किरात कुलुङ किराती वंशहरू मध्यको एक आदिवासी रैथाने समुदाय हो। कुलुङहरू नेपालको उतरपूर्वी भेगमा मुख्यतया सोलुखुम्बुको महाकुलुङ क्षेत्रमा बसोबास गर्दछन्।[१] नेपाल बाहेक भारतको उत्तरपूर्वी सिक्किम र दार्जिलिङ क्षेत्रमा यिनीहरूको बसोबास रहेको छ। नेपालको वि.सं. २०६८ को जनगणनामा अनुसार कुलुङ जातिको जनसङ्ख्या २८,६१३ रहेको छ भने कुलुङ भाषीको सङ्ख्या ३३,१७० रहेको छ।[२]

उत्पति सम्पादन गर्नुहोस्

कुलुङ बंशवली र मिथक अनुसार खारकी श्रीमती दुम्दिलिम गल्काम्माले मिनापोङ्खो हाल्कुम्बुमा खोक्चीलिप जन्माइन् ।[३] खोक्चीलिपले नागी वंशका पाछोक्सी येरुकाकी छोरी वेइलिम्मासित विवाह गरे । खोक्चिलिपले वेइलिमसँग विवाह गरेपछि उनीहरूले मिनापोङ्खो हाल्कुम्बू(मानव उत्पत्तिस्थल–ब्रह्मपुत्रको मैदान)मा पहिलो मानव बस्ती बसाएर सभ्यताको सुरुवात गरे । खोक्चिलिप र वेइलिमको सन्तानका रूपमा रोदु वा किराँतको जन्म भयो । तिनै किरातका सन्तानहरु फैलिँदै जाँदा ब्रह्मपुत्र किनारबाट गङ्गाको उत्तरी मैदान र सिन्धू घाँटीसम्म पुगे । अधिकांश इतिहासकारले लेखेका छन् – कामरुप(आसाम) पनि भनिने मिनापोङ्खो–हाल्कुम्बूबाटै किरात सभ्यताको विकास भएको हो । ब्रह्मपुत्र वरिपरिबाट किरातीहरु समग्र उत्तरी गङ्गाको मैदानी भागमा विफैलिएका थिए । किरात सभ्यता सिन्दूघाँटीसम्म विकसित भएको थियो । किरातहरूले एक समय ब्रह्मपुत्रदेखि गङ्गाको मैदान हुँदै सिन्दू घाँटीसम्म एकछत्र किरात आवाद चलेको थियो । हड्प्पा र महनजोड्डोको सभ्यता किरातहरुकै थियो भनेर इतिहासकार दुर्गाहाङ याक्खाले दाबी गरेका छन् । खेतीपातीमा रमाएर बसेका किरातहरूको ककेसियाबाट युरोप, मध्यपूर्व हुँदै भारतीय उप–महादिप आइपुगेका आर्यहरूसँग भेट भयो । करिब ५ हजार वर्षपहिले दुई समूहबीच युद्ध हुँदा किरातीहरु हारे । आर्यहरूबाट युद्धमा हारेपछि उनीहरू क्रमशः गङ्गाको मैदानबाट उत्तरी हिमालय पर्वततिर लागे ।

हिमालय पर्वततिर लागेका किरात समूहको एउटा गण नायक एलम्बरले करिब ३८ सय वर्ष पहिले काठमाण्डौं उपत्यकामा अधिपत्य जमाए । एलम्बरले स्थापना गरेको राज्य एलाखोममा ३२ पुस्तासम्म किरात किरात शासन चलेको इतिहास छ । जसलाई किरात काल भनेर इतिहासमा पढिँदै आएको छ । जब लिच्छवीहरूले एलाखोम (एलम्बरको भूमि)बाट किरातहरु विस्थापित गराए, त्यसपछि उनीहरू साँखु, बनेपा हुँदै सुनकोशी जलाधार क्षेत्रमा आइपुगे र नदी किनार हुँदै पूर्वतिर लागे । उपत्यकाबाट विस्थापित भएर आएका किरात समूहहरु वर्तमान खोटाङ, ओखलढुङ्गा र सोलुखम्बूका केही ठाउँमा बस्न थाले । वास्तवमा काठमाण्डौ उपत्येकाबाट विस्थापित भएर पूर्वतिर लागेको एक किरात समूहको सन्तान नै अहिलेको कुलुङहरु हुन् । कुलुङ मिथक(लोककथा)ले खोटाङको रावा उपत्यकासँग महाकुलुङ सम्बन्ध रहेको देखाउँछ । यसबाट के भन्न सकिन्छ भने कुलुङका पूर्खाहरु महाकुलुङमा आउनुअघि त्यता बसोबास गर्दथे । किरात मुलका अन्य जातिको इतिहास पढ्दा कुलुङ लगायत सबै एलाखोम उपत्येकाबाट पूर्व लागेका किरात सन्तान नै उनीहरू भएको बताउँछ ।

