्रीघण्टेश्वर देवता हगुल्टेखान माथिको शिखर लेकमा अवतरण भैसके पछि माथि उल्लेख गरिएका सबै देवताहरु उहाँका शरणमा परे । ती देवताहरुले श्री घण्टेश्वर देवता संग आफुहरुलाई शरणमा लिन र यस स्थानको कल्याणको लागि अव उप्रान्त यसै शैलशिखरमा तपस्या गरेर बस्न हुन सादर अनुरोध गरे । देवताहरुले ज्यादै अनुनय–विनय गरेको देखेर श्री घण्टेश्वरदेवताले पनि त्यहीँ बस्न स्वीकार गरेका थिए भन्ने किंवदन्ती छ । उहाँ तेसै दिन देखी त्यस शैल–शिखरमा सूक्ष्म शरीरबाट तपस्यारत् हुनुहुन्छ भनी यहाँको जनमानसले विश्वास गर्दछन् । त्यती बेला नारी बोरा भन्ने एकजना धनाढ्य स्थानीय भक्तले आफुसंग भएको सबै धन–सम्पत्ती, सुन–चाँदी श्री घण्टेश्वर देवता समक्ष निवेदन गरेका थिए भन्ने कींवदन्ती छ । कालान्तरमा उनको स्मृतिमा यसै मन्दिरको ५० मिटर उत्तरतिर ढुङ्गाको स्थापना बनाइयो । प्रत्येक बर्ष घण्टेश्वरको पूजा लागी सकेपछि नारीबोराको स्थापनामा पनि पूजा लाग्दछ ।

 
घण्टेश्वर देवताका धामी स्व. वासुदेव मडै

मन्दिर निर्माणको गतिविधिसम्पादन

यहँका स्थानीय निवासीहरुले २०१७ सालमा श्री लक्ष्मीनगर गा.वि.स. वार्ड नं ३ बिनोडा गाउँका तत्कालिन मुखिया स्व. दाशी मडै, ऐ. धन्रास गाउँका पिनाकेश्वर देवताका पूजारी स्व. भक्तराज ओझा र श्री घण्टेश्वर गा.वि.स. वार्ड नं ९ सुन्लेक गाउँका भेटा समैजी देवताका धामी स्व.दानसिंह मल्ल लाई सबै श्रद्धालु भक्तहरु बाट स्व–इच्छाले दिएको चन्दा संकलन गरी मन्दिर निर्माण गर्ने जिम्मेदारी दिएका थिए । यी ३ जनाको रोहबरमा स्थानीय जनश्रमदान र स्वैच्छिक चन्दा संकलन द्वारा सर्बप्रथम २०१७ सालमा श्री लक्ष्मीनगर गा.वि.स. वार्ड नं ३ खैगाःड गाँउमा खैगाःड समैजीको मन्दिर बनाइएको थियो । त्यस पछि २०१८ सालमा श्री लक्ष्मीनगर गा.वि.स. वार्ड नं ४ भेटा गाउँमा भेटा समैजीको मन्दिर बन्यो । २०२४ सालमा हगुल्टे शिखरमा देवाधिदेव श्री घण्टेश्वरको मन्दिर पनि बनाइयो । २०३४ सालमा श्री लक्ष्मीनगर गा.वि.स. वार्ड नं ३ बिनोडा गाउँमा श्री घण्टेश्वर देवताको अर्को मन्दिर पनि बनाइयो । जसलाई स्थानीयहरु दशैघर पनि भन्दछन् । त्यसै गरेर हालसालै २०७२ सालमा घण्टेश्वर गा.वि.स. वार्ड नं १ गोगनपानी गाउँको सबभन्दा अग्लो डाँडोमा खार, तोली र तल्लो बडाखेत चार गाउँका स्थानीय भक्तजनहरुले चन्दासंकलन र जनश्रमदान द्वारा श्री कफ्लडा देवताको मन्दिर पनि बनाएका छन् ।

