ख्यातिप्राप्त कुलदीपक

ललितसिंह थापा र गौरादेवी थापाका १२ सन्तानमध्ये द्वितीय पुत्ररत्नका रूपमा उनको अबतरण भएको थियो। उनको न्वारानको नाम बलवीरसिंह रहेको देखिन्छ भने ८ वर्षको उमेरमा उनको उपनयन संस्कार भएको पाइन्छ। उनले आफ्नै माताबाट प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए। बलवीरसिंह थापा १३ वर्षको उमेरमा नाथ सम्प्रदायका योगी क्षिप्रानाथबाट दीक्षित भए। दीक्षा ग्रहणपछि उनी योगी नरहरिनाथमा रूपान्तरित भए। त्यसपछि उनले अमरकोश, लघुकौमुदी आदिको प्रारम्भिक शिक्षा गुरु क्षिप्रानाथबाट प्राप्त गरेको पाइन्छ भने त्यसभन्दा माथिको शिक्षा भारतका विभिन्न शिक्षण संस्थाहरूबाट प्राप्त गरेको पाइन्छ।