कुलुङ मिथक अनुसार किरातका सन्तानहरु खम्बुहो, नेवाहाङ, मेत्नाहाङ, मेरात्ती आदि थिए । उनीहरूले अलग अलग ठाउँमा आफ्नो सभ्यता विकास गरेर । उनीहरू अनेकौँ उप समूहमा बाँडिए । यसमा विभिन्न नदीको जलाधार क्षेत्रलाई आधार बनाएर कुलुङ मिथकले वर्णनन् गरेको देखिन्छ । लिखु– सुनुवार, सुनकोशी–दूधकोशी– खम्बू, अरुण– मेवाहाङ र तमोर– याक्थुम्बा(लम्बू) भनिएको छ । बसोबासका दृष्टिले यो कुरामा केही मेल खाएको जस्तो देखिन्छ । तर इतिहास मिथक जसरी नबगेका कारण ऐतिहासिक कसीबाट हेर्दा यो भनाइलाई केही संशोधन गर्नु पर्ने देखिन्छ । सुनकोशी र दूधकोशी जलाधार क्षेत्रमा फरक पहिचान भएका दर्जन किरात जातिहरूले सभ्यता विकास गरेको देखिन्छ ।

रैथाने आदिवासी सम्पादन गर्नुहोस्

कुलुङ समुदायले विगत लामो समयदेखि आफूलाई अलग आदिवासी जातिका रूपमा दावी गर्दै आएको छ । कुलुङ समुदायकै अगुवाइमा आदिवासी सूचिकरण अभियानले एउटा उचाइ पायो । आदिवासी जनजाति सूचि परिमार्र्जन उच्चस्तरीय कार्यदल बनाउन सरकार गठन गर्न बाध्य भयो । कार्यदलले आफ्नो प्रतिवेदनमा पहिलेको सूचिलाई केही परिमार्जन गर्दै कुलुङसहित थप नयाँ आदिवासी जातिको सिफारिससमेत गरी सकेको छ । कुलुङ आदिवासी जातिमा सूचिकरणका लागि सिफारिस भएपछि दाबी सही भएको पुष्टि भइसकेको छ । संसारमा आदिवासी जाति बन्नका लागि केही निश्चित आधारहरु हुन्छन् । समाजशास्त्री÷मानवशास्त्री र भाषाशास्त्रीहरु तथा अन्तराष्ट्रिय महासन्धि र घोषणा–पत्रले आदिवासी जाति हुने आधारका रूपमा छुट्टै भाषा, छुट्टै सँस्कृति, लिखित वा अलिखित इतिहास, छुट्टै आदिभूमि, हामी भन्ने भावनालाई मानेका छन् । कुलुङ समुदायसँग उल्लेखित सम्पूर्ण आधार र प्रमाणहरु रहेको छन् । छेम्सी, ताम्सी, पिल्मो, सोत्तो र नाम्लुको साझा भाषा कुलुङ, सँस्कृति कुलुङ, मौखिक इतिहास, महाकुलुङ भुमि र हामी भन्ने भावना रहेको छ ।