श्री घण्टेश्वरदेवताका धामी, भणरे, माली, र कार्यकर्ताहरुसम्पादन

श्री लक्ष्मी नगर गा.वि.स. वार्ड नं ३ बिनोडा गाऊँ निवासी स्व. बासुसिंह मडैमा २०१६ सालमा श्री घण्टेश्वर देवता अवतरित हुनुभएको थियो । अथवा उहाँ घण्टेश्वरका धामी हुनुभएको थियो । उहाँ घण्टेश्वर देवताका कति औं धामी हुन् भन्ने कुरा थाहा हुन सकेको छैन । उहाँको २०६८ सालमा निधन भए पछि हाल सम्म अर्को धामी भएको छैन । घण्टेश्वरको धामी हुन यहाँका स्थानीय निवासी प्रमुख चारराठ ( बिनोडा र खैगाड गाँउका मथिमड् मडै, गै¥याल मडै, ढुक््रयाल मडै, र पारीमड्का पालीहरु ) मध्ये मथिमड् मडैको राठमा स्व.वासुसिंह मडैको परिवार भित्रको योग्य सदस्य हुनु पर्दछ । यो प्राचीन परम्परा हो । श्री घण्टेश्वर देवता धामीमा आइसके पछि उहाँ बोल्नुहुन्न, जरुरत भए इसारा मात्रै गर्दछन् । यिनको तर्फबाट केही बोल्नैपर्ने पर्ने भए भेटा समैजी वा खैगाःड समैजीले बोल्ने गर्दछन् । घण्टेश्वरको धामी हुनेले आजीवन कडा अनुसाशनमा बस्नुपर्ने हुन्छ । जस्तै ः आफ्नै हातले बनाएको खाना मात्रै खाने ,मासु–मसुरो, लहसुन–प्याज इत्यादीको सेवन नगर्ने, आफ्नै आमा–बुवाको पनि काजव्रिmया वा श्राद्ध नगर्ने, कसैको पनि मलाम नजाने ,मुर्दालाइ नछुने ,महिनाबारी भएकी महिला बाट टाढै रहने, नित्य प्राःत स्नान गर्ने इत्यादी । घण्टेश्वरको धामी हुने लक्षण बाल्यकाल बाटै दृष्टिगोचर हुन्छन् भन्ने भनाइ पनि छ । जस्तै स्व. बासुसिंह मडै जन्मजात शाकाहारी थिए । उहाँको परिवारमा सबैले मासु खाने गरेपनि उहाँ मासु मन पराउँदैनथे । स्व. वासुदेव आजीवन शाकाहारी रहे । देवताको पूजाहुँदा पूजामा कर्ता भएर बस्ने लाइ यहाँको स्थानीय भाषामा माली भन्दछन् । माली हुन पारी मडका पाली थर बाट योग्य सदस्य हुनु पर्दछ । हालका माली श्री डम्बरसिंह पाली हुन् । देवताको भण्डारको जिम्मा लिने व्यक्तिलाई स्थानीय भाषामा भणरे भन्दछन् ।

 
घण्टेश्वर देवताका माली दसरथ पाली
    बिनोडा गाउँमा रहेको संयुक्त भण्डारको भणरे हुन ढुक््रयाल मडै थर भएको योग्य सदस्य हुनुपर्दछ । हालका भणरे श्री यज्ञसिंह मडै हुन् । डडेलधुरा जिल्लाको गाङ्खेत गा.वि.स. थकलाडी भन्ने गाउँमा रहेको भणारका भणरे (भण्डारको रेखदेख गर्ने व्यक्ति) बम थर बाट हुने गर्दछन् । यी भणरेहरुले शिखरमा जात्रा लागेको बेला वा श्री घण्टेश्वरले अन्त कतै जानुपर्ने भएमा हातमा चवर लिइ, बिनोडा गाँउबाट घण्टेश्वरको पहेलोघाँट र थकलाडि गाउँबाट कालिघाँट ,तामाको खोप, (लिङ्गस्वरुको तामाको भाडो)  झोलामा बोकेर लैजानु पर्दछ । ती बस्तुको पुरा जिम्मेदारी र संरक्षण गर्ने काम पनि उनिहरुको नै हुन्छ । 
               यस बाहेक माथिका चारराठ भक्तहरुले देवताको जाँत(जात्रा) हँुदा मिलेर पूज–पोखल (पूजन सामग्री) व्यवस्थापन गर्ने, भाना–भोक्कर, झाँज बजाउने, देवताको डोला बोक्ने, गाँज (छत्र) नचाउने ,दाउरा–समिधा ल्याउने, प्रसाद बनाउने, वितरणगर्ने ,घण्टेश्वर देवता कामी सकेपछि सबैले पालै–पालो काँधमा बोक्ने, र जात्रामा पर्न आउने अन्य आवश्यक सबै कामहरु गर्ने गर्दछन् । श्री घण्टेश्वरदेवता र सम्वन्धित देवताहरुको जात्रामा दाइन–दमाउँ बजाउने दमाइ हरु पनि २ ठाउँमा बसेका छन् । पहिलो डोटीको बिनोडा गाउँमा दोश्रो डडेलधुराको थकलाडी गाउँमा । बिनोडा गाउँ लगायत अन्यत्र जात्रा हुँदा दाइन–दमाउँ बजाउन बिनोडा गाँउका दमाइ हरु जान्छन तर शिखरमा जात्रा लाग्दा थकलाडि गाउँबाट दाइन–दमाउँ सहित दमाइ भक्तहरु आउछन् ।

