प्रो. राम राज पन्त (वा रामराज पन्त, अङ्ग्रेजी: Ram Raj Pant) (वि.सं. १९७६ फागुन - २०४९ पौष १७, ई. १९२० फेब्रुवरी - १९९३ जनवरी १) नेपाली भाषाका अग्रणी भाषाविद, साहित्यिक लेखक र नेपालमा कानुनी शिक्षाका प्रबर्धक थिए। उनले नेपाली साहित्यभाषा विज्ञानका क्षेत्रमा आफ्नो प्रखर कलम चलाएका थिए।[१] नेपाल ल कलेजको स्थापना उनको नेतृत्वमा भएको थियो र उनी त्यसका संस्थापक प्रिन्सिपल हुन्।[२] नेपाल ल कलेज पछि गएर त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसमा नामाकरण गरिएको थियो। साथै राम राज पन्त बनारस हिन्दू विश्वविद्यालयमा नेपाली भाषाको अध्ययन, अध्यापन कार्यक्रमका संस्थापक अध्यक्ष तथा पहिला प्राध्यापक पनि हुन्। उनको नेपाली लिपी विज्ञान [३] पुस्तक उक्त कर्यक्रमको एम-ए (MA) तहको पठन पाठनमा क्रमश: प्रयोग हुँदै आएको छ। [४]

राम राज पन्त
जन्मवि.सं. १९७६ फागुन
(ई. १९२० फेब्रुवरी)
काठमाडौँ, नेपाल
मृत्युवि.सं. २०४९ पौष १७
(ई. १९९३ जनवरी १)
नागरिकनेपाल
भाषानेपाली
शिक्षापटना विश्वविद्यालय,
त्रिचन्द्र कलेज,
बनारस हिन्दू विश्वविद्यालय
साहित्यिक अभियानसजिलोबाद
प्रमुख योगदाननेपाली भाषा विज्ञान कृति,
नेपाली लिपि विज्ञान कृति,
नेपाल ल क्याम्पसको स्थापना
श्रीमतीपुष्प कुमारी पन्त

जीवन वृत्तान्त सम्पादन गर्नुहोस्

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

राम राज पन्तको जन्म वि.सं. १९७६ फागुन महिनामा उनका पिता भैरव राज पन्त र माता डम्बर कुमारीका कोखमा काठमाडौँको ज्ञानेश्वरमा भएको थियो। उनको न्वारनको नाम ह्रदय नाथ पन्त थियो। उनी ८ वर्षको छँदा उनका माताको मृत्यु पश्चात उनका दुई भाइ -चन्द्र राज र सुर्य राजको रेखदेख पनि उनकै काँधमा आयो। आठ वर्षकै उमेरमा उनको उपनयन पनि सम्पन्न भएको थियो। उनका हजुरवुवा गजेन्द्र ध्वजको हेरचाहमा राम राजको प्रारम्भिक शिक्षा दरबार हाई स्कुलमा भएको थियो। त्यस पछि उनी शिक्षाका लागि भारतको पटना विश्वविद्यालयमा भर्ना भए, जहाँबाट उनले म्याट्रिक पास गरे। त्यस पश्चात काठमाडौँ फर्किएर उनले आफ्नो अध्ययन त्रिचन्द्र कलेजमा अघि बढाए र त्यहींको विधार्थीको हैसियतले पटना विश्वविद्यालयबाट परीक्षा दिई आई-ए (IA) उत्तीर्ण गरेका थिए। फेरि पटना विश्वविद्यालयमै फर्केर उनले आफ्नो अध्ययन जारी राखी बि. सं. १९९५मा त्यहींबाट स्नातक तह (बि-ए, BA) पास गरे। बि-ए पास गरिसकेपछि कानुन पढ्न उनी बनारस पुगे र त्यहाँको प्रख्यात बनारस हिन्दू विश्वविद्यालयमा भर्ना भए। बि. सं. १९९७मा त्यहींबाट उनले कानुनमा स्नातक (बि-एल, BL) पनि प्राप्त गरे। आफ्ना हजुरबुवा गजेन्द्र ध्वजको दर्शन र साहित्यमा भएको लगावबाट प्रभावित भएर राम राजले बनारसमा हुँदा त्यहाँ हुने साहित्यिक कार्यक्रमहरूमा भाग लिनुका साथै आफ्नो लेखनको शुरुवात पनि गरे। बनारस हिन्दू विश्वविद्यालयमा नै भाषा विज्ञानको विधार्थी भएर बि. सं. १९९९मा उनले एम-ए (MA) तह उत्तीर्ण गरे।[५] एम-ए उत्तीर्ण गरिसके पछि पनि अध्ययन कार्यलाई अगाडि बढाएका पन्तले नेपाली भाषा विज्ञानको विकासको सम्बन्धमा गहन अध्ययन र अनुसन्धान गरेका थिए। साथै बनारसमा रँहदा र नेपाल फर्के पछि पनि उनले साहित्यिक लेखनलाई अघि बढाउँदै लगे। बाँँकी जीवन काठमाडौँमा बिताउँदा पनि उनी आफ्नो अध्ययन र बैचारिक संलग्नतालाई अगाडि बढाइ राख्न प्रत्येक वर्ष बनारस भ्रमण गर्दथे।