विस्तार क्षेत्र सम्पादन गर्नुहोस्

कुलुङ किम्बदन्ती अनुसार खम्बूहो वंशका चारजना पूर्खाहरु हुङ्गु उपत्यका प्रवेश गरेको थिए । छेम्सी, ताम्सी, खप्दुलु र राताप्खु नामका ति दाजुभाइहरू कोही अघि र कोही पछि महाकुलुङ आएका थिए । सबैभन्दा पहिले छेम्सी आएका थिए । छेम्सीपछि राताप्खु आए । समयक्रममा ताम्सी र खप्दुलु दुई भाइ हुङ्गु उपत्येका प्रवेश गरेर बस्न थाले । राताप्खु, ताम्सी र खप्दुलु छेम्सिले बोलेकै भाषा बोल्दथे । खास उनीहरू दाजुभाइका सन्तान थिए । एउटै भाषा बोल्ने र समान सँस्कार भएका उनीहरूले आपसमा सामुहिकता जनाउन आफूलार्ई कुलु’ र्वा केई कुलु’ भनेर सम्बोधन गर्दथे । जसको अर्थ हामी सहगोत्री भन्ने हुन्थ्यो र्। कुलु’ शब्द्ध कालान्तरमा रुपान्तरण भएर्र कुलुङ’ भएको विश्वास गरिन्छ । अर्को भनाइ के छ भने व्यवस्थित बसोबासको विकास भइनसकेको अवस्थामा पहिलेका पुर्खाहरु ओडारमा बस्दथे । ओडार सामान्यतः पानी नजिकै पाइने स्थानमा हुन्थ्यो । महाकुलुङमा पहिलो प्रवेश गर्ने छेम्सी त्यस्तै ठाउँ खोजेर वर्तमान सोलुखम्बूको पावै गाविसमा पर्ने हुलु क्षेत्रमा बसे । कुलुङ भाषामा पानीसहितको ढुङ्गालाई ‘काउलुङ’ भनिन्छ । यस्तै ओडारमा बसेका छेम्सी र उनका दाजुभाइहरू ‘कुलु’ हुँदै ‘कुलुङ’ भनिए वा भए । कुलुङ पूर्खाहरु ‘काउलुङ’वाट कुलु वा कुलुङ भएको बताउँदछन् । महाकुलुङ उपत्येकालाई ‘कुलु’ नामले सम्बोधन गर्ने पुरानो चलन पनि छ । ताम्सी, छेम्सी, खप्दुलु(पिल्मो) र राप्खु(सोताङ) सबै आफुले बोल्ने भाषालाई ‘कुलुरिङ’ वा ‘ईरिङ’ भन्दथे । चारदाजुभाइले उनीहरूबीच सामुहिकता जनाउन आफ्नो भाषा र संस्कारलाई ‘कुलु रिङ–रिदुम’ नामले पुकारे । त्यही कुलु शब्द कालान्तरमा कुलुङ भयो । ‘कुलु’ शब्दले एउटै वंशका स्वःजातीय भन्ने जनाउँदछ । छेम्सि, ताम्सी, खप्दुलु र राताप्खुका सन्तानबीच कुलुङ शब्दले सामुहिकतालाई बुझाउँछ र यो साझा सँस्कृति र सभ्यता पनि हो ।[४] यही कुलुङ शब्दलाई ती चार दाजुभाइको आफ्नो साझा पहिचान बनाए र आफूलाई कुलुङ जाति भनेर चिनाए । महाकुलुङबाट संसारभर फैलिएका मानिसहरु कुलुङ भनेर चिनिन्छन् ।

मानवशास्त्री चार्लस मेकडुगलका अनुसार छेम्सी सुरुमा हुलुमा आएर बसे । पछि शिकार खेल्ने क्रममा वर्तमान छेस्काम गाविसको छेम्सीसम्म पुगे । धेरै शिकार पाइने भएकोले छेम्सी अधिकांश त्यतै बस्न थाले । त्यो कुरा पहिल्यैदेखि बस्दै आएका रुपिहाङ्छा वंशका मान्छेहरूलाई मन परेन र उनीहरूले छेम्सीलाई लखेट्ने प्रयास गर्न थाले । रुपिहाङ्छाहरूको अत्याचार सहन नसकेपछि दाइ ताम्सीलाई लिन छेम्सी रावा गए । ताम्सीलाई लिएर आएपछि छेम्सी र ताम्सी दुई दाजुभाइले युद्धमा रुपिहाङ्छाहरूलाई पराजित गरेर महाकुलुङ उपत्येकामा अधिपत्य जमाएका थिए । युद्ध सघाएको पुरस्कार स्वरुप छेम्सीले ताम्सीलाई बर्तमान छेस्काममा भूमि दिएर बसाए । (चार्लस मेकडुगल, द कुलुङ राई, अ स्टडी इन किन्शिप एण्ड म्यारिज एक्सचेन्ज, पेज १८) मानवशास्त्री चाल्र्स मेकडुगलले छेम्सी, ताम्सी, पिल्मो, सोत्तो र नाम्लु कुलुङका उप–जातिहरू हुन् भनेका छन् । मेकडुगलका अनुसार हुङ्गु उपत्येका र वरिपरिको क्षेत्र समावेशित भू–भाग कुलुङ आदिवासी जातिको किपट हो– जसलाई महाकुलुङ(विस्तारित कुलुङ भुमि) भनेर चिनिन्छ । (चार्लस मेकडुगल, द कुलुङ राई, अ स्टडी इन किन्शिप एण्ड म्यारिज एक्सचेन्ज, पेज १९)