श्री घण्टेश्वरदेवताका पुजारीसम्पादन

 
हालका पुजारी श्री दसरथ जोशी
पुजारीहरु लाई जुठो–सुतक पर्दा श्री घण्टेश्वर र निजका मातहतका देवताहरुको पूजा नरोकियोस् भन्ने उद्देश्यले धेरै पहिले अलग–अलग थर–गोत्रका ४ जना उपाध्याय ब्राह्मण पुजारीको व्यवस्था गरिएको रहेछ । जुन यसप्रकार छन् :- १– श्री लक्ष्मीनगर गा.वि.स. (डोटी) बगेस्थी गाउँका उपाध्याय भाट ब्राह्मण । २– श्री लक्ष्मीनगर गा.वि.स. धन्नास गाउँका उपाध्याय ओझा ब्राह्मण ३– धन्नास गाउँकै उपाध्याय रोस्यारा ब्राह्मण ४– श्री सरस्वतीनगर गा.वि.स.वार्ड नं ५ (डोटी) ओझागाउका उपाध्याय जोशी ब्राह्मण । 

नं १ का बगेस्था भाट उपाध्याय नरहेपछि पुजारी पद पनि स्वतःसकियो । नं २ का ओझा पुजारीलाई घण्टेश्वरदेवताले १८ आँै शताब्दीतिर आफ्नो राज्यमा प्रवेश गरेका अति शक्तिशाली देवता पिनाकेश्वर देवतालाइ निजको पुजा लगाउन दिए पछि धन्नासी ओझा पुजारीहरु पिनाकेश्वर देवतालाइ मात्रै पुज्ने गर्दछन् । तिनिहरुले घण्टेश्वर र मातहतका अन्य देवताहरु पुज्दैनन् । नं ३ का उपाध्याय रोश्यारा पुजारीको अपुताली भएको हुनाले पुजारी पद पनि स्वतः सकियो । अहिले नं ४ का ओझागाउँका जोशी परीवार बाट हुने १ जना पुजारी बाट मात्रै काम चल्दै आइरहेको छ । वर्तमानका पुजारी दशरथ जोशी हुन् । जुठो–सुतकको समस्याले गर्दा घण्टेश्वर पुज्न एक जना पुजारीले नभ्याइने भएकोले विनोडा गाउँका तत्कालिन मुखिया स्व. दाशी मडैले २०२४ सालमा डडेलधुरा जिल्ला असिग्राम गा.वि.स. भ्यौलाना गाऊँ बस्ने लक्ष्मीदत्त भण्डारीलाई घण्टेश्वरको पुजारी बनाएका थिए । हाल उहाँको पनि निधन भैसकेको अवस्था छ । यो लेख तयार पार्दा सम्म दोस्रो पुजारीको चयन भैसकेको थिएन ।