वैवाहिक जीवन सम्पादन गर्नुहोस्

राम राज पन्तको विवाह १८ वर्षको उमेरमा बिष्ट परिवारकी पुष्प कुमारीसँग भएको थियो। उनी दुईको कोखबाट पाँच छोरा- शिव राज, आनन्द राज, दुर्गा राज, राजेन्द्र राज र विनायक राज पन्त, तथा दुई छोरी- प्रभा पाण्डे र प्रतिभा तिवारीको जन्म भएको थियो।

कर्म क्षेत्र सम्पादन गर्नुहोस्

राम राज पन्तले अध्यापन र लेखनलाई आफ्नो प्रमुख कर्म क्षेत्र बनाए। बि. सं. २०००मा बनारस हिन्दू विश्वविद्यालयमा नेपाली विषयको अध्ययन, अध्यापनको शुरुवात गर्नुका साथै उनी त्यस कार्यक्रमका पहिला अतिथि प्रध्यापक थिए। उक्त कार्यक्रमको पठन, पाठनमा राम राज द्वारा लिखित अनुसन्धानात्मक पुस्तक नेपाली लिपी विज्ञान क्रमश: प्रयोग हुँदै आएको छ।[४] अतिथि प्राध्यापकको पदावधी समाप्त भए पछि आफ्नै देशमा शिक्षाको विकास गर्ने अठोट लिई उनी नेपाल फर्किए। बि. सं. २००२ सालमा उनलाई नेपाल सरकारले उच्च शिक्षालयको निरिक्षकमा नियुक्त गरेको थियो। उक्त पदमा रहेर विद्यालयहरूको स्थापना र निरिक्षणका लागि उनले नेपालका धेरै जिल्लाहरूको भ्रमण गरे। बि. सं. २००४मा उनलाई त्रिचन्द्र कलेजको नेपाली विभागको प्रोफेसर तथा विभागीय प्रमुखका रूपमा नियुक्ती गरियो, जहाँ पछि उनले बि-ए अनर्स पाठ्यक्रमको शुरुवात गराउन सफल भएका थिए।