कुलुङ जातिबारे केही जानकारी सम्पादन गर्नुहोस्

  1. कुलुङ जातिको उत्पति स्थल – सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्र
  2. कुलुङ जातिको मुख्य बसोबास भएको जिल्लाहरू – सोलुखुम्बु, संखुवासभा, भोजपुर,तेह्रथुम, धन्कुटा,सुनसरी, झापा, मोरङ्ग इलाम, उदयपुर, कस्की,
  3. कुलुङ जातिको मुख्य चाड (नयाँ वर्ष) – चाक्चाकुर (पौष १५, १६, १७ मा मनाइने)
  4. कुलुङ जातिले तोस वा योङ्खोलु पुँज्दा बजाउने अर्नाको सिङबाट बनेको एक प्रकारको वाजा – पुङ
  5. कुलुङ जातिको पुरोहित – मोबोछा वा नोक्छो
  6. कुलुङ भाषाको पहिलो कुलुङ गिति एल्बम ‍- "छुम्वा", निर्माता- भुपध्वज थोमरोस, गायक/गायिका - उदय सोताङ, मनिला सोताङ
  7. कुलुङ भाषाको दोस्रो कुलुङ गिति एल्बम ‍-"लाईस्पी तुम्खाम्मी हुक्छो",निर्माता- निनामरिदुम कुुलुङ मैत्री युवा परिवार, गायक/गायिका - चन्द्रिका वार्सिमे, विमला कुलुङ,भरत थोरेप्पा, भिम रिन्हो
  8. कुलुङ भाषाको तेस्रो कुलुङ गिति एल्बम ‍-"मिन्ताम",निर्माता- महाकुलुङ साँस्कृतिक परिवार, गायक/गायिका - भिम रिन्हो, नरेन्द्र कुलुङ,क्षितिज कुलुङ, प्रेम सगर थोरेप्पा, तिर्थ कुलुङ, अनुज कुलुङ, मिलना कुलुङ पुमा, चन्द्रिका बार्सिमे
  9. कुलुङ भाषाको चौथो कुलुङ गिति एल्बम ‍-"पोम्लालुङ",निर्माता- महाकुलुङ साँस्कृतिक परिवार, गायक/गायिका - क्षितिज कुलुङ, प्रेम सागर थोरेप्पा, अजय अलंकार, सवित कुलुङ, सृजन कुलुङ,राजेन्द्र केरूङ, सुस्मिता चाम्लिङ,मिलाना कुलुङ पुमा,
  10. कुलुङ जातिको पाहिलो चलचित्र - तेल्पोस
  11. २०६८ को जनगणनामा कुलुङ जातिको संख्या – २८,६१३
  12. २०६८ को जनगणनामा कुलुङ भाषीको संख्या – ३३,१७०
  13. २०६८ सालको जनगणनामा पहिचान भएको नयाँ जातिमध्ये सबभन्दा बढी संख्यामा भएको जाति – कुलुङ
  14. मृत्यु संस्कारमा गोरुको मासु अनिवार्य चाहिने जाति – कुलुङ

चक्चाकुर सम्पादन गर्नुहोस्

किरात येले सम्वतमा आधारित 'चाक्चाकुर' नेपाली विक्रम सम्वतको बैशाख तथा अङ्ग्रेजी ईश्वी संवतको जनवरी जस्तै किरातको नयाँ वर्ष हो ।[५][६] यसलाई विशेष गरी किरात समुदायका कुलुङ जातीले आफ्नो नयाँ वर्षका रूपमा धुमधामसँग मनाउदै आएका छन् । चाक्चाकुरको पुरा नाम 'निङदोङ फाइम मिनारी-दाचाम चाक्चाकुर' हो । निङदोङ फाइम भनेको नयाँ वर्ष फेरिनु हो र मिनारी दाचामको अर्थ आफ्नै पौरखले उब्जाएको बालीनाली खानु हो । चाक्चाकुर भनेको महिनाको नाम हो । यो विक्रम सम्वतको पुष महिनामा पर्छ ।