श्री घण्टेश्वरदेवताका फौजदार र भलादिमीहरुसम्पादन

 
हालका फौदार : बम बहादुर मल्ल
श्री घण्टेश्वरदेवता र निज मातहतका कुनैपनि देवताको जात्रा वा (जाँत) हुँदा घण्टेश्वरको भण्डार (भणाँर) सँगै चाँदीको छडी लिएर हिड्ने र भित्र पुजा हुँदा बाहिर मन्दिरको ढोकामा श्री घण्टेश्वर देवताको राजदण्डको प्रतीक चाँदीको छडी लिइ उभिएर रेखदेख गर्ने जिम्मा पाएका भेटा–सुन्लेक गाउँका मल्ल रजवारहरु र थकलाडी गाउका बम ठकुरीहरु श्री घण्टेश्वर देवताका पदेन फौजदार हुन् । यिनिहरु लाई स्थानिय भाषामा फौँदार भनिन्छ । जात्राको समयमा भीड नियन्त्रण गर्ने र जात्राको समयमा पर्न आउने विभिन्न विवाद र झै–झगडाको छिनो–फानो गरी किनारा लगाउने अधिकार श्री घण्टेश्वरदेवता बाट पाएका आधिकारिक व्यक्तित्वलाई भलादिमी भन्दछन् । भलादिमीको प्रमुख कार्य भनेको झै–झगडा नियन्त्रण गर्नु र जात्रा व्यवस्थापन गर्नु–गराउनु हो । प्राचीन कालमा भलादिमीहरुले जात्राको समयमा दङ्गा वा झै–झगडा नियन्त्रण गर्न आवश्यक परे लठ्ठी वा तरवार पनि चलाउने अख्तियारी श्री घण्टेश्वर बाट पाएका थिए । उतिबेला भलादिमीहरु लाइ सात खत माफ गरिएको थियो । अथवा दङ्गा नियन्त्रणको क्रममा ७ वटा सम्म गल्ती हुन गए उनिहरुले देवता बाट माफी पाउँथे । डोटी जिल्लाको श्रीघण्टेश्वर गा.वि.स.को खार, तोली, र तल्लो–बडाखेत गाउँका सबै मल्ल रजबारहरु तथा भेटा–सुन्लेक र डडेलधुरा–थकलाडी गाँउका दुबै फौँदारहरुका कुल–कुटुम्बहरु श्री घण्टेश्वरदेवता का पदेन भलादिमीहरु हुन् ।