राम राज पन्तले आफ्नै पहल र सक्रियतामा नेपालमा पहिलो कानुनी शिक्षाको थलो स्थापना गरे। उनको नेतृत्वमा बि. सं. २०११मा नेपाल ल कलेजको स्थापना भएको थियो र उनी त्यसका संस्थापक अध्यक्ष प्रिन्सिपल भए।[२] दरबार हाई स्कुलकै घरमा बेलुका पढाउने गरी नेपाल ल कलेजको स्थापना गर्ने राम राजले लगनशील, प्रतिबद्ध र उत्साही विद्वानहरूको समुहलाई एकत्रित गरी एक बलियो संस्था खडा गरे। उनकै प्रयत्नमा कलेजले काठमाडौँको प्रदर्शनी मार्गमा आफ्नै विद्यालय हाता पनि निर्माण गर्न शुरु गर्‍यो। त्रिभुवन विश्वविद्यालयको कानुन संकाय अन्तर्गत आए पछि नेपाल ल क्याम्पस नामाकरण गरिएको उक्त संस्थालाई बलियो बनाउन त्यही पदमा रही उनले अर्को दुई दशक अथक कार्य गरे। राम राजको मन:सृष्टिबाट खडा भएर देशकै पहिलो र सबैभन्दा ठूलो कानुनी शिक्षालयको रूपमा रहेको नेपाल ल क्याम्पसका कैयौँ सफल स्नातकहरू छन्, जो नेपाल भित्र र बाहिरका धेरै संस्थाका अगुवा भएका छन्।

बि. सं. २०१६मा नेपाली भाषा व्याकरणमा सजिलोबाद अभियानको थालनीको श्रेय राम राज पन्तलाई दिइन्छ।[६][७] बि. सं.२०१८ सालमा उनले त्रिभुवन विश्वविद्यालयको एम-ए (MA) तहको पाठ्यक्रम स्थापना गरे र ५ वर्ष नेपाली अध्ययन समितीको अध्यक्ष भई काम गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट बि. सं. २०३२मा सेवा निवृत भए पछि पनि राम राजले नेपाली भाषा र नेपालमा कानुनी शिक्षाको अध्ययन र अनुसन्धानमा आफ्नो कलम चलाई रहे।[५] नेपालमा कानुन र न्यायिक पद्दतीको विकासका लागि विभिन्न सङ्घ, संस्थाका सल्लाहकारका रूपमा उनले सेवा प्रदान गरिरहे।

कृतिहरू सम्पादन गर्नुहोस्

  • सम्पादक, त्रिचन्द्र कलेजबाट प्रकाशित ज्योत्सना पत्रिका, बि. सं. २००५ - २०१०
  • नेपाली भाषा विज्ञान (पहिलो भाग), बि. सं. २०१४ फागुन[१]
  • नेपाली लिपि विज्ञान, बि. सं. २०१६ फागुन[१][६][३]
  • भाषा विज्ञानको इतिहास, बि. सं. २०१८[१]
  • प्रबन्ध पाठ सङ्ग्रह, भाग १, बि. सं. २०१८
  • कथा - बेवारिसी, पाल्तु र फाल्तु, बि. सं. २०१९
  • नेपाली भाषा विज्ञान, बि. सं. २०३६[१][८]
  • नेपाल कानुन सार, बि. सं. २०३६
  • एकाङ्की - चट्टुको चट, चन्द्रको पालो
  • कविता - कहिले जाला घाम, मातृ भू भव्य बनोस
  • लेख - त्रिभुवन बिश्वविद्यालयमा नेपाली भाषा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ "रामराज पन्त द्वारा लेखिएका पुस्तकहरू, मदन पुरस्कार पुस्तकालय" 
  2. २.० २.१ बिर्सन नहुने चार कर्मयोगी, डा. सुरेशराज शर्मा, कान्तिपुर दैनिक - २०५३ असार २५
  3. ३.० ३.१ "नेपाली लिपि विज्ञान, राम राज पन्त, Google books" 
  4. ४.० ४.१ "बनारस हिन्दू विश्वविद्यालयको एम-ए (MA)को पाठ्यक्रम" 
  5. ५.० ५.१ राम राज पन्तद्वारा हस्त लिखित जीवनका प्रमुख घटना बाट
  6. ६.० ६.१ "नेपाली भाषा-साहित्यमा आन्दोलन, सुकुम शर्मा, २०६४ वैशाख" 
  7. "नेपाली साहित्यिक आन्दोलन" 
  8. "नेपाली भाषा विज्ञान, राम राज पन्त, Google books"