मृत्यु संस्कार सम्पादन गर्नुहोस्

यो स्पष्ट छ की किरात कुलुङ जातिहरु आफु मरे पछि स्वर्गलोक वा मृत्र्यलोकमा जाने बारे कुनै विश्वास गर्दैनन्। बरु उनीहरू आफ्नै चुल्हामा आउने सेरमा बस्ने कुरामा विश्वास गर्दछन्। तर यसरी सेर चुल्हामा आउनको लागि पनि सहज मरण हुनु आवश्यक छ। तसर्थ किरात कुलुङको मृत्यु संस्कारमा मृतकलाई सेर चुलामा बोलाई पोम्लालुङ पठाउने चलन छ। पोम्लालुंग भनेकै कुलुंग जातिको स्वर्गलोक भनेर चिन्छ। कुलुंग जातिमा कुनै सदस्य मृत्यु भएमा घर भित्र चुला छेउमा लाने राख्ने गरिन्छ। संस्कार गर्दा पनि घर भित्रबाट नै शुरु गरिन्छ। कुलुङ जातिमा विवाहित चेलीको मृत्यु भए वागदत्ता दिए नदिएको त्यो बिचार गरिन्छ। वागदत्ता दिएको छैन भने सम्पुर्ण संस्कार माईति पक्षले गर्नु प्रदछ। वागदत्ता दिएको छ भने माईति पक्षको अधिकार लाग्दैन। मृत्यु भए पछि संस्कार गर्दा पिल्मो (खप्दुलु), सोत्तो (राताप्खु) बंशले खुट्टा सिधा तन्काएर गाड्ने चलन छ। तर छेम्सी ताम्सी बंशले खुट्टा खुम्चाएर गाड्ने चलन छ। कुलुङ जातिहरुले मृत्युलाई दुई खण्ड बाट हेर्ने गर्दछ एउटा सहज मृत्यु र अर्को असहज मृत्यु ।