श्री घण्टेश्वर देवताको जात्रा (जाँत)– एक बृतान्तसम्पादन

श्री घण्टेश्वर देवताको पूजा वा जात्रा वर्षको ३ पटक हुन्छ । पहिलो भाद्र शुक्ल अष्टमीका राति घण्टेश्वर शिखरमा ,जसको विस्तृत वृतान्त तल गरिएको छ । दोस्रो असोज नवरात्रिको समयमा विनोडा गाउँको दशैघरको मन्दिरमा । प्रत्येक वर्ष आउने शारदीय नवरात्रिको पञ्चमीदेखि घण्टेश्वर देवता र निज अन्तर्गतका सबै देवताहरुको भणार बिनोडा गाउँको दशँैघरमा संग्रह गरिन्छ । पुजारी द्वारा साँझ बिहान नित्य पुजा हुन्छ । दशैका दिन बिहान ८ बजे तिर घण्टेशरका धामी र पुजारीका हात्बाट सबै भक्तजनहरुलाइ मार्यादा रोल–क्रम अनुसार जमरा–प्रसाद वितरण गरिन्छ । त्यसैदिन दिउँसो होम हुन्छ । धामी काम्ने ,बयाल खेल्ने,इत्यादी सबै हुन्छ । साँझ सबै आ–आफ्नो घरतिर जान्छन् । तेस्रो कार्तीशुक्ल अष्टमीका दिन डडेलधुरा जिल्लाको गाङ्खेत गा.वि.स.को थकलाडी भन्ने गाउँको भणार राख्ने देउघरमा । त्यहाँ माथि लेखिए जस्तै देवताको विधि विधान अनुसार पूजा हुन्छ , जात्रा भने हुदैन ।
 प्रत्येक वर्ष भाद्र शुक्लअष्टमी का दिन विहान डोटी जिल्ला श्री लक्ष्मीनगर गा.वि.स. वार्ड नं ३ बिनोडा र खैगाःड गाउँका सबै चारराठ भक्तजनहरु बिनोडा गाँउको देउघरमा जम्मा हुन्छन् । भणारघर बाट देवताहरुका  प्रतीक चिन्ह घाँटहरु डोलामा हालेर यात्राको शुभारम्भ गरिन्छ । तर श्री घण्टेश्वरको पहेँलो घाँट  भने भणरे (भण्डारको जिम्मेदारी लिएको व्यक्ति) ले झोलामा बोकेर लैजान्छन । निजले आफ्नो दायाँ हातमा सेतो चवर पनि बोकेका हुन्छन । डोलाको संग–सँगै , छडी, भाना, भोक्कर, झाँज, गाँज, आलम ,इत्यादी निकाली भाना–भोक्कर, झाँज बजाउदै बगेस्थी गाँउको देउखलामा जम्मा हुन्छन् । पन्थ्यौडा , सयगडा, भिणानी र सत्भरागाँउ बाट पिनाकेश्वर देवताका कार्यकर्ताहरु पनि सैगडागाँउको पिनाकेश्वर देवताको भणार घरबाट भाना–भोक्कर, छडी, लिएर त्यही बगेस्थी गाँउको देउखलामा जम्मा हुन्छन् । पिनाकेशर देवताको घाँट पनि भणरेले आफ्नो झोलामा बोकेका हुन्छन् । त्यस पछि बगर हुदै सुन्लेक गाउँको खेडीबाजमा घण्टेश्वरको बींडि (ढुङ्गाको आसन) मा केहीबेर डोला राखेर विश्राम गरिन्छ । त्यहाँ सुन्लेक गाँउमा भेटासमैजी देवताकोे भणारघर छ  । भणारबाट समैजीको भणार निकाली  घाँट त्यसै डोलामा राखिन्छ । भेटासमैजीका धामी,भणरे र कार्यकर्ताहरु पनि त्यसै समूहमा सम्मिलित हुन्छन् । त्यहाँबाट भाना भोक्कर बजाउदै घण्टेश्वर गा.वि.स. वार्ड नं ९ बेरबाटा, भोरदेउ हँुदै नङ्गानी भन्ने ठाउँमा विश्राम गरिन्छ । खार, तोली, र दुबै बडाखेत बाट आएका सबै भक्तजनहरु त्यहीँ सम्मिलित हुन्छन । ती सबै सम्मिलित भैसकेपछि सबै मिलेर भाना भोक्कर बजाउदै गाँज (देवताको कलात्मक छत्र) सहित घण्टेश्वर शिखर तिर लाग्दछन् । दाइन–दमाउँ भने थकलाडी गाउँ बाट आउँछन् । आन्दाजीे साँझ ४ बजे शिखरमा पुग्नेबेलामा त्यहाँ प्रायः झिमझिमे पानी परिरहेको हुन्छ, कहिलेकाही कुहिरो पनि लागिरहेको हुन्छ । उच्च लेकाली भेगमा फुल्ने विभिन्न प्रजातीका फूलहरु र वनस्पतिको सुगन्धले यात्रा लाई थप रोमाञ्चकारी बनाएको हुन्छ ।