क. सहज मृत्य किरात कुलुङ परिवारको सामान्य अवस्थाबाट भएको मरण जो उमेर पुगेर हो जसलाई सहज मृत्यु भनिन्छ। त्यो मृत्यु भएको व्यक्तिलाई सम्मानपूर्ण ढंगबाट संस्कार गरिन्छ। यसको लागि मरेपछि शवलाई घरभित्र हुली चुलाको दक्षिण पट्टी राखिन्छ। कुलुङको छेम्सी र ताम्सी बंशको घुडॉ खुम्चाईन्छ। त्यसरी नै पछि चिहानमा लगाईन्छ। पिल्मो र सोत्तो बंशको खुट्टा तनक्क नै राखिन्छ । त्यो गर्न पनि मिथकलाई अंगाल्दै त्यो प्रक्रिया गरेको हो। वास्तबमा मिथकलाई कुरा गर्नु नै पर्दामा छेम्सी र ताम्सी बंशको परापूर्व कालमा रोग ब्यादिले धेरै मरे छ बंश नै सखाप हुन लागे पछि ति बंशका पुर्खाले कतै मरेको मान्छेको खुट्टा खुम्चाएर क्रिया काज गर्दा पो यसो हुन्न कि मरेको ब्याक्ति कै सेहेले पो अरुलाई पनि लगेको होकी भन्ठानेर त्यो कार्य गर्न लागेको भन्ने मिथकले बताउदछ। त्यसरी नै चिहानमा लगाईन्छ। देब्रे हातले फिपा उल्टो पारेर जॉड मृतकको मुखमा लगाई दिन्छ। दाजुभाई छरछिमेकीलाई खबर गरिन्छ। मृतकलाई गुन्द्रीमा लडाईन्छ। जब दॉह संस्कार गर्ने समय सेतो कपडा (कात्रो) सिक्खुम ले बेरिन्छ। यसरी कात्रोले बेर्दा बॉस वा भकेम्लोको आठवटा सिन्का (छु) बनाईन्छ। चारवटाले टाउको तिर र चारवटाले खुट्टातिर कात्रोमा उनेर नझर्ने गरि अल्झाईन्छ। कात्रो बेर्ने काम सकेपछि धामी या पुर्खाले मृतक पुरुष भए भाले कुखुरा र महिला भए पोथी कुखुरा पछारेर मार्दछ। त्यो मारेको कुखुरालाई कुलुङ भाषामा लालापेर भनिन्छ। यो कुखुरा मृतकको साथीको रुपमा पठाउन मारिएको हो भन्ने भनाई छ। त्यसपछि उल्टो पारि छड्के काटिएको बॉसमा जॉड भरिन्छ। दुईवटा डालोमा फापर राखिन्छ। पुर्खाले बखान्दै मृतकलाई पोम्लालुङ पठाईन्छ। घामी पुर्खाहरुले बिधि सकेपछि बलिया पुरुषलाई दिशा निर्धारण गरि साईत हेरीकन चिहान खन्न पठाईन्छ। साईत हेर्दा पुरुषको शुक्र सामु र महिलाको जोगिनी सामु पार्नु हुदैन भन्ने कहावत छ। पछारेर मारेको कुखुराको पखेटामा टॉसिएको मसिनो प्वाख सहित पखेटा काटि दाहिने पखेटा मृतकको देब्रे काखी मुनि र देब्रे पखेटा मृतकको दाहिने कॉखी मुनि च्यापि दिन्छन्। यो पखेटालाई लाप्तोवा भनिन्छ। यो लाप्तोवाको सहायताले मृतक सहजै पोम्लालुङ पुग्छ भन्ने भनाई छ। चिहान खन्दा ढ्रयाके पैसा राखेर भूमिमातासंग जग्गा किन्नु पदर्छ। चिहान खन्न किनिएको जग्गा बाहेक अन्त खन्न वा जान हुदैन्। किनिएको पैसा भरै चिहानमा नै लगाई दिनु पर्छ। चिहानमा उल्टो र सुल्टो दुईवटा लिस्नु बनाई राखिन्छ जहॉ उल्टोबाट मृतकको मृतात्मा पस्छ र सुल्टोबाट जीवितको सातो निस्कन्छ भन्ने भनाई छ। शवलाई चिहानमा लगाउनु अधि तीनपटक चिहानको वरिपरी घुमाईन्छ। चिहानको शिर उत्तर पोम्लालुङ तिर नै सकभर पार्ने चलन छ पार्नु पर्दछ। चिहान तीन तहको हुन्छ। शव सुतेको तह, शवलाई ढाकेको तह र चिहानको बाहिरी तह शवलाई पुर्न अघि पहिले घरको मूल मानिसले त्यसपछि अरुले मट्टि दिनुपर्छ। मट्टि दिंदा देव्रे हातले तीनपटक दिई तीनपटक नै मट्टि फर्काउनु पर्दछ। त्यसपछि शव पुरिन्छ। शव पुरीसके पछि चिहानबाट सातो झिक्नु पर्दछ। सातो निकाल्दा सुल्टो राखिएको लिस्नु बिस्तारै बाहिर निकालिन्छ अनि सिस्नुले चिहानको वरिपरी बडारदै सातो निकालिन्छ । मरौ भएको घरमा तिन पटक चुला खनाउने काम हुन्छ। लास दफनाउन लानु भन्दा पहिला एक पटक अनि सबै दफानाउने काम सकेर घर फर्के पछि दुई पटक एउटा सेर कुलमा मृतकलाई लगाउन अर्को नुन तेल फुकाउन।

मरौ पर्दा चाहिने समान तथा ब्यक्ति सतिपुस:- ( एक जना ) सतिपुस एक जना हुनु पर्दछ। मरौमा काम गर्ने (बाटो देखाउने) सतिपुसले मरेको मृतकलाई वापैप (फिपा) उल्टो पारी जाँड खुवाउने।

मोसोछा :- ( दुई जना ) मोसोछा दुई जना हुनु पर्दछ। मोसोछा एक जनाले धनुकॉड लिने र शिर पट्टी बस्ने अर्कोले खुकुरी लिई खुट्टा पट्टी रहने र दुबै जनाले हुई हुई भन्दै हिड्ने। (मोसोछा ज्वाईचेला या भानाभान्जा हुनु पर्छ) तोङवा :- ( एक वटा ) एक पटक छानी सकेको कोदोको छोक्राको हुनु पर्छ।

वोप्ते (गादा) :- वोप्ते बान्ने सतिपुस मोसोछा तिनै जनाले बान्दा खेरि ध्यान दिनु पर्ने देब्रे काखी मुनि दाहिने कॉध बाट ल्याई गॉठो पार्ने। अर्को दाहिने काखी मुनि देब्रे कॉध बाट ल्याई दाहिने गॉठोलाई थिच्ने गरी देब्रे गॉठोले थिच्ने।

दॉह संस्कारमा चाहिने समान :-

  1. फापर आधा माना
  2. कोदो (लिस ) आधा माना
  3. जॉड या मर्चा
  4. सिस्नो ( गानाम )
  5. भकिम्लो ( गिद पौ )
  6. कोट वलुम ( हरियो, सादा, रातो )
  7. दोक्खु
  8. माला ( घिचिलौ ) नाप्चोपेम ( हातले केलाएको आठ दाना चामल, आठ दाना धानको बिया, आठ दाना जौ भर्लाको पातमा चार चार दाना पोका पारेको )
  9. सउरको बोक्रा
  10. दाउलो बम एक हात भन्दा बढी
  11. कपडा चिरा पारेको तर नचुडाएको (जान्नु पर्ने) कपडा चिरा पारेको तर नचडाएमा रुमाल राख्ने। आधा माना कोदो या फापर राखेर पोका पार्ने। घिचिलौ को पोका पनि त्यसैमा बॉघिदिने। कोदो या फापर ज्वाई चेलाले ल्याएको खुट्टा पट्टी र दाजुभाईल् ल्याएको टॉउको पट्टी राखिदिने। कोदो या फापर आठ मुठी थुन्सेमा लगाउने )

लास गाडे पछि:- सिकुवा तान्चिसी खत्तेक (दुख बगाउन गएको) मृत संस्कार (सिम ललै) लामो रित राख्दामा एक एक बित्ताको कपडा आठ टुक्रा पार्ने त्यसलाई सांग भनिन्छ। त्यो संग सतिपुसले घुङ्गरिङको फुर्काले सिंगारिएको डोरी झुण्डाउने र तितेपातीको लिङगोमा देब्रे टॉउको पट्टी चार वटा दाहिने टॉउको पट्टी चार वटा गाड्ने त्यो चार भाईले दुई दुईको दरले चिहान माथी गाड्ने त्यो लामो संस्कार गर्ने भए छोटोमा पर्दैन ।

ख, असहज मृत्यु लडेर, डढेर, डुबेर, गोली लागेर, घाउखटिरा आएर, सुनिएर, विष खाएर, झुण्डिएर, सुत्केरी भएर इत्यादि कारणहरूबाट मरेमा त्यसलाई असहज मृत्यु मानिन्छ। यस्ताको लाशलाई घरमा भित्र ल्याइन्न। बाहिर बाहिरै दबाउन मृत्यु संस्कार गरिन्छ। कुलुङ संस्कारमा बारी घुरेन तिर लासलाई दफनाउने भए पनि त्यस्तो मृत्यु भएकोलाई घुरेनमा दफनाउदैन केबल वनमा मात्र दवाइन्छ। यस्तोलाई सेर पितृमा बोलाउन आवश्यक पर्दैन। बोलाउदैन पनि उनको नाममा चिनो चौतारो पनि बनाउदैन। साथै छेवर र गुन्युचोला नदिएको बच्चाहरू मरेमा पनि वनमा नै दवाउनु पर्दछ। दफनाको दिन बेलुका धामी विजुवाको चिन्ता बसाई त्यस्ताको मृतात्मालाई मार्नु पर्छ या पुन गाउघरलाई दुख नदियोस भनि बाटो लगाउनु पर्दछ। यस्तो असहज मृत्यु भएको सेहे भएर जाग्छ भन्ने कहावातले गर्दा खेरि धामी झाक्री दुवारा सेहे मार्ने गरिन्छ। यसलाई सियॉ मार्ने पनि भनिन्छ।