त्यसै दिन डडेलधुरा जिल्ला गाङ्खेत गा.वि.स. थकलाडी गाउँबाट पनि श्री घण्टेश्वर देवताको देउरो(जात्रा) आउँछ । त्यहाँको भणारमा रहेको श्री घण्टेश्वर देवताको काली घाँट बम थर भएका भणरेले आफ्नो झोलामा बोकेर ल्याउछन् भने चाँदीको छडी बोक्ने फौँदार पनि बम थरकै हुन्छन् । त्यहाँका अन्य भक्त कार्यकर्ताहरु पनि भणार संगै भाना–भोक्कर दाइन–दमाहा बजाएर आउँछन् । थकलाडी बाट आउने जात्रामा दाइन– दमाउ बजाउने दमाइ भक्तहरु पनि हुन्छन् । जब थकलाडीको जात्रा मन्दिरमा पुग्दछ त्यसको सम्मान स्वरुप बिनोडा,खैगाःड र सयगडागाउँ बाट पहिल्यै नै पुगिसकेको जात्राले भोक्करहरु बजाउदै थकलाडी बाट पुग्दै गरेको जात्रा लाइ स्वागत गर्दछ । त्यस पछि दुबै तर्फबाट आएका देवताका कार्यकर्ताहरु भाना–भोक्कर , दाइन–दमाउ बजाउदै श्री घण्टेश्वर देवताको डोला सहित भणारलाई खल्खले खोलाको नाउँलामा स्नान गराउन लैजान्छन । स्नान गरेर आइसके पछि सर्बप्रथम मन्दिरको ५ परिक्रमा गर्दछन् । देवताका घाँट, डोला, र छडीहरु मन्दिर भित्र राखिन्छन भने दाईन–दमाऊ भाना–भोक्कर बाहिरै रहन्छन । त्यस पछि चारराठ भित्रका स्वयंसेवक भक्तहरु होमको लागि आवश्यक खर्सुकाठका दाउरा गरेर ल्याउछन् र होम कुण्डमा ठुलो चौतरा जस्तो बनाएर दाउराको चठ्ठा लगाउछन् । ति दाउराहरु वर्षाले गर्दा साह्रै भिजेका हुन्छन । मन्दिरको चारैतिर खाना, चिया, नास्ता, मिठाइ, इत्यादिका पसलहरु पनि आएका हुन्छन् ।