काजक्रिया सेवा : किरात कुलुङहरु (महिला/पुरुष) जो भएपनि रोग लागेर, बृद्धा अवस्था भएर निधन भएमा राम्रो बाटो गएको मानिन्छ। लडेर, झैझगडा गरेर, आत्महत्या गरेर र दुर्घटनामा परेर मृत्यु भएमा महिलालाई हिल्वा पुरुषलाई पनि हिल्वा भएको नराम्रो बाटो गएको मानिन्छ। सुत्केरी ब्यथाले मृत्यु हुने थोमे भनिन्छ। यस्तो मृत्युलाई पनि नराम्रो बाटो गएको मानिन्छ। बालबालिकाको सम्बन्धमा भने छेवर वा गुन्युचोली नगरी निधन भएमा नराम्रो बाटो गएको मानिन्छ। तर छेवर वा गुन्युचोली कार्य नगरेको भएता पनि भाई वा बहिनी जन्मि सके पछि मृत्यू भएमा राम्रो बाटो गएको मानिन्छ। राम्रो बाटो गएको मृतकलाई चुलामा या कुलपित्रीमा बोलाई बर्षमा एक पटक या दुई पटक उभौली र उधौलिको समयमा खानपिन दिने गरिन्छ। नराम्रो मरण हुने मृतकलाई भने कुलपित्रीमा नबोलाई चुला देखि बाहिर नै बलेसीमा खानपिन दिने गरिन्छ। कुलुङ जातिको यो बिधि मृत्यु संस्कार अन्तर्गत पर्दछ। यो कार्य चुलामा नै गरिन्छ। जस्तै

  1. मृतकको शिर उठाउने बिधी
  2. मृतकको आत्मा जगाउने बिधी
  3. मृतकको आत्मा छुटाउने बिधी
  4. दु:ख बोक्ने तथा मलामी चोख्याउने बिधी
  5. मृतकको आत्मा बोलाउने बिधी
  6. मृतकको आत्मा बाटो लगाउने बिधी
  7. मृतक कुन बाटो गयो हेर्ने बिधी
  8. नुनतेल तथा ढोगभेट फुकाउने बिधी

ग. जुठो बार्ने, किरिया बस्ने, कपाल खौरने, सेतो कपडा लगाउने वा चुरा फुटाउने विधि:- किरात कुलुङ जातिमा मृत्यु भएपछि जुठो बार्ने, किरिया बस्ने, कपाल खौरने, सेतो कपडा लगाउने, चुरा फुटाउने कुनै पनि हुदैन। मृत्यु भएको तिन बर्ष भित्र तिन पटक मृतकलाई पित्रमा बोलाउने चलन छ। त्यस समय शुद्ध कोदोको जॉड मृतकको नाममा बनाउने र आफन्तलाई सो जॉड सहित एक छाक खानपिन गराउने चलन छ। सबै मलामीहरू शव दबाईसकेपछि ऑगनमा राखिएको या मुल बाटोमा राखिएको आगाको पुल्ठालाई टेक्दै घरभित्र पस्नु या आआफ्नो घर जानु पर्दछ ।

घ. किरात कुलुङको घरमा अन्य कोही जाति ब्याक्तिको मृत्यु भएको खन्डमा गर्ने बिधि :- किरात कुलुङ जातिको घरमा कुनै अन्य जातिको मृत्यु भएको खन्डमा मरेको ब्यक्तिको आफ्नै तरिकाले सतगद गर्न आफन्तलाई दिनेछ कुनै रोकतोक हुने छैन। तर मृत संस्कार सकेर होस या नसकि मरेको आफन्तले घर वाला सित तपाईको घरमा जुठो नलागोस्। अप्ठयारो नपरोस्। जुठो मेरोमा लागेको हो शिर हजुरको नझरोस भनि दुई बोटल रक्सी राखि बिन्ति भाऊ चडाउनु पर्ने हुन्छ। सो समयमा उतिसको कॉचो बोक्रा, जमुना, फडिडको बोक्रा, तितेपाती मिसाएर कुटी धुलो बनाई त्यो धुलो पानीले घर वरिपरि छर्केर घर वालाले हात मुख पखालि चोखिने घर चोखाउने चलन रहि आएको छ।

  1. "सधैं ओझेलमा महाकुलुङ", कारोबार दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२५ 
  2. "कुलुङ जातिः एक चिनारी र जनगणना-२०७८", नयाँ बुलन्द (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२५ 
  3. "कुलुङ जाति को हुन् ?", न्युज कारोबार (नेपालीमा), २०२०-०७-०६, अन्तिम पहुँच २०२१-०१-२५  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२९ मिति
  4. "‘किराती कुलुङ’ मानवशास्त्र नपढेकाले लेखेको असली मानवशास्त्र", सगरमाथा अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२५ 
  5. "कुलुङ समुदायले मनाउने चाक्चाकुर पर्व के हो ?", पूर्वेली समाचार (नेपालीमा), २०१९-१२-२७, अन्तिम पहुँच २०२१-०१-२५ 
  6. "कुलुङ जातिको पर्व ‘नीङ दोङ चाक्चाकूर’", सौर्य अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२५