 
देवताको जाँतमा सहभागी भक्तहरु
  त्यसै दिन साँझ ७ बजेतिर श्री घण्टेश्वर देवताको चैत (गमरा पर्वमा गाउँने भाषाले गाइने देवताको चरित) मन्दिरको पूर्व तर्फ डोटी जोरायल तिर बाट आउने मूल बाटा बाट सुरुभइ मन्दिरको ढोकाको उत्तर पट्टीको आगनमा आइ खेलमा परिणत हुन्छ । यो देवताको चैत सुरु भए संगै सुदूरपश्चिमको संस्कृति अनुसार अन्य आ–आफ्ना रुचि अनुसारका विविध रमाइला हात् जोडी, डेउडा, झमझेउडा इत्यादि खेलहरु महिला, पुरुष, केटा–केटी सबैका अलग–अलग खेलहरु लाग्दछन् । 
       राति १०/११ बजे तिर डडेलधुरा जिल्ला असिग्राम गा.वि.स. अन्तर्गत् पर्ने रुवाखोला–जर्मना, गाउँबाट भोक्करहरु मात्रै भएको देउरो (देवताको जात्रा सहितको लावा लस्कर) आउँछ । ती भोक्करहरु बजाउने कार्यकर्ताहरु महता थरका हुन्छन् । मन्दिरमा पुग्नै लाग्दा पहिले आइसकेका भक्तजनहरु पनि भाना–भोक्क,दाइन–दमाउ बजाउदै तिनिहरुको स्वागत गर्दछन् । ति भोक्करहरु नआए सम्म घण्टेश्वरको पूजा  लाग्दैन । मुख्य पुजारीले राति लगभग १२ बजे तिर मन्दिरको ढोका अगाडि रहेको होम कुण्डमा पानीले भिजेका खर्सुका दाउरामा अग्नि स्थापना गर्दछन् । पानी परिरहेको भए बन्द हुन्छ । यो चमत्कारीक संयोग धेरैले अनुभव गरेका छन् । पुजारीले जौं, तिलमा शुद्ध गाइको घ्यू मिसाइ देवताको मन्त्रले होम गर्दछन् । भिजेका दाउरा पनि बल्दछन् । होम पछि मेधा वा (पूर्णाहुति) गर्नु अघि पुजारीले मन्दिर भित्र प्राचीन विधि–विधान अनुसार देवताको पूजा गर्दछन् । मन्दिर भित्र पूजा लागिरहेको बेलामा फौदारले देवताको चाँदीको छडी हात्मा समातेर मन्दिरको ढोका सँगै उभिएर रेखदेख गर्नुपर्दछ । जब पूजा सकिन्छ छडी भित्र राखिन्छ । त्यहाँ महिला श्रद्धालुहरु ब्रत र त्येर्त (३ दिन सम्मको उपवास) गरेर आएकी हुन्छन् । भित्रको पूजा सकिएपछि सबै ब्रतालुहरु लाइ “बाता बालेर आस”भनेर पूजारीले ठुलो स्वरमा डाँको लगाउछन् । त्यपछि ती सबै ब्रतालु महिलाहरु बाता बालेर अन्य पूजन सामग्रीका साथ लाइन लागेर आउँछन् र पुजारीको हातमा दिन्छन । पूजारीले ती बलेका बाताहरु र अन्य पूजन सामग्रीहरू लाइ मन्दिरमा भित्र चढाइ ती श्रद्धालुहरुलाई फल–फूल, प्रसाद दिएर पठाउँछन् । कसै–कसै भक्तले लाख बत्ती पनि बाल्दछन् । यो पंतिकारलाइ यसै शिखर स्थानमा २०३४ सालमा एक पटक नवाह यज्ञ पनि लागेको सम्झना छ ।
      मन्दिर भित्रको सबै पूजा सकिए पछि होमकुण्डको चारैतिर देवताका धामीहरुलाई बस्ने हरिया स्याउलाको बिंडो (आसन) विछयाइन्छ । आएका धामीहरु जति सबै बस्दछन् । जब होम कुण्डमा  पुजारीले वेद मन्त्रबाट मेधा (घिउको धारा) गर्छन् धामीहरु पनि काम्न सुरु गर्दछन् । पुजारीले सबै धामीहरुका हातमा फूल अक्षत दिएपछि धामी, पुजारी, भक्त सबै उभिन्छन । मेधा वा पूर्णाहुति संगै सबै भक्तहरुले फूल अक्षता होमकुण्डमा चढाउछन् । अन्तमा पुजारीले वैदिकमन्त्र उच्चररण गर्दै सबैलाइ पञ्चगव्यको जलले अभिषेक हाल्दछन र देवताको जयकार लगाइ रातिको पूजा सकिन्छ । होमकुण्डबाट तिलक निकालेर सर्व प्रथम पुजारीले मन्दिर भित्रका देवतालाइ चढाउँछन् । त्यस पछि आगन्तुक संतहरु,  सबै ब्राह्मणहरु , व्रmमै संग मर्यादा क्रम अनुसार देवताका फौदार–भलादिमी, माली, भणरे, कार्यकर्ता र बाँकी अन्य भक्तहरुलाइ पनि तिलक प्रसाद वितरण गरिन्छ । प्रसाद वितरण गरिसके पछी बाँकी रातमा भक्तहरु आ–आफ्ना घरबाट ल्याएको खाना खान्छन् र ड्यौडा संस्कृतिको रमाइलो गर्दछन् ।
        दोस्रो दिन नवमीको बिहान खल्खले खोलाको नाउँलोमा स्नान गरी कसै–कसै भक्तहरुले जुनकुनै ब्राह्मण द्वारा रुद्री वा चण्डीको पाठ गराउछन् । बिहान ८ बजे तिर घण्टेश्वरदेवताका धामीलाइ पारम्परिक पोसाक लगाएर सजाइन्छ । मन्दिरको ढोका अगाडि रहेको प्राचीन चारकुने ढुङ्गाको बिँडि (देवताको आसन)मा रेसमको कपडाको गद्दी राखिन्छ । आएका सबै भक्तहरुले गद्दीमा गच्छे अनुसारको भेटी र फलफूल राख्दछन् र त्यसै गद्दीमा घण्टेश्वरदेवताका धामी पनि आएर बस्नुहुन्छ । धामी बसिसके पछि धामीको पछाडितिर चार–राठ कार्यकर्ताहरु एक–अर्काको हात् समाती १० जना जती बसेका हुन्छन् । अरु देवताका धामीहरु भुइमा चारैतिर हरियो स्याउलाको आसनमा बसेका हुन्छन् । पुजारीले मन्त्रोच्चार सहित पञ्चगव्यको जलले अभिषेक हाल्न सुरु गरे पछि सबै धामी हरु काम्न सुरु गर्दछन् । मातहतका सबै देवताका धामीहरु सर्वप्रथम :- “ हे साँई ! तेरि तिर बाउन्न लोट त्रिपन्न पोटला , हे ईन्द्र ! झुटा पडौला त गौहत्या ब्रह्म हत्या” भनी श्री घण्टेश्वर देवताका धामीलाइ ढोग सलामी गर्दछन् । त्यसपछि श्री घण्टेश्वरका धामी पनि काम्न सुरु गर्दछन । श्री घण्टेश्वरका धामीले काम्न सुरु गरेको थाहाँ हुदैन । उनको शरीरमा सूक्ष्म कम्पन हुन्छ । चेहराको पहेलो पन र भाव भंगिमा बाट मात्रै धामी कामीरहेका छन् भन्ने थाहा हुन्छ । एकछिन पछि घण्टेश्वरका धामी पछाडि उत्तानो पर्ने जस्तो गरी जोरले उत्तानो पर्न खोज्दछन् । पछाडी बसेका चार राठ भक्तहरुले उत्तानो पर्न नदिइ पालै पालो संग धामीलाइ काँध मा चढाउछन् । काँधमा चढाइ सकेपछि धामीको शिर माथि रेशमको झालर बाला चारकुने छत्र ओढाइन्छ । त्यसका चार लठ्ठीहरु चार जनाले समातेका हुन्छन् । धामीका हात्मा पेलीघाँट (श्री घण्टेश्वरको प्रतीक चिन्ह पहेलो घाँट) समात्न दिइन्छ । धामीले मान्छेको काँध बाटै पेलीघाँट सहित गाइको पुच्छर समातेर गौदान गर्दछन् । त्यस पछि भाना–भोक्कर, दाइन–दमाउ बजाउँदै मन्दिरको १ परिक्रमा गर्दछन् । भक्तहरुले उच्चो स्थानमा घण्टेश्वर देवताको सहजरुपमा दर्शन गर्न पाउन भनी उत्तरतिर रहेको अग्लो टाकुरो मा बयाँल (जात्रा) जान्छ । त्यही टाकुरा बाट चारैतिर देखिने हिमालय स्थित सबै देवी–देवताहरुलाइ घण्टेश्वर देवताका धामीले पनि हातजोडेर शिर निहुराइ प्रणाम गर्दछन् ।

टाकुरा बाट बयाँल (जात्रा) फर्केपछि तलमन्दिरको आगनमा फलहरु आकासमा उछिट्टयाइन्छ । ती फलहरु भक्तहरुले टिप्नेगर्दछन् । जुन भक्तले आकास बाटै फल टिप्न सक्छन त्यो बर्ष उसलाई राम्रो फलिफाप हुन्छ भन्ने जन धारणा छ । कामीरहेका घण्टेश्वरका धामीलाइ पुनः गद्दीमा राखीन्छ । धामीकाम्न रोकिए पछि पुजारीले धामीको मुखमा र शिरमा गंगाजल हाल्दछन् । स्वयं सेवकहरु निजले लगाएका लुगाहरु खोलेर राख्दछन् । कामीरहेका अन्य धामीहरुलाइ भक्तजनहरु आवश्यक सोधपुछ गर्दछन् । सोधपुछ सकिएपछि अन्तमा सबै धामीहरु “हे मेरी पूmलकी माला खेली खाया, जो जे ध्याएर आएका हौ, सो सबै फल पाउन्या छौ । अकाल मर्न दिन्या छैनौ, काल जति सक्न्या छैनौ” भन्दै काम्न बन्द हुन्छन् ।

     भक्तहरु मनमा चिताएको कामना वा भाकल पूर्ण भयो भने आफ्नो गच्छे अनुसारको चढावा लिएर अर्को साल पनि आउँछन् । त्यसै दिन देवताको जयकार लगाउदै भक्तहरु भणार लिएर दिउँसो १२ बजे तिर  घर फिर्ता हुन्छन् । जय घण्टेश्वर । जय पशुपतिनाथ

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. स्कन्द पुराण
  2. हरिवंश पुराण त्रियासियौ अध्याय
  3. (स्कन्द पुराण, मानसखण्डको (अध्याय १५७)
  4. हरिवंश पुराण
  5. श्री हरिवंश महापुराण पाचौं स्कन्ध
  6. प्राचिन किंम्बदन्ती

बाह्य लिङ्कहरूसम्पादन

जोरायल डोटी